शीलष्मी थपलिया
कक्षा – ८, सुर्योदय आवासीय स्कुल।
जब आफ्नो भर्खरै गएको घान्द्रुकको यात्रा सम्झन्छु तब आफ्नै अनुहारमा मुस्कान र मनमा सन्तुष्टि छाउँछ। यो यात्रालाई त कहिल्यै बिर्सन्न होला है भन्दै आफै सोच्दै मक्खिन्छु। पौष २९ गते सुरु भएको मेरो गन्तव्य त्यति सजिलो थिएन। तर मनमा झल्किरहेका ती सुन्दर गाउँ घान्द्रुकको तस्विरले यात्रालाई हौसाइरहेको थियो।
फोज ( फ्रेन्डस् अभ जू) क्लबले आयोजना गरेको चार दिने यात्रामा काठमाडौं उपत्यकाका दश स्कूलका पच्चीस जना जेहेनदार विद्यार्थीहरू सहभागी थिए। त्यसमा साथी प्रियंका पाल र म सुर्योदय सेकेन्डरी आवासीय विद्यालयबाट प्रतिनिधित्व गर्ने अवसर पाएका थियाैँ। पौष २९ गतेको बिहान ७ बजे जावलाखेल ललितपुरबाट गाडी प्रस्थान गर्नासाथ मनमा खुशीले काउकुती लगाउन थालिसकेको थियो। यात्रा कस्तो रहने होला ? बाटोमा केही समस्या आइपरे के गर्ने होला ? साथीहरू कस्ता होलान् ? यस्तै कुराहरूले दिमाग घेर्न थालिसकेको थियो। पहिला पनि परिवारसँग काठमाडौंदेखि पोखरा गएको थिएँ तर यसपालि अपरिचित साथीहरूसँग जाँदै थिएँ। त्यसैले हर्षका साथसाथै चिन्ता पनि लागिरहेको थियो। जाँदै गर्दा बाटामा देखिएका बगिरहेका खोला, कलकल झरना, फुङ्ङ उडेका पहाड र पहाडको काखमा च्यापिएका सुन्दर गाउँबस्ती, हिउँको बर्को ओढेर मुस्कुराइरहेका हिमालका प्राकृतिक दृश्यहरू देख्दा मनै आनन्दित भइरहेको थियो। पोखरा पुगी केही क्षणको आरामपछि अन्नपूर्ण कन्जरभेसन एरियाको अफिसमा गई यात्राबारे थप जानकारी लियौं। गुप्तेश्वर महादेव गुफा र डेविड फल्सको अवलोकन गर्दै प्राकृतिक सौन्दर्यको आनन्द लियौं। पोखराको रात्रीकालीन बजार हेर्ने भनी एकछिन बजार डुल्न गयौ। प्रगति विद्या मन्दिर र लिटिल एन्जल्सका दुई साथी पनि हाम्रा रुम पार्टनर बन्नुभयो। यसले गर्दा अलग स्कुलबाट आउनुभएका साथीहरूको विचार, गतिविधि र विद्यालयको बारेमा धेरै जानकारी प्राप्त गर्ने अवसर एकैसाथ पाएकोमा झनै खुशी भएँ। गफगाफ, जोक्स र अन्ताक्षरीजस्ता गतिविधिले सुत्दा १ बजेको थियो। तैपनि हामी बिहान समयमै ज-याकजुरुक उठिहाल्याैँ।
प्रमुख गन्तव्य पुग्न बाँकी नै भएकोले बिहानको स्वास्थ्यवद्र्धक नास्ता लिएर घान्द्रकुकको लागि प्रस्थान गरियो। घान्द्रुक प्रस्थान गर्नुअघि पोखरामै विन्ध्यवासिनी मन्दिरमा गई माताको दर्शन पनि गरियो। बाटामा देखिएका खोलानाला, झरना र सुन्दर बस्तीहरूको दृश्यलाई मनमा कैद गर्दै हामी घान्द्रुक पुग्यौ। जुन दृश्यहरू निकै रमणीय र अविष्मरणीय थिए। त्यसको व्याख्या गर्ने मसँग शब्द नै छैनन्। गाडीबाट झरेपछिको पहिलो दृश्यनै क्यामेराले फोटो खिचेझैं मनमा सेभ भइसकेको थियो। आफूलाई बादलमाथि कतै क्षितिजमा पुगेको अनुभवमा डुबिरहेको थिएँ। त्यसमाथि ती सुन्दर, सफा, स्वच्छ बस्ती र ग्रामीण घरहरू, व्यवसायिक होटल र