२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
अन्य

विश्वरूपाको अस्तित्व संकटमा

भूकम्पपछि पुनर्निर्माणमा चासो नदिँदा पशुपति मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर (शिव र पार्वतीको विराट स्वरुप भएको) कोे अस्तित्व संकटमा परेको छ। समयमै पूनर्निर्माण नहुँदा अहिले विश्वरूपा मन्दिर र त्यस आसपासमा रहेका अन्य ऐतिहासिक संरचना पनि भत्किएका छन्।

संरक्षण नगरेपछि यो मन्दिर लथालिंग अवस्थामा छ। पुराना ऐतिहासिक काठ पनि यत्रतत्र छरिएका छन्। पुराना पाटी भत्किएका छन्। खाली जग्गामा सिमेन्टका टहरा बनाउन थालिएको छ। विश्वरुपाको छेवैमा विष्णुको मूर्ति, कृष्णको मुर्ति र देवीको मुर्ति छ। 

संरक्षण नगरेपछि अहिले मन्दिर लथालिंग अवस्थामा छ। पुराना ऐतिहासिक काठ पनि यत्रतत्र छरिएका छन्। पुराना पाटी भत्किएका छन्। खाली जग्गामा सिमेन्टका टहरा बनाउन थालिएको छ। विश्वरुपाको छेवैमा विष्णुको मूर्ति, कृष्ण र  देवी मुर्ति पनि छ।

विश्व सम्पदा सूचीमा रहेको विश्वरूपा मन्दिरको अस्तित्व नै संरक्षण नहुँदा त्यसको संरक्षण गर्न सम्पदाप्रेमी, जनप्रतिनिधि, सांसद र स्थानीय जागेका छन्। ऐतिहासिक मन्दिर अगाडिको खाली जग्गामा टहरा निर्माण गरेर सम्पदा भत्काउन खोजेको भन्दै बिहीबार सम्पदाप्रेमी, जनप्रतिनिधि, सांसद र स्थानीय त्यहाँ पुगेका थिए। विश्वसम्पदा क्षेत्रमा रहेको उक्त मन्दिरको पुनर्निर्माणमा चासो नदिएको र मापदण्ड विपरीत संरचना निर्माण गर्न लागेपछि त्यसतर्फ सबैले कोषको ध्यानाकषर्ण गराएका छन्। सम्पदा अवलोकनपछि काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी, प्रदेश सांसद नरोत्तम वैद्य, काठमाडौं महानगरपालिका–८ का वडाध्क्ष दिनेशकुमार डंगोल, सम्पदापे्रमी गणपतिलाल श्रेष्ठलगायतको टोली र कोषका पदाधिकारीहरुबीच छलफल भएको थियो। छलफलमा क्रममा कोषले ढलेको विश्वरुपा मन्दिर उठाउनुको साटो मन्दिरको आँगनमा मापदण्ड विपरीतका टहरा निर्माणको लागि जग खनेकोप्रति सबैले आपत्ति जनाएका थिए। काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले सम्पदा संरक्षण गर्नुपर्ने निकायले नै सम्पदा मास्न खोजेको आरोप लगाइन्।

उनले जनप्रतिनिधि, पुरातत्व विभाग, स्थानीय, सांसद हुँदाहुँदै पनि कोषले बिनासमन्वय र मापदण्ड कुल्चेर संरचना निर्माण गर्नु दुर्भाग्य रहेको बताइन्। ‘जनप्रतिनिधि नहुँदा त ठिकै थियो, हामी निर्वाचित भएर आएपछि पनि जनप्रतिनिधिलाई सोधिएन, कम्तीमा सोधेर सम्पदा क्षेत्रमा पुनर्निर्माण थालेको भए त्यसको अस्तित्व जोगिने थियो। तर, कोषले पेलेर सम्पदाको मर्म विपरित पुनर्निमाण गरिहेको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ,’ उनले भनिन्। पशुपति क्षेत्र विकास कोषले पशुपतिभित्र संरचना बनाउँदा कसैको राय सुझाव नलिएको उनको भनाइ छ।

भूकम्पछि कोषले आर्मी लगाएर मन्दिर भत्काएको थियो। हतार गरेर मूर्ती निकाल्दा पार्वतीको मूर्ति भाँच्चिएको छ। प्रदेश सांसद नरोत्तम वैद्यले पशुपति क्षेत्रभित्र पछिल्लो समय जथाभावी संरचना निर्माण भएको र त्यो मौलिकताअनुरुप नभएको जानकारी दिए। विश्वरुपमा मन्दिर बनाउनुको साटो उल्टै भत्किएको मन्दिर अगाडिको खुला ठाउँमा संरचना निर्माण गर्नु चरम लापरवाही भएको उनको भनाइ छ। ‘सम्पदामा सबैको चिन्ता र भावना जोडिएको छ। कोषले आफ्नो एकल निर्णयबाट संरचना बनाउन पाउँदैन। अहिलेसम्म भएका सबै कमजोरीको जिम्मा कोषले नै लिनुपर्छ,’ उनले भने। उनका अनुसार सुशासन ऐन २०६४ विपरीत कोषले संरचना निर्माण गरिहरहेको छ। ऐनमा विश्व सम्पदा सूचीमा परेको कुनै संरचना बनाउँदा पुरातत्व विभाग, स्थानीय सरकार र केन्द्र तथा अन्य विज्ञहरुको राय सुझाव लिएर संरचना निर्माण गर्न पाइन्छ। तर, कोषले पछिल्ला संरचना निर्माण गर्दा कानुन कुल्चिएको उनको आरोप छ।

