४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

ऋतिक रोशन काण्डले राजनीतिमा

२०५७ पुस ११ मा केशव झा कलेजको कोठामा अध्ययन गरिरहेका हुन्छन्। सप्तरीको तिलाठीबाट काठमाडौं आउनु उनको एक मात्र उद्देश्य अध्ययन थियो। बिएससीमा राम्रोसँग अध्ययन गर्नु र त्यसपछि एमएससी पढ्न अमेरिका जाने योजना बनाइरहेकाले उनका लागि त्यत्तिबेला पढाइ महत्वपूर्ण हुनु स्वाभाविक हो। मान्छेको जीवन सधैँ सरल रेखामा कहाँ हिँड्छ र ? मान्छेले जे चाहन्छ, त्यो सायदै कमै व्यक्तिले प्राप्ति गर्छन्। उनी पनि अपवाद हुन सकेनन्। 

अमेरिका पुगेर फिजिक्स अध्ययन गर्ने अनि नासाको वैज्ञानिक बन्ने तथा विज्ञान र प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने अभिलाशा बोकेका तिनै झा २०५७ पुस ११ गते नेपालमा घटेको त्यो घटनाले जीवनकै उद्देश्य फेर्न बाध्य भए। त्यो दिन (२०५७ पुस ११ गते) ले झालाई वैज्ञानिक बन्ने बाटो त छेक्यो। तर, देश र समाजलाई नेतृत्व गर्ने अवस्थामा भने पुर्याइदिएको छ। 

२०५७ पुस ११ गते नेपालमा भएको ऋतिक रोशन काण्डका कारण सानैदेखिको इच्छा त्याग्न बाध्य भएका झा यतिखेर मधेसकेन्द्रित राजनीतिक दलको प्रमुख शक्ति मानिने राष्ट्रिय जनता दल पार्टी (राजपा) को महासचिव बन्न सफल भएका छन्। ‘ऋतिक रोशन काण्ड अघिसम्म राजनीतिबारे सामान्य चासोबाहेक पूर्णकालीन हुन्छु भन्ने सोच नै थिएन,’ झाले नागरिक परिवारसँग भने, ‘ऋतिक रोशन काण्डको नाममा मधेसी समुदायलाई गरिएको अत्याचारले राजनीतिमा लाग्न बाध्य बनायो, सोच बदलियो।’ 

भारतीय सिने अभिनेता ऋतिक रोशनले नेपालको बारेमा केही कुरा बोलेको निहुँमा त्यतिबेला काठमाडौंलगायतका सहरमा हुल दंगा मच्चाइएको थियो। त्यही हुल दंगाका कारण झाजस्ता मधेसी अनुहार भएका व्यक्तिमाथि कुटपिट गरिएको थियो। ‘अफ्रिकामा रंगभेदका कारण कैयौं व्यक्ति पीडित भएको सुनेका थियौं,’ उनले भने, ‘तर, २०५७ मा नेपालमै आफैँ त्यस्तो विभेदको शिकार हुनु पर्याे।’ मधेसी अनुहार भएकै कारण भोग्नु परेको त्यस्तो अत्याचार उनले सहन चाहेनन्। अनि निर्णय गरे अब अमेरिका होइन स्वदेशमै बसेर पहिचानको लडाइँलाई सशक्त पार्नुपर्छ। 

मधेसी विद्यार्थी फ्रन्टको नेतृत्व
विज्ञान अध्ययनका लागि काठमाडौं आएको बेला भारतीय अभिनेताले नेपालबारे बोलेको कुरालाई लिएर मधेसी समुदायका व्यक्तिमाथि आक्रमण भएपछि झालगायतका युवाले त्यसको प्रतिपादन गर्न जरुरी ठाने। एउटा समूहबाट भएको आक्रमणलाई रोक्न अर्को समूह पनि त्यत्तिकै रुपमा बलियो हुन आवश्यक थियो। काठमाडौंमा रहेका केही मधेसी युवाको जमघटले तुरुन्तै मधेसी विद्यार्थी फ्रन्ट गठन गर्ने अनि पहिचानसहित अधिकारको मागलाई तीव्रता बनाउने ती युवाको लक्ष्य बन्यो। झा फ्रन्टको महासचिव भए। 

करिब दुई वर्षसम्म झाको टोली एकातिर फ्रन्टको विस्तारमा लाग्यो भने अर्कोतर्फ ऋतिक रोशन काण्डको नाममा जसरी विनाकुनै कारण मधेसी समुदायमाथि आक्रमण भएको थियो। त्यसको प्रतिवादमा पनि लागिरहे। ‘करिब दुई वर्ष लगाएर फ्रन्टलाई देशभरिका विभिन्न कलेजमा विस्तार मात्र गरेनौं,’ उनले भने, ‘सोही अभियानले विद्यार्थी संगठनका क्रियाकलापले जे कुरामा परिवर्तन गर्नुपर्ने थियो, त्यो नहुँदो रहेछ भन्नेसमेत सिकाइ भयो।’ 

