हामीले दशक अघिदेखि सुन्दै आएको नेताहरूको एउटा उधारो भनाइ– ‘नेपाललाई सिंगापुरजस्तै बनाउँछौं।’ ठुल्ठूला नेताले भनेको सुनेपछि मैले पनि कहिलेकाहीँ सोच्थेँ– सिंगापुर कस्तो होला ?
सिंगापुर भन्नेबित्तिक्कै मेरो कल्पनामा आउँथ्यो– सफा, सुन्दर, हरियाली र आधुनिक सेवा–सुविधाले भरिपूर्ण गाउँ र सहरको देश। संयोग मिल्यो र म सन् २०१८ मा सिंगापुर पुगेँ। पहिलोपटक संसारकै व्यस्त मानिने सिंगापुरको चाँगी एअरपोर्ट टेक्दै गर्दा हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्झेँ। कल्पना गरेँ, हाम्रो विमानस्थल यस्तै हुने कहिले होला ! चाँगी एयरपोर्टबाट नेसनल युनिभर्सिटी परिसर पुग्दासम्म बाटोमा गगनचुम्बी भवन, हरियाली, सफा र खुला सडक आदिले मेरो मन लोभ्याइरह्यो।
देश बनाउन धेरै मान्छे चाँहिदैन, इमानदार र दूरदर्शी नेता भए सानो देशले पनि ठूलो प्रगति गर्न सक्छ भन्ने उदाहरण हो, सिंगापुर। ली क्वान युको नेतृत्वमा प्रगति गरेको देश सिंगापुर कानुन कार्यान्वयन, विधिको शासनको उदाहरण पनि हो। यहाँ जनताले चाहेको सेवा–सुविधा दिने सरकार छ। हाम्रा नेताले सिंगापुर जस्तो देश बनाउने कुरा त गरे, तर त्यहाँका नेताको जस्तो अभ्यास र व्यवहार सिकेको देखिँदैन। सिंगापुरको क्षेत्रफल निकै सानो छ, जम्मा ७१९.९ वर्ग किमि। जहाँ त्यति प्राकृतिक स्रोत–साधन छैनन्, बन्दरगाहबाहेक। तर, यहाँका नेता र जनताको अथक् परिश्रममा प्रगति गरेको सिंगापुर दुनियाँको ध्यान खिच्न सफल छ। नेपालजस्तो प्राकृतिक सुन्दरता, ऐतिहासिक महत्वको धनी हुन्थ्यो भने सिंगापुर अझै कहाँ पुग्थ्यो होला !
म पुगेको समयमा सिंगापुरले आफ्नो ५४औँ राष्ट्रिय दिवस मनाउँदै थियो। सन् १९६५ मा स्वतन्त्र राष्ट्र हुँदा यहाँ अनेक समस्या थिए। त्यसबेला मलया र चिनियाँबीच जातीय दंगा भएको थियो। सात महिना चलेको जातीय दंगाले संकटग्रस्त अवस्था समेत घोषणा गर्नुपरेको थियो। सन् १९३८ मा बेलायतीहरुले सामुद्रिक पोर्टको रूपमा विकास गरेपछि सिंगापुर व्यवसायका लागि महत्वपूर्ण बनेको थियो। सिंगापुरका पहिलो प्रधानमन्त्री ली क्वान युले सिंगापुरलाई सम्पन्न देश बनाए। अचम्म लाग्छ, त्यहाँ कहीँकतै ली क्वानको सालिक देख्न पाइँदैन। किनकि उनी जनताको मनमनमा बसेका छन्। ३१ वर्ष प्रत्यक्ष शासन गरेका उनले देशलाई समृद्ध बनाए। उनलाई त्यहाँका जनताले ‘राष्ट्रपिता’ मान्छन्।
त्यहाँ चीनबाट गएका ७४ प्रतिशत, मलेसियाबाट १३ प्रतिशत, भारतबाट ९ प्रतिशत र अन्य देशबाट गएका चार प्रतिशतको बसोबास छ। सीमित जमिन रहेकाले यहाँ समुदाय बनाउन प्रतिशत छुट्ट्याएर फ्लाट दिने गरिएको छ। विद्यालयमै बालबालिकालाई सानैदेखि सिंगापुरले जातीय, धार्मिक एकताका लागि शिक्षा दिएको छ।
म्युजियको महत्व
