२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

पुनर्निर्माण हुँदै साना सम्पदा

काठमाडौं ठँहिति क्वाबहालमा पुनःनिर्माण भइरहेको रहेको मैत्रीपुर महाविहार र काठमाडौं ताहाचलस्थित खुसिबही (नदीसंगम महाविहार)। तस्बिर : तेज/नागरिक

२०७२ सालको महाभूकम्पले क्षति पु-याएका ठूला सम्पदाबारे सबैको चासो र विवाद बढिरहे पनि साना सम्पदाहरू के कस्तो अवस्थामा छन् भन्ने विषयमा भने कसैले सोधेको समेत पाइँदैन। नगरका विभिन्न स्थानहरूमा परापूर्वकालदेखि अस्तित्वमा रहेका ती सम्पदाहरू पनि राष्ट्रका अमूल्य सम्पत्ति नै हुन्। 

साना सम्पदाहरू पुनर्निर्माण गर्न अहिले विभिन्न स्थानमा स्थानीय जनता जागरुक भई काम सुरु गरेका छन्। तीमध्ये कुनै सम्पदा निर्माणाधीन अवस्थामा छन् भने कुनै डिजाइन र योजना तर्जुमा चरणमा पुगेका छन्। स्थानीय जनताको उक्त कार्यलाई काठमाडौँ महानगरपालिकाले सहयोग गर्दै आइरहेको छ। 

काठमाडौं महानगरपालिका सम्पदा विभागका प्रमुख अर्चना शाक्यका अनुसार हाल महानगरपालिकाले स्थानीय जनतासँग सहकार्य गरी पुनर्निर्माण थालेका साना सम्पदाहरूको संख्या १४ रहेको छ। तीमध्ये वडा नं. ४ धुम्बाराहीस्थित तस्वाः देगः, वडा नं. १२ ब्रम्हटोलस्थित कृष्ण पाटी र वडा नं. २६ ठमेलस्थित अशोक चैत्य निर्माण सम्पन्न भइसकेको छ । ठमेलको ऐतिहासिक अशोक चैत्य सम्राट अशोककालीन सम्पदा मानिन्छ।

त्यस्तै वडा १३ टंकेश्वरस्थित खुसिबही विहार, वडा २० कोहिटीस्थित कीर्तिपूण्य महाविहार, वडा १७ क्वाबहालस्थित मैत्रीपुर महाविहार र वडा १५ बिजेश्वरीस्थित वैरोचन तीर्थ महाविहार हाल निर्माणाधीन अवस्थामा छन्। 

यीबाहेक वडा २१ लगनटोलस्थित लगं दिगुद्यः मन्दिर, वडा २६ ठमेलस्थित भगवान बहालको पूर्वी भाग, वडा १८ नरदेवीस्थित नरदेवी नाचघर, वडा २२ तःबहास्थित मुगःद्यः मन्दिर, वडा २२ वटुस्थित वटु भद्रकाली मन्दिर र वडा २४ वसन्तपुरस्थित माजु देगः पुनर्निर्माण कार्य थालनीको चरणमा पुगेको छ। 

काठमाडौँ महानगरकै पहिचान बनेको काष्ठमण्डप भने कामपा सहितको सहयोगमा स्थानीय जनसहभागितामा निर्माण गर्ने कार्य भइरहेको छ। 

निर्माण चरणमा रहेका अधिकांश सम्पदाहरू स्थानीय जनताको सहकार्यमा पुनर्निर्माण गर्न लागिएका हुन् भने केही ठेक्कामार्फत् पनि काम गरिएका छन्। तर, संरचनाको निर्माण ठेक्काभन्दा स्थानीय जनताको सहकार्यमा गर्दा नै त्यसको दिगो संरक्षण हुने सम्पदा विभाग प्रमुख शाक्यको भनाइ छ। 

ठेक्कामा काम दिँदा छिटो सक्न त सकिन्छ । तर, त्यसको गुणस्तरीयता र कलात्मकतामा भने प्रश्न उठ्ने सक्छ। स्थानीय जनताले त्यसप्रति आफ्नो अपनत्व पनि खासै प्रकट गरेको पाइँदैन । तर, स्थानीय जनताको सहभागितामा निर्माण गर्दा निर्माण कार्यमा स्थानीय जनता आफै जुट्ने र निर्माणपछि त्यसको संरक्षण र सम्बद्र्धन पनि उनीहरू आफैले गर्ने अनुभव शाक्य सुनाउँछन्। ‘आफ्नै खर्चसमेत राखेर आफू–आफू मिलेर बनाएको सम्पदाप्रति जनताको माया हुनु स्वाभाविकै हो,’ उनी भन्छन्। 

स्थानीय जनसहभागितामा सम्पदा पुनर्निर्माण गर्दा स्थानीय जनताले कुल लागतको १५ प्रतिशत रकम राख्ने र महानगरपालिको ८५ प्रतिशत थपिदिने गर्छ। स्थानीय जनताले संकलन गरेको १५ प्रतिशत रकम कामपालाई बुझाएपछि महानगरले पहिलो किस्ता वापत ३३ प्रतिशत रकम निकासा गर्छ। बाँकी रकम निर्माणका आधारमा पाइनेछ । सम्पदाहरू पुरातात्विक महत्वका हुने भएकोले त्यसको नक्सा र डिजाइन भने पुरातत्व विभागबाट स्वीकृत गराउनुपर्ने प्रावधान महानगरले राखेको छ।

महानगरसँग सहकार्य गरी पुनर्निर्माण भइरहेको वडा नं. १३ टंकेश्वरस्थित नदीसंगम महाविहार (खुसिबही) अहिले अन्तिम तला थप्ने तयारीमा छ। भूकम्पले क्षतिग्रस्त यो महाविहारको क्वाःपाःद्यः रहने मन्दिर विहारको सर्वसंघ आफै मिली पुनर्निर्माण थालिसकेको थियो । तर, जनप्रतिनिधि आएपछि बाँकी दुई तलाका लागि महानगरसँग सहकार्य गरिएको थियो। यसको लागि २० लाख ३२ हजार रूपैयाँको इस्टिमेट निकालिएको छ। महानगरको सहयोगले आफूलाई राहत मिले पनि अहिले भने इँटा र काठको कलात्मक काम जान्ने कामदारको अभावले निर्माण अघि बढाउन गाह्रो परेको बताउँछन्, नदीसंगम महाविहार सर्वसंघया सचिव सिद्धिरत्न शाक्य। तर, समस्या जति भए पनि आउँदो पुससम्म निर्माण सम्पन्न गर्ने सर्वसंघको लक्ष्य छ। 

ठूला मात्र होइन, साना सम्पदाहरू पुनर्निर्माणमा पनि दक्ष कामदारको अभावले काम प्रभावित भइरहेको बताउँछन्, सम्पदा विभाग प्रमुख अर्चना शाक्य। उनी भन्छन्, ‘दक्ष कामदारको अभाव यो विहार मात्र होइन, सबैतिरको समस्या हो।’

महानगरले अहिले टेकुको जगन्नाथ मन्दिर र त्यौड टोलको ज्वालामाई मन्दिर पनि पुनर्निर्माणको लागि अध्ययन गरिरहेको छ। साथै तत्काल जीर्णोद्धार÷पुनर्निर्माण गर्नुपर्ने अरु साना सम्पदाको खोजी पनि भइरहेको शाक्यले जानकारी दिए।

प्रकाशित: १९ आश्विन २०७५ ०२:२२ शुक्रबार

भूकम्प पुनर्निर्मा