काठमाडौं महानगरपालिका–८ का वडाध्क्ष दिनेशकुमार डंगोलले कोषले ऐतिहासिकता नहेरी मनपरी ढंगले पुनर्निर्माणमा हात हालेको जानकारी दिए। ‘पशुपति क्षेत्र विकास कोषभित्र संरचना बनाउँदा स्थानीय, जनप्रतिनिधि र विज्ञहरुको सुझाव लिइएन,’ उनले भने, ‘यसले दीर्घकालीन रुपमा हामीलाई नै असर पुर्‍याउँछ।’

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले अस्थायी टहरा बनाएर मूर्तिको संरक्षण गर्ने जनाए। उनले विश्वरुपा मन्दिर छेवैमा टहरो बनाउँदा भएको गल्ती स्वीकार्दै त्यसलाई सच्याउने प्रतिवद्धता पनि गरे। केही समयपछि भत्काउने हिसाबमा टहरो बनाउन खोजिएको उनले जानकारी दिए। ‘मन्दिर नबनुन्जेल हामीले त्यहाँ टहरो बनाएर ऐतिहासिक मूर्ति र अन्य कलाहरुको संरक्षण गर्न खोजेका हौं,’ उनले भने, ‘त्यसरी सम्पदाको अस्तित्व भत्कने गरी टहरा बनाइँदैन।’

पुशपतिनाथ मन्दिरका पुजारी केदारमान भण्डारीका अनुसार विश्वरुपा मन्दिरभित्र अष्ट धातुको शिव र पार्वतीको मूर्ति छ। ती मुर्ति लिच्छवीकालीन समयमा बेनेको इतिहास रहेको छ। राणा प्रधानमन्त्री जंगबहादुर राणाले मन्दिर बनाएर त्यहीँ विश्वरुपाको मुर्ति प्रतिस्थापन गरेका थिए। अहिले विश्वरुपा मन्दिरको चारैतिर अन्य ऐतिहासिक मूर्ति छन्। ‘यहाँ पुजारी र पालेको पनि नियुक्ति गरिएको छ। यो मन्दिर निकै ऐतिहासिक  महत्व बोकेको मान्न सकिन्छ, त्यसकारण पनि कोषले ५ जना हेरचाह कर्मचारी र ४ जना पुजारी राखेको छ,’ उनले भने, ‘भूकम्पयता मन्दिर ताला लगाएर राखिएको छ। कोषले पुनर्निर्माणको लागि कुनै पनि चासो देखाएको छैन।’

चारैतिर चारवटा युगका देवताको मूर्ति राखिएको मन्दिर आसपासमा कंक्रिट संरचना बनाउन नहुने पुजारी भण्डारीको भनाइ छ। ‘विश्वरुपमा मन्दिरभित्र विश्वमै नभएको मूर्ति छ। त्यसलाई हामीले चिन्न सकेका छैनौं। त्यसकारण यसबारे सबैले चासो दिन आवश्यक छ,’ उनले भने, ‘त्यसको साइड–साइडमा गणेश र भैरवको मूर्ति राखिएको छ। त्यो पनि संरक्षणको अभावमा लोप होला भन्ने डर छ।’  कोषले संरक्षण गर्नुको साटो उल्टै सम्पदाको अस्तित्व भत्काउन खोजेको उनको आरोप छ। उनले पुरानै ढाँचामा मन्दिर पुनर्निमाण गरे मात्रै त्यसको अस्तित्व जोगिने जानकारी दिए। ‘पहिले जसरी बनेको थियो, अहिले पनि त्यसरी नै बनाउनुपर्छ, कलात्मक पक्षलाई जोगाएर काम गर्नुपर्छ, सम्पदामा आधुनिक निर्माण सामग्री मिसाउन पाइन्न,’ उनले थपे, ‘तर, कोषले विकासको नाममा विनास गरिहरहेको छ।’ 

उनका अनुसार विश्वरुपामा मन्दिरभित्र सबैतिर क्षति पुगेको छ। सबैभन्दा महत्वपूर्ण त विश्वरुपामा मूर्ती हो। २४ फिटको त्यो मूर्ति प्राचीन र अनुपम छ। यो अनमोल मूर्ति अहिले नष्ट हुने अवस्थामा छ। कोषले मूर्ति जोगाउने सम्बन्धमा कुनै चासो दिएको छैन। मन्दिरको भित्र खोपा–खोपामा स–साना अन्य भगवानका मूर्ति पनि छन्। शिव र पार्वतीको विराट रुप भएकोले यो मुर्तिलाई विश्वरुपा भनिएको हो। यसबारेमा पुराण, शिव पुराण, नेपाल महात्मालगायत ग्रन्थमा पनि लेखिएको छ। २४ फिट लम्बाईमा बनेको शिव पार्वतीको अष्ट धातुको दुर्लभ मुर्ति रहेकाले यो मन्दिरलाई विश्वरुपा भन्ने चलन छ।

प्रकाशित: २५ माघ २०७५ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App