अनि सुरु भयो मधेसी जनाधिकार फोरम
विद्यार्थी संगठनमा मात्र आबद्ध भएर चाहेको कुरा परिवर्तन गर्न सम्भव हुने नदेखेपछि झाको समूहले छुट्टै राजनीतिक दलको आवश्यकता महसुस गर्याे।  त्यतिबेला भ्रष्टाचारको अभियोगमा सजाय पाएका जयप्रकाश गुप्ता पनि नयाँ राजनीतिक दल स्थापना गर्ने योजनामा थिए। 

‘जेपी (जयप्रकाश) दाइले भर्खर ‘अख्तियारको थुना र मेरा सम्झना’ भन्ने पुस्तक निकाल्नु भएको थियो,’ झाले भने, ‘त्यही बेलाको भेटले मधेसी जनाधिकार फोरम भन्ने राजनीतिक दल गठन गर्नुपर्छ भन्ने लाग्यो।’ फोरम गठन भएको केही समयपछि दोस्रो जनआन्दोलन भयो। झाका अनुसार फोरमका हालका अध्यक्ष उपेन्द्र यादव दोस्रो जनआन्दोलन सफल भएपछि मात्र नेपाल आएका हुन्। ‘दोस्रो जनआन्दोलन अघिसम्म उपेन्द्रजीको बसाइँ भारतमा थियो,’ उनले भने, ‘फोरमलाई विभिन्न जिल्लामा विस्तार गर्ने र उपेन्द्रजीलाई सुरु–सुरुमा देशका विभिन्न ठाउँमा पुर्याएर एक्सपोजर दिने काम हामीले गर्याैं।

झाका अनुसार जुन उद्देश्यले फोरमको सुरुवात गरिएको थियो। दोस्रो जनआन्दोलनपछि त्यस्तो हुन सकेन। उनले खासगरी उपेन्द्र यादवसँग कुरा मिल्न नसक्दा सुरुको उद्देश्यमा समस्या परेको बताए। ‘२०६३ को अन्त्यतिर पुग्दै गर्दा उपेन्द्रजीसँग कुरा मिल्न छाडिसकेको थियो,’ उनले भने, ‘यस्तै क्रममा तत्कालीन सरकारले २०६४ माघ १ गते  अन्तरिम संविधान जारी गर्याे। तर, त्यो संविधानमा हामीले खोजेको कुरा केही थिएन।’ 

उनले भने, ‘हामीले खोजेको कुरा संविधानमा नभएपछि चित्त बुझाउने सवाल भएन। अनि माइतीघरमा संविधान जलायौं। र, देशव्यापी संघर्षको कार्यक्रम घोषणा गर्याैं।’ सोही संघर्षको क्रममा माघ ५ गते लहानमा रमेश महतो मारिएपछि तत्कालीन सरकारले अन्तरिम संविधानमा संघीयता र समावेशीता थप्न सहमति जनाएको थियो। सोही सहमतिपछि मधेस आन्दोलन रोकियो। 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेसी दलले उठाएका माग पूरा गर्ने सहमति जनाएपछि मधेस आन्दोलन रोकिएको थियो। २०६४ फागुन १६ गते सरकार र मधेसी मोर्चाबीच ८ बुँदे सहमति भयो। त्यतिबेला नेपाली कांग्रेसबाट बाहिरिएका विजयकुमार गच्छदारको समूहले फोरमसँग एकता ग¥यो। जसको फलस्वरुप संविधानसभाको पहिलो निर्वाचनमा  फोरमले ५३ सिट जित्यो। 

जितपछि फुट
धेरैले सोचेभन्दा फोरमले पहिलो संविधानसभा निर्वाचनमा बढी सिट जितेपछि देशमा नयाँ परिस्थितिको सिर्जना भयो। ‘जितपछि विजयकुमार गच्छदार र उपेन्द्र यादवबीच कुरा मिल्न सकेन,’ झाले भने, ‘अनि फोरम फुट्यो। २८ जना सांसद लिएर विजय दाइले अर्को दल गठन गर्नुभयो।’ फुट अघिसम्म फोरमको विद्यार्थी संगठनको अध्यक्ष रहेका झा पनि गच्छदारतिर लागे। र, त्यहाँ  युवा संगठनको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाए। 

केही समयपछि विजयसँग पनि उनको कुरा मिलेन। २०५९ असारमा शरदसिंह भण्डारीले राष्ट्रिय मधेस समाजवादी दल गठन गरेपछि झा भण्डारीतिरै लागे। सोही दलको महासचिव रहेको बेला अघिल्लो वर्ष मधेसकेन्द्रित ६ दलले एकीकरण गरेपछि बनाइएको राष्ट्रिय जनता पार्टीका लागि झा अहिले पनि महासचिव नै छन्। 

