जीवन सधैँ आफूले चाहेजस्तो मात्रै हुँदैन । आफ्नो रोजाइको बाटोमा मात्रै हिँड्न पाउने हो भने जीवनको अर्को नाम संघर्ष हुने थिएन। मैले पनि जीवनमा आफूले नरोजेको र नसोचेको बाटोमा हिँड्नुप-यो । संयोगवश ! म प्रधानन्यायाधीश सुशीला कार्कीको श्रीमान् पनि हुन पुगेँ। सुशीलासँग विवाह गर्ने मेरो आफ्नो रोजाइको कुरा थियो। वकालत उनको आफ्नो रोजाइ र पढाइको विषय थियो। कालान्तरमा उनी वकिलबाट सर्वोच्च अदालतको न्यायाधीश हुँदै देशकै प्रथम महिला न्यायाधीश बनिन् । र, म प्रधानन्यायाधीशको पति।
विमान अपहरण गरेपछि मैले भोगेको यातना र पीडाभन्दा सानो कुरा भए पनि उनको त्यो कार्यकालमा व्यहोर्नुपरेको अनिच्छित दबाबले भने निकै सकस दियो। सबैभन्दा बढी सकस झेल्नुपरेको थियो, लोकमानसिंह कार्की र जयप्रकाश (जेपी) गुप्तासम्बन्धी मुद्दाको फैसलापछि।
सुशीला सुरुमा सर्वोच्च अदालतको न्यायाधीश भएर काठमाडौं आएकी थिइन्। पहिले धरान र पछि विराटनगरमा बसेर वकालत गर्दा गर्दै उनी राम्रो वकिलका रुपमा चर्चित भइसकेकी थिइन्। एकपटक पञ्चायतकालमै पनि उनलाई अञ्चल न्यायाधीश बन्ने प्रस्ताव आएको थियो। मसँग सल्लाह हुँदा मैले भनेँ, ‘जुन व्यवस्थाको विरोधमा हामी सबै आन्दोलनमा छौँ, जसले हाम्रो भविष्य नै बर्बाद हुने गरी दमन गरेको छ, त्यही व्यवस्थाअन्तर्गत न्यायाधीश हुनु भनेको त्यसलाई स्वीकार्नु हो। एउटा न्यायाधीशका रूपमा तिमी जतिसुकै राम्रो र सक्षम भए पनि व्यवस्था नै स्वतन्त्र नभएपछि अदालत स्वतन्त्र हुन सक्दैन। स्वतन्त्र नभएको अदालतमा गएर न्याय गर्न सकिँदैन। पञ्चायतमा अन्तिम निर्णय न्यायाधीशको होइन, राजाको हुन्छ। कुनै मुद्दामा हुकुम प्रमाङ्गी आयो भने के गर्ने ? यति दुःख गरेर कमाएको नाम–प्रतिष्ठा पनि रहँदैन । नजानु नै ठीक होला।’
मैले घरभित्र जान नदिएपछि उनीहरूले भने– लोकमान (सिंह कार्की) जीले दिदीको गोडा धोएको पानी खाने भनेकाले हामी त्यही कामका लागि आएका हौँ। एकजनाले सुनाए, ‘चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे!’ अर्कोले छेउमै बोलाएर भने, ‘बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोड्धुवा छ।’
२०६२–६३ को परिवर्तनपछि फेरि सुशीलाजीलाई न्यायाधीश बन्ने प्रस्ताव आयो । शम्भु थापालगायत नेपाल बारका नेताहरू आएर ‘तपाईं अब न्यायाधीश बन्नुप-यो’ भन्न थाले । पछि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी पनि आउनुभयो। धेरैले भनेपछि २०६५ माघमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भएर उनी काठमाडौं आइन्।
त्यसबेला मैले सक्रिय राजनीति छाडिसकेको थिएँ। कुनै पेसा–व्यवसाय पनि थिएन । सुशीला काठमाडौ“ आए पनि म र छोरा प्रशान्त भने विराटनगरमै बस्यौं । छोरा त्यतिबेला कक्षा ८ मा पढ्थ्यो । उनी यता आएर आफ्नी बहिनीको घरमा डेरा लिएर बस्न थालिन् । पछि यता सल्लाह भएछ, छोरालाई काठमाडौंकै स्कुलमा पढाउने भनेर । ‘जे भए पनि राजधानी हो, स्कुल पनि राम्रा छन्’ भन्ने कुरा भएपछि मैले पनि हुन्छ भनें । अनि प्रशान्त काठमाडौं गयो।
काठमाडौं आएको सातौं दिन राति छोराले मलाई फोन ग-यो । फोनमा ऊ रोयो । उसलाई काठमाडौंमा पढ्न मन लागेनछ, बस्नै सकेनछ । सानैदेखि विराटनगरमा मेरो रेखदेखमा पढिरहेको, उसका साथीहरु उतै थिए । त्यहींको वातावरणमा ऊ घुलमिल भएको थियो।
उसले भन्यो, ‘म त विराटनगर नै आउँछु बुबा, त्यहीं पढ्छु ।’
‘अनि, सुशीलाजीले पनि ल तपाईंको छोरा त यहाँ पढ्दिनँ, विराटनगर नै जान्छु भन्छ, के गर्ने हो’ भनिन् ।
मैले भनेँ, ‘ल, यहीँ मसँग बसेर पढ्छ, पठाइदिनू।’
‘अनि, एक्लै सम्हाल्न सकिन्छ त?’
