५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

समाधि लिँदै छु

रेजिना पाण्डे

जीवन जीवनजस्तो लाग्दैन अब। खोई किन हो जिन्दगी जिन्दगी जस्तो लाग्दैन अब, यो एक्लो जीवन देख्दा दिक्क लाग्न थालिसकेको छ। हातमा चुरा, गलामा पोते, सिउँदोमा सिन्दुुर हुँदा पनि एक्ली महसुस भएको छ। खोई किन हो आज उसको सम्झना धैरै आएको छ। उसको कमीको महसुस निकै नै गरेकी छु। उसैको मायामा गुटुमुट भएर न्यानो सिरानीमा अँगालो हालेर बस्ने चाहना मनदेखि नै पलाएको छ। उकुसमुकुस भएको छ मन। मनले मात्र होइन, शरीरले पनि उसलाई खोजिरहेको छ। मन र शरीर दुवै उद्वेलित भइरहेका छन्, यो मध्यरातमा।

कस्तो जिन्दगी मेरो ! एक्लोपन, उदासीनता, न मोज छ न भोग। एक्लै जीवन बिताएको पनि आठ वर्ष भएछ। मध्यरातमा रीता झ्यालबाट एक्लै नियालिरहेकी छे। सुनसान मध्यरात सुनसान सडक अनि एक्लोपन रीता सोच्न थाल्छे, यो सडक र मेरो जिन्दगी उस्तै–उस्तै छ।

दिनभरि भीड हुने सडक रात परेपछि एक्लो, त्यस्तै छ जिन्दगी मेरो पनि। रातमा खाली ओछ्यान र शून्य कोठा मात्र। आज मलाई यो कोठा, कोठाका भित्ताहरूले गिज्याइरहेजस्तो लाग्छ। मेरो एक्लोपनको खिल्ली उडाइरहेको छ। मेरो अस्तित्व म खोजिरहेको छु। ममा पनि रहर छ, जवान छु। परिपक्व छु समयअनुसारको रुचि र स्वाद मलाई पनि हुन्छ। दुर्भाग्य यीबाट म टाढा छु।

विवाह भएको सात दिनमा श्रीमान् विदेश जानुभएको, आज आठ वर्ष भइसक्यो। यो ओछ्यानमा एक्लै बिताएको पनि आठ वर्ष लाग्न थालिसक्यो। ओहो यत्तिका वर्षसम्म श्रीमान्बाट टाढा रहेर कसरी बिते होलान्, निरस दिनहरू। विवाहपछि पूर्ण रूपले हामीले बुझ्न पनि पाएका थिएनौँ सम्बन्ध, मीठा कुराहरूको अनुभव पनि पूर्ण रूपले साटासाट गर्न पाएकी छैन। आजसम्म शरीरको त कुरै छोडौँ, तृप्त हुने गरी रात बितेकोसम्म अनुभूति भएन।

एकचोटि त घर अगाडिको पसलेले किनमेल गर्दा हातै समात्यो। देवर पर्नेले संवेदनशील अंगमा आँखै गाडेर हेरिरहन्छ। एक्लो नारी देखेर साहिँला ससुराले धैरैचोटि अनेकौँ लाञ्छना लगाइसके। घरकाहरू पनि यसले नाक काट्छे भन्न थालिसके।

आज अधुरो भएको महसुस गरिरहेकी छु। एक्लोपनको धैरै आभास भइरहेको छ। इच्छाहरूले सीमा नाघेको छ। यति उच्छृङ्खल भएर सोचिरहेको छु, सोच्दासम्म आफैँ लज्जित हुन पुग्छु। लाग्छ, सीमा नाघेर मैले सोच्न नहुने थियो कि ? तर, मेरो पनि त चाहना हुन्छ, रहर हुन्छ सोचेरै पूरा गर्नुबाहेक अर्थोक के नै गर्नसक्छु र ? म नारी हुँ, पूर्ण सन्तुष्टि हुने चाहना मलाई पनि हुन्छ। एकाग्रताले मलाई उत्तेजित गरिरहेको थियो। मलाई उसको स्पर्शको चाहना भएको थियो। यतिका वर्षसम्म आफूलाई बाँधेर राखेकी थिएँ, तर आज छताछुल्ल हुन खोजिरहेकी छु मनदेखि ।

