३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्य

पानी रंगमा चुर्लुम्मै

समकालीन नेपाली कलामा जल रंगमै केन्द्रित भएर चित्र बनाउने कलाकारको संख्या थोरै छ। तिनै कलाकर्मीमध्ये एक अब्बल कलाकार हुन्– डि.राम पाल्पाली। उनलाई चित्र बनाउन भ्याइनभ्याई छ। बिहानदेखि रातिसम्म घरकै आर्ट स्टुडियोमा व्यस्त हुन्छन्। रंग, ब्रस र क्यानभासमा रमाउँछन्। विशेषतः ल्याण्डस्केप, सिटीस्केप र पोट्रेट बनाउँछन्।

उनका चित्रमा नेपालको प्रकृति, संस्कृति र जीवनशैलीको सुवास भेटिन्छ। ती चित्र हातहातै बिक्री हुन्छन्। पर्यटकले कोसेलीका रूपमा लान्छन्। यसरी कलामार्फत् नेपाल चिनाउँदै छन् पाल्पाली।    

कलाकारिताबाटै उनको परिवार धानिएको छ। दस वर्षअघि काठमाडौंको गोंगबु, बानियाँटारमा घर बनाए उनले, जहाँ श्रीमती र तीन छोरीसहित बसोबास गर्छन्।   

उनी पानी रंगमा मात्र होइन, एक्रेलिक र तेल रंगमा पनि निपुण छन्। आजका दिनमा इन्टरनेसनल वाटर कलर सोसाइटी, नेपाल शाखाका उपाध्यक्षका रूपमा काम गर्दै छन्। उनको संस्था नेपालमा ‘जल रंग कला’ प्रवद्र्धनमा जुटेको छ।

घुमफिर उनको रुचिको विषय। घुमेरै चित्र बनाउँछन्। उनी सुनाउँछन्, ‘हामी स्थलगत चित्र बनाउन बेलाबेलामा घरबाट बाहिर निस्कन्छौं, सधैं घुमेर मात्र बनाउन सकिँदैन, तस्बिरहरू हेरेर पनि चित्र बनाउँछौं।’

तीन पटक एकल कला प्रदर्शनी गरिसकेका पाल्पालीले थुप्रै सामूहिक प्रदर्शनीमा आफ्नो क्षमता देखाइसकेका छन्। स्वदेश तथा विदेशबाट थुप्रै पुरस्कार जितेका छन्। तात्तातै कर्मको फल पाउँदा सन्तुष्टि मिलेको छ। 

सानो छँदा राम्रो कलाकार बनेरै छाड्ने अठोट लिएका पाल्पालीको सपना पूरा भइसक्यो। आधा उमेर घर्किसक्यो। ललितकलाको शिखर चुमेका पाल्पालीलाई फर्केर हेर्दा जीवन सार्थक बनेको अनुभव हुन्छ। ‘यहाँसम्म आइपुग्छु भन्ने कल्पना गरेकै थिइनँ,’ उनको सफल जिन्दगीको शुत्र, ‘कुनै पनि काममा निरन्तर लागेमा एक दिन अवश्य गन्तव्यमा पुगिन्छ।’

अब्बल चित्रकार डि.राम पाल्पालीलाई चित्र बनाउन भ्याइनभ्याई छ। विशेषतः जल रंगबाट उनी ल्याण्डस्केप, सिटीस्केप र पोट्रेट बनाउँछन्। उनले बनाएका सयौं चित्र विदेशीका भित्तामा सजिएका छन्। यसरी कलामार्फत् नेपाल चिनाउँदै छन् उनी।
 

नामैले जनाउँछ– उनी पाल्पाका। पहाडी बजार तानसेनको टक्सारमा विसं २०२६ भदौ ४ गते जन्मेका। त्यहीँको शीतल हावापानीमा हुर्के। बढे। बाल्यकालमै उनमा कलामोह जाग्यो। उनको ‘अशोक आर्ट स्टुडियो’ थियो। त्यहाँ बसेर कलाकार अशोकमान सिंह साइनबोर्ड लेख्थे। राजारानीका तस्बिरलगायत अन्य मान्छेका मुहारचित्र बनाउँथे।

त्यही आर्ट पसल छेवैबाट पाल्पाली विद्यालय ओहोरदोहोर गर्थे। कलाप्रतिको झुकावले होला एकछिन अडिएर ती चित्र हेर्थे। कलाकारितामा उनका अघोषित गुरु बने अशोकमान। ‘उहाँसँग प्रत्यक्ष रूपमा सिक्ने मौका त पाइनँ,’ उनी सम्झन्छन्, ‘उहाँले बनाएका पोष्टर हेर्न सिनेमा हलसम्मै पुग्थें।’

डि. राम पाल्पाली

सेन माविमा कक्षा ४ मा पढ्दैताका पाल्पालीले चित्र कोर्न थालिसकेका थिए। सिंहकै प्रभावले होला हिरोहिरोइनका चित्र बनाउँथे उनी। त्यतिबेलाका चर्चित कलाकारहरू अमिताभ बच्चन, श्रीदेवी लगायतका।  

स्कुल जान्छु भनेर हिँडेको छोरो बाटोमै बरालिँदा स्वाभाविक थियो, उनको परिवार रिसाउनु। उनले खप्की खानु पथ्र्यो। तर, मनले रोजेको बाटो छाड्ने कुरै भएन। त्यही लगावले उनलाई स्थापित कलाकार बनायो।

