८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

मलामी

वैशाखमा म पढ्न पोखरा झरेँ । सिँगार भञ्ज्याङबाट ओरालो झरिरहँदा सेतीले मेरो बाटो छेकी । उसका हातमा रातो कपडाले बेरेका दुईटा पोका थिए ।
‘म पोखरा जानी कुरो कसरी थाहा पाइस् ?
ऊ सुस्तरी बोली– मुटु चलेको था हुन्न र ?
‘अनि त्यो के ल्याकी नि ?’
‘खै दिनुस् झोला,’ उसले हात लम्काई ।’
उसैले मेरो झोला खोसेर आफूले समातेका पोका त्यहीँ राखिदिई ।
म अघि बढ्न खोजेँ– म जाम त ?

ऊ बोलिन । मैले दोस्रो पटक बोलाएँ । ऊ बोल्दै बोलिन । म दुई पाइला अघि सरेँ ।
‘हिमालको डाँफेझैं उड्नुस् । आफू त खोरकी पोथी दिनभरि चरे नि राति त्यै खोराँ थुनिन्छु ।’
सेतीको बोलीले मुटुमा वाण हानेझैं भयो । मेरा ओठ खुलेनन् । अझ दुई पाइला अघि सारेँ– तँ पनि पढ् है ।
हिउँ पग्लेर बगेको पानीजस्तै उसका सेता गालाबाट आँसु घाँटीतिर बग्दै थियो– दिन्नन् बाले पढ्न । दश कक्षा त पढाउन्न भन्छन् । छोरी मान्छेले पढेर क्यार्नी हो र ! अब बिहा अर्नी अरे !
धुर्सेलीको पात च्यातेर उसले आँसु पुछी ।

‘म दशैंमा आम्छु । आल्खोलामा पिङ खेल्न जाम्ला है ।’ म यति भन्दै ओरालो झरेँ ।
सेतीले एकोहोरो हेरिरही । कडुसघारीको वन सुरु हुनै लाग्दा फर्केर हेरेँ । उसले माथिबाट रातो दुपट्टा हल्लाई ।
सेतीले झोलामा के राखिदिई ? मन खस–खस भयो । केही पर पुगेर झोला खोलेर हेरेँ । एउटामा गुन्द्रुक, मस्यौरा र सिल्टुम पातलो कपडाको टालोमा छुट्टाछुट्टै पोको पारेको रैछ । अर्को स्यानो पोको थियो । त्यो खोलेँ । त्यहाँ गडी (नरिवल), मिस्री र एउटा गुराँसको फूल थियो ।
०००
अघिल्लो वैशाखमा सेते लुगा सिउन आएको थियो । सँगै थिए, उसकी श्रीमती जुनकीरी र सेती ।
ऊ साच्चै सेती थिई, बाङ्खेबाट देखिने माछापुच्छर्रेको हिउँजस्तै । उसका गाला नौनी दलेजस्तै थिए, पुक्क उठेका । उसले खैरो ब्लाउज र लामो फ्रक लगाएकी थिई । फ्रक र ब्लाउजले नछोपेको ठाउँमा पातलो दुपट्टा बेरेकी थिई । म उसको रूप हेरेर घोरिएको थिएँ ।
धारामा भाँडा माज्दा उसले नदेख्ने गरी पानी छ्यापिदिएको थिएँ । ऊ रिसाएकी थिई– छ्या कति मात्तिनु भको ?
भात खाँदा आमाले भन्नुभयो– तँ त्यो दमिनीसँग धेरै नहिस्करिई त ! खुरुक्क गाई फुकार गैहाल ।
शनिबार मेरो गाई फुकाउने पालो हुन्थ्यो ।
मैले जिस्क्याएँ– सेती तँ नि जान्छेस् मसँग गाई चराम्न ?
आमाले पिँढीबाट मलाई आँखा तर्नुभयो ।
उसैगरी सेतेले तर्‍यो– स्यानबाउ जान्न सेती । ह्याँ थाउना टाल्न छ । भाउजू एक्लै हुन्छे । आजै काम सकेर जानी हो ।
गोठ पुगेर गाई फुकाएँ । गाईका बथान चिन्नेको रुखबाट ओरालिए । पछाडि स्यार–स्यार आवाज आयो । फर्केर हेरेँ । सेती रैछ ।
‘नखरमाउली आइछस् त ।’
ऊ मुसुमुसु हाँसी– भाटे गाईले दुःख दिन्छ । जा भो सेती भन्नु भ आमाले अनि...
०००
मिर्दी खोलो सङ्लो थियो । त्यहाँ पानी कम हाम्रो जवानीको रस बढी बगेजस्तो देखिन्थ्यो । मैले एक अञ्जुली सङ्लो पानी उबाएर सेतीतिर हुत्याएँ । उसले दुई हातको छाता ओढी । अनि मतिर पानीका छिटा फ्याँकी । हामी केहीबेर छ्यापाछ्याप खेल्यौं । अनि खोलो तरेर पारिपाखा पुग्यौं । गाई डाँडापल्तिर गए । हामी चिलाउनेको रुखमुनि बस्यौं । अँगेरी खाँदै गाई–बाख्राका पछिपछि निकै तल पुग्यौं ।
सेतीले टाँकीको पूmल टिपेर लामो कपालको पुछारमा गाँसी । कालो कपालमा सेतो फूलको फुर्को, आकाशको खुर्पे चन्द्रमा जस्तै देखियो ।