लिच्छविकाल, मल्लकाल हुँदै गणतन्त्रसम्म आइपुगेका हामी इतिहास, कला–संस्कृतिमा समेत उत्तिकै धनी छौँ। तर, हामीले यसको जर्गेना र प्रदर्शन गर्न सकेका छैनौँ। सन् २०१९ को सेप्टेम्बरमा म सिंगापुरको ‘राष्ट्रिय म्युजियम’ पुगेँ। जहाँ भौतिक वस्तु राखिएका छैनन्, यो डिजिटल म्युजियम हो। सिंगापुरको इतिहास लामो होइन, तर जति हो, त्यसलाई आधुनिक प्रविधिमा ढालेर राखिएको छ। पुरानो सिंगापुर र परिवर्तित अवस्थालाई म्युजियममा देख्न सकिन्छ। म्युजियममा ऐतिहासिक विषयलाई श्रव्य–दृश्यका माध्यमबाट राखिएको छ। अर्को सिंगापुर पुलिसको भवनमा अवस्थित म्युजियम अवलोकन गर्न पाएँँ, जहाँ वीर गोर्खालीको इतिहास समेत अटेको छ। सिंगापुर बचाउने लडाइँमा गोर्खालीको तस्बिर देख्न पाउँदा निकै गौरव लागेको थियो। गोर्खाली लगायतको अडियो, एनिमेसन भिडियोमार्फत हेर्न, सुन्न पाइन्छ। मलाई महसुस भयो, आफ्नो इतिहास जोगाउन नसकेकामा हामीलाई कालान्तरमा पछुतो हुनेछ।
अपार्टमेन्ट ‘आई’
नेसनल युनिभर्सिटी सिंगापुरको अपार्टमेन्ट ‘केन्ट भेल’को ब्लक आई, फ्लाट नम्बर १२–१३ मा मसहित १३ देशका १६ जना साथीहरू बस्थ्यौँ। ‘एसिया जर्नालिजम् फेलोसिप’का लागि चीन, भारत, इन्डोनेसियाबाट दुई–दुईजना, नेपाल, भुटान, श्रीलंका, पाकिस्तान, म्यानमार, काजकिस्तान, मंगोलिया, सिंगापुर, फिलिपिन्स, लाओसबाट एक–एक पत्रकार छनोट भएका थियौँ। एसियाकै विविधतामा एकता खोजिरहेको सिंगापुरको तमासेक फाउन्डेसनले पोलिसी अफ स्टडिजसँग मिलेर विगत १० वर्षदेखि पत्रकारलाई अनुभव लिने र साटासाट गर्ने अवसर दिँदै आएको छ। त्यसैको नाम हो– एसिया जर्नालिजम् फेलोसिप।
मसँग फ्लाटमेट थिइन्, लाओसकी निङ। चीन र भारतका साथी एउटै फ्लाटमा बस्थे। दुई ठूला देश भएकाले हामी चीन र भारतको मित्रताका विषयमा जिस्क्याउँथ्यौँ। सिंगापुर जाने बेला मेरो मनमा अनेक तर्कना आइरहेका थिए। कुन देशबाट कस्ता खालका पत्रकार आउने होलान् ! त्यहाँ पुगेपछि भने साथीहरुसँग घुलमिलमा कठिन भएन। हामी सबैको आ–आफ्नो देशका मिडियामा काम गर्ने शैली, पत्रकारिताको अनुभव केही मिल्दोजुल्दो थियो। सरकारबाट सूचना पाउन निकै कठिन हुने अनुभव सबैको एउटै थियो।
सुरुमा भेट्दा भिन्नभिन्न देशका हामीहरुको बोलीको लबज फरक थियो। तर, हामी सबै एसियन थियौँ। सुरुमा भाषा एउटै (अंग्रेजी) भए पनि कसैले कसैको लबज सजिलै बुझिँदैनथ्यो। पछि थाहा भयो, सबैजना एकले अर्काको लबज नबुझेर हैरान परेछौँ। बिस्तारै बानी पर्दै गयो र आखिर हामी एउटै परिवारजस्तै भयौँ। तीन महिना बितेको पत्तै भएन। हामी आ–आफ्नो देशको खानेकुरा बनाएर सामूहिक रुपमा खान्थ्यौँ। एसियाको साझा खानेकुरा भात थियो, अरु आ–आफ्नै स्वाद र परिकार। कोही पकाउन माहिर, कोही अल्छी। हुँदाहुँदा हामी ‘चिल्ली गु्रप’ बन्यौँ। जुन गु्रपमा खुर्सानीबिना भान्सा अड्किन्थ्यो। हामी खुर्सानी खाने र नखाने दुई समूहमा बाँडिएका थियौँ। हाम्रो भान्साको नारा ‘फ्याट टुगेदर’ बनेको थियो। अर्थात्, सँगै खाएर सँगै तौल बढाउने। भुटान, म्यानमार, इन्डोनेसियाका साथीले तीन महिनामा ४–५ किलो शरीरको तौल बढाएका थिए।
