‘प्रत्येक मानिसको जीवनमा उसको सोचाइ, बुझाइ, आचरण र भोगाइका आ–आफ्नै कथा हुन्छन् । कथा एकांङ्की हुन सक्दैन्’, पूर्व आईजीपी अच्युतकृष्ण खरेलको आत्मकथा यही उदगारबाट सुरु हुन्छ । यसमा उनी भन्छन्, ‘यो किताब लेख्नुको उद्देश्य आफूलाई नायकका रुपमा स्थापित गर्नु नभै जीवनको आरोह–अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस र नागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपावस्’ भन्ने मात्र हो । धन्यवादको क्रममा लेखिएका यी दुई प्रारम्भिक उद्गारले मलाई यो किताब अद्योपान्त पढेर मात्र विश्राम लिन मन लाग्यो।
तीनचार कुराले मेरा लागि यो किताब रोचक र सान्दर्भिक लाग्यो । पहिलो, म जब २०३३ सालमा प्रहरी निरिक्षक हुन पुगेँ, त्यस वेला म जस्ता ७५ जना काँचा युवाहरुको आधारभूत तालिममा अच्युत खरेल कडा सिनियर ईन्स्ट्रक्टर र गुरुबाका रुपमा कार्यरत थिए । मेरो प्रहरी जीवनमा उनी जस्तै कमैलाई मैले आदर्श प्रहरीका रुपमा मान्ने गरेका छु जसमा पूर्व आईजीपी खड्गजीत बराल, दुर्लभकुमार थापा, हेमबहादुर सिंह, अच्युत खरेल पर्छन् भने एआईजीमा रामकाजी वान्तवा, डा. गोबिन्द थापा र डिआईजीमा भुवन चन्द्रलाई मान्ने गरेको छु।
बोल्ने र लेख्नेको कमीका कारण देशभक्त प्रहरीको आत्मरोदन जनतासम्म पुग्न नसकेको अवस्थामा पूर्व आइजीपी खरेलले प्रहरीको आवाज सार्वजनिक गरेर राम्रो गर्नु भएको छ ।
यी सबैले आफ्नो जीवनको महत्वपूर्ण दशकहरु देशको सेवामा बिताएका छन् । यसरी जीवनको महत्वपूर्ण क्षण देश र जनताको सेवामा समर्पित गरेका उनीहरुको जीवनका उपलब्धि र योगदानहरु किन आज ओझेलमा पर्न थालेको कुराले मलाई दुःख लाग्थ्यो । तर आज यो किताब मेरो हातमा पर्दा मलाई खुसी लाग्यो कि बल्ल नेपाल प्रहरीका नेतृत्व गरेका, सत्य सेवा सुरक्षाको सपथ लिएका कुनै व्यक्तिले जनता समक्ष आफुले देखेका, भोगेका कुरा पस्किने जमर्को र आँट गरे । यो नै मेरा लागि खुसीको कुरो थियो । यो पुस्तकमा हिजोका प्रहरीले व्यहोर्नु परेका कथाव्यथा कस्ता थिए, यसका नायक र कारक तत्व के कस्ता र को थिए, हिजोको नेपाल प्रहरी आजको नेपाल प्रहरीलाई प्रभाव पार्ने व्यक्ति र तत्वहरु के कस्ता थिए र यी सबैमा नेपाल प्रहरी मात्र दोषी छ जुन अवधारणा चिरफार गर्न यो किताबले महत्वपूर्णभूमिका खेल्ने छ।
आजको दिन वर्दीधारीहरुको समाजमा साख गिरेको छ र यो गिर्दो हालतमा उन्मुख छ । त्यस बेलामा जागिरमा छँदा कर्तव्यपालनको दौरानमा गरिने काम–कर्तव्यको सिलसिलामा शत्रु र मित्रुको नाताले हेर्ने होइन, कसले के गरेर बर्दीधारीलाई के र कतिसम्म गलत काम गर्न उत्प्रेरित गर्ने र दबाब दिने गर्छन् भन्ने कुरा यो किताबले छर्लङ्ग पारेको छ।
यो किताब पढने पाठकहरुमा एउटा प्रश्न उब्जिनु स्वाभाविक हो । त्यो के हो भने अच्युत खरेलले खाली अरुको मात्र दोष देखाएर आफू भने बच्न चोखिन खोजेको भनेर लाञ्छना पनि लाग्न सक्छ । यस सन्दर्भमा जसले किताब लेख्छ उसले आफूले गरेको राम्रो कुरा र आफ्नै बारेमा बढी सकारात्मक कुरा लेख्छ । उनको नकारात्मक कुराहरु पनि छन् र अरुलाई त्यस्तै लागेको छ भने उनले पनि लेख लेखून्, किताब लेखून्, त्यसमा कसले छेक्न सक्ला र ? तर आजका प्रहरीहरु जो बर्दी बिसाउनु अघि नै नेता नेतालाई रिझाउन उनीहरूको अफिस र घर दैलोमा दगुर्ने, अदालत अदालत दगुर्ने, सिभिल जागिरबाट प्रवेश गरेकालाई माईबाप ठान्ने प्रवृत्तिले भने संगठनको साख खिईँदै गएको अवश्थामा यस्तो किताबले केही सही सन्देश पनि दिन सक्छ भन्न सकिन्छ।