‘तँ त दुलही जस्ती देखिइस् । मसँ ब्या अर्छेस् ?’
ऊ भावकु बनी, ‘नछुने जातसँ के को ब्या हो । मलाई कोरले मार्नी मन छ र !’
मेरो मन नजिकै छङछङ गरिरहेको खोलाको पानीमा मिसियो, ‘सेती ! हामी तरेर आएको खोलो र पानीको जात देखिस् ? रङ कस्तो थियो ?’
ऊ निहुरिमुन्टी ‘न’ बनेर उभिइरही ।
‘पानीको जात र रङ हुँदैन भने मान्छे पनि त्यही हो । राम्ररी बुझ् ।’
हामी भुतुतुतु ... धूवाँ फाल्ने छरछुन्नेको छहरो माथि पुग्यौं । वैशाखका घाम पखाल्न मलाई पौडी खेलूँ–खेलूँ भयो । सेतीलाई बोलाएँ । ऊ मानिन ।
तँ तेतै बस है त, भन्दै म झम्लङ्ग रहमा फङ्गालेँ ।

पौडिरहँदा मेरा आँखा धारे ढुंगाको छेउबाट कुनापट्टी पुगे । त्यहाँ सेती पनि पौडिँदै रैछ ! मैले लुकेर हेरिरहेँ । उसले लाएको लामो फ्रक सङ्लो पानीमा तैरिएको थियो । उसको छातिमा अघि लगाएको ब्लाउज थिएन ।
एक्कासि हाम्रा आँखा ठोक्किए । ऊ टाउको मात्र देखाएर पानीमा थुचुक्क बसी– हजुर त कस्तो शर्म नभको ...
घाम मधुरा हुन थाले । रुखपातबाट सर्दै गए । पारिपाखाले छेकेर फाँडेको ठाम अँधेरो हुँदै गयो । त्यहाँ दुईटा ठूल्ठूला गोल (कोइला) पोल्ने खाल्टा थिए । हिउँद लाग्यो कि गहतेका कामीहरू गोल पोल्न झर्थे । आरनमा भविष्यको सपना देख्नेहरूका लागि ती दुई खाल्टा आस्थाका मन्दिर थिए ।
रुखका हाँगामाथि ढुकुर र हलेसाका मधुरा गीत बज्न थाले । चराका चिरबिर आवाजले दिन ढल्दै गएको संकेत दिइरहेथ्यो ।
हामी डाँडामाथि उक्लियौं । गाई त्यहीँ जम्मा थिए । घामले सिँगारभञ्ज्याङ काट्दै थिए । हामी गाई धपाउँदै घरतिर हिँड्यौं । त्यतिबेलै हो, मेरो मनको भित्री तह सेतीसँग साटिएको ।
०००
घरबेटी चिच्याए– भाइ फोन आछ ।
माथिल्लो तलामा पुगेर मैले फोनको रिसिभर समातेँ– म सेती बोलेकी हुम् के । दाइसँ कल किन्न पोखरा आइथेँ ...
उसले त्योभन्दा बढी बोलिन ।
मेरो मन सराङकोटबाट उडेर फेलातालमाथि कावा खान थाल्यो । खुसीको फूल उडेर माछापुच्छ«ेको फेदतिर हुइँकियो ।
मैले अथ्र्याएको बाटो समातेर दाजुबहिनी बगर आइपुगे ।
‘चिप्लेढुंगातिर राम्रो कल पाइन्छ अरे । घ्याङसिङको मने पनि आछ । म कल किनेर आम्छु । सेती तँ एकछिन स्यानबाउका कोठाँ बस् न त !’
सेते फनक्क फर्केर गयो । सेती त्यहीँ उभिइरही । उसले गुलाबी कुर्ता सुरुवाल लगाएकी थिई, दुपट्टा दुई कुममा मालाजस्तै बनाएकी । कपाल दुई चुल्ठी बाटेकी ।
मैले सोधेँ– पढ्न जान थालिस् त ?

