१६ मंसिर २०७८ बिहीबार
अन्य

डाँडैमाथि कालिञ्चोक

कुरी बजारमा पुग्नै लाग्दा जापानिज नागरिक युको सानुले ‘आछु ! कति जाडो, कहाँनिर हो कालिञ्चोक ? हामी कहाँबाट जाने, केबुलकार चढेर जाने हो ?’ 

उनको प्रश्न टुंगिन नपाउँदै पर्यटन व्यवसायी राजुमान महर्जनले भने, ‘उत्ताबाट जाने। माथि हेर्नुस् बादल खुल्यो। त्यही डाँडामाथि कालिञ्चोक मन्दिर छ।’

सानुले फेरि सोधिन्, ‘त्यहाँबाट हिमाल देख्छ ?’ मैले भने, ‘सेता हिमालहरू अहिले बूढा भएका छन्। किनकि हिउँ पग्लिएर कालो भएको छ।’ टिमका साथीहरू फिस्स हाँसे। सायद, उनीहरूले कुरा बुझे होलान्। 

कुरीको बस्ती, अहिले आधुनिक ढंगले सहरमा परिणत हुने क्रममा छ। आधुनिक डिजाइनमा होटलहरू निर्माण भइरहेको छ। चिसो मौसम यहाँको मौलिक विशेषता हो। हिउँमा परेड खेल्नु कालिञ्चोकको वार्षिक कार्यतालिकाजस्तै हो। कालिञ्चोक पुगेर दोर्जे लाक्पादेखि गौरीशंकरसम्मको हिम शृंखला देख्न पाउनु अर्को सौभाग्यको रूपमा लिन्छन्।  
जापानिजले केबुलकार चढ्ने इच्छा राखेकी थिइन्। तर, व्यावसायिक रूपमा सञ्चालन हुन नपाउँदै बन्द भएको केबलकारको भर थिएन। विवादै विवादले घेरिएको केबुलकारभन्दा घ्याङडाँडै डाँडाबाट गौरीशंकर हिमशृंखला हेर्ने निधो गरियो। 

कालिञ्चोक मन्दिरको मुनि ‘सुनधारा’ थियो भन्ने किंवदन्ती छ। सुनकै धारा नभए पनि पानी धारा थियो। मन्दिर जाँदा सुनको धारामा नुहाएर मात्रै शुद्ध भइन्छ भन्ने धार्मिक विश्वास छ। तर, अहिले पानी धारा (सुनको धारा) छैन। केबुलकार कम्पनीले यसको स्वरूप बिगारेका छन्।  

मौसम चिसो थियो। कुरी आसपासको खुला डाँडामा सेताम्मे शीत थियो। कतै बादलको रफ्तार कतै घामको झुल्कोले उज्यालिएको कालिञ्चोक पहाड। राजेश श्रेष्ठले स्कर्पियो घ्याङडाँडातिर कुदाएँ।
स्कर्र्पियोको पछाडि थिए– दिनेश। उनी राजु र युको बीचमा थिए। म झ्यालबाट घरिघरि क्यामराले हिमाल खोज्ये। तर, घरिघरि बादलको उडाइले छेकिन्थ्यो हिमाल। 

घ्याङडाँडा पुगेपछि भेटिन्छ, ‘पुख्र्याैली माने र छ्योर्तेनहरू।’ लुङदारले सजाएका ती छ्योर्तेनहरू पर्यटकका लागि अर्को खुराक भयो। यहाँबाट घामको झुल्कोसँगै गौरीशंकर हिमाल देखिन्छ। गौरीशंकर हिमाललाई शिव र पार्वतीको रूपमा हेरिन्छ। सोमबार मौसम सफा भएका कारण हिमशृंखला छर्लगैं देखिन्थ्यो। हिमाल देखेपछि जापानिज युको खुसी भए। 
घ्याङडाँडाको उकालोसँगै सेल्फी हानियो। उकालो बाटो, चिसो झन् बढ्दै थियो। तर, बादल थिएन। चिमाल, गुँरासको जंगल यहाँका विशेषता हो। धुपी रुखको हावाले श्वासप्रश्वासलाई समेत सुगन्धित बनाझैं लाग्छ। जंगलकै बीचमा भेटिन्छ, एउटा सानो पसल। वरिपरि जंगल मूलबाटोमा एउटै मात्र गोठ–पसल। 

नेपाली सेना रणभीम गणको पहल र जिल्ला समन्वय समिति दोलखाले उक्त घ्याङडाँडा कालिञ्चोक मन्दिर पदमार्ग निर्माण गरेका बाटोमै भेटिन्छ शिलालेख। उक्त पदमार्गमा ६ लाख ७५ हजार रूपैयाँमा निर्माण गरेको  शिलालेखमा छ। 
कालिञ्चोक मन्दिरको मुनि ‘सुनधारा’ थियो भन्ने किंवदन्ती छ। सुनकै धारा नभए पनि पानी धारा थियो। मन्दिर जाँदा सुनको धारामा नुहाएर मात्रै शुद्ध भइन्छ भन्ने धार्मिक विश्वास छ। तर, अहिले पानी धारा (सुनको धारा) छैन। केबुलकार कम्पनीले यसको स्वरूप बिगारेका छन्।  

