२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

‘काठमाडौं झन्झन बिग्रँदै गएको छ’

नह्यू बज्राचार्य, संगीतकार

तपाईंको विचारमा सहर भनेको के हो ?
सुविधायुक्त ठाउँ नै सहर हो। सहरभित्र अनेक कलासंस्कृति र सभ्यता लुकेका हुन्छन्। सहरको जनघनत्व बढी भए पनि त्यहाँको प्रशासनले सहरका हरेक पक्षलाई चुस्त दुरुस्त राखेको हुन्छ।

घुमेको मध्ये मनपरेको सहर ?
मलाई मनपर्ने र बस्न सहज लाग्ने ठाउँ काठमाडौं नै हो, किनभने यहाँको माटोसँग म सानैदेखि परिचित भएँ। यहीँ जन्मिए, हुर्किएँ र आफ्नो करिअर बनाएँ। त्यसकारण मेरो लागि काठमाडौं भन्दा राम्रो र प्यारो ठाउँ अरु छैन।

उपत्यकाबाहिर कत्तिको घुम्नुभएको छ ?
बेला बेलामा घुम्ने र नयाँ नयाँ जीवनशैली बुझ्ने गरेको छु। उपत्यकाबाहिरको अलि व्यवस्थित लाग्ने सहर पोखरा हो। पोखरा सहर मनमोहक र सुन्दर छ। अहिलेसम्म यो सहर सबै पक्षमा व्यवस्थित छ। धुवाँधुलो र प्रदूषण पनि खासै देखिँदैन। सहर शान्त र हल्लामुक्त छ। पछिल्लो समय पोखरा छिर्ने बाहिरी सडक पनि फराकिलो भएका छन्। फेवाताल र सहर वरपरका पर्यटकीय मार्गले पोखरा धेरै पर्यटकहरूको आर्कषकको केन्द्र बनेको छ। पोखरामाथिको ठाउँहरु पनि मनमोहक छन्।

काठमाडौं अस्तव्यस्त हुनुको कारण के होला ?
पछिल्लो समय सबैले काठमाडौंलाई धिक्कारछन्। सहर बिग्रियो भनेर कुरा काट्छन्। नेताहरुलाई धारे हात लगाउँछन्। तर, मलाई यहीँ सहर राम्रो लाग्छ। अहिले काठमाडौंमा देखिएका समस्या सबै मानिसकै कारण निम्तिएका हुन्। यहाँ सबैथोक पाइन्छ। प्रदूषण हामीले नै निम्त्याएका हौं। विकासका काम पनि हाम्रै कारणले नभएको हो। सहरवासी र राज्यमा बस्नेहरुले सहरको विकासबारे सिन्को पनि नभाचेकाले सहरको अवस्था यस्तो भएको हो।

के कारणले सहरको विकास हुन नसकेको होला ?
सडक, खानेपानी र अन्य विकासका काम भइरहेको देख्दा विकासको नाममा विनास भएको छ भन्ने लाग्छ। किनभने ती काममा भोलि के हुन्छ भन्ने हेरिएको छैन। कर्मचारीले मनलाग्दी गरेका छन्। सबैतिर भ्रष्टाचार मात्रै भएको सुनिन्छ। यस्तो तवरले विकास कसरी होला ? सरकारी निकायले तदारुकता नदेखाउँदा सहर विकास हुन नसकेको हो। पदमा बस्नले आफ्नो स्वार्थ मात्रै हेरे। सहरको दीर्घकालीन र प्रभावकारी विकासमा ध्यान दिएनन्। ऐतिहासिक, मौलिक र प्राकृतिक पक्षलाई नियाल्दा नेपाल धेरै अगाडि छ।

विदेशका कुनकुन सहर घुम्नुभएको छ ?
अष्ट्रेलिया, अमेरिका, हङकङ, फ्रान्स, म्यानमार, लन्डनलगायतका सहर पुगेको छु।

त्यहाँ कस्तो लाग्यो ?
अति नै व्यवस्थित र सफा। सरकारी नियम चुस्त छन्। सहरमा कसैले पनि गलत काम गर्न पाउँदैन। हाम्रो सहरमा जस्तो फोहर र प्रदूषण विदेशका सहरमा छैन। त्यहाँ सहर कानुनी परिधिमा छन्। सरकारको नीति नियमलाई सबैले मानेका छन्। बाहिरका सहरको तुलनामा हाम्रा सहर धेरै नै पछि छन्। मलाई मेलबर्न पनि ज्यादै सुन्दर लागेको हो। त्यहाँ साह्रै शान्त र व्यवस्थित छ। नेपालको जस्तै हावापानी र भौगोलिक क्षेत्र छ। समुद्र र वनजंगल पनि छ।

