coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जाडोमा सुन्दर फूल फुलाउने टेक्निक (फोटो फिचर)

गर्मी मौसममा मात्रै हैन जाडो मौसममा समेत आकर्षक तथा सुन्दर फूल फुलाउन सकिन्छ । जाडो मौसममा सुन्दर फूल फूलाएर घर तथा गार्डेन झिलिमिली बनाई बेहुलीजस्तै सिंगार्न सकिन्छ । गर्मी मौसमको तुलनामा जाडो मौसममा फूल फूलाउँदा भने निक्कै ध्यान दिनु पर्छ ।

जाडो मौसममा चिसोका कारण बिरुवाको वृद्धि–विकासमा समस्या हुने भएकाले केही ध्यान भने दिन आवश्यक छ । तर जाडो मौसममा समेत सुन्दर तथा आकर्षक फूल फूलाउने केही टेक्निक तथा उपाय छन् ।


 
उचित हावापानी
नर्सरी व्यवसायी पनि जाडो मौसममा राम्रो फूल फुलाउन सकिने अनुभव सुनाउँछन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ गर्मी मौसममा मात्रै हैन जाडो मौसममा समेत आकर्षक तथा सुन्दर फूल फुलाउन सकिने बताउँछन् । अध्यक्ष श्रेष्ठले भने, ‘जाडो मौसममा हावा–पानी र मलजलमा ध्यान दिने हो भने सुन्दर फूल फुलाउन सकिन्छ ।’ उनका अनुसार जाडो मौसम नै मन पराउने किसिमका फूल हुन्छन् । त्यसैले जाडोमा फुलाउन सकिन्छ ।

जाडो मौसमको फूलमा धेरै पानी भने हाल्न नहुने नर्सरी व्यवसायी बताउँछन् । बारीमा रोपेको जाडो मौसमको सिजनल फूलमा सामान्यतः एक दिन बिराएर पानी हाल्न सुझाउँछन्, श्रेष्ठ । जाडो मौसमको सिजनल फूलको जरा सामान्यतः कमजोर तथा थोरै हुने भएकाले धेरै पानी भएको अवस्थामा तुरुन्तै मर्ने जोखिम हुन्छ । त्यसैगरी पानी कम भएको अवस्थामा समेत मर्ने जोखिम हुन्छ ।

हातका औँलाले बिरुवामा पानीको मात्रा मापन गर्न सकिन्छ । माटोमा दुई इन्च औँला गाड्दासमेत चिसो नभेटिएको अवस्थामा पानी हाल्न हर्टिकल्चर विशेषज्ञको सुझाव छ । जाडो मौसममा माथिबाट हेर्दा बिरुवा रोपेको माटोमा लेउ लागेर चिसो जस्तो देखिन सक्छ । चिसो देखिँदैमा पानीको मात्रा पुगेको हुन्छ नै भन्ने हुन्न । यस्तो अवस्थामा औंला घुसारेर हेर्नु पर्छ । जाडोका बिरुवामा पानी हाल्दासमेत बडो ख्याल गर्नु पर्छ । जरा कमजोर हुने भएकाले झारीले बिस्तारै जरा नहल्लिनेगरी पानी हाल्नु पर्छ ।

बेलुकी भन्दा बिहानको समयमा पानी हाल्नु उपयुक्त हुन्छ । बेलुका पानी हाल्दा रातभरिको चिसोले बिरुवा बिग्रन सक्छ । बिहान पानी हाल्दा भने दिनभरिको घाम तथा तातोले दिन तात्ने भएकाले विरुवा मर्न पाउँदैन ।

त्यसैले जाडोको फूल रोप्दा हावापानीमा विशेष ध्यान दिनुपर्ने काठमाडौँको स्वयम्भूस्थित मुस्कान नर्सरीका महेन्द्र सुवेदी बताउँछन् । नर्सरीमा सेट हाउसमाबरुवा बनाउने भए पनि घर तथा गार्डेनमा यो सम्भव हुन्छ नै भन्ने छैन । त्यसैले जाडो मौसममा घर तथा गार्डेनमा सिजनल फूल रोप्दा सकभर तातो ठाउँमा रोप्न सुवेदीको सुझाव छ । छत तथा कौशीमा घाम लाग्ने ठाउँमा रोप्न सकिन्छ । जमिनको गार्डेनमा समेत नर्सरी व्यवसायीको सुझावमा फूल रोप्नु उपयुक्त हुने उनको सुझाव छ ।

जाडो नहुँदै रोपौँ
कात्तिकदेखि चैत महिनासम्ममा जाडो सिजनमा हुने फूलका बिरुवा रोपिन्छ । तर सकभर जाडो मौसमका फूल कात्तिक महिनासम्म रोपिसक्नुपर्ने फ्यानका अध्यक्ष श्रेष्ठको सुझाव छ । श्रेष्ठका अनुसार कात्तिकमा रोपिसक्नाले बिरुवाले बढ्ने समय पाउने भएकाले बिरुवालाई जाडोले बिगार्दैन ।

