२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्य

गुराँसै फुल्यो वनैमा...

यतिबेला पहाडी र हिमाली डाँडाहरू गुराँसले रंगीबिरंगी देखिन थालेका छन्। गएको साता बिहानपख पाँचथरको सोक्पामा केही केटाकेटी घरनजिकै रहेको झ्याम्म परेको रूखबाट गुराँस ल्याएर शिरमा सिउरिँदै थिए। उनीहरूले स्कुलमा पनि गुराँसको माला बनाएर खेल्ने गरेको सुनाए। यसरी नै पहाडी र हिमाली जिल्लाका धेरै विद्यार्थीले गुराँससँग खेलेका छन्।

स्वागत–बिदाइमा गुराँस माला
सोक्पादेखि हिँड्दै जाँदा एक घन्टामा पुगिने मिक्लाजुङ–३ आरुबोटेस्थित चन्द्रोदय माविमा १० कक्षामा अध्ययनरत् २४ विद्यार्थीलाई एसइई परीक्षाको शुभकामनासहित बिदाइ गरियो। उनीहरूको गलामा गुराँस माला र निधारमा अबिर थियो। विद्यालय वरपर गुराँस ढकमक्क फुलेका थिए। कक्षा ९ का विद्यार्थीले तिनै गुराँसका फुलबाट माला उनेर उनीहरू लगाइए दिएको शिक्षक सुसन राई बताउँछन्। बिदाइ भएका विद्यार्थीका लागि गुराँसको माला लगाइएको तस्बिर अविस्मरणीय बन्यो। गुराँसको मालाले समारोहलाई थप सुशोभित बनाइदिएको शिक्षक राई बताउँछन्। त्यस्तै, पाहुनालाई गुराँस दिएर स्वागत गरिने चलन रहेको राई सुनाउँछन्। त्यसो त सार्वजनिक समारोहमा पनि गुराँसको माला प्रयोगमा ल्याइन्छ। यतिबेला गुराँसको फूलबाट बनाइएको माला लगाएर खिचिएको तस्बिर सामाजिक सञ्जालमा खुबै देखिन्छन्।

गुराँस जोहो
यतिबेलै पाँचथर सुखेपोखरीका महिला गुराँस टिपेर जोहो गर्छन्। उनीहरूले गुराँसबाट पेय पदार्थ बनाउँदै आएका छन्। गुराँस जोहो गर्ने अस्मिता वान्तवा भन्छिन्, ‘भुइँमा झरेका गुराँस बटुलेर पेय पदार्थ बनाउँछौँ।’ घरेलु विधिबाटै गुराँसका पूmलको पेय पदार्थ बनाउन सकिन्छ। केही वर्षयता गुराँसबाट पेय पदार्थ बनाउँदै आएको वान्तवाको भनाइ छ। उनी भन्छिन्, ‘गुराँसबाट बन्ने पेय पदार्थको माग धेरै छ, तर मागअनुसारको उत्पादन गर्न सकिएको छैन।’ उनको घरनजिकै गुराँसको जंगल छ। यो जंगल छिन्तापु हुँदै गोरुवालेसम्म फैलिएको छ। गुराँस फुल्ने क्षेत्रका मानिस हरेक वर्ष देउतालाई गुराँस चढाउँछन्, औषधिका रूपमा गुराँसको जोहो गर्छन्। त्यसो त गुराँसका रूखलाई दाउराका रूपमा पनि प्रयोग गरिन्छ। घाँटीमा खानेकुरा अड्किँदा गुराँस खुवाउनुपर्ने जनविश्वास छ। अचार, सर्बत र रक्सी बनाउन पनि गुराँस उपयोगी हुन्छ। यसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि घरेलु औषधिका रूपमा प्रयोग गरिन्छ।