‘चाहिनेजति खर्च पठाइदिनू, बाँकी म सम्हाल्छु।’
त्यसपछि प्रशान्त विराटनगर नै फर्कियो।
उता सर्वोच्चको न्यायाधीशका रूपमा सुशीलाजीको बेन्चमा जेपी गुप्ताको भ्रष्टाचार मुद्दा प-यो । जेपी मलाई भेट्न विराटनगर नै आए। उनलाई नेविसंघमा काम गर्दादेखि नै चिनेको । उनले ‘लौ न दाइ मिलाइदिनुप-यो’ भन्न थाले । उनलाई भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको मुद्दा लागेको थियो । तर, यसमा मैले भन्ने कुरा केही थिएन। मैले सुशीलालाई केही भनिनँ । भनेको भए पनि उनलाई कुनै फरक पर्ने थिएन।
सुशीलाले जेपीलाई भ्रष्टाचारी ठहर गरेर जेल सजाय सुनाइदिइन्। त्यस दिन राति उहाँ बसेको घरमा कांग्रेस कार्यकर्ताबाट ढुंगामुढा हुन सक्छ भनेर पुलिसले घेरा हालेछ।
राति सुशीलाको फोन आयो, ‘हैन ! यहाँ त मार्लान्जस्तो भइसक्यो । आउने होइन ? कि म मरिसकेपछि फोटोमा माला चढाउन मात्र आउने हो?’
त्यसपछि प्रशान्त र म पनि काठमाडौं आयौँ र यतैको बासिन्दा भयौँ।
लोकमानको १० करोड
सर्वोच्चको न्यायाधीशका रूपमा सुशीलाले काम गरिरहेकी थिइन् । प्रधानन्यायाधीश बन्ने कुरा आयो । त्यतिबेला सर्वोच्चमा तीन वर्ष काम गरेको योग्यता पुगेका अरु कुनै न्यायाधीश थिएनन् । त्यसैले वरिष्ठ न्यायाधीशका रूपमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सुशीलाजीको नाम सिफारिस गर्नुभयो । तर, सुशीलाजीको सीधा काम गर्ने र कसैको कुरा नसुन्ने बानी राजनीतिक दलका नेताहरूले मन पराएका थिएनन् । उनीहरूलाई त आफ्नो इसारामा नाच्ने मान्छे चाहिएको थियो । अनेक बहाना गरेर तीन महिनापछि मात्रै उनलाई प्रधानन्यायाधीश बनाइयो । जबकि, त्यही प्रक्रियामा उनीपछिका गोपाल पराजुलीलाई तीन दिनमै प्रधानन्यायाधीश नियुक्त गरिएको थियो । यसैबाट थाहा हुन्छ, नेताहरू कसलाई बनाउन इच्छुक र कसलाई बनाउन अनिच्छुक थिए भन्ने।
प्रधानन्यायाधीश भएपछि हामी बालुवाटारस्थित क्वाटरमा स-यौं । त्यहाँ प्रधानमन्त्री निवाससँगै प्रधानन्यायाधीश र सभामुखको निवासहरू पनि छन्। मलाई त्यो प्रधानन्यायाधीश क्वाटर मेरा लागि सकसको अर्को केन्द्र बन्यो। चारैतिर सैनिकका पाले–पहरा । यता हिँड्दा पनि हुईं–हुईं, उता हिँड्दा पनि हुर्इं–हुर्इं । गाडीका लस्कर उस्तै । मलाई त झयालखानामा बसेजस्तो ‘सोफोकेसन’ हुन थाल्यो।
म एकदमै अनौपचारिक किसिमको मान्छे । सबै कुरा चिरिच्याट्ट मिलाएर मैले न लुगा लगाएको छु, न त कुनै काम गरेको छु । तर, सुशीला प्रधानन्यायाधीश भएपछि कुरा फरक भयो । मलाई अनौपचारिक हुने छुट थियो, प्रधानन्यायाधीशलाई थिएन।
उनले प्रधानन्यायाधीशको शपथ लिनासाथै मैले भनेँ, ‘अरु त ठीकै छ, यो गाडीको काफिला र साइरनको हुईं–हुईं त अति भयो । यो नलिन र नबजाउन मिल्दैन?’