आजभोलि प्रहरीमा देखिएको पद, सरुवा, सुविधा र शक्तिका लागि भने पछि मरिमेट्ने, तर पद र शक्ति पाएको भोलिपल्टै मात्तिने, पात्तिने र जागिर, पद, बढुवा र पदस्थापनाका लागि विना बर्दीका उच्च नेता र कर्मचारीका हाकिमका कृपा पात्र बनेर उनीहरुकै आशीर्वाद र प्रसाद ठानेर जागिर धान्ने धुनमा लाग्नेहरुलाई यो किताबले सबक लिएर सचेत हुने सन्देश प्रवाह गरेको छ।
तर सत्य सत्य नै हुन्छ, कसैलाई मन परे पनि, मन नपरे पनि । नेपालमा नेपाल प्रहरीको जागिरमा र प्रहरी संगठनमा मात्र किन आउने गर्छ ? यसका कारक संगठन भित्रैका मात्र हुन कि बहिरियाहरु पनि छन् ? छन् भने त्यसलाई पनि संगठनले किन बाहिर ल्याउन सक्दैन र सकिरहेको छैन ? उदाहरणका लागि सुडान घोटालाका संगठन बाहिरका भागिदार र नाफाखोरहरुलाई बचाउन जेल पुगिसक्दा पनि पूर्व आईजीहरुले अच्युत खरेलले जस्तो गरी किन बोल्न सकिरहेका छैनन् ? प्रश्न गम्भीर छ । यस्ता कुरा पनि यो किताबले बोलिदिएको भए अझ राम्रो हुने थियो।
०५२ साल देखि ०५८ सम्मको नेकपा माओवादी जनयुद्धताका नेपाल प्रहरी संगठन र नेतृत्व जुन जीवन र मरणको दोसाँधमा बाँचिरहेको थियो त्यस बेलासम्म सरकार, राजनैतिक पार्टी र सेनाले समेत बाध्यतावश वा चाहेर वा नचाहेर, जानेर वा नजानेर जुन दर्शकको जस्तो भूमिका निभायो, यो कुरा तत्कालिन प्रहरी संगठन प्रमुखका हैसियतले बोलेका कुरालाई अतिशयोक्ति भन्न मिल्दैन । यो कुरा जीवित प्रहरी र वीरगति प्राप्त गरेका प्रहरी परिवारका सन्तानले विर्सेका छैनन् र यति सजिलै विर्सन सक्ने पनि छैनन् । यो कुरा आज ओहदामा बस्ने र भोलिका लागि काम गर्नेहरुले पनि सोच्न र बुझ्न अति आवश्यक छ।
पुस्तकमा प्रथम जनआन्दोलन २०४६–४७ को घटनालाई पहिलो पटक पुलिसको आँखाले हेर्ने र बयान गर्ने काम भएको छ । आन्दोलन पश्चात नेताका कारणले डिउटीमा रहेका पुलिसलाई जनताले कसरी मारे, मल्लिक आयोगको अर्थहीन कसरत, कर्तव्यपरायण पुलिसमा पूर्वाग्रह सहितको लाञ्छना र दोषारोपण राजनैतिक पूर्वाग्रह साँध्न ०४७ वैसाख १० गतेको जस्तो डिउटीका प्रहरी माथिको हमला, ज्यादती र ६ जना प्रहरीको नृशंस हत्याले नेपाल सरकार र नेपाली जनताले प्रहरी माथिको संवेदनाहीनता र अपनत्वभावको अभावको पनि चित्र प्रस्तुत गरेको छ।
यस्तो पुस्तक सरकारी सेवामा रहेकाले लेख्नु हुन्छ वा हुन्न भन्ने कुराको पक्ष या विपक्षमा यतिबेला आवाज सुन्न थालिएको छ । नबोले चामल पनि नबिक्ने देशमा बोल्ने र लेख्नेको कमीका कारणले नै देशभक्त प्रहरीको आत्मरोदन जनतासम्म पुग्न नसकेको र यसलाई जनता समक्ष लान सक्नु नै प्रहरीको आवाज एवं हकको सुनिश्चितता निर्धारण गर्ने आधार हुने निर्कौल गर्दे यस्ता कार्यहरुलाई अझ हौसला दिनु पर्ने बेला आएको छ।
अन्त्यमा यो किताब अत्यन्त रोचक, जानकारीमूलक र ज्ञानबर्धक भएकाले पढ्नै पर्ने पुस्तक हो।
थापा पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुन्।)
प्रकाशित: १० कार्तिक २०७५ ०४:४० शनिबार