सरकारलाई दिएको समर्थन फिर्ता लिने बेला आइसक्यो।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई दुई तिहाई बनाउन ६ वटा मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले पनि सघाएको छ। यद्यपि राजपाका कुनै पनि नेता सरकारमा सामेल छैनन्। ‘प्रधानमन्त्रीले हाम्रो दललाई पटक–पटक मन्त्रिमण्डलमा सहभागी हुन आग्रह गर्नुभएको छ,’ झाले भने, ‘अब मन्त्रिमण्डलमा सहभागी होइन, सरकारलाई दिएको समर्थन फिर्ता लिने बेला आइसकेको छ।’ 

समर्थन दिँदा सरकारले गर्ने भनेको संविधान संशोधन, मधेस आन्दोलनमा घाइते भएकाको उपचार तथा भरणपोषणको जिम्मेवारी पूरा गर्न नसकेको उनको गुनासो छ। ‘सरकार हाम्रा माग पूरा गर्न उदासीन छ,’ झाले भने, ‘त्यसैले अब बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं।’ राजपाले आउँदो वैशाखमा पहिलो महाधिवेसन गर्ने तयारीसमेत गरेको छ। केही नेता महाधिवेसनपछि र केही नेता महाधिवेसन अगाडि नै समर्थन फिर्ता लिनुपर्ने पक्षमा रहेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न अलमल जस्तो देखिएको उनको भनाइ छ।

लाल प्रतिवेदन सार्वजनिक हुनुपर्छ
सरकारले मधेस आन्दोलनको क्रममा भएको धनजनको क्षति यकिन गर्न गिरिशचन्द्र लालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। झाले अझै पनि उक्त छानबिन टोलीको प्रतिवेदन सार्वजनिक नहुनुमा असन्तुष्टि जनाए। ‘मधेस आन्दोलनमा धेरैले मधेसी समुदायलाई गल्ती देखाउँछन्,’ उनले भने, ‘मधेस आन्दोलनको क्रममा वास्तविक रूपमा को दोषी थिए र कसलाई कारबाहीको सिफारिस गरिएको छ भन्नेबारे लाल प्रतिवेदनमा उल्लेख छ।’  उनले सरकारमा बस्नेहरू धेरै कारबाहीमा पर्ने भएपछि   त्यो रिपोर्ट सार्वजनिक नगरिएको दाबी गरे। 

उत्पादनमा नलाग्नेले राजनीतिलाई बदनाम बनाए
राजनीतिमा लाग्नेमध्ये थोरैले अवसर पाउने तर, बदनाम भने धेरै हुने गरेको झाको अनुभव छ। यस्तो सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उनी कुनै पनि व्यक्तिले पूर्णकालीन रूपमा राजनीति गर्ने हो भने आर्थिक अवस्थाको एकिन गर्नुपर्ने बताउँछन्। 

‘जो व्यक्तिको आर्थिक अवस्था राम्रो हुँदैन र उत्पादनका काममा लागेका हुँदैनन्, उनीहरू भ्रष्टाचार र दलालीमा लाग्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले राजनीतिमा लाग्ने सबै व्यक्तिले कुनै न कुनै काम गर्नुपर्छ।’ आफूले माछा, गाई, कुखुरा पालेको र तरकारी खेती गरेको उदाहरण दिँदै अन्य नेतालाई पनि राजनीति र व्यवसाय सँगसँगै अघि बढाउन झाले सल्लाह दिए।
 ‘राजनीति र व्यवसायसँगै अघि बढाउने हो भने एकातिर नेतालाई  नैतिक पतन हुनबाट बचाउँछ र अर्कोतर्फ भ्रष्टाचार घटाउँछ,’ झा भन्छन्, ‘नत्र जति ठूला कुरा गरे पनि केही अर्थ हुँदैन।’  मुलुक टिक्न र विकासका लागि आर्थिक रुपमा बलियो हुनुपर्ने उनको बुझाइ छ।  

कम्प्युटर इन्जिनियर पत्नीको साथ
युवा अवस्थामै राजनीतिमा उक्लन झाले जसरी संघर्ष गरिरहेका छन्। घरायसी अवस्था भने त्यस्तो अवस्था छैन। कम्प्युटर इन्जिनियर पत्नी करुणाले उनलाई पाइला–पाइलामा सघाइरहेकी छिन्। ‘कहिलेकाहीँ पतिले भान्छाको काममा सघाइदिए हुन्थ्यो भन्ने बाहेक उहाँसँग धेरै अपेक्षा गरेकी छैन,’ करुणाले भनिन्, ‘उहाँ जसरी राजनीतिमा सफल हुँदै जानु भएको छ, त्यसरी नै घरमा पनि पतिको हैसियतमा पूर्ण हुनुहुन्छ। कुनै कुरामा गुनासो गर्नुपर्ने अवस्था छैन।’ फुर्सदमा ७ वर्षीय छोरा रिषभलाई स्कुल लैजाने र ल्याउने काम केशवको नै हुने गरेको करुणा बताउँछिन्। जनकपुरकी करुणासँग केशवले २०६५ वैशाख ११ गते विवाह गरेका हुन्। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App