उसको जीवनमा पूर्ण रूपमा मेरो अधिकार छ। ऊसँगै जीवन बिताउन, आनन्द र तृप्तिको महसुस गर्न पाएकी छैन। दुःख लाग्छ, कमाउने धुनमा उसले मलाई बिर्सेको छ, हुन सक्छ, उसको पनि बाध्यता परिस्थिति त्यस्तै छ, कमाउनुप-यो, घर समाल्नैप-यो। उसको यो बाध्यतामा मेरो यौवन ओइलाएको छ, मेरो अधिकार खोसिएको छ। म तड्पिएकी छु। मेरो पीडा कसलाई सुनाऊँ। बाध्यताको भुमरीमा अल्झिएकी छु। म विवाहित नारी, पुरुषबिनाकी नारी सबैले कर्केे नजरले हेर्छन्। दिक्क लाग्छ।

एकचोटि त घर अगाडिको पसलेले किनमेल गर्दा हातै समात्यो। देवर पर्नेले संवेदनशील अंगमा आँखै गाडेर हेरिरहन्छ। एक्लो नारी देखेर साहिँला ससुराले धैरैचोटि अनेकौँ लाञ्छना लगाइसके। घरकाहरू पनि यसले नाक काट्छे भन्न थालिसके।

कति छरछिमेकीले त ‘तिम्रोे पोइले उतै घरजम गरिसक्यो, तिमी पनि घरजम गर्ने हो कि !’ भनेर व्यङ्ग्य कस्छन्। माइतीमा आमालाई दुःख सुनाऊँ भने ‘तेरो कर्म यस्तै रहेछ के गर्छेस्, कर्ममा जे लेखेको छ, त्यही नै पाइन्छ’ भन्ने जवाफ आउँछ।  अझ छोरीले दायाँबायाँ आँखा लगाएर अर्कैसँग जाने हो कि भन्ने चिन्ता आमाको छ। आमाको कुराले पनि शिथिल बनिदिन्छन् इच्छाहरू।

ओहो कस्तो आधा जिन्दगी मेरो ! श्रीमान्को प्रतीक्षामा बसेको पनि वर्षौं भइसक्यो। मेरो गहना त मेरो श्रीमानै हो नि, ऊ नै छैन वर्षाैंदेखि साथमा। ऊबिनाको यो शृंगार के गर्नु ? हाम्रो सम्बन्ध वर्षौंदेखि तार र रेमिट्यान्समा अडेको छ। फोन आउँछ, ऊ आउँदैन। सन्चो–बिसन्चो सोधिन्छ। पैसा आउँछ, तर श्रीमान् आउँदैनन्। प्रेम पैसामा पाइन्छ र ? यो कस्तो पैसामा सीमित सम्बन्ध !

म के गरूँ, मजस्ता थुप्रै नारी होलान्, बाध्यतामा बाँचेका। अरू त धैर्यले बसेका छन् होला, तर ममा धैर्य टुट्न थालिसकेको छ।

दुनियाँले देख्दा बाजागाजासहित विवाह गरियो। मूर्तिझैँ भित्र्याइयो। एउटा सजावटको मूर्तिझैँ सबैले हेर्ने, दर्शन गर्ने, वाह–वाह गर्ने। म पनि सपना देख्छु, आजसम्म त जेनतेन चाहना मारेको थिएँ। तर आज लाज रोक्न सकेकी छैन, मन उत्ताउलो भइरहेको छ। वेग फुटेपछि धैरैबेर भल बगिरहन्छ। आज म आफैँलाई रोक्न सकेकी छैन।

अतृप्त चाहना बगिरहेका छन्, न लाज छ न त सरम चाहना बढेको छ। आफ्नै ज्वाइँले बैनीलाई खुलेआम म्वाइँ खान्छन्। मेरै अगाडि अँगालो मारेर कोठामा लैजान्छन्। साथीहरू श्रीमान्सँग बिताएका उन्मत्त रातको बेलिबिस्तार लगाएर पीडा थपिदिन्छन्। कति रहरलाग्दो छ, उनीहरूको जीवन !

