७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्य

सेक्सप्रति बदलिँदो सोच

यौन यस्तो विषय हो, जसमा सबैको चासो त छ तर यसबारे चर्चा गर्न भने सबै लजाउँछन्, अप्ठेरो मान्छन् ।

त्यसो त ठाउँ–कुठाउँ केही पुरुष सेक्सका बारेमा आफ्नो धारणा बताउन कुनै कसर छाड्दैनन् । महिलाहरु भने यसबारे खुलेर कुरा गर्न चाहेर पनि तिनलाई गलत दृष्टिकोणले हेर्ने गरिन्छ ।

यौनका मामिलामा महिलाहरु शर्म र सामाजिक बन्देजका कारण प्रायः मौन रहन नै रुचाउँछन् । त्यसो त हाम्रो प्राचीन समाज शारीरिक सम्बन्धका बारेमा निकै खुला विचार राख्ने किसिमको थियो ।

मन्दिरका टुँडाल, वात्सायनको कामसूत्र लगायत हाम्रा आदिवासी जनजातिहरुमा मन पर्नेबित्तिकै तानेर विवाह गर्ने चलन र त्यसको सर्वस्वीकृतिले खुला यौन विचारलाई प्रस्ट्याउँछ । तर जसै समाज अघि बढ्दैछ, हाम्रो देश शारीरिक सम्बन्धका प्रति सङ्कुचित हुँदै जान थालेको छ ।

पुरुष–स्त्री यौन सम्बन्धसँग जोडिएका कुरामा पर्दा लगाउन थालिएको छ भने त्यसमा निगरानी पनि बढाउन थालिएको छ । हुन त यौन सम्बन्धलाई लिएर यतिबेला विश्वमै नयाँ किसिमको परिवर्तन देखिन थालेको छ । यसलाई केही विश्लेषकहरुले निकै क्रान्तिकारी परिवर्तन मानिरहेका छन् ।

ल्याब सन्तान बढ्दै
पहिला सन्तान जन्माउन पुरुष–स्त्री समागम अति आवश्यक हुन्थ्यो । सन्तान जन्माउनुको अर्थ विवाह र यौन सम्पर्क अनिवार्य मानिन्थ्यो । उहिले यौनको अर्थ सन्तान जन्माउनु र परिवार बढाउनुमा मात्र सीमित थियो । तर विज्ञानले जसै नयाँ खोज बढाउँदै गयो, यौन बिना पनि सन्तान जन्माउन सकिने अवस्था आयो । आइभिएफ र टेस्ट ट्युबमार्फत् यो पूर्ण रुपमा सम्भव हुन थालेको छ ।

सन् १९७८ मा बेलायतमा पहिलो पटक टेस्ट ट्युब बेबी जन्मिएको थियो । यसपछिका दिनमा संसारभर करिब ८० लाख सन्तान यो प्रविधिमार्फत् संसार देख्न सफल भएका छन् ।

शोधकर्ताहरुको भनाइमा भविष्यमा यो प्रविधिबाट उत्पन्न हुने सन्तानको संख्या ह्वात्तै बढ्नेछ । लेखक हेनरी टि. ग्रिलीका अनुसार आउँदो २०/४० वर्षभित्रै स्वस्थ जोडीले ल्याबमा गर्भधारण गराउन रुचाउने छन् । सेक्स त सन्तान जन्माउनका लागि भन्दा पनि शारीरिक आवश्यकता र खुसीका लागि उपयोग हुनेछ ।

सन्तान जन्माउनका लागि सेक्स आवश्यक पर्ने छैन भने सेक्सको आवश्यकता नै किन ? सेक्सको काम स्त्री, पुरुषको शारीरिक आवश्यकता पूर ागर्नु र ती दुईको सम्बन्धलाई मजबुत बनाउनु हो तर यहाँ पनि धर्मले ठूलो भूमिका खेलेको छ ।

हरेक धर्ममा यौन सम्बन्धलाई लिएर कयौँ किसिमका नियम–काइदा–कानुन र प्रतिबन्ध लगाइएको छ । क्रिस्चियन धर्ममा स्त्री–पुरुषले यौनलाई सन्तान उत्पादनका लागि मात्र प्रयोग गर्नुपर्नेछ ।

शारीरिक सुख र खुसीका लागि सेक्स गर्नुलाई अनैतिक मानिएको छ । हुन त क्रिस्चियनहरुको धर्मशास्त्र ओल्ड टेस्टामेन्टमा सोलोमन सङ्समा जोशका साथ सेक्स गर्नुलाई उत्तम कुरा मानिएको छ । कतिसम्म भने त्यसमा यौन सम्बन्ध पतिपत्नीबीच मात्र नभई दुई प्रेमिल जोडीबीच हुनु नितान्त निजी कुरा भएकोसम्म बताइएको छ ।