डाँडाभरि पर्यटक
जाडो घट्दै गएपछि गुराँस फुल्ने डाँडाहरूमा घुमघाम गर्ने चलन छ। त्यस्ता डाँडामा बाह्य पर्यटक पनि पुग्छन्। तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा पर्ने ‘टिएमजे’ (तिनजुरे, मिक्ले र जलजले) क्षेत्र गुराँसका राजधानी हुन्। स्थानीय व्यवसायी गुराँस फुलेसँगै पर्यटन व्यवसाय फस्टाउने आसमा हुन्छन्। त्यस्तै आसमा छन्, पाथीभरादेवी नजिकै होटल सञ्चालन गरेका युवराज खड्का। गुराँसको सिजनमा उनले मनग्य आम्दानी गर्दै आएका छन्। १५ चैतदेखि गुराँस ढकमक्क फुल्न थालेपछि व्यापार धेरै हुने गरेको उनी सुनाउँछन्। ‘पर्यटक यहाँ गुराँससँग रमाउन गाडी नै ल्याएर आउँछन्। हामीलाई उनीहरूको सेवा गर्न भ्याइनभ्याइ हुन्छ,’ उनी भन्छन्। यहाँ नयाँ वर्षको दिन पर्यटकको धेरै घुइँचो लाग्छ। गुराँसकै कारण यो ठाउँ देश–विदेशमा परिचित छ। ‘बुबाहरू यहीँ बस्नुहुन्थ्यो। गुराँसको महिमाले यहाँ पर्यटकको संख्या बढेपछि होटल सुरु ग¥यौँ। १५ चैतपछि डाँडाभरि फुल्ने गुराँस हेरिरहूँ लाग्छ, यी निकै मनमोहक देखिन्छन्,’ खड्का भन्छन्। पर्यटकीय क्षेत्रमा गुराँसमा झुम्मिनेहरू धेरै भेटिन्छन्।

हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ। फागुनदेखि जेठसम्म गुराँस फुल्छ। गुराँसलाई बिम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन्। यतिबेला सामाजिक सञ्जालमा गुराँसछेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिरहरू बढी लोकप्रिय हुन्छन्। यतिबेला गुराँस बगैँचामा रमाउने र पदायात्रा गर्नेहरू धेरै भेटिन्छन्। गुराँस फुल्ने बस्तीबाट सहर वा विदेश गएकाहरू गुराँस सम्झिँदै नोस्टालजिक बन्छन्। तस्बिरमा देखेकाहरू प्रत्यक्ष रूपमा गुराँस देख्दा धेरै रमाउँछन्। झापा दमककी शशिता थापाले इलामको श्री अन्तुमा गुराँसको झ्याम्म परेको बोटछेउ उभिएर फोटो खिचिन् र कानमा गुराँस सिउरिन्। उनले कानमा गुराँस सिउरिएका फोटा फेसबुक र स्टाग्राममा पोस्ट गरेकी छन्। ‘गुराँस फुलेको देखेपछि बाल्यकालको याद आयो। हामी गुराँस कानमा लगाएर खुबै रमाउँदै खेल्थ्यौँ,’ उनले भनिन्, ‘वसन्त ऋतुलाई निम्तो गर्दै गुराँस फुलेको दृश्य मनमोहक लाग्छ।’

हरेक वर्ष देउतालाई गुराँस चढाइन्छ। यसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। अचार, सर्बत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ।
 

त्यस्तै, दैलेखको गुराँस गाउँपालिका–८ का वडाध्यक्ष पूर्ण वलीले जताततै गुराँस फुलिरहेको सुनाए। उनीसँग गुराँसको संरक्षण गर्दै जुस बनाउने योजना छ, जसलाई उनले अघि बढाउने तयारी गरेका छन्। उनी भन्छन्, ‘आगामी वर्ष गुराँसबाट जुस बनाउन सकिने अपेक्षा गरेका छौँ।’ त्यसो त धार्मिक अनुष्ठानमा पनि गुराँस चढाइन्छ। सुखद कार्यमा गुराँस झनै बढी प्रयोग गरिन्छ। पाँचथरको लोब्रेकुटीस्थित फाल्गुनन्द कर्मभूमि किराँत साङसेन वरक चोलुङ माङ्घिममा गुराँस चढाइएको देख्न पाइन्छ। ‘डाँडैभरि गुराँस फुलेको छ, धार्मिक सेवाको क्रममा सिजनमा गुराँस बढी नै प्रयोग हुने गरेको छ,’ माङ्घिमका पुजारी धु्रव तुम्बापो भन्छन्। गुराँस फुलेसँग लोब्रेकुटी थप रमणीय देखिएको उनी सुनाउँछन्।

गुराँस क्षेत्र
नेपालमा ६ हजार मिटरको उचाइमा गुराँस पाइन्छ। वन तथा वातावरण मन्त्रालयको वन तथा भू–संरक्षण विभागले प्रकाशित गरेको ‘गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०’ मा मेची–महाकालीसम्म ४३ जिल्लामा धेरै प्रजातिका गुराँस पाइने उल्लेख छ। जसमा गुराँस पाइने वनको क्षेत्र ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर रहेको जनाइएको छ। अर्थात्, कुल वनको १० प्रतिशत क्षेत्रमा गुराँस पाइन्छ। प्रदेशमा टिएमजे (तिनजुरे, मिल्के र जलजले), ताप्लेजुङको पाथीभारा क्षेत्र, पाँचथरका छिन्तापु–सुकेपोखरी र च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका गाउँहरू गुराँसका लागि चर्चित छन्। यस्तै, बाग्मती प्रदेशका दामन–सिमभन्ज्याङ र रसुवामा गुराँस पाइन्छ। गण्डकी प्रदेशका कास्की, घोडेपानी, लमजुङ, म्याग्दी गुराँसका लागि निकै चर्चित छन्।