सुनधाराकै नजिक केबुलकारको अन्तिम स्टेसन छ। अघिसम्म नचलेको केबुलकार चल्यो। पछि थाहा पाए, काठमाडांैबाट निर्वाचन आयोगका आयुक्त सुधिर शाह र प्रमुख जिल्ला अधिकारी दोलखाका सागरमुनि पाठक र जिल्ला प्रहरी कार्यालयका दोलखाकै प्रुमख किरण कुमार कठायत केबुलकारमा सवार भएका रहेछन्। यतिबेला जापनिज नागरिकले कस्तो धारणा बनाइन् होला। जबकी, उनी कालिञ्चोकमा जापानिज पर्यटकको सम्भावनाको विषयमा अध्ययन गर्न गएकी थिइन्। 

मौसम सफा भएका कारण वरिपरिको दृश्य आफैंमा रोमाञ्चक थियो। उनी वरिपरिको तस्बिर क्लिक गर्नमै अलमलिन्। कालिञ्चोक मन्दिरमा पुगेका अधिंकासले हिमाल देख्न पाउँदैनन्। तर, सोमबार मौसमले साथ दिएकै कारण हिमशृंखला देखिन्थ्यो। मन्दिरमा दर्शनार्थीको चाप उस्तै थियो। जिल्ला प्रमुखहरूको सवारले कालिञ्चोक मन्दिर एकैछिन विशेष समय बन्यो। हामी हेरिरह्यौं। 

मन्दिरलाई कालिञ्चोक कुरी युवा क्लबले सरसफाइ गरेका छन्। सिधा भाषामा कालिञ्चोक भगवती मन्दिरको संरक्षण तारेभिरबाट कुरी आएका स्थानीयले गरेका छन्। भगवती मन्दिरमा फलामको भ¥याङ हाल्नेदेखि सरसफाइ संरक्षण र प्रवद्र्धनमा उनीहरूको ठोस योगदान देखिन्छ। 

एउटा डाँडा छ। वरिपरि केही छैन। चारैतिर भिरालो भीर। मन्दिरमा गजुर छैन। तथापि ‘कालिञ्चोक भगवती मन्दिर’ दर्शनका लागि हजारौं दर्शनार्थी पुग्छन्। यहाँ पुग्नु सौभाग्यको रूपमा हेरिन्छ। यसैले कालिञ्चोकमा आन्तरिक धार्मिक पर्यटकको चाप बढेको छ। 

मन्दिरमा निर्वाचन आयुक्त सुधिर शाहले ५० रूपैयाँको तीन वटा नोट भेटी चढाएको दृश्य रमाइलो थियो। उनले मन्दिरमा खाली खुटामा जप गरे। कुण्डको जल छर्किए। तर, टोपी खोलेनन्। 
बिहानको १० बजिसकेको थियो। तर, काठमाडौं फर्किनु पर्ने रस उस्तै थियो। बादल हिमालभन्दा माथि जान खोजेझै देखिन्थ्यो। तर, हिमाल छेकेन। 

र, सम्झे– ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’। तर, घाम माथि पुगिसकेको थियो। फर्किने क्रममा मन्दिरको देब्रेबाट झर्नुपर्ने। मन्दिरबाट फर्कने बाटोमा स्थानीयले बिक्रीका लागि राखिएको पदमचाल, चौरीको छुर्पी, घ्यू, सेल रोटीको बास्नाले मन कहाँ थामिन्छ र। 

कुरीमा ४० होटल 
कुरी बजारमा साना तथा ठूला गरेर अहिले ४० होटलहरू सञ्चालनमा छन्। अर्ब रूपैयाँ होटलमा लगानी गरेको अनुमान गर्न सकिन्छ। सामान्य रूपमा एउटा होटल सञ्चालन गर्न ६० लाख रूपैयाँ लगानी भएको सल्लेरी गेष्ट हाउसका सञ्चालक गोपाल तामाङले जानकारी दिए। उनका अनुसार भित्रुजाकार शैलिमा होटलहरु बन्ने क्रम रहेको छ। 
कुरीमा होटलहरू निर्माण गर्न इलामबाट मिस्त्रिहरु झिकाएका छन्। केही ठूला होटलहरु समेत बनेका छन्। कुरीमा करोड रुपैया सम्मको होटल निर्माण भएको छ। होटलहरुले हिउँ परेको सिजन र अन्य सिजनमा फरक–फरक कोठाको मूल्य राखेका छन्। प्याकेजमा (क्यामफायर, खाने,बस्ने, सुत्ने  र ब्रेक फास्ट) एक हजार देखि माथि लिने गरेको तामाङले जानकारी दिए।   

अहिले शुक्रबार र शनिबारका लागि अग्रिम होटल बुकिङ हुने गरेका छन्। एमपी होटलका सञ्चालक रमेश तामाङका अनुसार फोनबाटै होटल बुकिङ हुने गरेको छ। कुरीमा लामो समयदेखि कालिञ्चोक तारेभीर क्षेत्रका तामाङ जाति बस्दै आएका छन्। 

प्रकाशित: २९ मंसिर २०७५ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App