ग्रिसका दार्शनिक अरिस्टोटलले यस विषयमा भनेका छन्, प्रेम कामुक इच्छाहरुको अन्त्य हो । अर्थात्, दुई प्रेमिल जोडीबीच प्रेम छ भने त्यसको अन्तिम अवस्था शारीरिक सम्बन्ध हुन्छ र त्यसपछि यो पूरा हुन्छ । यसका लागि सेक्स कुनै सामान्य काम होइन । बरु यो कुनै प्रेमिल जोडीबीच प्रेम गर्ने र प्रेम पाउने अति सम्मानजनक र आवश्यकीय कार्य हो ।

अमेरिकी समाजशास्त्री डेभिड हालपेरिन भन्छन्, ‘सेक्स यौनका लागि मात्र हुन्छ । यसमा कुनै सम्बन्ध सशक्त बनाउने भन्ने कुरा वाहियात हो । त्यस्तो कुनै कुरा हुँदैन ।’

हुनसक्छ, जुन बेला मानिसले सेक्स शुरु गरेको थियो, त्यो बेला शारीरिक आवश्यकता पूरा गर्ने माध्यमका रुपमा यसलाई लिइएको होस् । तर जब परिवार बन्न थाल्यो, यौनलाई सम्बन्ध सशक्त बनाउने माध्यमका रुपमा बुझिन थालेको पनि हुनसक्छ ।

तर यतिबेलाको समाज पूरै परिवर्तन भइसकेको छ । हिजोआज सेक्स पैसा दिएर पनि गर्न सकिन्छ । कयौँ व्यक्तिले त सेक्सलाई नै हतियार बनाएर जीवनमा ‘प्रगति’ गर्ने गरेका छन् । यस्तो अवस्थामा कसैको शारीरिक आवश्यकता त अवश्य नै पूरा हुने गर्छ । तर सम्बन्ध सशक्त हुने या मानसिक रुपमा कसैसँग जोडिने भन्ने कुरामा भने भर पर्न सकिँदैन ।

उसो भए यस्तोमा सेक्सको अर्थ के हो ? यसको अर्थ यति मात्रै हो कि सेक्स मात्र सेक्सका लागि गरियोस् । यसमा अन्य ससाना खुद्रा कुरा नखोजियोस् ।

सेक्स के हो ?
बद्लिँदो समाजका साथ मानिस मात्र होइन, सम्बन्ध पनि बद्लिएका छन् । अझ यौन सम्बन्धका बारेमा व्यवहार र सम्बन्ध प्रतिको सोच पनि परिवर्तन भइरहेको छ । २०१५ मा अमेरिकाको सान डियागो विश्वविद्यालयका प्राध्यापक जिन एम ट्विङले एक शोधपत्रमा भनेका थिए, ‘१९७० देखि २०१० सम्म अमेरिकामा धेरै जसो व्यक्तिले बिहे नगरी यौन सम्बन्ध गर्ने कुरालाई स्वीकार गर्न थालेका थिए ।’

पछिल्लो पिँढीको धारणा छ, यौनिकतालाई समाजको बन्धनमा बाँधिनु हुँदैन र शोधकर्ता ट्विङका अनुसार यौनिकता नैतिकताको कसीमा बाँधिनु हुँदैन । यसमा परिवर्तन भइरहन्छ, भइरहेको पनि छ र आउँदा दिनमा परिवर्तन भइरहने छ । यतिबेला त यो यति चाँडो परिवर्तन हुन थालेको छ कि शायद हामी यो बद्लाव स्वीकार गर्नका लागि तयार भएका पनि छैनौँ ।

शारीरिक सम्बन्ध केवल स्त्री र पुरुषबीच मात्र हुँदैन । लेस्बियन र गे रिलेसनसीपलाई पनि कयौँ देशले मान्यता दिन थालेको छ । यो कुनै मानसिक या शारीरिक विकृति पनि होइन । हुन त कतिपय धार्मिक र सामाजिक दुवै रुपमा यसलाई अनैतिक व्यवहार मानिदै आएको छ ।

धर्मले त कतिसम् मभनेको छ भने समान लिङ्ग भएका जनावरले समेत एकआपसमा यौन सम्बन्ध राख्दैनन् किनभने उनीहरुलाई यो अनैतिक हो भन्ने थाहा छ । जबकि विज्ञानले भन्ने गरेको छ, जापानी मकाक, एक किसिमको झिँगा, कतिपय मौरी, अल्बाट्रस पक्षी, बोटल नोज डल्फिनसमेत करिब पाँच सय यस्ता प्रजातिबीच होमोसेक्सुअल गतिविधि हुने गर्छ । तर हामीले तिनलाई लेस्बियन, गे या हेट्रोसेक्सुअलजस्ता नाम दिँदैनौँ ।

