दामोदर पुडासैनी ‘किशोर’ दुई दशकअघि नै नेपाली साहित्यका फाँटमा देखा परेका प्रतिभा हुन् । ‘उज्यालो खोजिरहेको घाम’ उनको नयाँ कविता संग्रह हो ।
यस संग्रहभित्रका कवितामा मुगुवासीका दुःख, अभाव, रोग, भोक, असुविधा प्रतिबिम्बित छन् । पुडासैनीका कवितामा अभिव्यक्त विषयवस्तुलाई हेर्दा ती उनका द्रष्टा अनुभूति र ज्ञानको काव्यिक रूपान्तर हुन् भन्न सकिन्छ । शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक आदि क्षेत्रको विकासका दृष्टिले अत्यन्तै पछाडि परेका मुगुका जनताका पीडाप्रति कविको पूर्ण सहानुभूति छ ।यो पुस्तकका कविताहरूमा महिला हिंसा, अत्याधिक मद्यपान, न्यून साक्षरता, उच्च गरिबी, बेरोजगारी, सामाजिक विभेद, कमजोर आर्थिक अवस्था एवं खाद्य असुरक्षा जस्ता मुगु जिल्लावासीले भोगेका पीडा तथा समस्याहरूको जीवन्त चित्रण पाइन्छ।
कर्णालीको दुर्गम मुगुका मानिसले स्वास्थ्य सेवाको सुविधा नियमित र भरपर्दो नहुँदा झाडापखालाबाट पनि मानिसको मृत्यु भएको दुःखदायी अवस्था कवितामा चित्रित छ । भौगोलिक विकटता, यातायातको असुविधा र आर्थिक विपन्नताका कारणले सुविधासम्पन्न अस्पतालमा गएर उपचार गर्न नसक्दा त्यहाँका मानिस कालका मुखमा परेका सन्दर्भ कवितामा प्रस्तुत छ ।
मुगुको जलस्रोत, प्राकृतिक सम्पदा हेर्दा गौरवबोध गरेका कवि एकैछिनमा भावुक पनि बन्छन् । मुगुको प्राकृतिक सम्पदामा आधुनिक ज्ञान र विज्ञानको विकास पनि मिसाउन पाए मुगु कति सुन्दर हुँदो हो भनेर कवि मिठो कल्पना पनि गर्छन्।
पुरुषबाट आफूलाई बुझिदिएको, माया गरेको व्यवहार नपाउँदा यस कविताका नारीहरू जीवनको अन्तिम कालसम्म दुःखी छन् ।
विश्वमा सबैभन्दा महँगो मूल्यमा बिक्री हुने जडीबुटीको भण्डार कर्णालीमा नै छ । तर, आफ्नै देशभित्रको भूमिमा उब्जिएको जडीबुटी भने देशमै प्रयोग गर्ने प्रविधि नहुँदा विदेशी बढी लाभान्वित भएका छन् । यस कुरामा दुःख छ कविलाई । उनी भन्छन्, ‘नार्थपु गाउँमा खोलिएको मेडिकल कलेजमा पढ्ने पाँच सय ५७ औं ब्याचका विद्यार्थीहरूले डालेचुक र राराबुटीको रसायनले मान्छेका आयु एक हजार वर्ष लम्ब्याउन सक्ने प्रमाणित गरेपछि युरोप र अमेरिकाका तीन लाख विद्यार्थीहरू क्युमा छन्।
नार्थपु मेडिकल कलेजमा भर्नाका लागि स्वास्थ्य शिक्षा जस्ता सामाजिक क्षेत्रमा अत्यन्तै पछाडि परेका मुगुका जनताले शिक्षा, चेतनाको अभाव, प्रविधिको विकास नहुनु तथा सडक यातायातको अभावमा भोगेको कहालीलाग्दो भोगाइबाट उत्पन्न दुःख, पीडा, निराशालाई कविले कवितामा यसरी उतारेका छन् –
भोक नै भोकको डंगुरले
पूरै पेट भरिसकेको बेला
आफ्नै र अरुको दिसापिसाब चाटी हिँड्दा
कहिलेकाहीँ भनिदिन्छु अरू मान्छेलाई
म जन्मेको भन्दा धेरैधेरै जाति हुन्थ्यो नजन्मेकोमै... (पृ. ३४)
सरकार, राजनीतिक दलहरू, दातृ निकाय, एनजिओ, आइएनजिओहरूले सबै वर्ग, लिंग, जाति, क्षेत्रमा समान अधिकार र पहुँच पु¥याउने नारा लगाए पनि मुगुवासीले सधैं विभिन्न दुःख, अभाव, समस्या भोग्न बाध्य हुँदा तिनका मनमा उत्पन्न दिक्दारीलाई कविले आफ्ना कवितामा कलात्मक ढंगले अभिव्यक्त गरेका छन् ।
मान्छेहरू व्यस्त छन् सल्लाह र साउतीमा
कुराको चुरो आफ्नै पोल्टामा परेपछि
सफलताको भ्रममा विजयोत्सव मनाउँदैछन् बतुरेहरू... (८५)
राजनीतिक नेताका नारा त मिठा छन् । तर, त्यसलाई पूरा गर्ने बहानामा नेताले आफ्नै व्यक्तिगत सुख सजिलोलाई नै बढी ध्यान दिएको विषयप्रतिको गुनासो पनि कवितामा भेटिन्छ –
पहाड नै पहाडको माझमा
ज्योतिको पहाड अनुवाद हुन खोजिरहेछ
शासन र प्रशासनका रङ्गहरूमा