रेष्टुरेन्टको दृश्यको मजा त बेग्लै नै थियो। जुन हिमालको काखमा आनन्दले लिप्त भएझैँ लाग्थ्यो। त्यही भएको एक्याप अफिसमा गएर यात्राको विषयमा थप जानकारी लियौं र वरिपरिका ग्रामीण बस्तीहरूको अवलोकन गर्न हिँड्यौ। घान्द्रुक एउटा सानो गाउँ भए पनि त्यहाँका मानिसको आफ्नो गाउँप्रतिको माया र लगाव निकै उदाहरणीय लाग्यो। सबै नेपालीले आफ्नो गाउँलाई यसरी नै माया गर्ने हो भने नेपाल साँच्चै स्वर्ग हुन्थ्यो होला। मनमा विकासका कुरा खेल्न थालेँ। पहिलो पटक क्याम्प फायरको मजा लिँदै नाँच्दैगाउँदै यात्रालाई अझै अविस्मरणीय बनाउने धुनमा लागिरह्यौ। भोलिपल्ट आँखा खुल्दा त पानी परिरहेको रहेछ। वरिपरिको डाँडाहरूमा हिउँले बर्को ओढिसकेछ। लामो समयदेखिको हिउँलाई नजिकबाट नियाल्ने र छुने अवसर पाएकोमा खुशीको सिमाना नै थिएन। चिसो धेरै थियो तैपनि यसको बेवास्ता गर्दै विद्यालयको डे केयर सेन्टरको पनि अवलोकन ग¥यौं। गाउँमा स्थानीय मानिसहरू मिलेर बिजुली उत्पादन गरेका रहेछन्। हामी गुरुङ जातिको बाहुल्य भएको ठाउँमा पुगेका रहेछौं। गुरुङ म्युजियमको अवलोकन ग-यौं। त्यहाँ गुरुङ जातिले चलनचल्तीमा ल्याउने भाँडाकुडा र वेशभूषा कति राम्रोसँग सजाएर राखिएको थियो।
गुरुङ्सेनीको कपडा लगाई फोटो खिच्दा आफूलाई गुरुङ्सेनीझैं लागिरहेको थियो। केही समय बस्ने इच्छा हुँदाहुदै पनि घान्द्रुक गाउँलाई बिदाइको हात हल्लायौं। पानी परेकोले बाटो हिलो र चिप्लो भइसकेको थियो। तैपनि चालक अनुभवी भएकोले मनमा शान्ति मिल्यो। पोखरा फर्केर हामी फेरि महेन्द्र गुफा गयौं। दिउँसोको थकाइले राति भुसुक्क निदाइएछ। भोलिपल्ट उठेर चियानास्ता खाई पोखराको म्युजियम हेर्न गयौं। त्यहाँ विभिन्न किसिमका पुर्खौली सामान र मूर्तिहरू सजाएर राखिएको थियो। त्यसपछि ढिलो नगरी फेवाताल गयौं। फोटो खिच्दै रमाइलो गर्दै तालवराही मन्दिरको दर्शन पनि ग-यौं र मन नलागीनलागी पोखरालाई पनि बाईबाई भन्दै काठमाडौं प्रस्थान ग¥यौं। यात्रा सकेर फर्कदा नरमाइलो लागिरहेको थियो तर अझ अविस्मरणीय बनाउन साथीहरूसित मिलेर गाउँदैनाच्दै फर्कियौ जसले गर्दा नरमाइलो सोच्ने फुर्सद नै भएन।
यो यात्राले रमाइलो दिनुका साथसाथै अरू थुप्रै कुराहरूको अनुभव दिलायो। नयाँनयाँ साथीहरू बनाउन र घुलमिल हुन सिकायो। ग्रामीण परिवेश, प्राकृतिक सुन्दरताको नजिकबाट अवलोकन गर्ने र बुझ्ने अवसर मिल्यो। शिक्षकशिक्षिकाहरूको निगरानी र निर्देशनले अनुशासनमा रहेर घुम्न र रमाइलोको मजा लिन सक्ने बनायो। गाउँले जीवनको अवलोकन र कठिनाइलाई नजिकबाट हेर्ने अवसर पनि जु-यो। यस्ता शैक्षिक भ्रमणले सोच्ने र बुझ्ने क्षमताको विकास गराउँदो रहेछ भन्ने कुरा पनि थाहा भयो। यतिखेर झलभली घान्द्रुक सम्झिदै छु। एकचोटि तपाई पनि घुम्न जानस् है घान्द्रुक ! ‘घान्द्रुक झलल ...!
प्रकाशित: ११ माघ २०७६ ०४:४४ शनिबार