तिनताका उनको घरको आर्थिक अवस्था कमजोर थियो। त्यसैले दुई–चार पैसा कमाउन भनेर उनी १५ वर्षकै उमेरमा बटौली बजार (बुटवल)मा झरे। बटौलीमा केही समय साइनबोर्ड लेख्ने काम गरे। त्यसपछि काठमाडौं हानिए। काठमाडौंबाट साइनबोर्ड लेख्नै भनेर पोखरा पुगे।

पोखरा पुगेपछि उनको कला जीवनले नयाँ मोड लियो। पोखरा ‘पानी रंगको पाठशाला’का रूपमा चिनिइसकेको थियो। कलाकारहरू दुर्गा बराल, आलोक गुरुङ, यादवचन्द्र भुर्तेल, बुद्धि गुरुङ आदि स्थापित बनिसकेका थिए। उनीहरूको संगतमा परेपछि पाल्पाली जल रंगतिर आकर्षित भए।

नागढुंगामा भुर्तेल र बुद्धिले ‘फाइन आर्ट ग्यालरी’ चलाएका थिए। त्यहाँ झुन्डाइएका चित्र हेर्न पाल्पाली बरोबर ग्यालरीमा पुग्थे। चित्रप्रति उनको लगाव देखेर एक दिन भुर्तेल र गुरुङले भने, ‘कलामा रुचि छ भने आऊ सँगै बसेर काम गरौं।’

त्यसपछि करिब तीन वर्ष उनले त्यहीँ सिके। ‘अब जल रंगमै केही गर्छु भन्ने अठोट गरें,’ उनी भन्छन्, ‘पानी रंगका चित्र बनाउनु चुनौतीपूर्ण काम हो। मलाई त्यो चुनौतीसँग जुझ्न मजा लाग्छ।’

त्यो समय पोखरामा कला सामाग्री पाइँदैनथ्यो। डेढ–दुई महिनामा रंगहरू किन्न उनी काठमाडौं आउजाउ गर्थे। कहिलेकाहीँ काठमाडौंमा आयोजना हुने सामूहिक प्रदर्शनीमा चित्र पठाइरहन्थे। उनको काम देख्नेहरू प्रभावित भइहाल्थे। यस्तैमा एक दिन जे आर्ट ग्यालरीका सञ्चालक हिरेन्द्र राजभण्डारीले उनलाई एकल प्रदर्शनीका लागि हौस्याए।

यसरी विसं २०५० मा काठमाडौंको दरबारमार्गस्थित राजभण्डारीको त्यही ग्यालरीमा उनको जीवनको पहिलो एकल कला प्रदर्शनी गरियो। उनले जल रंगबाट बनाइएका ल्यान्डस्केप र सिटीस्केप राखेका थिए। चालीस चित्र राखिएकामा आधा जति बिक्री भए। ‘मेरा चित्रहरू काठमाडौंले रुचायोे,’ पाल्पाली सम्झन्छन्, ‘मैले काठमाडौंमा आफ्नो भविष्य देखेपछि यतै बस्न थालें।’

दरबारमार्गको त्यो प्रदर्शनीपछि उनले फर्केर हेर्नु परेको छैन। उनका चित्रहरूको माग बढ्दै गयो। गुजारा चलाउन सजिलो भयो। काठमाडौंको सागरमा कति हराएका छन्। कति तैरेका छन्। डि. राम सजिलै हेलिए। सजिलै तैरिए।   

त्यहीबेलादेखि मेखाराम श्रेष्ठको ‘पाटन आर्ट ग्यालरी’ र बिआर श्रेष्ठको ठमेलस्थित ‘निर्वाणा आर्ट ग्यालरी’बाट उनका चित्रको माग आउन थाल्यो। उनी धमाधम चित्र बनाउँदै बेच्न थाले। पछिल्लो समय पवन प्रताप राणाको भाव आर्ट ग्यालरी लाजिम्पाट, ध्रुव कर्माचार्यको भक्तपुरस्थित डि स्कवायर ग्यालरीका लागि चित्र बनाउँछन्। 

काठमाडौंको भिडभाडमा संघर्ष गरेर स्थापित भएका पाल्पालीको मनमा तानसेनका सम्झनाहरू नागबेली खेलिरहन्छन्। पोहोर उनले काठमाडौंको आर्ट काउन्सिलमा पाल्पा सिरिजमा चित्रहरूको प्रदर्शनी गरेका थिए, जसमा तानसेनको भूगोल, संस्कृति, इतिहास र जीवनशैली पोखिएको थियो।

कलामार्फत् विदेशमा पुगेका पाल्पालीको कोरियामा सन् २००८ मा दुई पटक एकल कला प्रदर्शनी भइसकेको छ। नेपालप्रेमी कोरियाली कुन होरीको ‘यति आर्ट ग्यालरी’मा भएको प्रदर्शनीमा धेरैले उनको तारिफ गरेका थिए।

जल रंगमा चुर्लुम्म डुबेका छन् डि.राम। बाँचुन्जेल कलामै रमाउँछु भन्छन्। उनको यात्राले उचाइ चुमिरहोस्। मनैभरिको शुभकामना !

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App