२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

राजपुरको ‘बादशाही’

राजपुरको ‘बादशाही’। तस्बिरःरितेश / नागरिक

रौतहटको सदरमुकाम गौरदेखि बारातिर आउने मुख्य बाटोको रुपमा प्रयोगमा रहेको गण्डक नहरको ‘सर्भिस’ सडकमा पर्ने चोकमा ‘पकडी’को ठूलो रूखसँगै लहरैले मिठाई पसलहरु छन्। गौरदेखि करिब १४ किलोमिटरमा पर्ने चोक हो ‘राजपुर’। लोभलाग्दो किसिमले ती पसलमा सजाएर राखिएका लड्डु आकारको, खैरो रंगको रसिलो मिठाई हो ‘बादशाही’। यहाँको बादशाही दामी र नामी छ। बादशाहीका कारण राजपुरले पनि विशिष्ठ पहिचान पाएको छ। भनिन्छ नै ‘राजपुर को बादशाही !’

बादशाहीको कच्चापदार्थ दूध हो। ताजा दूध मगाएर दैनिक रुपमा यहाँका मिठाई पसलले ‘छेना’ निकाल्छन्। उक्त छेनाबाट बादशाही बन्छ। दैनिक रुपमा ताजा बनाएर बेच्ने चलनले नै राजपुरको यस मिठाइले विशिष्ठता प्रदान गरेको स्थानीय महमद इजरायल बताउँछन्। बाहिरी आवरणबाट खैरो र खस्रो देखिने डल्लो हेर्नमा सुक्खा र मुखमा हाल्दा रसिलो हुन्छ। रसिलो डल्लोले अद्भूत स्वाद दिने गरेको छ। गुलियो त्यति धेरै चर्को पनि हुँदैन। मिठाई खान रुचाउनेलाई बादशाहीको स्वाद जिब्रोमै बसिहाल्छ। गुलियो नखानेले पनि यसको स्वादकै कारणले दुई चारवटा खाइ हाल्छन् भनी स्थानीय सुनाउँछन्।

यहाँबाट छिमेकका जिल्ला, बारा, पर्सा, सर्लाही मात्र होइन राजधानी काठमाडौं, भारतको मुम्बई, र समुद्र पारिका साउदी अरेयिबा, कतार र मलेसियासम्म राजपुरको बादशाही जाने गरेको भन्दै पसलेहरु गर्व गर्छन्। व्यापार भएर जानेभन्दा यस भेगका मानिसहरु बाहिर बस्दा यहाँबाट कोशेलीको रुपमा बादशाही लैजाने गरेका छन्।

बजार पवद्र्धन गर्न सके व्यावसायिक रुपमै यो मिठाई जिल्लाबाट अन्यत्र निकासी र विदेशमा निर्यात हुने प्रबल सम्भावनायुक्त उत्पादनको रुपमा रहेको उद्यमका जानकार बताउँछन्। राजपुरको बादशाहीको इतिहास धेरै पुरानो भने होइन। भारतको दरभँगा–सितामढी क्षेत्रमा बादशाही पुरानो मिठाई हो। त्यतातिर रेल गाडीमा मिठाई बेंच्नेहरुले यसको गुणस्तर र प्रसिद्धि घटाए। यता राजपुरमा भने बदशाहीले आफ्नो नयाँ बद्शाहत कायम ग¥यो। चार दशक अगाडि बादशाहीले यहाँ आकार लियो।

यसरी आयो बादशाही
राजपुरमा बादशाहीको सुरुवात गर्ने ७४ वर्षे ऐनुल मियाँ जीवितै छन्। उनले बसालेको पसल छोरा मंजर मियाँले अहिले चलाउँछन्। कुरो त्यति बेलाको हो जब ऐनुल मियाँ लक्का जवान थिए। पढाइलेखाइ त्यति थिएन। अनुभवको भरमा हर हिसाब गरिहाल्ने चाँही भइसकेका थिए। ‘अरुको जागिर ज्यालादारी गर्नुभन्दा आफँै केही गर्छु भनी सोचेर मैले गाउँमै पसल खोल्ने निधोले पसल सुरु गरेँ, चल्यो,’ ऐनुल मियाँले सुनाए, ‘साँथीले सल्लाह दिए, होटेल खोलौं, त्यसपछि चियानास्ता  बनाएर बेच्न थाल्यौं।’