‘अँ, दाइले बालाई कराम्दा–कराम्दा बल्ल माने । आठ कक्षामा भर्ना भइछु ।’
‘घरमा काम गरेर भए नि पढ् । अबको जमानाँ नपढेर काम छैन ।’
सेती सासले बोली– खै अब पढ्नी भन्नी यत्ति होला । मुसिराँ बिहा अर्नी भन्दैछन् बा ।
‘तँ पीर नलिई । दशैंमा आम्दा म जेठाबालाई सम्झाम्ला । तँलाई जसरी नि एसएलसीसँ पढ्नी उपाय हुन्छ ।’
ऊ पानसबत्तीभैmँ धपक्क बली ।
सेतीले तानमा बुनेको नीलो झोलाबाट खैरो सुइँटर निकाली ।
‘हजुरलाई भनेर बुन्देकी हुम्, जाडोलाई ।’
‘लाउन्न म त ।’

ऊ ठुस्किई– नलाए फाल्दिनुस् सेतीका बगरतिर ।
ढोकामा ट्वाकट्वाक आवाज आयो । खोलेँ । सेते आइसकेछ ।
‘ल स्यानबाउ हामी जान्छम् । दशैंमा आम्नोला नि ?’
ऊ दाइसँगै पछि लागी ।
‘सेती दशैंमा आल्खोलामा पिङ खेल्न जाम्ला है । म आम्छु ।’
मेरो बोली कानमा नपर्दैै ऊ पर पुगी । मसिनो हुँदै टाढा पुगेर आकाशले छोपिई ।
०००
दशैंको दिन । टीका लाएर म आल्खोला पुगेँ । एक बज्नै लाग्दासम्म सेती आइन । आल्खोलामा पिङ खेल्नेको ताँती थियो । पिङ र खोड्खोडे खेल्नेको बजार थियो । केही पर तन्नेरीको एउटा हुल दिउँसै रोदी बस्दै थियो–
जता हेरे पनि गाउँ र घर सालैजो यो डाँडाको पाखैमा
पुर्नेको जून नम्मरी सुन सालैजो बस्यौ तिमी आँखैमा...
मेरा आँखाले सेती खोजिरहे– बाँसघारीको बाटो हुँदै टुप्लुक्क आउँछे कि भन्दै । दुई बज्दासम्म ऊ आइन । अब नआउने भई– यही सोच्दै म खोड्खोडे खेल्नेको हुलमा मिसिएँ । पछाडिबाट कसैले मेरो कपाल तान्यो । फर्केँ, सेती रैछ ।

