गत वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती (कात्तिक २१) का अवसरमा भव्य कार्यक्रम सम्पन्न हँुदै थियो, प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा। जसको आयोजना मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले गरेको थियो।
यस अवसरमा प्रधानमन्त्री ओलीले देवकोटाको नेपाली साहित्यमा विशेष योगदान रहेको उल्लेख गर्दै उनको घरलाई सरकारले किन्ने र संग्रहालय बनाउने घोषणा गरे। उनले भने, ‘अब महाकवि देवकोटाको घर सरकारले किन्छ, त्यसका लागि संस्कृति मन्त्रालयले प्रक्रिया अघि बढाउँछ। संस्कृतिमन्त्री रवीन्द्र अधिकारी यहीँ हुनुुहुन्छ, उहाँले यसमा सहयोग गर्नुहुनेछ।’ तत्कालीन संस्कृतिमन्त्री अधिकारी र प्रज्ञा प्रतिष्ठानका प्रमुखलगायत प्राज्ञले प्रधानमन्त्रीको भनाइलाई तालीले स्वागत गरे। उपस्थित साहित्यकार पनि प्रधानमन्त्रीको घोषणाबाट निकै उत्साहित भए।
ओलीले भनेका थिए, ‘महाकवि देवकोटाको घर जे–जस्तो अवस्थामा छ, त्यही अवस्थामा रेक्ट्रोफिटिङ गरी स्रष्टाहरूको तीर्थस्थलका रूपमा विकास गर्छौं। देवकोटा कसरी पलेँटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउने संग्रहालय बनाउँछौँ।’
२०१४ सालमा शिक्षामन्त्री हुँदा देवकोटाले भानुभक्त आचार्य वा मोतीराम भट्टको जन्मस्थललाई साहित्यकारको तीर्थस्थल र संग्रहालय बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका थिए। सुन्दर संयोग, आज राज्यले उनकै घरलाई संग्रहालय बनाउँदै छ।
उनको त्यो घोषणाले सामाजिक सञ्जाल मात्रै तताएन, सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरे। देवकोटाको घर नै सरकारले किन्ने र संग्रहालय बन्ने समाचार आफैँमा उत्साहप्रद थियो। सबैभन्दा बढी उत्साहित थियो, देवकोटा परिवार। देवकोटाका दुवै छोरा नेपाल नबस्ने र छोरीहरूले पनि संरक्षण गर्ने अवस्था नरहेकाले एक प्रकारले त्यो बेवारिसे जस्तै थियो। सरकारले पटक–पटक किन्ने घोषणा गरे पनि वर्षौंसम्म सम्भव भएको थिएन।
यो घर रहेको जग्गा पशुपति महागुठीअन्तर्गत पथ्र्यो। गुठीको भएकाले मोहियानी हक छुट्याउनुपर्ने जस्ता सामान्य समस्या भए पनि सरकार आफैँ ग्राहक भएपछि परिवारका सदस्य पनि खासै झन्झट हुन्छ भन्नेमा थिएनन्। देवकोटाको जग्गाको उचित मूल्यांकन गरी प्रज्ञा प्रतिष्ठानको मातहतमा ल्याउन प्रधामन्त्री ओलीको निर्देशनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन भयो। समितिमा देवकोटाका परिवार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मालपोत कार्यालय, नापी र गुठी कार्यालयका प्रतिनिधि सदस्य रहे। अन्ततः त्यही समितिले सिफारिस गरेबमोजिम एक वर्षपछि प्रज्ञा प्रतिष्ठानको स्वामित्व रहने गरी देवकोटाको घरलाई कविकुञ्ज संग्रहालयमा परिणत गर्दै छ।