नयाँ खालको मिठाई बनाएर बेच्न पाए हुन्थ्यो भनी उनलाई लागेको थियो। सीमापारि भारततिर जाँदा बादशाही चाखेका रहेछन्। मिठो लागेको थियो। दूध मगाएर त्यस्तै मिठाई बनाउने प्रयास थाले। सोचेजस्तो भएन। ‘दूधको खवा बनाउने, त्यसपछि गोलो डल्लो बनाउनेसम्म ठिकै हुन्थ्यो। उम्लिँदै गरेको चिनीको चास्नीमा पकाउनु पर्ने हुन्छ। त्यसमा म फेल खान्थेँ,’ उनले अनुभव साटे, ‘खवाको डल्लो रसभित्रै फुटेर हलुवा हुन्थ्यो। पराँतमा हालेर गाउँगाउँमा घुमाएर त्यसलाई बेचिदिन्थेँ। २ दिनपछि फेरि अर्को प्रयास गर्थेँँ, २ कट्ठा जग्गा यस प्रक्रियामा सकियो। पछि डल्लो नफुट्ने गरी बनाउन सिकिहालँे।’ यसरी राजपुरमा बदशाहीले आफ्नो आकार लियो।

स्थानीय कोदई मियाँका अनुसार अहिले मिठाइका लागि प्रसिद्ध रहेको राजपुर चोक पहिले थिएन। ‘गण्डक नहरको मर्मतको ठेक्कापट्टा हुँदा ठेकेदारले आफ्नो टोलीसहितको डेरा नजिकैको आँपको बगैचामा राखेका थिए। त्यही ठेकेदारको आग्रहमा ऐनुल मियाँले गाउँको पसल लिएर यता आएका थिए। नहरको काम सकिएपछि उता ठेकेदार गए यता एनुल मियाँ पसल लिएर गाउँमा फर्के। त्यसपछि उनले यो मिठाई बनाउन थालेको मलाई याद छ,’ कोदई मियाँले भने, ‘डाँकाहरुको आखाडा थियो यो चोक, डाँकाको खुब बिगबिगी हुने समय थियो त्यो।’

एनुल मियाँले सुरुमा आफूले बनाउने चिया मसहुर भएको सम्झिन्छन्। ऐनुल मियाँलाई आफूले बनाएको समान अरूले रुचाउँदा आनन्द आउँदो रहेछ। ‘बगैंचाबाट गाउँमा पसल लिएर फिर्ता भएपछि मैले मिठाईको काम थालेँ, मिठाई चलेपछि अलिक चल्तीको बाटो रहेको सडक छेउमा ल्याएँ,’  उनले भने, ‘केहीपछि नजिकमै जलिल मिँयाले पनि पसल गरे। जलिल मियाँको पसल उनीपछि चलाउने मान्छे नभएर बन्द भयो। बाराबाट रौतहट आउजाउ गर्ने बटुवाले राजपुरमा विश्राम लिने र बादशाहीको स्वाद लिने चलन बढ्न थाल्यो। पछि राजपुरको बादशाही कोशेली भयो। यसरी डाँकाका लागि कुख्यात चोक अहिले बादशाही मिठाईका लागि प्रसिद्ध भयो।

बिक्री बढेको देखेर अरु पसलहरु थपिन थाले। ऐनुल मियाँले राजपुरको बादशाही सुरु गरे पनि छोरा मन्जर मियाँपछि त्यो पसल चलाउने अब कोही छैन। ऐनुल मियाँका ३ जना नाति अरु पेसा रोजी सके। तिनीहरु मध्ये कसैले गाउँकै चोकमा र कसैले काठमाडौंमा मोटरसाइकल ग्यारेज चलाउँछन्। ‘मेरो पसल छोरापछि कोही चलाउनेवाला छैन, तर मलाई यसमा कुनै दुःख छैन,’ ऐनुल मियाँले भने, ‘दर्जन बढी पसलहरुले राजपुरको बादशाही बेच्ने यहाँ भइसके।’