यस्तै, कर्णाली प्रदेशको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला र दैलेखमा गुराँस पाइन्छ। सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा, बैतडी लगायत क्षेत्र गुराँसका चर्चित छन्। नेपालका ४३ वटै जिल्लामा गुराँस पाइन्छन्।
गुराँस संरक्षण कार्ययोजनामा एसिया, उत्तर अमेरिका, युरोप र अस्ट्रेलिया महादेशमा गुराँस पाइन्छ। गुराँस पाइने कुल क्षेत्रफलको ९० प्रतिशत नेपाल, चीन, भारत, भुटान, म्यानमार, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया र फिलिपिन्सले ओगटेका छन्। हिमाली तथा पहाडी क्षेत्रमा कतै गुराँसकै जंगल, कतै मिश्रित जंगल पाइन्छन्। गुराँसका बोट साना हुन्छन्, ती झांगिएका र बांगाटिंगा हुन्छन्। एउटै वनमा विविध प्रजातिका गुराँस भेटिन्छन्। कतै कतै घर, गोठनजिकै गुराँसको बगैँचा भेटिन्छन्। पछिल्लो समय गुराँसलाई जोडेर स्थानीय तहको नामकरण गरिएको छ। यसैगरी, संघसंस्थाको नाम जुराइएको छ।

गुराँसका अनेक रूप
नेपालमा पाइने गुराँसका प्रजातिबारे मतभेद छ। वन मन्त्रालयद्वारा प्रकाशित गुराँस संरक्षण कार्ययोजनामा नेपालमा ३१ प्रजातिको गुराँस पाइने उल्लेख छ। पाँच जनाको अनुसन्धानबाट लेखिएको ‘कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू’ पुस्तकमा ३३ प्रजातिका गुराँस पाइने उल्लेख छ। यो पुस्तक वन मन्त्रालयकै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमार्फत प्रकाशित भएको थियो। गुराँस अध्येता कमल मादेनका अनुसार नेपालमा ३४ प्रजातिका गुराँस पाइन्छ। उनी वरुण उपत्यका, दार्जिलिङ र सिक्किमसँग जोडिएका भू–भागमा गुराँसबारे खोज अनुसन्धान गर्दा अझै आधा दर्जन प्रजाति थपिने दाबी गर्छन्।

‘कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू नामक’ पुस्तकका अनुसन्धानकर्ता तथा लेखक डा. यादव उप्रेतीका अनुसार गुराँसको प्रचुरता पूर्वी हिमालय र मलाया द्विप समूहमा अत्यधिक देख्न सकिन्छ। उप्रेती चीनको युनान प्रान्तमा २ सय ५०, भारतको अरुणाचलमा ७५, सिक्खिममा ३६, भुटानमा ४६ र नेपालमा ३३ प्रजातिको गुराँस पाइने बताउँछन्। सोही पुस्तकमा लालीगुराँस (रोडोडेन्ड्रोन ब्रेमेन), सुनपाती (रोडोडेन्ड्रोन एन्थोपोगोन), रातो चिमाल (रोडोडेन्ड्रोन बारबाटुम), चिया फूले गुराँस (रोडोडेन्ड्रोन क्यामेलिफ्लोरुम), नीलो चिमाल (रोडोडेन्ड्रोन क्याम्पानुल्याटुम), पहेँलो चिमाल (रोडोडेन्ड्रोन क्याम्पाइलोकार्पुम), जँुगे चिमाल (रोडोडेन्ड्रोन सिलियाटुम), सानो चिमाल (रोडोडेन्ड्रोन सिनावारिनुम), लहरे चिमाल (रोडोडेन्ड्रोन डालहाउसिए), कोर्लिङ (रोडोडेन्ड्रोन फाल्कोनेरी), चिमाल (रोडोडेन्ड्रोन फाल्कोनेरी), ठेकी झार (रोडोडेन्ड्रोन ग्लाउकोफाइलुम), पात्ले कोर्लिङ (रोडोडेन्ड्रोन ग्रान्डे), सेतो चिमाल (रोडोडेन्ड्रोन ग्रिफिथियानुम), गुलाबी कोर्लिङ (रोडोडेन्ड्रोन होग्सोनी) जस्ता प्रजाति पाइने उल्लेख छ। यस्तै, हुकरको गुराँस (रोडोडेन्ड्रोन हुकरी), पहेँलो सुनपाती (रोडोडेन्ड्रोन हाइपेन्थियुम), भुत्ले गुराँस (रोडोडेन्ड्रोन लानाटम), भाले सुनपाती (रोडोडेन्ड्रोन लेपिडाटुम), सानो लहरे चिमाल (रोडोडेन्ड्रोन लिन्डलेइ), हिउँ गराँस (रोडोडेन्ड्रोन निभाले), झन्डिने चिमाल (रोडोडेन्ड्रोन), पुड्के गुराँस (रोडोडेन्ड्रोन पुमिलुम), बुलु, साल्लु गुराँस (रोडोडेन्ड्रोन सेटोसुम), थाम्सनको गुराँस (रोडोडेन्ड्रोन थोम्सोनी), रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेलो गुराँस (रोडोडेन्ड्रोन ट्राइफ्लोरुम), खियाउने पाते गुराँस (रोडोडेन्ड्रोन भ्याक्सिनी ओइड्स), हाँगिने गुराँस (रोडोडेन्ड्रोन भिरग्याटुम), बालिकको गुराँस (रोडोडेन्ड्रोन बालिची), वाइटको गुराँस (रोडोडेन्ड्रोन बिइटी), रोडोडेन्ड्रोन लोओनडेसी र रोडोडेन्ड्रोन कोवानिआनुम गुराँस पाइन्छन्।

