१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

अर्किडको माग छ, उत्पादन छैन

‘अर्किड’। ‘अर्किड’ फूल निक्कै सुन्दर फुल्ने फूल हो। अर्किडलाई फूलको राजा मानिन्छ। यो फूल फूलेपछि लामो समय टिक्छ। अर्किडलाई नेपालीमा ‘सुनाखरी’ भनिन्छ। अर्किट जंगलमा रुखमा टाँसिएर तथा झुण्डिएर फूलने फूल हो। आजकाल अर्किडलाई हाइब्रिड गरेर चाहेअनुसारको फूल फुलाउन सकिने विधिको पनि विकास भएको छ। हाइब्रिड गरेर अझ सुन्दर तथा आफूले चाहेअनुसारको फूलमा परिणत गरिने विधि हाइब्रिड हो।

आजकाल जंगलमा रुखमा झुण्डिएर फुलेको सुनाखरी जंगलमै हेर्न जानु पर्छ भन्ने छैन। घर  तथा बगैँचामा पनि फुलाउन सकिन्छ। नेपालमा जंगली सुनाखरी जंगल–जंगलमा फुल्छन्। घर तथा गार्डेनमै सुनाखरी फुलाएर यसको  बास्नामा रमाउन सकिन्छ, विशेषगरी वसन्त ऋतुमा। घाँस–दाउरा गर्दा जगलमा फुलेको सुनाखरीको फूल हेर्दा कम आनन्द हुँदैन।

आधुनिक रुपमा तिनै सुनाखरीलाई घर तथा गार्डेनमा हाइब्रिड गरेर र नगरी पनि फुलाउन सकिन्छ। जंलमा फुल्ने तिनै सुनाखरी सहरमा फुल्न थालेपछि नामै परिवर्तन भएर ‘अर्किड’ भनिन थालिएको छ। आयातित अर्किड बढेकाले सुनाखरीलाई अर्किडका नामले चिनिन थालिएको हो।

अर्किड  शब्दको सुरुवात भने ग्रिक भाषाबाट आएको पाइन्छ। सन् १९३९ बाटै पश्चिमाहरुको गार्डेनमा अर्किडको फूल सजाउने परम्पराको थालनी भएको पाइन्छ। अर्किड अर्किडेसिय परिवारअन्तर्गतको फूल हो। यो बहुरंगी हुन्छ।

माग छ उत्पादन छैन
काठमाडौं लगायतका सहरी क्षेत्रमा अर्किडको माग उच्च भए पनि उत्पादन भने कम छ। माग राम्रो भए पनि मागअनुसार नेपालमा अर्किडको उत्पादन हुन नसकेको बताउँछन्, नर्सरी व्यवसायी। काठमाडौंको बानेश्वरस्थित रोजडेल नर्सरीका देव प्रकाश राई भन्छन्, ‘अर्किडको माग बढिरहेको छ, तर ग्राहकको मागअनुसार उत्पादन गर्नै सकिएन।’ देव प्रकाश राईको तर्कमा काठमाडौंका अन्य नर्सरी व्यवसायीको सहमत देखिन्छन्। ग्राहकले जति अर्किडलाई मन पराएका छन्, मन परेअनुसार धोको पु-याएर रोप्नै पाएका छैनन्। एक त अर्किड अन्य केही फूलको तुलनामा महँगो हुन्छ। भने अर्को, अर्किड फुलाउन विशेष पनि तरिका चाहिन्छ।र अभाव पनि त्यत्तिकै छ।

मागअनुसार उत्पादन हुन नसक्नुको पहिलो कारण हो, वर्षमा एक पटक मात्रै फुल्नु। अर्किड फुलाउन धैर्यता आवश्यक हुन्छ। व्यावसायिक रुपमा फुलाउँदा नाफा घाटाको पनि हिसाबकिताब हुन्छ। अर्किड फुलाउन मिहिनेत त्यतिकै आवश्यक पर्छ। अर्किड फुलाउन विशेष ज्ञान तथा शिक्षाको पनि आवश्यकता पर्छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ पनि नेपालमा मागअनुसार अर्किडको उत्पादन नभएको बताउँछन्। अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा वर्षेनी करिब एक करोड मूल्यको अर्किडको कारोबार हुन्छ। जसमध्ये करिब ५० प्रतिशत नेपाली उत्पादनले धानेको छ। नेपाली सिम्बिडियम जातको अर्किड नेपालमा बढी उत्पादन हुन्छ। स्थानीय सिम्बिडियम जातलाई हाइब्रिड गरेर पनि नेपालमा अर्किड फुलाउन सकिने नर्सरी व्यवसायी बताउँछन्। भने फेलोनक्सिस् जस्ता अर्किडका जात भने आयात गर्नुपरेको अध्यक्ष श्रेष्ठले बताए। नेपालमा सीप तथा प्रविधिको अभावमा हाइब्रिड गर्न कठिन भएको हो। ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि हाइब्रिड जात नै अग्रपङ्तिमा आउँछन्,’ श्रेष्ठले भने।