‘मैले कसरी नलेऊ भन्ने ? तपाईं नै कुरा गर्नूस् न!’
उनको सुरक्षामा खटिएका सेनाका क्याप्टेनलाई मैले भनेँ, ‘भाइ ! साइरन नबजाइ हि“ड्न मिल्दैन?’
‘कहाँ हुनु हजुर ! यो त सुरक्षाको कुरा हो, चाहिन्छ नै!’
‘माथि भन्यो भने हुन्छ होला, भन्नू न!’
‘म त यो कुरा जाहेर गर्न सक्दिनँ,’ उनले भने।
त्यसपछि हामी राष्ट्रपति कार्यालयबाट साइरन बजाउँदै निस्कियौँ। मैले प्रधानन्यायाधीशको साइरनवाला गाडी चढेको त्यो नै पहिलो र अन्तिम पटक थियो । त्यसपछि मैले कहिल्यै पनि साइरनवाला गाडी चढिनँ।
प्रधानन्यायाधीश क्वाटरमा बस्दा सबैभन्दा ठूलो सकसचाहिँ लोकमानसिंह कार्कीको मुद्दा आएपछि भयो । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन लोकमानसिंह कार्कीको योग्यता पुग्दैन, उनी अयोग्य हुन्’ भनेर मुद्दा परेको थियो । जनआन्दोलन दबाउने काममा पनि सक्रिय भएकाले उनलाई अयोग्य भनिएको थियो । तर, न्यायाधीश गोपाल पराजुलीलगायतको इजलासले उनलाई चोख्याइदिएपछि यसमा पुनरावेदन प-यो।
सुशीला श्रीमान्ले यसलाई निस्सा दिएर पुनरावलोकनमा पठाउनुभयो । लोकमानको अयोग्यतामाथि फेरि बहस हुने भयो। यता शिक्षण अस्पतालमा डा. गोविन्द केसीको आन्दोलन पनि थियो, लोकमानलाई महाअभियोग लगाउनुपर्छ भनेर । त्यसबेलादेखि नै कार्कीले अनेक तिकडम गर्न थाले।
लोकमानले सबैभन्दा ठूलो डर सुशीलाबाट देखेका रहेछन् । उहाँको प्रजातन्त्रप्रतिको आस्था र ठाडो स्वभावले गर्दा लोकमान डराउनु स्वाभाविक पनि थियो । गल्ती गरेका मान्छे झन् बढी डराउँछन् । यसैले सुशीलालाई यो मुद्दाबाट कसरी हटाउने भनेर सोच्दा नाता–सम्बन्ध कायम गराउने उपाय खोजेछन् । आफ्नो नातामा पर्नेको मुद्दा ती न्यायाधीशले हेर्न पाउँदैनन् । लोकमान र सुशीला दुवै विराटनगरका कार्की । लोकमानले यही फेरो समाएर सुशीलालाई ‘दिदी’ नाता लगाउन खोजे।
