‘पहिले टाढा जाँदा टुँडिखेलमा गाडी चढ्नुपथ्र्याे’
वसन्तपुरको सानो गल्ली। गल्लीसँगै जोडिएका अग्ला घरहरू। यिनै घरको एक कोठामा बसिरहेकी थिइन्, ज्ञानमाया मानन्धर।
दुई साताअघि उनी बस्ने घर पुग्दा कोठाको ढोका खुला थियो। ज्ञानमाया बेडमा पल्टिरहेकी थिइन्। बेडको साइडमा केरा र सुन्तला मिलाएर राखिएको थियो।
उनका अनुसार ५० वर्षअघि काठमाडौंमा झाडापखाला फैलिएको थियो। त्यतिबेला आफूलाई म-यो भनेर टेकु अस्पतालमा सेतो लुगा ओढाएको उनले सम्झिइन्। त्यसपछि आमाले घरेलु औषधी नाइटोमा लगाएपछि आफू रोएको उनी बताउँछिन्।
बाहिरबाट कोठाको अवस्था बाहिरबाट नै नियाल्न सकिन्थ्यो। तपाईँको उमेर कति नि ? मैले प्रश्न गरें। ‘१९९० सालको भूकम्प आउँदा ११ वर्षकी थिएँ,’ ज्ञानमायाले भनिन्। यद्यपि, उनले आफ्नो उमेर ठ्याक्कै भन्न सकिनन्।
उनी जेठी छोरीसँग बसिरहेकी छन्। जेठी छोरीले नै स्याहार सुसार गर्ने उनी बताउँछिन्।
‘कहिले बिहानै ४ बजे उठ्छु, कहिले ५ बजे,’ उनी भन्छिन्, ‘काम गर्न नसकेको दिन ओछ्यानमै पल्टिरहन्छु।’ आफ्ना १३ सन्तानमध्ये ८ जना बिफर र सिफर रोगले मरेको उनी बताउँछिन्। उनका जेठा छोरा नजिकै घर बनाएर बसेका छन् भने अर्का छोरा अस्ट्रेलिया बस्छन्।
छोरा–बुहारी अस्ट्रेलियामा भए पनि आफूलाई त्यहाँ बस्न मन नलाग्ने उनी बताउँछिन्। ‘छोरा–बुहारीसँग बस्न त कसलाई मन नलाग्ला र ? तर, त्यहाँ यहाँजस्तो हुँदैन, सबै काममा व्यस्त हुन्छन्,’ उनले अस्ट्रेलियामा नबस्नुको कारण सुनाइन्। ‘छोरीले नै रेखदेख गरेकी छ, यसैमा खुसी छु,’ उनले भनिन्।
‘आफ्नो लुगा आफै सिलाउँथे’
उनको कोठाको झ्यालनजिकै लुगा सिउने मेसिन राखिएको थियो। मेसिननजिकै पुराना लुगा पनि थिए।
उमेर छँदा आफ्ना लुगा आफै सिलाउने गरेको उनले बताइन्। तर, अहिले उनी लुगा सिलाउन सक्दिनन्। अहिले पनि सामान्य च्यातिएको र उध्रिएको लुगा मात्रै सिलाउने गरेको उनी बताउँछिन्।
आफूलाई छोरीले लुगा सिलाएर ल्याइदिने उनी बताउँछिन्। ‘छोरीले जस्तो बनाएर ल्याइदिन्छे, उस्तै लगाउँछु,’ उनले भनिन्।
उनकी जेठी छोरी कृष्णदेवी मानन्धर आमाले नयाँ र राम्रो लुगा लगाउन नमान्ने बताउँछिन्। उनी चोली र फरिया लगाउँछिन्। र, त्यसमाथि मजेत्रो ओढ्छिन्। ‘ऊबेला हामीले लगाउने भनेको यही त हो,’ उनले भनिन्।
आफूलाई नयाँ र राम्रो लुगा लगाउन रहर नलाग्ने उनी बताउँछिन्। ‘जे–जस्तो लगाउनु थियो, बैंस छँदा नै लगाइसकेँ, अब मन छैन,’ उनले भनिन्।
थैली बनाउने सीप
ज्ञानमाया थैली पनि बनाउँछिन्। आफूले बनाएका थैली छोराले अस्ट्रेलिया लैजाने गरेको उनले सुनाइन्। यसबाफत छोराले केही रकम दिने गरेको उनी बताउँछिन्। छोराले साथीभाइलाई उपहार दिन थैली लैजाने गरेको उनले सुनाइन्।
‘खाली बस्नुभन्दा केही न केही गर्न मन लाग्छ। तर, अहिले उमेर ढल्केकाले आँखाले पनि मेसो पाउँदैन,’ उनले लामो सुस्केरा हाल्दै भनिन्।
‘उमेरमा खेतीपाती गरें’
उमेर छँदा खेतीपातीको काम गरेको उनी सम्झिन्छिन्। उनलाई कोलमा तोरी पेलेको सम्झना ताजै छ।
भोजका बेला उनी थरिथरिका खानेकुराका परिकार बनाउन रुचाउँथिन्। अहिले भने उनलाई फलफूल खान मनपर्छ।
उनलाई हजुरआमा (आमाको आमा) ‘अजी मा’लाई स्याहारसुसार गरेको सम्झनै छ। ‘बूढी ‘अजी मा’लाई तातो पानी तताएर दिएको, लुगा ओढाएको, आगो ताप्न आगो बालिदिएको सम्झना आउँछ,’ उनले भनिन्।