विकसित मुलुकका स्रष्टा तथा सर्जकको घर सरकारले किनेर संग्रहालय बनाउँछ। सर्जकको नाममा पढ्ने–लेख्ने, त्यहीँ बसेर साधना गर्ने स्थान सरकारले नै तय गर्छ, उपलब्ध गराउँछ र स्रष्टाहरू दिनहँु वा घन्टौँ त्यस्ता स्थानमा बसेर शब्द–साधना गर्छन्। देवकोटाको निधनको ६० वर्षपछि हामीकहाँ देवकोटाको नाममा संग्रहालय बन्ने भएपछि कला–साहित्य जगत्मा सकारात्मक सन्देश प्रवाह भएको छ।
यो अवधिमा देवकोटालाई विश्वभर जीवित राख्ने क्रम जारी रह्यो। विश्वभरि छरिएर रहेका नेपालीले देवकोटाको नाममा जन्मजयन्ती मनाउने र विभिन्न पुरस्कार स्थापना गर्ने क्रमलाई निरन्तरता दिएका छन्। तर, उनी जन्मेको घर अहिलेसम्म बेवारिसे थियो।
शान्त भवन अस्पतालमा रहँदा देवकोटाले आफ्ना साथी हरि श्रेष्ठलाई चिठी लेखेका थिए, ‘मृत्यु मेरोअगाडि छ। म आकाशमा नक्षत्रहरू खोज्छु, तर भेट्दिनँ। म आफूलाई शान्ति दिन सक्दिनँ। म उठ्न सक्ने भए, म आफू र आफ्ना बच्चालाई मार्ने थिएँ।’
उनले यसो किन भने होलान्, यसको जवाफ अहिलेसम्म कसैले दिन सकेका छैनन्। उनको निधन भएको यतिका वर्षसम्म हामीले उनको घरको संरक्षण गर्न सकेनौँ, बाँच्दासम्म उनको इच्छा के थियो, सरकारले हेरेन कि ? कतै सरकारले नहेरेकामा उनको गुनासो हो कि ?
अब भने उनको अन्तिम भनाइलाई प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाएर असत्य साबित गर्दै उनले दाबी गरेका ‘हामी सबै बच्चारूपी सन्तान’ सम्मानपूर्वक बाँच्न लायक छौँ भन्ने देखाएको छ।
२५ वर्ष अघिदेखिको योजना
२०५१ सालमा तत्कालीन नेकपा एमालेको नौ महिने शासनकालमा प्रदीप नेपाल सञ्चारमन्त्री थिए। उनले देवकोटाको घरलाई संग्रहालय बनाउनुपर्छ भनेर नेतृत्व लिएका हुन्। त्यतिबेला त्यो घर एक अविवाहित छोरीसहित तीन जनाको अंशबन्डामा परेको भेटिएपछि सरकारले किन्न मागेको थियो। त्यसलाई तीन करोड रुपैयाँ मूल्यांकन गरेर सरकारले खरिद गर्ने योजना बनायो। देवकोटा परिवारसँग भएका दुई वार्ता सकारात्मक भए। परिवारका सदस्यसँगको छलफलका क्रममा घरको मूल्य पाँच करोड पुग्यो। त्यतिबेला देवकोटका छोरा डा. पदमप्रसाद देवकोटाले दिदीबहिनीले मानेनन् भनेर आनाकानी गरेका थिए। जसकारण महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने कुरा त्यसै सेलायो।
२०६६ मा पनि देवकोटाको घरजग्गा सरकारले किन्न खोजेको थियो। त्यतिबेला अर्थ मन्त्रालयले ६० लाख रुपैयाँ मूल्य प्रस्ताव गरेको थियो। तर, परिवारका सदस्यले न्यून मूल्य भन्दै घर–जग्गा दिएनन्। डेढ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाकी माहिली छोरी अम्बिकादेवी रिमालले प्रधानमन्त्रीलाई सम्बोधन गरी महाकवि देवकोटाको घरलाई संग्रहालय बनाई पाऊँ भनी निवेदन दिएकी थिइन्। सोही सन्दर्भ समेतलाई जोडेर सरकारले यसलाई आफ्नो स्वामित्वमा लिएको छ।