मन्त्रीको व्यवहार
‘तपाईंहरूलाई सिंगापुर कस्तो लाग्यो ? केही सल्लाह–सुझाव दिनु छ कि ?’ सिंगापुरकी मेनपावर मन्त्री जोसेफाइन टिओले हामीलाई सोधिन्। उनी गृह मन्त्रालयको दोस्रो मन्त्री समेत हुन्। मन्त्री टिओले आफ्ना जनताका प्रत्यक्ष समस्या सुन्ने क्रममा एसियाका पत्रकारसँग अन्तक्र्रिया गरेकी थिइन्। उनको प्रश्नमा हामी मुखामुख ग-यौँ। हामी फरक–फरक देशबाट केही दिनका लागि सिंगापुर आएकालाई के प्रश्न सोधेकी होलिन् ? एकजना पाकिस्तानी साथीले जवाफ दिइहालिन् ‘बेटर द्यान आवर कन्ट्री’। उत्तर सुनेर मन्त्री फिस्स हाँसिन्। त्यसपछि हामीले भन्यौँ, ‘सिंगापुर हामीलाई निकै सुरक्षित लाग्यो। हामी रातको १२/१ बजे पनि निर्धक्क हिँड्न सक्ने रहेछौँ।’ उनले हाम्रो कुरा सुनेपछि मुस्काइन् र भनिन्, ‘म मेरी छोरी हरपल सुरक्षित रूपमा हिँड्न सकून् भन्ने चिन्तामा हुन्छु। मेरी छोरी जुनसुकै बेला सिंगापुरमा निर्धक्क हिँड्न सक्नु भनेको सबै महिला सुरक्षित हुनु हो।’
तर, हामी आफ्नै देशमा एक्लै हिँड्दा मनमा डर लिएर हिँड्नुपर्छ। सिंगापुरमा जस्तै हामीकहाँ जुनसुकै बेला निर्धक्क हिँड्न पाउने वा सक्ने दिन कहिले आउला ! मन्त्री जोसेफाइनले हाम्रो टिमसँग करिब एक घन्टा बिताइन्, सिंगापुरको सरकारका योजना सुनाइन्। आफ्नो देशलाई १० वर्षपछि कहाँ पु-याउने, कस्तो प्रविधि विकास गर्ने, नयाँ पुस्ताले कस्तो कामको माग गर्दै छन्, नयाँ पुस्ता के चाहन्छन्– यी विषयमा अध्ययन भइरहेको र नयाँ पुस्ताको माग अनुसार योजना बनाइने बताइन्। अन्तमा उनले हामीसँग सेल्फी खिचिन्। अर्को एक दिन, रातको १० बज्दै थियो। लस्करै राखिएका कुर्सीमा सयभन्दा बढी मानिस थिए। उनै मन्त्री जोसेफाइन सबैलाई पालैपालो भेटेर, हात मिलाएर उनीहरुका समस्या सुन्न व्यस्त थिइन्। उनको यो तालिका हरेक साताको एक दिन चल्छ।
उनी मात्र होइन, सबै मन्त्रीले त्यहाँ नागरिकका गुनासा र समस्या सुनेर सकेसम्म सुल्झाउँछन्। सिंगापुरमा सरकारले नै सार्वजनिक भवन (पब्लिक हाउजिङ) उपलब्ध गराएको छ। सार्वजनिक घरमा बस्नेका सानातिना समस्या, छोराछोरीका स्कुल परिवर्तनदेखि सरकारसँगका गुनासा मन्त्रीसँग सिधै पु-याउने व्यवस्था रहेछ। जनताका साना समस्या मन्त्रीले निकै ध्यान दिएर सुन्छन् र सरकारले समाधान दिन्छ। ती मन्त्रीलाई देखेर मैले सोचेँ– हाम्रा देशका कति मन्त्री÷नेताले यसरी जनतासँग साक्षात्कार गरेका होलान् ? जनतामाझ भोट मागेपछि फेरि फर्किएर जाने कति होलान् ?