अहिले त्यस चोकमा करिब १५ वटा पसल छन्। पसलहरुले सय बढीलाई प्रत्यक्ष रोजगारी दिएका छने। सोही चोकमा निकै चल्ने पसलमध्ये अहिले भरत साहको पसल पर्छ। ‘पसलमा दैनिक तीन चार हजारको मिठाई बेच्छु, अर्डर आए बनाएर बाहिर पनि पठाउछुँ,’ १२ वर्षदेखि बद्शाही बनाउने पेसामा रहेका उनले भने, ‘यस पसलले अहिले ३ जनालाई रोजगारी दिएको छ।’

बादशाही मिठाईका पसलसँगै त्यहाँ अरु खाले पसलका व्यापार पनि चलेको छ। सबै गरेर ती पसलमा दैनिक ६ देखि ७ क्विन्टलसम्म दूधको यहाँ बादशाही बन्छ। आसपासका विभिन्न गाउँका किसानले दूध बेच्न यन्यत्र जानु पर्दैन। सय बढी किसानको दूध राजपुर चोकले किनिलिने गरेकोले यसबाट धेरैको जीविका चलेको छ। छेउछाउका बजार र चोकमा पनि अब बादशाही किनबेच हुन थालेको छ। राजपुर सँगै फरहदवा, कुँडवा, डुमरिया, परोहाँ, बंकुललगायतका ठाउँमा पनि बादशाही उपलब्ध छ। बादशाहीमा राजपुरको बर्चश्व भने कसैले तोड्न सकेको छैन।

यसरी बन्छ बादशाही
उम्लिएको दूधमा फिटकिरी हालेपछि फाट्छ। त्यसबाट छेना बन्छ। ताजा छेनालाई घोटेर अझ नरम र मलिलो पारिन्छ। घोट्ने बेलामा एक किलो छेनामा करिब ५० ग्राम जति सुजि हाल्दा राम्रो हुन्छ भनी यसका कारिगर बताउछन्। घोटेर तयार भएको छेनाको गोलाकार डल्लो बन्छ। यता चिनीको गाढा चास्नी कडा तापमा उम्लिन थालेपछि त्यसमा डल्लो हालिन्छ। चास्नीभित्रै पाकेर त्यो डल्लो खैरो बन्छ। गुलियो पनि हुने नै भयो। चास्नीबाट बाहिर निकालेपछि रस चुहिएर अलिक सुख्खा भएको बादशाही अझ मिठो हुन्छ, भन्छन्।

एक किलो दूधमा करिब २ सय ५० ग्राम छेना निस्किन्छ। त्यसमा १० वटा बादशाहीको डल्लो बन्छ। एक किलो बादशाही करिब ४० वटा हुने पसलेहरु बताउँछन्। यसरी चार किलो दूधले एक किलो बादशाही बन्छ। किलोको भाउमा किन्नेलाई चार सय रुपैयाँ किलो र प्रति गोटाको १० रुपैयाँमा बादशाही बिक्री हुन्छ। ऐनल मियाँले भने, ‘सुरुमा बादशाहीको आकार ठूलो हुन्थ्यो भने पछि आएर आकार सानो भयो, २ वटा मात्र खाएपछि अघाउने बादशाही मैले पचास पैसा प्रति गोटा बेचेको याद छ।’ अहिले सरदर २५ ग्रामको आकारमा बादशाही पाउने गरेको छ। हेर्नमा खैरो रंगको आकर्षक, खानामा अद्भूत स्वादले भरिएको रसिलो हुन्छ।

राजपुरको ‘बादशाही’। तस्बिरःरितेश / नागरिक
राजपुरको ‘बादशाही’। तस्बिरःरितेश / नागरिक
राजपुरको ‘बादशाही’। तस्बिरःरितेश / नागरिक
राजपुरको ‘बादशाही’। तस्बिरःरितेश / नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App