उनी राम्ररी हिँडडुल गर्न सक्दिनन्। त्यसैले दिनभरजसो कोठामा नै बिताउँछिन्। उनी अस्ट्रेलियासँगै भारतका विभिन्न धार्मिक स्थल गएको सुनाउँछिन्।
‘मरेर बाँचे’
उनका अनुसार ५० वर्षअघि काठमाडौंमा झाडापखाला फैलिएको थियो। त्यतिबेला आफूलाई म¥यो भनेर टेकु अस्पतालमा सेतो लुगा ओढाएको उनले सम्झिइन्। त्यसपछि आमाले घरेलु औषधी नाइटोमा लगाएपछि आफू रोएको उनी बताउँछिन्।
त्यतिबेलाको झाडापखालाबाट धेरै जनाले ज्यान गुमाएको उनले सम्झिइन्। ‘झाडापखाला लागेको बेला पानी खुवाउनु हुँदैन भन्ने अन्धविश्वासले धेरै जनाले ज्यान गुमाए,’ उनले घटना सम्झिइन्।
‘तीन भूकम्प देखियो’
ज्ञानमायाले नेपालका तीन भूकम्प देखिसकेकी छन्। १९९० सालको भूकम्प जाँदा दमकल अगाडि साथीसँग गट्टा खेलिरहेको उनी बताउँछिन्। ‘बिहानको खाना खाएर साथीसँग गट्टा खेल्दै थिएँ। सिपाहीले ‘ओ बहिनी, भूकम्प आयो, घर जाऊ’ भनेपछि हामी भाग्यौं,’ उनले सम्झिइन्।
त्यतिबेलाको भूकम्पले आफ्नो घर भत्काएको उनले सम्झिइन्। ‘पछि घर मर्मत गर्न आमाले आफ्नो गहना बेच्नुभएको थियो,’ उनले सुनाइन्।
‘१७ वर्षमा बिहे भयो’
१७ वर्षमा बिहे भएको उनले सुनाइन्। ‘त्यो बेला बा–आमाले खोजेको केटासँग बिहे गर्ने चलन थियो, आजभोलिजस्तो कहाँ हो र ?’ उनले हास्दै भनिन्।
‘पहिले काठमाडौं सुन्दर र शान्त थियो’
‘काठमाडौं पहिले निकै शान्त र सुन्दर थियो। अहिलेजस्तो भीड पनि थिएन,’ उनले सम्झिइन्, ‘टाढा जानु परे टुँडिखेलमा गाडी चढ्नुपथ्र्याे।’
उनका अनुसार अहिले नेपाल राष्ट्र बैंक भएको ठाउँमा घोडाको तबेला थियो। ‘गोरखापत्र दैनिक भएको ठाउँपछाडि घरहरूका आँगनमा टन्न धान सुकाइन्थ्यो,’ उनले सुनाइन्।
पहिलेको फिल्म हल अहिले पुलिसको घर
अहिले विशालबजार भएको ठाउँमा जनसेवा हल रहेको उनले बताइन्। ‘त्यो बेलामा एउटा मात्र फिल्म हल थियो। फिल्म हेर्नेको भीड हुने भएकाले टिकटै पाउन गाह्रो थियो,’ उनले सुनाइन्। आफूलाई फिल्म हेर्न खासै रुची नभए पनि कहिलेकाहीँ दुई छोराछोरीलाई काखमा च्यापेर उनी फिल्म हल पुग्थिन्। ‘मलाई लामो समयसम्म एकै ठाउँमा चुपचाप एकोहोरो हेरेर बस्न मन लाग्दैन। त्यसैले फिल्म हेर्न रहर नै थिएन,’ उनले सुनाइन्।
‘हात र खुट्टामा आकृति खोपें’
ज्ञानमायाले देब्रे हातमा स्वस्तिकको चित्र खोपेकी छन् भने खुट्टामा देउताको आकृति। सानो छँदा दिदीसँग आकृति खोपेको उनी सम्झिन्छिन्। ‘त्यतिबेला मेसिनबाट आकृति खोपेकी थिएँ, अहिले पनि छ नि,’ उनले खुट्टाको आकृति देखाउँदै भनिन्। यद्यपि, आकृति खोपेको पैसाबारे उनलाई याद छैन।
भित्तामा झुन्डाइएको पुरानो ब्ल्याक एन्ड ह्वाइट फोटो देखाउँदै उनले भनिन्, ‘यो मै हो।’
‘ऊ बेला खानेकुरा किन्नै पर्दैनथ्यो’
ऊ बेला अहिलेजस्तो थरीथरीका मिठाइ, बिस्कुट नपाइने उनले बताइन्। आफूलाई खान मन लागेको सबै कुरा आमाले नै ल्याइदिने उनी सम्झिन्छिन्। मौसम अनुसारको फलफूल, अन्न, तरकारी घरमा नै पाइने गरेको उनले बताइन्।
‘आमा खेतमा काम गर्न जानुहुन्थ्यो, म त घरमा बसेर खाना पकाउँथे, धान कुट्ने, तेल पिस्थे बाहिरबाट केहि किन्न पर्दैन थियो,’ उनले भनिन्।
कहिलेकाहीँ सुन्तला किनेर खाएको कुरा उनी सम्झिन्छिन्। उनी भन्छिन्, ‘ऊ बेला अहिलेजस्तो किलोमा किन्न पाइँदैनथ्यो। मोरमा नै २–३ वटा पाइन्थ्यो।’