सुशीलालाई दिदी बनाउनका लागि मलाई भिनाजु बनाउनुपथ्र्यो । उनीहरू क्षत्री भए पनि म त बाहुन हुँ । बाहुन र क्षत्रीका केही कुरा फरक छन् । जस्तो : ढोग्ने तरिका । एकपटक म कांग्रेसका एकजना नेतासँग आनन्द अरूणको ओशो तपोवन गएको थिएँ । त्यहाँ लोकमान पनि रहेछन् । उनले मेराअगाडि आएर टाउको निहु-याए । मलाई त एकछिन के गरौँ, कसो गरौँजस्तो भयो । न उनी मेरो सालो, न हाम्रोमा त्यसरी टाउको निहु-याउने चलन। तैपनि, कसैले टाउको झुकाइसकेपछि आशीर्वाद त दिनुप-यो । मैले उनको टाउकोमा हात राखिदिएँ।
पछि थाहा भयो, त्यसबेला लोकमानसँग सहमति गराउन भनेर मलाई तपोवन लगिएको रहेछ।
यसअघि लोकमान एकपटक आफन्तहरू जम्मा गरेर सुशीलाजीको घर विराटनगर पुगेका थिए। सुशीलाका भाइलाई सँगै लिएर उनले ८५ वर्षीया आमाका खुट्टा समाएछन् । त्यसपछि ‘प्रधानन्यायाधीश सुशीला कार्कीकी आमाले लोकमानलाई आशीर्वाद दिनुभयो’ भनेर हल्ला चलाइयो।
आमालाई भेटेर फर्केपछि सुशीलालाई भेट्ने भनेर भाइलाई समेत लिएर लोकमानको टोली प्रधानन्यायाधीश क्वार्टरको गेटमा गाडी राखेर भित्र छि-यो। सुशीलाजीकै भाइलाई देखेपछि ड्युटीमा रहेका सैनिकले पनि सहजै उनीहरूलाई प्रवेश दिएछन्। मैले देखिहालेँ । तुरुन्तै तल झरेर त्यो टोलीलाई कम्पाउन्डमै रोकेँ। उनीहरू भित्र छिरेको भए के हुन्थ्यो भन्ने मलाई थाहा थियो।
मैले घरभित्र जान नदिएपछि उनीहरूले ‘लोकमानजीले दिदीको गोडा धोएको पानी खाने भनेकाले हामी त्यही कामका लागि आएका हौँ’ भने । मलाई अचम्म लाग्यो।
टोलीमा आएको एक जनाले मलाई सुनायो, ‘चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे !’ अर्कोले मलाई छेउमै बोलाएर भन्यो, ‘बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोड्धुवा छ।’
लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो । सुशीलाले थाहा पाएको भए त्यहाँको अवस्था झन् बिग्रिन्थ्यो । सायद सम्हाल्नै गाह्रो पथ्र्यो होला । मेरो मनमा यिनीहरूलाई कसरी यहाँबाट हटाउने होला भन्ने लागिरह्यो । अनि, मैले गार्ड बसेका सैनिक भाइलाई बोलाएर भनेँ, ‘उहाँहरूको भेट्ने समय सकियो, बाहिर पठाइदिनू।’
अनि, उनले लोकमानको टोलीलाई बाहिर निकालिदिए । चाँदीको खड्कुलो र १० करोड रूपैयाँ गोड्धुवासहित उनीहरू त्यहाँबाट फर्किए।
पछि एउटा भेटमा प्रचण्डले सुशीला श्रीमान्लाई सोझै भनेछन्, ‘त्यत्रो १० करोड पठाउ“दा किन नलिएको?’