ललितपुरको गोदावरीस्थित ग्रिन भ्यू अर्किड नर्सरीका दीपकचन्द्र राई पनि हाइब्रिड जातका अर्किड नै ग्राहको पहिलो रोजाइमा पर्ने गरेको बताउँछन्। काठमाडौं उपत्यकामा एउटा गमलामा फुलेको अर्किड तीन देखि १० हजारसम्ममा बिक्री हुने गरेको बताउँछन्, अध्यक्ष श्रेष्ठ। त्यसो त अर्किडको फूलको स्टिक पनि बिक्री हुन्छ नेपालमा। काठमाडौंमा फूलको गुणस्तरियताअनुसार प्रतिस्टिक अर्किड फूलको ५० देखि तीन सयमा बिक्री हुने गरेको ग्रिन भ्युका राईले बताए। अर्किडको फूल फुलेपछि करिब तीन महिना टिक्छ। त्यसो त स्टिकसहित काटेको फूल पनि करिब एक महिना टिक्ने बताउँछन्, अध्यक्ष श्रेष्ठ। बजारको समस्या नभए पनि उत्पादनै गर्न नसकिएको देव प्रकाशको तर्क छ। श्रेष्ठका अनुसार अर्किड फुलाउने तरिका नजान्दा पनि अर्किडको खेतीतर्फ व्यवसायीको आकर्षण घटेको हो।

नेपालमा  बेम्बो, टलग्रास, सिममोडियम, सिलोगाइनजस्ता प्रजातिका अर्किड पाइन्छन्। नेपालमा करिब चार सयभन्दा बढी प्रजातिका अर्किड रहेको तथ्यांक पाइन्छ। जसमध्ये नेपालमा मात्रै करिब १८ प्रजातिका अर्किड पाइन्छ। नेपालमा भारत (दार्जिलिङ्ग, सिक्किम), नेदरल्यान्ड, थाइल्यान्ड जस्ता देशबाट अर्किड आयात हुन्छन्।

स्वच्छ हावापानीमा राम्रो फूल
अर्किड माटोमा फुलाउन कठिन हुन्छ। अर्किड फूलाउनका लागि छुट्टै किसिमको तरिका आवश्यक पर्छ। ग्रिन भ्यू राई पनि अर्किड फुुलाउन निकै मिहिनेत गर्नुपर्ने बताउँछन्। राई भन्छन्, ‘पत्करको मल, काठको बोक्रामा अर्किड राम्रो फुुलाउन सकिन्छ।’ रोजडेलका देव प्रकाश पनि ग्रिन भ्यूका राईको तर्कमा सहमत देखिन्छन्। देव प्रकाशका अनुसार राम्रो अर्किड फुलाउनका लागि विशेषगरी कटुसको मक्किएको पत्कर उपयुक्त हुन्छ। मक्किएको काठ, पाकेको गाईको गोबर र पत्कर मल मिसेर अर्किड रोप्दा राम्रो फुलाउन सकिन्छ। पछिल्लो समय बालुवा र मधुमास (नरिवलको जट्टाको धुलो) मा पनि रोप्न थालिएको छ। मधुमासमा अर्किड रोप्दा भने चार भागमध्ये तीन भाग मधुमासको धुलो र एक भाग बालुवा मिक्स गरेर अर्किड रोप्नु उपयुक्त हुन्छ। केही इँटाका टुक्रा गमलामा हाल्दा पनि चिसो रहन सहयोग हुन्छ। अर्किडको भिटामिनका लागि बजारमा पाइने विशेष किसिमका भिटामिन पनि प्रयोग गर्न सकिन्छ। आकाशे पानी अर्किडका लागि उपयुक्त हुन्छ। १२ इन्चको माटोको गमलामा १० स्टिकसम्म अर्किड फुलाउन सकिने बताउँछन्, देव प्रकाश। जातअनुसार फूलका स्टिक एकदेखि दुई फिटसम्मको उच्चाइका हुने बताउँछन्, अध्यक्ष श्रेष्ठ।