केही वर्ष पहिलेको तुलनामा आजकाल तुसारो कम पर्ने तथा चिसो कम हुने भएकाले जाडो मौसममा समेत विशेषगरी काठमाडौं उपत्यकामा राम्ररी सिजनल फूल फूलाउन सकिने नर्सरी व्यवसायीको अनुभव छ ।

काठमाडौंको बानेश्वरस्थित रोजडेल नर्सरीका देवप्रकाश राई पनि आजकाल काठमाडौं उपत्यकामा जाडो मौसमका सिजनल फूल राम्रै फुलाउन सकिने अनुभव सुनाउँछन् । रोजडेलका राई भन्छन्, ‘पहिले–पहिले जाडो सिजनका कतिपय फूलका बिरुवा चिसोले मर्थे तर अहिले त्यो समस्या कम हुँदै गएको छ ।’

जाडो मौसमका सिजनल फूल काठमाडौं उपत्यकालगायत हिमाल, पहाड तथा तराई क्षेत्रमा फूल फुलाउन सकिन्छ । हिमाली क्षेत्रमा भने कात्तिक महिनाभित्रमा बिरुवा रोपिसक्नु पर्छ । जाडो बढ्दै जाँदा मर्ने जोखिम हुने भएकाले जाडो नबढ्दै फुलाउनु पर्ने हर्टिकल्चर विशेषज्ञको सुझाव छ ।

चिसोको डर
जाडौ मौसमका बिरुवा गर्मीको तुलनामा नरम र तुलनात्मकरुपमा होचा हुन्छन् । जाडोको कारण ढिलोसमेत बढ्छन् । अत्यधिक चिसो भएको खण्डमा मर्ने जोखिम हुन्छ । कतिपय विरुवा भने चिसो ठाउँमै फुल्छन् । रोजडेलका राईका अनुसार सिनेरिया, प्रिमुलाजस्ता जाडो मौसमका फूल घाम नलाग्ने ठाउँमा समेत फुल्छन् । तर पिटुनिया, प्यान्जी, भर्बिना, प्यान्जी (पेन्सी), भ्यागुते (इटरनेम), डेन्थस, गजिनियाजस्ता फूल भने घाममा राम्रो फुलाउन सकिन्छ । यी फूल जाडो मौसमका लोकप्रिय फूल हुन् ।

पहाडी क्षेत्रलगायत काठमाडौैं उपत्यकामा जाडो मौसममा समेत राम्रोसँग जाडो सिजनका फूल फुलाउन सकिन्छ ।
स्वस्थ तथा सुन्दर फूल फुलाउनका लागि विरुवा उत्पादन गर्दा नै स्वस्थ बिरुवा उत्पादन गर्नु आवश्यक हुन्छ । फूलको बिरुवा रोप्दा पनि बडो ध्यान दिन आवश्यक हुन्छ ।

फूलको बिरुवा रोप्दा माटो हल्का हुन आवश्यक हुने श्रेष्ठ बताउँछन् । जाडो मौसममा हावा खेल्नका लागि पनि माटो खुकुलो हुनुपर्ने उनी बताउँछन् । जाडो मौसममा फूल रोप्दा जहिले पनि पानी जम्ने तथा खाल्डो ठाउँमा फूल रोप्नु हुन्न ।  जाडो मौसममा कतिपय सिजनल फूलमा जाडोको कारण लाई कीरा लाग्ने भएकाले यस्तो कीरा लागेको अवस्थामा ‘नुभान’ नामक विषादी हाल्न सकिने श्रेष्ठ बताउँछन् । एक लिटर पानीमा दुई एमएल ‘नुभान’ राखि हप्तामा एक पटक गरी तीन हप्तासम्म विषादी हाल्न श्रेष्ठको सुझाव छ ।

घर वरिपरि जमिन भए क्यारी बनाएर फूल रोप्दा फूल फूलेपछि घर नै उज्यालो हुन्छ । क्यारी नभएको खण्डमा गमलामै रोपेर सुन्दर फूल फूलाउन सकिन्छ । गमलामा रोप्दा भने  चार भाग माटोमा एक भाग धानको भुसको खरानी हालि फिट्नुपर्छ । । खरानीले माटो हलुका बनाउन मात्रै सहयोग गर्दैन बिरुवाको जरामा रोग लाग्नबाट बचाउनसमेत सकिन्छ । विरुवाको जरा हल्का र रोग नलागेपछि फूल सुन्दर फूल्ने सम्भावना बढ्ने नै भयो ।

फूलका बिरुवा रोप्दा जराभन्दा माथिको डाँठ धेरै पुर्न हुन्न धेरै पुरेको अवस्थामा बिरुवा मर्ने जोखिम हुने राई बताउँछन् ।

प्रकाशित: ५ पुस २०७६ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App