त्यहाँ झन्डै झगडा प-यो।
एक कार्यक्रममा बोल्दा सुशीलाले ‘प्रचण्डले यसरी १० करोड रूपैयाँ पठाए र किन नलिएको भनेर मलाई सोधे’ भनेर भनिदिइन्। त्यसपछि चाहिँ प्रचण्डले ‘हैट्, यिनले त बाहिर बोलिदिने रहेछिन्’ भनेर उहाँलाई भेट्न र केही भन्नै छोडे।
अदालतमा मुद्दा चलिरहेकै बेला एमाले र माओवादीका केही सांसदले लोकमानविरुद्ध ३ कात्तिक २०७३ मा संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरे । उनी स्वतः निलम्बनमा परे । त्यसमा छलफल चलिरहेकै बेला २४ पुस २०७३ मा सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले लोकमानलाई अयोग्य ठहर गरिदियो।
महाअभियोगको प्रहार
नेपालमा न्यायाधीशलाई श्रीमान् भनिन्छ । पतिलाई पनि श्रीमान् नै भनिन्छ । प्रधानन्यायाधीशको पति भएका हिसाबले म श्रीमानको पनि श्रीमान् हुन पुगेँ । भ्रष्टाचारका मुद्दामा सुशीलाले गरेका फैसला र लिएको अडानले उनलाई एकदमै लोकप्रिय बनाए । तर, उनलाई नेताहरूले भने आँखाको कसिङ्गर नै ठाने।
न्यायाधीश हुँदा नै चिरञ्जीवी वाग्लेदेखि खुमबहादुर खड्का र गोविन्दराज जोशीसम्मका कांग्रेस नेताहरूको भ्रष्टाचार मुद्दा सुशीलाको बेन्चमा पर्न थाल्यो। कांग्रेसहरूले ‘यी सब मुद्दा राजाले आफ्नो प्रत्यक्ष शासनकालमा बदनाम गराउन लगाएका हुन्, त्यसैले फिर्ता लिनुपर्छ, सजाय हुनुहुन्न’ भन्ने सिफारिस गर्न थाले । तर, भ्रष्टाचार भनेको यस्तो कुरा हो, जुन जसका पालामा गरे पनि भ्रष्टाचारै हुन्छ । राजाका पालामा गरेको नहुने, अरुका पालामा गरेको मात्र हुने भन्ने हुँदैन । फेरि न्यायिक प्रक्रियामा छिरिसकेपछि त्यसलाई राजनीतिक दबाब दिएर जित–हार गराउन जायज हुँदैन । त्यसैले यी कुनै पनि मुद्दामा मैले कहिल्यै सुशीलालाई ‘यसो गर्नू, उसो गर्नू’ भनेर सल्लाह–सुझाव दिइनँ।
जुन नेताले सुशीलालाई भनिदिनुप-यो भने पनि म हुँदैन भन्दिनँ थिएँ। ‘हुन्छ, म भनिदिउँला’ भन्थेँ । तर, सुशीलालाई केही पनि भन्दिनथेँ। शेरबहादुर देउवालगायत ठूला कांग्रेस नेताहरु फोन गर्थे र भन्थे, ‘लौन, मान्छे यहाँ मेरो घरमा आएर बसिरहेको छ। नभन्दिएसम्म जाँदै जान्न भन्छ । मान्ने/नमान्ने कुरा उहाँको हो । तपाईं भन्दिन्छु त भन्नूस्।’
कांग्रेसका सबैजसो चर्चित नेताले फोन गरे । तर, एमालेका नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओलीले भने एकपटक पनि ‘यसो गरिदिनू, उसो गरिदिनू’ भनेर फोन गरेनन्।
केही नेताहरूले त्यसबेला सुशीला र मेरोबीच फाटो ल्याउने प्रयास समेत गरे । हामीलाई फुटाउन सके सुशीलालाई कमजोर बनाउन सकिन्छ भन्ने थियो कि ! सुशीला श्रीमान्को बानी कस्तो भने अनावश्यक मान्छेलाई नभेट्ने, फोन नउठाउने । तर, म त राजनीतिक मान्छे परेँ । लामो समय राजनीतिमा बिताएकाले त्यस्तो गर्न सक्दिनथेँ । त्यसैले घरमा आउने उहाँका फोन पनि मैले नै उठाउने गर्थें । यस कारण पनि उहाँलाई भन्देऊ भनेर मलाई धेरै सिफारिस आउँथे।
‘तपाईंजस्तो राजनीतिमा चर्चित व्यक्तिले श्रीमतीको फोन उठाएर बस्दा हीनताबोध हुँदैन’ भनेर पनि केही मानिसले सोधे।
म उनीहरूलाई भन्थेँ, ‘म समाजवादी हुँ। हाम्रो घरमा पति–पत्नीमा विभेद हुँदैन । फेरि जसले कमाउँछ, घरको मूली त्यही हो । उनी ठूलो पदमा पुग्दा मैले सहयोग नगरे कसले गर्छ?’