मेरा आँखाले उसलाई खोजिरहेको थियो। म चाहना अभिव्यक्त गर्ने ठाउँ खोजिरहेको थिएँ। दिउँसै लोग्नेको कुरा गरौँ भने मात्तिएको भन्लान्। पूर्ण त म मौन बसिरहेकी थिएँ। आफूमाथि बेवास्ता गर्दै, रहर कुल्चँदै। अब त मनले भन्दा शरीरले उसलाई खोजिरहेको छ। समाजले जे भने पनि सबै नारी उस्तै हुँदैनन्। सबै नारीले गति छाड्छन् भन्ने पनि हुँदैन।

म पनि सीमा नाघ्न सक्दिनँ। म समाजको रीतिरिवाज र बन्धनमा बाँधिएकी छु। म तोड्न सक्दिनँ। म लाज पचाउन पनि सक्दिनँ। म एक तीरले दुई निसाना लगाउन जान्दिनँ। मैरै साथी उजेलीको लोग्ने विदेशमा छ। यहाँ उसको कार्यालयकै ब्वाइफ्रेन्डसँग उठबस छ। शनिबार त सासुलाई माइत जाने भन्दै धुलिखेल रिसोर्टमा रमाएर बसिरहेकी हुन्छे। बिन्दास जिन्दगी बिताइरहेकी छे। यता पनि ठीक, उता पनि ठीक, तर म आफैँलाई ढाँट्न चाहन्न। आफू जिउने आधारमा अरूको सपना तोड्न चाहन्न, तर मेरो संघर्ष कसले देख्छ ? ऊ आउने आस नै मरिसक्यो। फोनबाहेक केही आउँदैन।

मेरो मनमा जुन उत्सुकता अनि भावावेग छ, आज त्यो अपेक्षा नै बेकार हुँदै गइरहेको छ। न साँघु बन्न सक्थेँ। न त समाधि लिन सक्थेँ।

मेरो सुन्दरताको कुनै महत्व नै रहेन। के पाएँ, के गुमाएँ, मलाई थाहा छैन। म जस्ता नारी धैरै होलान्। सबैको आफ्ना पीडा होलान्। राम्रो रोजगार, परिवारको सपना पूरा गर्न आफ्नो देश छाडेर परदेशमा जानुपर्ने बध्यता धैरैको छ। मजस्ता नारीहरू कति होलान् ?

ऊ पुरुष। उसमा धैर्य गर्न सक्ने क्षमता छैन होला। लाग्छ, ऊ चोखो भएर बसेको पनि छैन, होला परदेशमा। रहर पनि पु-याएकै छ होला, समाजबाट टाढा। ऊ त पुरुष पो हो, कुमार र अछुत भएर बस्न सक्ला र ? रहर त पूरा पक्कै पनि गरेको होला। ऊ पुरुष अनि मर्द पनि।

सायद मेरो यौवन पैसाले किन्दो हो त म धैर्य गरेर पनि बस्थेंँ होला। चौरासी व्यञ्जन खाना र पानीले त भोग र प्यास मेटाउँछ, चाहना कहाँ मेट्दो रहेछ र ? म पुरुषबिना आधा छु, म चाहना र विवेक बेच्न सक्दिनँ र योबाट समाधि पनि लिन सक्दिनँ।

म यसैमा बाँधिएकी छु। चाहनाको आँसु बगाउन सक्छु नि, मैले कुनै परपुरुषसँग सपना देखेकी होइन। श्रीमान् परिवार छोडेर जान खोजेकी पनि छैन। सपना त लोग्नेसँगै सजाएकी छु। म कमजोर पनि छैन, विचलित भएकी छैन। म कर्तव्यपालन गरिरहेकी छु। बुढा भएका सासु–ससुराको पालनपोषण गरिरहेकी छु। संस्कार परम्परा सबै सम्हालेकी नै छु।

म समाजको एउटा घेरोभित्र बाँधिएकी छु। मलाई थाहा छ, मैले मेरो जात फाल्न, धर्म तोड्न, रेखा नाघ्न खोजेकी होइन। मलाई मेरो संस्कार पनि थाहा छ।

विकल्प मसँग केही पनि छैन। म परिवर्तन हुन सक्दिनँ। मभित्रको चाहना एउटा परिधिभित्र सीमित छ। म नारी हुँ, सोच्ने अधिकार छ, तर लोभ होइन। म कुण्ठित पनि बनेकी छैन।

ओहो के भयो, मैले धैरै नै सोचेँ छु। रात निकै छिप्पिसकेछ, रीताले आफ्नो अल्झेको कपाललाई निधारबाट हटाइन्। टेबुलमा राखेको पानी पिउँदै ऐनामा हेरिन्। मुहारमा वेदनाका रेखाहरू थिए।

प्रकाशित: २८ मंसिर २०७६ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App