बेग्लै शान उचाल्छु भन्छ
बहाना नै बहानामा जिल्ला छोडेका
कर्मचारीविहीन कार्यालयहरू
र, सामूहिक समस्या उचालेर व्यक्तिगत सम्झौतामा जुटेका नेताहरूको नेतृत्वमा
बिग्रेको घडीको सुई जस्तो
जहाँको तहीँ उभिएर
उदास आँखाले परपर हेरिरहेछ गमगढी (पृ.३६–३७) ।
मुगुको गाउँ, समाज र क्षेत्रसम्म राज्यको ध्यान नपुगेकोमा कवि दुःखी देखिन्छन् ।
कुप्रथाको रूपमा जरो गाडेको छाउपडी प्रथाले गर्दा महिला, किशोरीहरू छाउ भएको बेला छुट्टै गोठमा, ओडारमा बस्न बाध्य भई महिनावारी हुँदा सात दिनसम्म पशुसरहको जीवन बाँच्नुपर्ने टिठलाग्दो अवस्थालाई कविले कवितामा यसरी व्यक्त गरेका छन् :
छातीमा, काखीमा र उच्चारण नै लाज लाज लाग्ने अंगमा
एक्कासी देखिएको परिवर्तनले
मनमा हुरी चलिरहेका बेला
सहानुभूति र परिवर्तनको अर्थ बुझाउनुभन्दा
आफ्नै आमा, दिदी र भाउज्यूहरूले
घिसार्दैघिसार्दै घरभन्दा टाढा निर्जन एकान्तका
गोठ, गुफा र ढुङ्गाका ककाराहरूमा छोडिदिँदा
सहनै नसक्ने आँधी चल्न सुरू गर्यो
जिन्दगीको प्रथम मोडदेखि नै (पृ.३–४) ।
त्यस्तै धर्म र परम्पराको आडमा बालविवाह गर्ने प्रचलनले यस कविताका नारीहरू किशोरावस्थामै आमा बन्न पुग्छन् । गर्भवती किशोरीहरू शारीरिक स्वाथ्य र सचेताका दृष्टिकोणले आफ्नो हेरविचार र आराम गर्न पनि पाउँदैनन् । तिनका यही पीडालाई कविले यसरी पोखेका छन् –
सुत्केरी भएको दोस्रो दिनदेखि
दाउरा र मलको भारी बोकेर
घरी कर्णालीका किनार
घरी बामाका बारी चहार्दा
खसेको आङको दुःखाइसँग मितेरी लगाउँदै
सुकेको बैँसको ठुटोबाट पनि
कसरी कर्णालीको पानीभन्दा धेरै रगत बग्छ
आश्चर्यमा परिरहेछु
र, चार दिनको सुत्केरोमा
वन पुगेर स्याउला काट्दाकाट्दै भीरको छेउमा सुताएकी काहिँली छोरीका
सबै हात, खुट्टा र आँखा
पापी स्यालले चपाइसकेपछिका दृश्यहरू सम्झिरहेछु (पृ. ३१)
महिनावारी हुँदा, गर्भवती हुँदा अथवा सुत्केरी हुँदा यी कुनै पनि अवस्थामा आराम गर्ने फुर्सद नहुँदा र स्वास्थ्यसम्बन्धी चेतना नहुँदा मुगुका नारीहरूले पुरुषभन्दा थप अनेक शारीरिक तथा मानसिक समस्या भोगिरहेको विषयप्रति कवि संवेद्य देखिन्छन् ।
यस संग्रहभित्रका कवितामा २४ सैं घडी घरपरिवार छोराछोरी श्रीमानका सुख, सजिलो सुविधाका निम्ति संघर्षशील भइरहँदा पनि घरकै श्रीमानले आफ्नो त्याग समर्पणलाई नबुझिदिएको विषयप्रति नारीको गुनासो छ । पतिकै दीर्घायु, सुस्वास्थ्य, यश तथा कीर्तिमा आफ्नो अस्तित्व रहेको सम्झी श्रीमानको सेवा गर्ने हिन्दू संस्कृतिबाट पोषित नारीहरू तिनै पुरुषबाट सधैँ अपहेलित छन् –
टक्सारबाट निष्कासित सिक्का जस्तो
कहिले यो हात कहिले ऊ हात
पुग्नुपरेकै छ
न्यानो स्पर्श दिएर
स्नेहको चुम्बन दिने भने
कोही भेटिएन
बचाइका अन्तिम रेखाहरूसम्म (पृ.७१)
पुरुषबाट आफूलाई बुझिदिएको, माया गरेको व्यवहार नपाउँदा यस कविताका नारीहरू जीवनको अन्तिम कालसम्म दुःखी छन् ।
दुर्गम हिमाली भेक, अग्ला अग्ला भीर त्यही भिरको बाटोबाट अनेक कामका लागि हिँडडुल गरिरहन पर्दा लडेर मृत्यु भएको पीडादायी घटनाको चित्रलाई पनि कविले आफ्ना कवितामा कलात्मक ढंगले उतारेका छन् । यसरी कवि दामोदर पुडासैनीको उज्यालो खोजिरहेको घाम कवितासंग्रहभित्रका कवितामा मुगुवासीका दुःख, पीडा, अभाव, असम्मान निम्न वर्गीय जीवन भोगाइको यथार्थ चित्रण भेटिन्छ । उनको यो कवितासंग्रह मुगुवासीले भोगेको पीडामा चुर्लुम्म डुबेको छ । कवितामा वर्णित मुगु निवासी समाजको भोगाइ र पीडा पढेपछि जुनसुकै पाठकहृदय पनि संवेद्य हुन पुग्छ ।
प्रकाशित: ९ असार २०७५ ०१:५० शनिबार