गुराँस संरक्षण
गुराँसप्रतिको आकर्षण एकातिर छ भने यसको जैविक तथा पर्यापर्यटकीय महŒव पनि उत्तिकै छ। गुराँसले वनको शोभा बढाउने र पर्यटक आकर्षित गरेको पाँचथर, दीप ज्योति युवा क्लबका निर्देशक सुनिल वान्तवा बताउँछन्। ‘गुराँसको वन क्षेत्रमा इको ट्रिप उपयुक्त हुन्छ। पर्यापर्यटनमा गुराँसको महत्व बढी छ। गुराँसलाई पर्यटनसँग जोड्नुपर्छ,’ वान्तवा भन्छन्, ‘विकास निर्माण तथा विभिन्न अतिक्रमणका कारण गुराँस वन क्षेत्र घट्दै गएको छ। यसलाई जोगाउन गुराँससम्बन्धी थप अध्ययन र अनुसन्धान आवश्यक छ।’ त्यसो त गुराँस संरक्षण र प्रचारका लागि पार्कहरू निर्माण लगायत काम गरिँदै छ। गुराँस क्षेत्रमा चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री लगायत सुटिङ पनि गर्न थालिएको छ। २०१९ पौष १ देखि लालीगुराँसलाई नेपालको राष्ट्रिय फूल घोषणा गरिएको हो।

नेपालमा पहिलोपटक गुराँस लगायतको नुमना र बीउ संकलन स्कटल्यान्डका वनस्पति विज्ञ फ्रान्सिस बुखानन हामिल्टले गरेका हुन्। उनले सन् १८०२ देखि १८०३ सम्म नेपालमै बसेर गुराँसको नुमना संकलन गरेका थिए। त्यस्तै, गुराँस अध्ययनकै सिलसिलामा वनस्पति विज्ञ जेडी हुकरले सन् १८४८ नोपलका पूर्वी पहाडी क्षेत्रको भ्रमण गरेका थिए। पछिल्लो समयमा गुराँस मासिने क्रम बढ्दै गएकामा स्थानीय तथा संरक्षण अभियानका अगुवा चिन्तित छन्। सडक निर्माण, विद्युत् प्रसारण लाइन विस्तारका कारण गुराँसका रूख मासिने क्रम बढेको छ। त्यसो त दाउरा लगायत प्रयोजनका लागि गुराँस वन फँडानी भएको छ। कोसी करिडोरअन्तर्गत विद्युत् प्रसारण लाइनमा टिएमजे क्षेत्रमा ७ हजार ६ सय २९ गुराँसका रूख हटाउनुपर्ने बताइएको छ, जहाँ गुराँसको घनत्व धेरै छ।

त्यस्तै, विकास निर्माणका क्रममा गुराँसका रूख जोगाउनुपर्ने आवाज उठाउन थालिएको छ। गुराँसको घना वन क्षेत्रमा सडक लगायत पूर्वाधारका काम नगरी जैविक विविधता जोगाउनु आवश्यक रहेको डा. उप्रेतीको भनाइ छ। ‘नेपालमा गुराँस क्षेत्रबारे थप अध्ययन, अनुसन्धान हुन आवश्यक छ। गुराँसलाई पर्यापर्यटनसँग जोड्न धेरै काम गर्न बाँकी छ,’ डा. उप्रेती भन्छन्।

प्रकाशित: १ चैत्र २०७६ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App