सुन्दर सपना र संयोग
२०१४ सालमा देवकोटा शिक्षामन्त्री भएका थिए। उनी शिक्षामन्त्री भए पनि उनको आर्थिक अवस्थामा सुधार भएको थिएन। त्यसकारण मन्त्री भइसकेका व्यक्ति उनी रोयल नेपाल एकेडेमी (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) का सदस्य बने। त्यतिबेला उनले भानुभक्त आचार्य वा मोतीराम भट्टको जन्मस्थललाई साहित्यकारको तीर्थस्थल बनाउनुपर्छ र उनीहरूको जन्मेको घर र उनीहरूले प्रयोग गर्ने सामग्री भेटेसम्म संग्रहालयमा राख्नुपर्छ भन्ने प्रस्ताव गरेका थिए। सुन्दर संयोग, आज राज्यले उनकै घरलाई संग्रहालय बनाउँदै छ।
नेपाली साहित्यमा देवकोटाले कविता, कथा, उपन्यास, नाटक, निबन्ध सबै विधामा सफलतापूर्वक कलम चलाएका छन्। भाषाका त उनी जादुगरै हुन्, यो कुरा नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका उनका कृतिबाट थाहा पाइन्छ। नयाँनयाँ शब्दबाट उनले नेपाली भाषाको शब्दभण्डार निकै नै भरिदिएका छन्। तर, उनकै जीवनशैलीबारे नेपाली साहित्यले जीवन्त रूपमा पढाउने, देखाउने र चिनाउने एउटै माध्यम पुस्तक मात्रै थियो। अब संग्रहालय बनेपछि भने त्यो अभावलाई पूरा गर्ने अपेक्षा गरिँदै छ।
मूल्यका कारण ढिला
डिल्लीबजार चोकबाट करिब सय मिटरभित्र तथा मैतीदेवी मन्दिरबाट मैतीदेवी चोक जानेतर्फ जाँदा ५० मिटरजति अगाडि शास्त्रीमार्गमा रहेको देवकोटाको पुरानो घर–जग्गालाई सरकारले किन्ने सन्दर्भमा पटक–पटक बाधा आयो। योबीचमा २०७२ को विनाशकारी भूकम्पले यसको भित्री संरचनालाई ध्वस्त बनायो। अब भने ‘देवकोटाको घर’ कविकुञ्जमा परिणत हुँदै छ।
सुरुमा देवकोटाले यो घर आफ्नी साइली छोरी मीराका नाममा पास गरिदिएका थिए। अविवाहित मीराको मृत्यु भइसकेको छ। सरकारले देवकोटा निवासलाई संग्रहालय बनाउने घोषणा गरेपछि उक्त घर–जग्गा मीराका भाइहरूका नाममा पास गरिएको थियो। १२ आना जग्गामा रहेको घर र कम्पाउन्डको मूल्य समितिले पाँच करोड रुपैयाँ तोक्यो। साथै, उक्त जग्गा गुठीको नाममा हुनुले पनि थप समस्या सिर्जना भएको थियो। गुठीको जग्गा भएकाले तीन भागको एक भाग मात्र देवकोटा परिवारको हुने र बाँकी दुई भाग गुठीलाई प्रदान गरिने प्रस्ताव गरिएपछि केही समय सरकारी स्वामित्वमा आउन ढिलाइ भयो। प्रधानमन्त्री ओलीले नै परिवारको सदस्यको चित्त बुझ्ने गरी सरकारले स्वामित्व ग्रहण गर्ने वचन दिएपछि समस्या सुल्झियो। अन्ततः दुई करोड ५० लाख रुपैयाँ परिवारका सदस्यलाई दिएर घरसहित जग्गा (१२ आना १ दाम) सरकारी स्वामित्वमा ल्याइयो।