म रिसाएँ– तँलाई बिराली कति ढिलो अरेको ?
‘बाआमालाई ढाँटेर आम्न कम्ती हैरान ! दाइले जा भनेसी बल्ल हिँड्न पाएँ । धन्न दाइले मेरो कुरो काट्दैन । मेरा लागि देउतै हो सेते दाइ ।’
उसको फराकिलो निधारमा टीका थियो । कपालको चुल्ठोमा जमाराको पूmल ।
हामी एउटै पिर्कामा बसेर पिङ खेल्यौं । दिन ढल्दै गए । घाम विस्तारै राम्चेतिर उकालो चढ्दै थिए । त्यहाँबाट अझ माथि डुब्दै गए ।
आल्खोलामा बल्ल रोदीको रौनक बढ्न थाल्यो । आकाशले छिनमै भुइँभरि जूनका छाया खन्यायो । तिनै छाया ओछ्याएर हामी चौतारामा बस्यौं ।

‘ऊ हेर्नुस् त, त्यो चम्किलो तारा अनि कुनापट्टीको मधुरो तारा । तिनको कैल्यै भेट हुन्न होला हई !
हाम्रो सम्बन्धमा उसले शंका गरिरहन्थी । म मायाको नाता समाजभन्दा माथि भन्थेँ । ऊ यस्तो बेमेल नाता धर्तीभन्दा टाढा रहेको जिद्दी गर्थी । मलाई उसका कुराले पछाथ्र्यो । म सधैं उसका भावनाका शब्दसँग हार्थेँ ।
रातको दोस्रो प्रहर ढल्किँदै थियो । पिङमा मच्चिने मान्छे घट्दै थिए । चौतारामा हामी दुई एक थियौँ । साथमा फराकिला ढुंगा थिए । अनि जूनका चम्किला छाया । तिनकै सहारामा हामीभित्र प्रेमको गाँठो कस्सिएको थियो । चिसो रातमा हामीले न्यानो भावना साटिरह्यौं ।
०००
भाले बास्यो । हातको घडी हेरेँ । तीन बजेको थियो । पिङ मच्चिन छोडेको थियो । मादल बजाएर सालैजो गाउनेहरू सेलाएका थिएनन् ।
सेती बोली– जान्छु म त । बाआमा नउठ्दै गएर गोठको धन्ना भ्याउनु छ ।
‘हिँन म नि जान्छु तँलाई स्यारभन्जिङसँ छोड्न ।’
हामी आल्खोलाबाट अघि बढ्यौं । गाउँका कुकुर अघि नै उठेर भुकिरहेका थिए । केरमनको घर कट्दासम्म आल्खोलामा बजेको मादलको पाक्कुम गुम सुनिँदै थियो । अनि बिस्तारै सुनिन छोड्यो ।
हामी सिँगारभन्ज्याङ पुग्यौं ।

‘हेर्नुस् न ऊ जून नि अस्ताउन लाए । खै म नि अस्ताउँछु होला सधैंका लागि ।’
यसपटक उसको बोलीले मेरो मुटु नै फुत्केर बाहिर आउलाजस्तो भयो ।
ऊ भञ्ज्याङको डिलमा थुचुक्क बसी । र, मेरा खुट्टा चपक्क समाती– बाउसाप सुहाउँछु भने कमारी बनार राख्नुस् ।
‘पर्दैन सेती, मेरा खुट्टा नसमात् । मुसिराँ हामी पोखरा जाम्ला । त्यहाँबाट पनि टाढा काठमान्डू जाम्ला । अनि हाम्लाई कसैले भेट्दैनन् ।’
ऊ दुपट्टाले आँसु पुछ्दै ओरालो झरी । म सिँगारभन्ज्याङबाट तेस्रो लागेँ ।
०००
गएको बर्खा म नुन बोक्न आँधीखोला झरेको थिएँ ।
भारी गरुंगो थियो । उकालोमा अरू सामान खेप्नेको लर्को थियो । खच्चडका पछि–पछि सोली बोक्ने तरुनी– निच्यो, मैंयाँ, पेमा र निरमायाहरू । हरेकका सोलीमा बर्खाभरिलाई नुन, तेल र चामल थियो । ती मलाई बैंशले छिर्के हान्दै हाँसिरहन्थे ।