एकपटक भुटानका साथी छिरिङ पाल्देन आफ्ना प्रधानमन्त्रीसँग म्यासेन्जरमा च्याट गर्दै थिए। प्रधानमन्त्रीले सोध्दै थिए, ‘तिमी अहिले कहाँ छौ, तिमीलाई कस्तो छ ?’ उनले आफू सिंगापुरमा भएको बताए। प्रधानमन्त्रीको जवाफ थियो, ‘वेल डन ! त्यहाँ राम्रो गरेर आऊ।’ हुन त भुटान सानो देश, थोरै जनसंख्या छ। चिनिएका पत्रकारले प्रधानमन्त्रीसँग सिधै च्याट गर्न सकेका होलान्। लाग्यो, मैले पनि यसरी देशका प्रधानमन्त्रीसँग नैै नभनौँ, कम्तीमा मन्त्रीसँग सीधै सूचना लिने दिन कहिले आउला !
त्यत्ति नै बेला हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर उपचारका लागि पुगेका थिए। म त्यहीँ भएकाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जान्ने मन भयो। म एक नागरिकले आफ्ना प्रधानमन्त्रीको स्वास्थ्य कस्तो छ, उपचार कसरी हुँदैछ जान्न पाउने अधिकार राख्थेँ वा राख्दिनथेँ, आफ्नो ठाउँमा छ। जेहोस्, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई ट्विटरमा डिएम गरेँ, ‘मैले तपाईंलाई भेट्न सक्छु ?’ भाइबरमा म्यासेज गरेँ, ‘मैले भेट्न सक्छु ?’ भाइबरमा कल पनि गरेँ। म्यासेज हेरिएको थियो, अहँ कुनै वास्ता भएन। हामीबीच व्यक्तिगत चिनजान नभएका कारण पनि हुन सक्छ। तर, मैले आफ्नो सबै परिचय खुलाएर लेखेकी थिएँ। हेरिएको म्यासेजको जवाफ पनि दिन उचित ठानिएन। जवाफ दिन समय भएन कि ! देशको एक नागरिकले सार्वजनिक पदमा बसेका व्यक्तिलाई सोधेको म्यासेजको उत्तर दिँदा कतै कद घट्ने हो कि ! सिंगापुरमा जस्तै हाम्रो देशमा जनताले मन्त्रीहरुसँग हात मिलाएर आफ्ना समस्या राख्ने दिन कहिले आउला ? भुटानको साथीले जस्तै प्रधानमन्त्रीसँग च्याट गर्ने दिन हामी नेपालीको आउला त ?
सिंगापुरभित्रको सानो नेपाल
सिंगापुरमा ‘लिटिल इन्डिया’ र ‘चाइना टाउन’ छन्। ती ठाउँले भारत र चीनकै प्रतिनिधित्व गरेका छन्। त्यस्तै त्यहाँ नेपालीहरुको पनि छुट्टै बसाइ रहेको स्थल छ। ‘सिंगापुरे लाहुरे’ मेरा लागि परिचित शब्द हो। सिंगापुरले ‘गोर्खा युनिट’लाई छुट्टै ठाउँ दिएर राखेको रहेछ। त्यहाँ नेपालभन्दा गोर्खा बढी प्रचलित छ। गोर्खालीहरु सिंगापुरवासीसँग घुलमिल हुन नपाउने रहेछन्। एकजना मेरै गाउँले साथी भएकाले ‘गोर्खा युनिट’भित्र पुग्ने अवसर पाएँ। त्यहाँ सबै नेपाली थिए। एउटा ‘विष्णु मन्दिर’ पनि छ, जसका लागि पूजारी नेपालबाटै लगिएको छ। लाहुरेहरू दशैँ, तिहारजस्ता चाडपर्व भव्य रूपमा मनाउँछन्। सबैलाई नामले होइन, नम्बरले बोलाइन्छ। नम्बरकै आधारमा चिनिन्छ। त्यहाँ पुग्दा मलाई आफ्नै देशको महसुस भयो। क्याम्पभित्र लाहुरे र परिवार गरी करिब २० हजार नेपाली रहेको मेरा साथीले बताए। त्यहाँ मैले मेरै गाउँमा उत्पादित आलु, टिमुरको अचारको स्वाद चाख्न पाएँ।
प्रकाशित: ४ माघ २०७६ ०३:५१ शनिबार