प्रतिष्ठानका सदस्य–सचिव डा. जगतप्रसाद उपाध्यायका अनुसार, हक हस्तान्तरणबापत महाकविका छोराहरू प्रा.डा. पद्मप्रसाद देवकोटा र डा. दीपक देवकोटालाई रकम उपलब्ध गराइएको छ। सरकारी स्वामित्वमा आउनुअघि सो घरको रेखदेख देवकोटाकी माहिली छोरी अम्बिकादेवी रिमालले गर्दै आएकी थिइन्।
सदस्य–सचिव उपाध्याय भन्छन्, ‘अम्बिकादेवी र कान्छी बुहारी लीला देवकोटाको रोहबरमा कविकुञ्जका हकवाला प्रा.डा. पद्मप्रसाद देवकोटा र डा. दीपकप्रसाद देवकोटालाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट रकम उपलब्ध गराइसकिएको छ। अबको एक वर्षभित्र संग्रहालयको स्वरूप तयार हुन्छ। अर्को वर्ष लक्ष्मीको घरमा सरस्वतीरूपी संग्रहालय स्थापना हुनेछ।’
नेपालबाट अन्तर्राष्ट्रियस्तरमा उभिन सक्ने साहित्यकारको खोजी गर्दा महाकवि देवकोटा मात्र भेटिन्छन्, तर दुर्भाग्य हामीसँग उनको बारेमा पढाउनेबाहेक देखाउने कुनै सामग्री आजसम्म थिएन। यसरी सरकारका तर्फबाट मुआब्जा दिएर स्रष्टाको घरलाई साहित्यिक तीर्थस्थल बनाउने काम सुरु भएको छ। महाकविबारे चासो राख्ने स्वदेशी तथा विदेशीले ‘महाकविको ७० वर्षअघिको जीवनचर्या र उनको वासस्थान’लाई नियाल्न पाउनेछन्।
संग्राहलयको खाका
देवकोटा निवासमा कस्तो संग्रहालय बनाउने भन्नेबारे प्रतिष्ठानले विस्तृत परियोजना तयार गर्दै छ। इन्जिनियर, वास्तुविद्, पुरातत्वविद् तथा अन्य विशषज्ञ समूहसँग छलफल भइरहेको छ। सदस्य–सचिव उपाध्यायका अनुसार, यस्तै बनाउने भन्ने खाका तयार नभए पनि संग्रहालय देवकोटाको अहिलेको घरको नमुनाबमोजिम नै निर्माण हुनेछ।
प्रधानमन्त्री ओलीले रेट्रोफिटिङ गरेर पहिलेकै स्वरूपमा फर्काउने इच्छा जनाएका थिए, तर घरको जग बलियो नभएका कारण घरको पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। सदस्य–सचिव उपाध्यायका अनुसार, भूमिगत पार्किङसहित चौथो तलासम्मको घर बन्नेछ।
पहिलो तलामा भान्छाकोठा, सुत्ने कोठा र अघिल्लो कोठा रहनेछन्, जहाँ भाँडाकुँडा, लत्ताकपडादेखि उनले प्रयोग गरेका उपलब्ध सबै सामग्री राखिनेछन्। उपाध्याय भन्छन्, ‘घरभित्र छिर्दा देवकोटा बोलिरहेको अडियो–दृश्य, चित्र, भिडियो तथा तस्बिरहरू देखिने गरी राख्नेछौँ।’
यसका लागि परिवारको सहयोगमा देवकोटाले प्रयोग गर्ने सामग्रीको खोजी गरिने उपाध्यायको भनाइ छ। त्यस्तै, दोस्रो तलामा तासकन्द सम्मेलनमा बोलेका भाषणको अडियो तथा उनले प्रयोग गरेका कपडा, भाँडाकुँडा, टेलिभिजन, बिस्तारा, टेबुललगायत सामान राखिनेछन्। तेस्रोमा उनीसँग सम्बन्धित लेख–रचना तथा पुस्तकहरूको संग्रह अर्थात् बृहत् पुस्तकालय राखिनेछ। त्यस्तै चौथो तलामा हल निर्माण हुनेछ। अब यो सुन्दर संग्रहालयको प्रतीक्षामा हामी छौँ।
प्रकाशित: १२ पुस २०७६ ०५:४४ शनिबार