आखिर यी सबका बीचमा लाइन कसले को¥यो ? शायद ती मानिसले जसले सेक्सलाई सन्तान जन्माउने कुरामा मात्र सीमित राखे । यदि ‘सेक्स केका लागि ?’ भन्ने प्रश्नचिह्न हटाइदिने हो भने यसलाई मानिसले राम्रोसँग बुझ्ने छन् । सेक्सको चाहना एउटा प्राकृतिक प्रक्रिया हो ।

यसरी नै जसै यौन सम्बन्धका प्रति सर्वसाधारणको सोच परिवर्तन भइरहेको छ, उसरी नै मानिसहरुले गे र लेस्बियन सम्बन्धलाई पनि स्वीकार गर्न थालेका छन् ।

हालै १४१ देशमा गरिएको शोधले १९८१ देखि २०१४ सम्म यौनिक अल्पसंख्यक समुदायलाई स्वीकार गर्ने दर करिब ५७ प्रतिशतले बढेको छ । यसमा मिडिया, मेडिकल सपोर्ट र मनोवैज्ञानिक संस्थाहरुले निकै सकारात्मक भूमिका खेलेका छन् ।

यसको अतिरिक्त हिजोआज पोर्न हेर्ने चलन जति बढेको छ, त्यसले पनि मानिसमा सेक्सको भोक कति बढी छ भन्ने जनाउँछ । पोर्न हेर्दा केही पाइए वा नपाइए पनि सेक्सको चाहना निकै हदसम्म शान्त हुन्छ ।

सेक्स पनि बद्लिनेछ
जानकारहरु भन्छन्, भविष्यमा सेक्स अझै बढी डिजिटल र सिन्थेटिक हुनेछ । यति मात्र होइन, भविष्यमा सेक्सका अन्य नयाँ नयाँ तरिकाको आविष्कार हुनेछ ।

अहिलेसम्म टेस्ट ट्युब र आइभिएफलाई तिनै व्यक्तिहरुले मात्र अपनाएका छन्, जो प्राकृतिक रुपमा सन्तान जन्माउन असफल भएका छन् । भविष्यका दिनमा सबै मानिसले यो प्रविधि उपयोग गर्ने दिन नजिकिँदैछ ।

सन्तान जन्माउनका लागि नर र नारी अण्डाबीचको मिलन आवश्यक हुन्छ । तर गे र लेस्बियन सन्दर्भमा यो सम्भव छैन । हुन त यस्ता मानिसहरु सन्तानको चाहना पूरा गर्नका लागि प्रविधिको उपयोग भरपूर गरिरहेका छन् ।

वैवाहिक जीवनका अनेकन झमेलाका कारण पनि सन्तान जन्माउने अनेकन सोच अझै आउन सक्छन् । खासगरी रोग नियन्त्रणपछि त मानिसको उमेर पनि ह्वात्तै बढेर जान थालेको छ ।

सन् १९६० देखि २०१७ सम्म मानिसको औसत उमेर २० वर्षले बढेको छ । एक अनुमानअनुसार २०४० सम्म अझ चार वर्ष उमेर बढ्नेछ । अमेरिकी जीव वैज्ञानिक र भविष्यवादी स्टिभन अस्टडका अनुसार आउँदा दिनमा मानिस १५० वर्षसम्म बाँच्नेछ । यति लामो जीवनमा एकै जना सेक्स पार्टनरका साथ जीवन चलाउनु निकै कठिन हुनेछ ।

यस्तो अवस्थामा मानव जातिले समय–समयमा यौन सम्बन्धका लागि साथी परिवर्तन गरिरहनेछ । यसको शुरुवात पनि भइसकेको छ । ठूला शहरहरुमा यसका उदाहरण पर्याप्त देखिन्छ । पारपाचुकेका उदाहरणहरु पनि बढ्न थालेका छन् ।

सन् २०१३ को सर्भेअनुसार अमेरिकामा हरेक दशमध्ये चौथो जोडी दोस्रो या तेस्रो बिहे गर्नेमा पर्छन् । आउँदा दिनमा बाचाबन्धन र वैवाहिक जीवनलाई लिएर नयाँ सोच आउन सक्छन् ।

प्रकृतिले आफूअनुसार मानिसलाई परिवर्तन गर्ने गर्छ र बद्लिरहनेछ । अहिले देखिन थालेको परिवर्तनका बारेमा हामीले गम्भीर भएर सोच्न आवश्यक छ ।

यौन र यौन रुचिका बारेमा हामीले आफ्नो सोच परिवर्तन गर्न आवश्यक छ । त्यो दिन टाढा छैन जब सारा संसार सेक्सलाई खुसी र मनोरञ्जनको माध्यम अर्थात् यौनका रुपमा मात्र मान्नेछ । सन्तानोत्पादनको माध्यम अरु नै हुनेछ ।बिबिसी फ्युचर

 

 

प्रकाशित: २२ भाद्र २०७६ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App