बाहिरी मुलुकको तुलनामा नेपालका सहरमा के भिन्नता पाउनुभयो ?
हामीमा सरकारले बनाएको नीतिनियम पालना गर्ने चेतना नै छैन। राज्यले गर्ने काम पनि फितलो छ। सरकारले नै कडाइ गर्न सकेको छैन। ज्ञान भएकाहरु पनि अज्ञानी जस्तैसहरलाई कुरुप बनाउन लागिपरेका छन्। मौलिकताको कसीमा नेपालका सहर अगाडि छन्। यहाँका मठमन्दिर विश्वकै धरोहर हुन्। हिमाल र डाडाँकाडाँले नेपाललाई सुन्दर बनाएको छ।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
प्रत्येक सहरको क्षमता र आयु हुन्छ। सहरको पूवार्धार र जनसंख्याले त्यसको आयु र क्षमता देखाउँछ। यो हिसाबमा हाम्रा सहर एकदमै जटिल अवस्थामा छ। काठमाडौंमा थाम्नै नसक्ने जनसंख्या वृद्धि भयो। सहरको जनसंख्या ठिक्क होस्। सबैतिर व्यवस्थित भएको देख्न पाइयोस्। सहरभित्र हिँडडुल गर्नसक्ने अवस्था होस्। राज्यले दिने अधिकार समान किसिमका होउन्। यति भयो भने सहर राम्रो हुन्छ।

तपार्इंको विचारमा सहर कस्तो हुनुपर्छ ?
जनप्रतिनिधिले ल्याएका योजनाहरु आशलाग्दा थिए। तर, ती योजना कागजमै सिमित रहे। निर्वाचित भएको एक वर्ष बितिसक्दा पनि जनप्रतिनिधिले सिन्को भाँचेका छैनन्। सबै आ–आफ्नै स्वार्थको पछि लागेका छन्। सहर सुन्दर बनाउने सपना कसैले देखेनन्। मेरो विचार सहर सुन्दर र व्यवस्थित हुनुपर्छ। सहरमा खुला ठाउँ र सास फेर्ने ठाउँहरु प्रसस्त हुनुपर्छ। मेरो सपनाको सहर पनि यस्तै होस् भन्ने लाग्छ। सहरमा सबैखाले सेवा सुविधा पाइयोस्। सहरका चोकहरु सुन्दर र सुरक्षित होउन्। सहरवासीमा एकताको भावना होस्, माया होस्। यति भयो भने सहर सुन्दर हुन्छ।

उपत्यका सपार्न के गर्नुपर्ला ?
काठमाडौंले आज कैयौं मानिसहरूका सपना पूरा गरिदिएको छ। यहाँका सेवा–सुविधा लिएर मानिसहरू संसारमै चर्चित बने। तर, उनीहरूले काठमाडौंलाई केही पनि दिएनन्। पछिल्लो समय उपत्यका दिक्कलाग्दो भएको छ। सहरवासीकै हेलचेक्रयाइले बिग्रिएको हो। अब यसलाई सपार्नको लागि पनि तीनै सहरवासीहरु जुट्न आवश्यक छ। सरकारी निकाय र नागरिक समाज मिलेर काम गर्ने हो भने सहरको विकास पर छैन। माथिल्लो निकायले काम गर्ने हो भने १० वर्षमै काठमाडौं कायापलट हुन्छ।

काठमाडौं व्यवस्थित बनाउन सहरवासीको के भूमिका रहला ?
सहरवासीको मुख्य भूमिका रहन्छ। भइरहेका विकास निर्माणका कामलाई छिटो सक्न सरकारी निकायलाई घच्घच्याउने। यहाँका पुराना कलाकृतिको रक्षा र संरक्षण गर्ने, सडक विस्तारलाई समयमै सक्नेलगायत काम गर्ने हो भने सहरको विकास हुन सक्छ। विदेशका जनता नै अनुशासित भएका कारण सहर व्यवस्थित भएका हुन्। त्यहाँको सरकारले सुरुमा कडिकडाउ रुपमा लागू गरेको नियम सहरवासीले अहिले आदत बनाएका छन्। हाम्रोमा हरेक कुरा मनपरी रुपमा भइरहेको छ।

काठमाडौंको राम्रो लाग्ने पक्ष ?
यहाँका सहरजस्तो मौसम कतै पाइन्न। उपत्यका आफैंमा इतिहास बोकेको पौराणिक सहर हो।

यहाँको समस्या केके देख्नुभएको छ ?
यहाँको मुख्य समस्या भनेको खानेपानी हो। खाल्डाखुल्डी सडक, ट्राफिक जाम, धुवाँधुलोलगायत सहरका मुख्य समस्या हुन्। यसले गर्दा सहर नै कुरुप भएको छ।

सहरलाई सफा र व्यवस्थित बनाउन के गर्नुपर्ला ?
धुवाँधुलो, ट्राफिक जाम, पार्किङलगायत विषयलाई केन्द्रमा राखेर काम गर्न जरूरी देखिन्छ। यी समस्या हल भएपछिको काठमाडौं बल्ल सहरजस्तै बन्नेछ।

तपार्इंलाई मनपर्ने खानेकुरा के हो ?
दाल, भात, तरकारी नै मिठो लाग्छ। कहिलेकाहीँ मम, पिज्जा, पास्ता, चाइनीज खाना पनि रुचाउँछु।

घुम्न मन लागेको ठाँउ ?
धेरै ठाउँ घुमिसकें अफ्रिका पुगेको छैन। त्यहाँ जान मन छ।
                                                              प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ११ माघ २०७५ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App