स्थानीय सरकारको सक्रियता र जनचासोले कसरी संस्कृतिको जगेर्ना हुनसक्छ भन्ने उदाहरण भक्तपुरमा नगरपालिकामा देखिएको छ। दशकौदेखि भक्तपुरस्थित शैनिक शिक्षालयको कम्पाउण्डभित्र लुकेकी ‘रानी’ (रानीपोखरी) अब फेरि देखिने भएकी छन्।
काठमाडौको रानीपोखरीभन्दा ४० वर्षअघि निर्मित पोखरी सर्वसाधरणको लागी खुल्ने भएपछि स्थानीय हर्षित छन्। भक्तपुरका राजा जगज्योति मल्लले ने.सं. ७५० अर्थात् वि.सं. १६८७ मा निर्माण गरेको यो पोखरीको जीर्णोद्वारसँगै सर्वसाधारणका लागि खुल्ने भएको छ।
सिद्धपोखरीको पश्चिमपट्टि फराकिलो टुँडिखेल अतिक्रमण नगरी मल्ल राजाले बनाएको रानीपोखरीको वरपर सैनिक महाविद्यालयले स्विमिङ पुल, बास्केटबल तथा भलिबल मैदान र भवन निर्माण गरेसँगै रानीपोखरीको अस्तित्व संकटमा परेको थियो। पुरातात्विक महत्वको रानीपोखरी काँडेतारको घेरा र सैनिक पहराभित्र बन्दीझैं देखिन्थ्यो।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भक्तपुर नगरपालिकामा मेयर सुनिल प्रजापतीबीच भएको सहमतिपछि छोपिएको सांस्कृतिक धरोहर देखिन लागेको हो। भक्तपुर नगरपालिका र नेपाली सेनाबीच विभिन्न चरणमा भएको छलफलपश्चात् पोखरी सर्वसाधारणको लागि पनि खुला गरिने भएको हो। सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान पनि स्थानीयको लागि खेलकुद प्रयोजनको निम्ति खुला गर्ने सहमति भइसकेको मेयर प्रजापतीले बताए।
‘अब हामी मौलिकतालाई मध्यनजर गर्दै रानीपोखरीको पुनःनिर्माणमा जुट्नेछाैं,’ मेयर प्रजापतीले भने, ‘हामीले नगरका अन्य लुकेका र ओझेलमा परेका सम्पदालाई रक्षा गर्दै अघि बढ्ने छौ।’ यो ठाउँको नाप नक्सा गरी पुराना भेटिएका तस्बिरका आधारमा पुरानै शैली र परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनःनिर्माण गर्न सम्बन्धित निकायस“ग छलफल भइसकेको उनले बताए।
‘सांस्कृतिक जीवनसँग तारबार लगाएर होइन, कुममा कुम जोडेर हिँड्दा बढी सुरक्षित हुन्छ, भक्तपुरको रानीपोखरी खुला गर्ने विषयमा नेपाली सेना र नगरपालिकाबीच भएको पछिल्लो सहमतिले सेनाप्रति जनसम्मान बढेको छ।’
– पुरुषोत्तमलोचन श्रेष्ठ, इतिहासविद्
भक्तपुरका किसानको देवाली गर्ने स्थानसमेत रहेको रानीपोखरी क्षेत्र २०१२ सालमा कालीबक्स गणको स्थापनासँगै ओझेलमा परेको थियो। पछिल्लो दशकमा नेपाली सेनाले तारबार समेत गरेको यस पोखरी क्षेत्रमा वर्षको दुई दिन पूजाको लागि भने स्थानीयलाई प्रवेश गर्ने छुट थियो।
नेपाली सेनाले सहज रूपमा सांस्कृतिक सम्पदा जनताको हातमा दिएकोमा सर्वसाधारण पनि खुसी छन्। इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ सहरी सभ्यताको शानको रूपमा रहेको रानीपोखरीले पुनर्जीवन पाउनु खुसीको कुरा भएको बताउँछन्। ‘सांस्कृतिक जीवनसँग तारबार लगाएर होइन, कुममा कुम जोडेर हिँड्दा बढी सुरक्षित हुन्छ,’ उनले भने, ‘नेपाली सेनाले गरको पछिल्लो निर्णयले सेनाप्रति जनसम्मान बढ्नेछ।’
कुल पूजा, लुगा धुने अनि नगरको सिँचाइमा समेत प्रयोग हुँदै आएको यो पोखरीको बहुआयमिक महŒव रहेको उनले बताए। मल्लकालमा २४ टोलमा विभाजित प्राचीन भक्तपुर नगरीमा विभिन्न मल्ल राजाहरूले प्रत्येक टोलमा साना–ठूला धेरै पोखरी खनाएका इतिहासविद् गौरीबहादुर कार्की बताउँछन्। भक्तपुर नगरपालिकाको दस्तावेज अनुसार सिद्धपोखरी, गुह्यपोखरी, भाजुपोखरी, कमलपोखरी, रानीपोखरी (न्हु पुखुः) जस्ता ३३ पोखरी अझै अस्तित्वमा रहेको उनले सुनाए।
यसैमध्येको एक रानीपोखरीको जेठ १५ गते सरसफाइ जुटेका सर्वसाधारणको उत्साहबाट यसको महत्व झल्कन्थ्यो। नगरका महिला, वृद्धदेखि बालबालिका र सुरक्षाकर्मी समेत यसको सरसफाइमा संयुक्त रूपमा जुटेका थिए। ‘यो पोखरी हामीलाई निकै प्यारो लाग्छ,’ भक्तपुर सुकुलढोकाकी धनेश्वरी प्रजापतीले भनिन्, ‘त्यसैले यसको सरसफाइमा हामी आएका हौं।’ उक्त स्थानमा भक्तपुरका स्थानीय प्रजापती समुदायलगायतका दुगु द्यो पनि भएको हुँदा पोखरी परिसरको सरसफाइमा भक्तपुर नगरपालिका–१ स्थित विभिन्न गुठीका गुठियारहरूको सहभागिता थियो।
स्कुले बालबालिका पनि सम्पदाप्रति निकै चनाखो हुन थालेका छन्। भक्तपुरका पाठ्यक्रममा स्थानीय कला संस्कृति र सम्पदाबारे पढाइ हुन थालेपछि उनीहरूले महत्व बुझ्न थालेको दामोदर सुवालले सुनाए। ‘यस अघिसम्म धेरैलाई यहाँ यति राम्रो पोखरी थियो भन्ने जानकारी नै थिएन,’ उनले भने, ‘जब उनीहरुले थाहा पाए तब यसको संरक्षणमा स्वतःस्फूर्त जुट्न थालेका छन्।
नगरको यो शानले अब चाडै पुनर्जीवन पाउने मेयर प्रजापती थप्छन्। ‘हामी हतार गर्दैनौ, नगरका पुरात्वविद्, इतिहासविद् सबैको सल्लाह अनुसार यसको जीर्णोद्धारमा जुट्नेछौं,’ उनले भने, ‘घाँसपातले पुरिएको नगरको शान फेरि ठडिने छ।’
प्रकाशित: १८ जेष्ठ २०७६ ०२:४५ शनिबार