पछाडि अर्काे हूल त्यसरी नै उकालो उक्लिरहेथ्यो ।
उकालोमा उभिएर हेर्दा आँधीखोलाबाट भारी खेप्नेको लस्कर देखिन्थ्यो– निकै तलसम्म । नागबेली परेको बाटो बटारिएर क्षितिजतिर तन्केको ।
मैले समीको चौतारामा भारी बिसाएँ । छिनमै एलादीको वनमाथि कालो बादल मडारियो । यता घ्याङसिंहको पाखाभरि पानी पोखिइसकेको थियो । म भारी बोकेर अघि बढेँ । खाल्टे नपुग्दै पानीले छोप्यो ।
ऐंसेलुका टोप्राजस्ता पानीका थोपा झरे । म खाल्टेको चौतारामा बसेँ । पानी पर्न कम भएपछि छिट्छिटो हिँडेँ । त्यो दिन म क्यूँखोलाबाट अघि जान सकिनँ ।

उहिले–उहिले सिँगारभञ्ज्याङमा मसान लाग्छ भन्थे । रात परेपछि त्यो बाटो कोही हिँड्थेन । मलाई पनि राति हुँदो त्यो बाटो हिँड्ने आँट आएन ।
म बास बस्न धनसिंहको घरतिर ओर्लिएँ । ऊ हाम्रो बालीघरे दमाईं थियो ।
रिमरिमे अँध्यारोमा मलाई देखेर सबै दङ् खाए । रात गाढा अनि चकमन्न हुँदै थियो ।
धनसिंहले अह्रायो– ‘लो सेती स्यानबाउलाई खानी बेवस्था अर त । ढिकी पट्टी लिपी दे । आल्माडीमा राखेको चोखो थाल, चम्चा र देउची टक्र्‍या । धन्न दूध भको बेलाँ आएचन् ।’
सेतीले बाले भनेझैँ गरी ।

मेरा ओठ सुस्तरी चले– जेठाबा किन यस्तो अर्न परो र म जेठीआँले पकाकै खान्छु नि !
बूढा च्याठ्ठिए– यिनलाई के भ छ हँ ? ह्वाँ मास्टरको कत्रो इज्जत । तीन गाउँसम्म यजमानीको चर्चा छ । यी ह्याँ दमैंले पकाको खान्छु भन्चन् ! बर्तुन नअरेको भए त हुन्छ भन्नु । अस्ति भख्खर बर्तुन अर्‍यो छ ।
म ढिकीपट्टी सरेँ, तिन्टा ढुंगा जोडेको ठाउँमा आफ्ना लागि खिर पकाउन कस्सिएँ ।
सेती ढोका छेउबाट मलाई च्याइरहेकी थिई । ऊ घरी टाउको भित्र त घरि बाहिर गर्थी । मलाई भने पकाउने लन्ठो एकातिर मिल्काउँ भइरहेको थियो ।

‘के भ बाउसाप दाउरा सल्केनन् । क्यार्नी मैले फुक्दिन भन !
ऊ पिँढीको पल्लो छेउमा बसेर खितितिती हाँसी...
‘त्यहाँ बसेर नगिज्या । सक्नी भए आर सल्काइदे ।’
सेती खरायोभैmँ खुरर्र छेउमा आई । मिनेटमै आगो सल्काई । डेक्ची बसालेर अङ्खराको दूध खन्याई । र, अली पर सरी ।

