उपत्यकाभरिको फोहर फाल्ने ठाउँ सिसडोल भरिएपछि यसको विकल्प खोज्न गत साउन १८ गते काठमाडौं महानगरपालिकाको कार्यालयमा उपत्यकाका १८ नगरपालिकाका जनप्रतिनिधि सहितको बैठक बस्यो । बैठकमा सहभागी जनप्रतिनिधिले फोहर व्यवस्थापनमा काठमाडौं महानरगसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए । बैठकको निष्कर्ष थियो– बञ्चरेडाँडा तयार नहुँदासम्म फोहोर व्यवस्थापनको विकल्प खोज्ने । तर, त्यसको भोलिपल्टदेखि नै काठमाडौंको फोहर उठ्न सकेन । महानगरले सिसडोल भरिएकाले फोहर नउठेको अन्य सरोकारवाला निकायलाई जानकारी गरायो।
सबैतिरबाट आलोचना भएपछि साउन ३१ गते महानगरपालिकाको टोली सिसडोलको वास्तविक अवस्था बुझ्न त्यहाँ पुग्यो । टोलीले तीन/चार महिनासम्म त्यही फोहर फाल्न सकिने बतायो । उक्त अवधि सकिन पनि अब झण्डै दुई महिना बाँकी छ । तर, पनि महानगरले सिसडोलको विकल्प खोज्न सकेको छैन।
बैठकमा सहभागी जनप्रतिनिधिले फोहर व्यवस्थापनमा काठमाडौं महानरगसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए । बैठकको निष्कर्ष थियो– बञ्चरेडाँडा तयार नहुँदासम्म फोहोर व्यवस्थापनको विकल्प खोज्ने । तर, त्यसको भोलिपल्टदेखि नै काठमाडौंको फोहर उठ्न सकेन।
अहिले पनि नियमित रूपमा फोहर उठ्न सकेको छैन । ‘गत वैशाखयता काठमाडौंको फोहर नियमित उठ्न सकेको छैन, सिसडोल भरिएकाले फोहर उठाउन समस्या भएको हो,’ महानगरका सह–प्रवक्ता नमराज ढकालले भने । अहिले फोहरको डंगुरमाथि चाङ लगाएर जेनतेन व्यवस्थापन गर्दै आएको उनले बताए।
महानगरले सिसडोल नजिकै रहेको खाली ठाउँमा तीन वर्षलाई फोहर फाल्न सकिने बताउँदै आएको थियो । सबै निकायसँगको सल्लाहपछि त्यही ठाउँमा फोहर फालिनेछ।
सिसडोल भरिएसँगै काठमाडौंको फोहर समाधानमा चुनौती थपिएको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले दीर्घकालीन उपाय अवलम्बन नगर्दा समस्या बल्झिएको हो । यसको समाधान गर्न ९ वर्षअघि सरकारले लगानी बोर्डको कार्यालय अन्र्तगतको प्रोजेक्टलाई अघि सारेको थियो । तर, उक्त प्रोजेक्टले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सकेको छैन । महानगरले ८ महिनाअघि नै ३ महिनाभन्दा धेरैको फोहोर सिसडोलमा नअट्ने बताएको थियो । तर, अहिले पनि त्यहीँ फोहर थुपारिएको छ।
महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिबहादुर कुँवरले फोहरको डंगुरमाथिबाट फोहोर बोक्ने टिपर गुड्दा धसिने हुँदा सिसडोलमा फोहर पु-याउन कठिन परेको बताए । उनले भने, ‘विकल्प खोजौं भन्दाभन्दै धेरै समय टरिसकेको छ, त्यसकारण तीन वर्षको लागि विकल्प तत्काल खोज्न जरुरी छ ।’ उपत्यकाका तीन जिल्लाबाट सिसडोलमा दैनिक करीव ११ सय मेट्रिक टन फोहोर पुग्छ । महानगरले व्यवस्थापन गरिरहेको सिसडोलमा अन्य नगर तथा संस्थाले शुल्क तिरेर फोहोर विर्सजन गर्दै आएका छन् । महानगरले न्युनतम ८ टनसम्म १ सय ५० र ८ टन माथिको फोहोरको शुल्क २ सय ५० रूपैयाँ लिएर फोहोर विर्सजन गर्न दिन्छ।
सरकारले २०५८ सालमै नुवाकोटकै बञ्चरेडाँडालाई ल्याण्डफिल्ड साइड बनाउन स्थानीयलाई मुआब्जा बुझाइसकेको थियो । हालको ककनी गाउँपालिका वडा २ मा पर्ने यस क्षेत्रमा ल्याण्डफिल्ड साइट बनाउन २०६१/६२ देखि वार्षिक डेढ करोडभन्दा बढी रकम विनियोजन गरिरहेको छ।
प्रकाशित: २२ आश्विन २०७५ ०४:३० सोमबार