घरायसी कुरामा मेरो कहिल्यै इगो रहेन । भएको भए यति लामो समय यसरी मिलेर बस्न सक्दैनथ्यौँ। न्यायाधीश हुनुअघि पनि उनी निकै व्यस्त वकिल थिइन् । त्यसबेला छोराको हेरविचारको काम मैले नै गरेँ। उनले बाहिरको काम गरिन् । त्यसरी नै चल्यो । म पनि उनीजस्तै हुन्छु भनेर हिँडेको भए छोराको कस्तो बिजोग हुँदो हो ! त्यही बेला एक जना राजनीतिक साथीकी श्रीमतीले सुशीलाजीलाई भेटेर मसँग छोडपत्र गर्न पनि भनेकी थिइन् । नेताहरूले ‘राजनीतिमा आउनुप-यो, पार्टीमा काम गर्नुप-यो’ पनि भने । त्यत्रो वर्ष म यत्तिकै बस्दा वास्ता नगर्नेले पनि त्यस्तो कुरा गर्थे । त्यो उनीहरूको स्वार्थ थियो । आफ्नो सत्ताका लागि मलाई घरबाटै निकाल्न सकिन्छ कि भन्ने प्रयास गरेका थिए । तर, सफल भएनन्।
अन्ततः केही नलागेपछि सुशीलाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरियो । लोकमानलाई हटाउनेलगायत उनको नेतृत्वमा न्यायालयमा भएका केही फैसला कांग्रेस र माओवादीका नेताहरूलाई मन परेका थिएनन् । यसैले उनीहरूले बिनाकसुर उनीमाथि महाअभियोग प्रस्ताव दर्ता गराए । तर, सर्वोच्चले त्यसलाई खारेज गरेपछि उनीहरूको मनसुवा पूरा हुन सकेन।
जुन दिन संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरियो, त्यस दिन सुशीला सर्वोच्चमा नै सुडान घोटाला मुद्दाको सुनुवाइ गर्दै थिइन् । मुद्दाको निर्णय सुनाएर बाहिर निस्किएका बेला कर्मचारीले आएर महाअभियोग प्रस्ताव दर्ता भएको चिठी दिए । चिठी पाउनासाथ उनी निस्केर बालुवाटार निवासतिर हिँडेको मैले थाहा पाइसकेको थिएँ।
उनी घर नआइपुग्दै धुलिखेलबाट छोरा प्रशान्तको फोन आयो।
‘मामुलाई त महाअभियोग लगाएछन् नि बुबा, अब के हुन्छ ?’ उसले सोध्यो।
मैले भनेँ, ‘केही हुँदैन बाबु । यो सब अन्याय गरेका हुन् । यसको फल उनीहरूले आफैँ भोग्छन् । हामीलाई केही हुँदैन।’
त्यसको केहीबेरमा सुशीला क्वार्टरमा आइपुगिन्।
उनी बालुवाटार आउनासाथ मैले भनेँ, ‘यहाँ नबसौँ, आजै घर सरौँ।’
‘आजै जाने ?’ उनले भन्नुभयो।
त्यतिबेला धापासी हाइटमा हाम्रो घर बन्दै थियो । बीचको एउटा तलामा रङ लगाइएको थियो, भुइँ र माथिल्लो तला तयार भइसकेको थिएन । फिनिसिङ चलिरहेको थियो।
सल्लाह गरेर त्यस दिन क्वाटरमा बस्यौं । भोलिपल्ट आफ्नो घरमा स-यौँ । सर्ने दिन नै पुरेत बोलाएर घरपूजा गरियो । घरपूजाका क्रममा ग्रहशान्ति गर्दा पुरेतले अनेक देवी–देउताका नाम फलाक्न थालेपछि मैले भनेँ, ‘हामीले कुनै गल्ती गरेका छैनौँ । हामीलाई कुनै कुराको चिन्ता पनि छैन, त्यसैले यसमा देउतालाई तान्ने काम नगरौँ।’
घरमा सरेको भोलिपल्टै सर्वोच्चबाट फोन आयो । महाअभियोग प्रस्ताव खारेज भएको जानकारी दिइयो । उक्त प्रस्ताव न्यायाधीश चोलेन्द्रशमशेर जबराले खारेज गरेका रहेछन् । खासमा चोलेन्द्रसँग सुशीलाको राम्रो थिएन । एउटै बेन्चमा समेत बस्थिनन् । तापनि उनले सही निर्णय लिए।
(नेपालको प्रजातान्त्रिक संघर्षका एक अगुवा दुर्गा सुवेदीको भर्खरै प्रकाशित पुस्तक ‘विमान विद्रोह’को सम्पादित अंश)
प्रकाशित: २६ श्रावण २०७५ ०२:३८ शनिबार