मैले ढुंगाको चुलोमा खिर पकाउनै सकिनँ । सेती अघिजस्तै नजिकै आई । आगो फुक्दिई । आगो ह्वारह्वार्ती बल्यो । डेक्चीमा खिर गुद्रुगुद्रु गर्न थाल्यो ।
बा चिच्याए– ए सेती ! बाहिर क्यारइछस् ? भित्र आर भात खा । स्यानबाउलाई ओछ्यान लाइदिन परेन ?
सेती झस्की । उसको सातोपुत्लो उड्यो ।
‘पकाम्नुस् आपैmँ । बाले देखे भने मार्चन् ।’
उसको हार्दिकता र समर्पणले मलाई ऊप्रति अझ नजिक बनाएको थियो ।
सुनसान रात कीराहरूको किरिरि धुन सुनिइरहेथ्यो । कुमेरदुङका भोटे कुकुरको भुकाइ तल्लाथोकसम्म सुनिन्थ्यो । त्यो छानिँदै–छानिँदै क्यूखोला दमाईं टोलभरि फिँजिएको थियो ।
०००
‘बाउसाप ! म सेती बोलेकी हुम् । वालिमको पिसिओबाट फोन अरेको ।’
मैले मोबाइल किनेपछि पहिलो फोन उसैको थियो ।
‘सन्चै छस् ?’
सोध्न नभ्याउँदै ऊ बोली– बाँचइछु । अब त आँखाका रातागेडी झरे भने म बाँच्दिनँ होला ।
फोनमा म बोलिनँ । ऊ मात्र बोलिरही । फोन काट्ने बेला भासिएको स्वरमा भनी– मेरो नछुनी रोकिएको छ । हजुर घर कैले आम्नी ? मुँसिर नलाउदै आउनू है ।
मैले बोली नफर्काउँदै मोबाइलबाट टुट्टुट् ... आवाज आयो ।

मंसिर नलाग्दै माछापुच्छे«को चिसो हावाले पोखरा चिस्याउँदै थियो । गाउँ जाने हर्षले मेरो मन फुरुंग थियो । बिहान नउठ्दै पृथ्वीचोकबाट वालिङको बस चढेँ । दस नबज्दै बसले त्रियासी झारिदियो । म खहरेको बाटो तेर्सिएँ ।
रत्ने पुग्दा घाम मध्यआकाशमा थिए । म बाटाखर्कको उकालोमा एकछिन रोकिएँ । दिलमायाको दोकानमा बसेर दुईटा जेउरे रोटी (सेल) र एक कचौरा मटरको तरकारी खाएँ । एक गिलास पानी तन्काए र उकालो लागेँ । खाल्टेको बाटो छोडेर एलादीतिर मोडिएँ । एलादी लाँकुरीको रुखनिर पुग्दा पसिनाले अनुहार लचप्प भिज्यो ।

लाँकुरीका पात हल्लिरहेका थिए । एकछिन सुस्ताएँ । चिसो हावाले अनुहारका पसिना मेटिए । मन चंगा भयो । मैले उकालोको थकाई बिर्सेँ । साँच्चै पहाडी पाखामा चिसो बताससँग लडिबुडी खेलेर बाँच्नुको छुट्टै आनन्द थियो ।
म तल्लाथोक पुगेँ । मेरा पाइला तल्लाथोकको स्कुल नपुग्दै निकै अघि मान्छेको लस्कर देखियो । केहीले जोर शंख फुक्दै थिए । मन अमिलो भयो । प्रश्न उब्जियो कसको मिति सकिएछ !

म हिँडिरहेँ । मान्छेहरू कमिलाको लस्करझैँ चल्माउँदै थिए । थपिँदै थिए । म अझ छिट्छिटो उनीहरू नजिक पुग्न खोजेँ । लस्कर अझ चाँच्चाँडो हिँड्न थाल्यो । स्कुल पुगेँ । मान्छे दौडिरहेको देखियो । स्कुल छेउ काँसझैँ फुलेका गुरुङ बाजे लौरो टेकेर उभिएका थिए । मनको तुलबुल मेट्न उनैलाई सोधेँ– को बितेछ बाजे ?

‘क्यूँखोला धनसिंह दमैंको छोरी सेती मरेछ । कुट्मिराको रुखमा पासो लाएछ, मुर्दार्नीले । कुन्नी कसको भुँडी बोकेको थ्यो भन्छ । तर, केटी त आँखामै नबिझाउने थ्यो ।’

म थुचुक्क ढुंगामा बसेँ । टाउको फन्फनी रिँगायो । मलामीहरू भीरको बाटो बलेउतिर झरे । ती पाइला दगुराउँदै ज्याग्दीघाटतिर ओरालिँदै थिए । मेरा आँसुले पनि मलामी पछ्याइरहे ...
 

प्रकाशित: १५ पुस २०७६ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App