अर्किड फूलका लागि स्वच्छ हावापानी आवश्यक हुन्छ। फोहोर हावापानीमा अर्किड राम्रो फुल्न सक्दैन। उपत्यका वरिपरिको कुरा गर्ने हो भने गोदावरी, नगरकोट, सुन्दरीजल क्षेत्रमा अर्किडका लागि उपयुक्त हावापानी भएको नर्सरी व्यवसायी बताउँछन्। यसको अर्थ काठमाडौंमा फुलाउन नसकिने हैन। काठमाडौं उपत्यकामा गमलामा राम्रोसँग अर्किड फुलाउन सकिन्छ। अर्किडले प्रत्यक्ष घाम भने सहँदैन। प्रत्यक्ष घाममा राख्दा अर्किडका पात डढ्ने समस्या हुने ग्रिन भ्युका राईले बताए। घर तथा गार्डेनमा फुलाउन सकिन्छ। गमलामा रोपेर कौशीमा ढकमक्क अर्किड फुलाउन सकिन्छ। काठमाडौं उपत्यकाको हावापानी अर्किड फुलाउन उपयुक्त रहेको अध्यक्ष श्रेष्ठले बताए। न्यानो हावापानी आवश्यक हुन्छ। तर गर्मी भने सहँदैन। त्यसैले नेपालको पहाडी हावापानीमा अर्किड राम्रो फुल्ने बताउँछन्, रोजडेलका देव प्रकाश। तराईमा भने गर्मी हुने भएकाले तराईको हावापानी अर्किडका लागि उपयुक्त नहुने नर्सरी व्यवसायी बताउँछन्।

सामान्यतया असोज महिनादेखि वैशाखसम्म फुल्छ, अर्किड। माघदेखि चैतसम्म भने अर्किड फुल्ने उत्तम सिजन हो। जात अनुसार पनि फुल्ने सिजनमा फरक पर्न सक्छ। हरियो जालिभित्र फुलाउनु उपयुक्त हुन्छ।

एक बोटबाट धेरैवटा बनाउन पनि सकिन्छ। फुलिसकेपछि छुट्याउन सकिन्छ। सामान्यतया जेठ/असारमा छुट्याउनु उपयुक्त हुन्छ।

नेपालमा रातो, पहेँलो, सेतो, मिक्स रंगका अर्किड धेरै मन पराइने रंग हुन्। काठमाडौंमा भने फूल फुलिसकेपछि मात्रै फूलको  रंग हेरेर अर्किड किन्ने गरेको अनुभव सुनाउँछन् देव प्रकाश।

भविष्य छ, सीप छैन
नेपालमा अर्किड फूलको भविष्य छ भन्छन्, अध्यक्ष श्रेष्ठ। तर अर्किडको व्यावसायिक खेतीका लागि ज्ञान र सीपको भने विकास गर्न नसकिएको उनी स्विकार्छन्। जंगलमा रहेको अर्किडलाई हाइब्रिड गरेर व्यावसायिक खेती गर्न सके नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत अर्किडको माग रहेको देव प्रकाश बताउँछन्। अर्किड फूलको नेपालमा हाइब्रिड गरेर आकर्षक रुपमा फुलाउने प्रविधि तथा ज्ञानको अभाव भएको बताउँछन्, नर्सरी व्यवसायी। फूल फुलेपछि भने अर्किडमा ग्राहक अत्यन्तै लोभिने गरेको छन्। नलोभिउन पनि कसरी फूल कम मनमोहक हुँदैन। फूल फुलाउन जान्दा यो फुलाउन पनि त्यति कठिन नभएको बताउँछन्, नर्सरी व्यवसायी। सुरुमा भने यसलाई फुलाउने आइडियाको आवश्यता पर्छ।

उपत्यकालगायतका सहरमा अर्किडको माग हुँदाहुँदै यसको उत्पादनको ज्ञान र सिपको अभावमा मागअनुसारको अर्किडको फूल उत्पादन हुन नसकेको देखियो। यो सुन्दर फूलको उत्पादनको ज्ञान र सिपको विकास गर्न सके उत्पादन बढ्नुका साथै आन्तरिक बजार धान्न सकिने देखिन्छ। बजार धान्ने मात्रै नभएर अर्किडको उत्पादन गर्न सके आम्दानी पनि राम्रै हुने बताउँछन्, नर्सरी व्यवसायी।

प्रकाशित: २५ चैत्र २०७५ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App