१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

फिकुरीको चर्चा

फिकुरीडाँडा हिमालय दर्शनका लागि आकर्षक मानिन्छ। किस्पाङ गाउँपालिका–२ नुवाकोटमा अबस्थित डाँडा (३,५६८ मिटर)बाट लाङटाङ, गणेश, दोर्जेलाक्पा, मनास्लु, अन्नपूर्ण लगायत हिमाल छर्लगै दर्शन गर्न सकिन्छ। आकाश उघ्रिएका बेला काठमाडौं उपत्यका, गोसाईंकुण्ड र त्रिशुली बजार समेत देखिन्छ।

धार्मिक हिसाबले पनि फिकुरीको महत्व छ। फिकुरी दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ। डाँडामा बौद्धमार्गीका माने र हिन्दूको महादेव मन्दिर छन्। जनैपूर्णिमामा मेला लाग्छ। त्यतिबेला सर्बसाधारण, लामा र झाँक्रीको जमघट हुन्छ।
फिकुरीमा बेलाबेलामा पर्यटक डुलाइन्छ। पछिल्लो समय फिकुरी बेस क्याम्प मानेगाउँका ऊर्जा तामाङले एलायन्स एडभेन्चर प्राली मार्फत त्यहाँ पदयात्री पु-याउँदै आएका छन्। फिकुरी आन्तरिक पदयात्रीका लागि पनि सुहाउँदिलो छ–छोटो, मिठो र सस्तो।

फिकुरी पदमार्गमा पर्यटकीय चहलपहल बढाउन भर्खरै एउटा सुखद प्रयास भएको छ। ‘रसुवा–नुवाकोट पर्यटन समाज’ले फागुन ११ देखि १५ गतेसम्म पर्यटनकर्मीलाई फिकुरीमा परिचयात्मक भ्रमण गरायो। भ्रमण सफल बनाउन तन्नेरीहरू ऊर्जा तामाङ, गगनराज न्यौपाने र दिनेश तामाङले निकै कसरत गरेका थिए। उनीहरूको अभिभावकको भूमिकामा थिए–पर्यटनविज्ञ दिपक महत।

डाँडामा होटल छैन। तलका गाउँहरू ताजी, गोकर्ण, मानेगाउँ, भाल्चे र ठूलो गाउँमा होमस्टे सुविधा लिन पाइन्छ। नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य समेत रहेका पर्यटनविज्ञ महत भन्छन्, ‘मानेगाउँ मास्तिर बीचमा र फिकुरीडाँडामा सामुदायिक लज बनाउन पहल गर्छौं।’

फिकुरीबाट अन्य पदमार्गहरू रुबी भ्याली, तामाङ हेरिटेज ट्रेल र सिङ्ला पास जान सकिन्छ। समाजले ७ दिनको पदयात्रा प्याकेज बनाउँदैछ। साथै पदमार्गको नक्सा, युट्युव भिडियो, ब्रोसर लगायत प्रर्वद्धनात्मक सामाग्री उत्पादन गर्ने जानकारी अभियन्ता न्यौपानेले दिए।

नेपालीले काठमाडौंबाट फिकुरी यात्रा गर्न ५ दिन छुट्टयाउनु पर्छ। काठमाडौं–टोखा–त्रिशुली–मानेगाउँ ६१ किमि, बसमा ५ घन्टा। मानेगाउँबाट दुई दिन पदयात्रामा फिकुरी। एलायन्स एडभेन्चरले आन्तरिक पदयात्रीलाई पनि फिकुरी घुमाउँछ।
सम्पर्क ः ऊर्जा तामाङ–९८५११५५७०२

प्रकाशित: १ चैत्र २०७६ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App