पुस्तक : उहापोह
कथाकार : लक्ष्मणप्रसाद गौतम
विधा : कथा
प्रकाशक :सांग्रिला पुस्तक प्रालि
मूल्य :रू. २७५, प्रकाशन मिति :२०७५
तथ्यहरू आफैँ बोल्छन्– इच्छाशक्ति, कडा मिहिनेत र समर्पण भाव नयाँ पहिचानका अनिवार्य कडी हुन् । नयाँ सम्भावना देख्नेहरू समर्पित भएर निरन्तर त्यसैमा दत्तचित्त हुन्छन् पनि । उनीहरूलाई पूरापूर थाहा छ निरन्तरताले सफलता भित्र्याउँछ र चिनारी फेरिदिन्छ त्यसका लागि अर्को पक्ष पनि जरुरी छ त्यो हो क्रमभंग वा डाइभर्सन।
शिक्षण पेसा फापेका प्राध्यापक, उम्दा समालोचक लक्ष्मणप्रसाद गौतमले ‘उहापोह’ कथासंग्रहमार्फत् आफ्नो चिनारीको फरक पर्दा उघारेका छन्, पहिचाहनको क्रमभंगसहित ।पढ्दा मिश्रित भाव आइरहने ‘उहापोह’ कथासंग्रहमा लामाछोटा १४ कथाहरू संग्रहित छन्, जहाँ आधुनिक–उत्तरआधुनिक प्रेम, साइबर संस्कृति, नारी संवेदना एवम् पुरुष मनोविज्ञानका सूक्ष्म तारहरूको केस्रकेस्रा केलाइएको छ ।
कुनै विशेष मुद्दा, महिला–पुरुषको लैंगिक झगडाभन्दा माथि उठेर गौतमले यस सँगालोमा सामाजिक यथार्थका स–साना बिम्बहरूलाई अति मार्मिक रूपमा प्रस्तुत गरेका छन्, जुन पठनीय लाग्छन् । कुनै नौलो कुरा होइन लेखकको अतीत, वर्तमान हेरेर उसको भविष्यको आँकलन हुनु । यसअघि गौतमका कथागत प्रवृत्ति स्थापित बनिनसकेकाले सफल समालोचक उत्तिकै सफल कथाकार बन्छन-बन्दैनन् भन्ने उहापोहको ज्वारभाटा र एउटा अनुत्तरिक प्रश्न उठिरहेकै बेला उनको कथासंग्रह सार्वजनिक भएको हो ।
एक सफल समीक्षकको फरक विधातर्फको यात्राको मूल्यांकन गर्दा एउटा जबर्जस्त आग्रह सञ्चारित हुनु स्वाभाविक छ कि ‘उनको पूर्वस्थापित पहिचानका पर्खाल नयाँ लेखनले भताभुंग नपारून् ।’ घामजत्तिकै छर्लंग भएको कुरा हो, तुलनात्मकरूपमा महिलाहरू बढी भावुक हुन्छन् नै । यस कुरालाई पुष्टि गर्न कथा लेख्नै पर्दैन ।
तर, कथाकार गौतमले फेरि एउटा सत्य कुरालाई दुरुस्त बाहिर ल्याइदिएका छन् । बधाई कार्यक्रममा आफ्नै सहकर्मी महिलाद्वारा हाकिमलाई प्रदान गरिएको एक थुँगा सेतो गुलाफबाट निदहराम भएकी, साडी किचिमिची पारेकी र सहकर्मीको इश्र्यामा सपनामा मुड्की बजारेकी म पात्रमार्फत्।कथाकार ‘म’ पात्रको मनमा रेसमी तारभन्दा मसिनो छिद्रबाट प्रणय, शंका र संवेदनाको बिजुली यसरी सञ्चारित गर्न चाहन्छन्, जुन प्रकाशको गतिभन्दा तीव्र अनुभूत हुन्छ । सामान्य सेतो गुलाफले नारी मनको तलाउमा फिँजाएको असामान्य आतंक साँच्चै फर्कीफर्की नियाल्न मनलाग्ने खालको छ।
अधिक पुरुषहरू तृप्त हुँदैनन् महिलाको सुघन्धबाट । पुरुषले हरेक क्षण नवीन ठान्छ भने त्यो नवीनता महिलाको सुगन्धको हो । पुरुषले महिलाको सुगन्धलाई लिएर के मात्र गर्दैन– झुट बोल्छ, बहानाबाजी गर्छ, जालझेल त सामान्य कुराहरू नै हुन् उनीहरूका लागि । घुरेर हेर्नु लोग्ने मान्छेको विशेषता नै हो सायद हाम्रो समाजमा ।
सुगन्धपारखी पुरुषहरू सबैभन्दा बढी अस्थिर मन लिएर हिँड्छन् । र, आफैबाट खेदिन्छन् आफ्नै मनबाट लखेटिन्छन् निरन्तर। श्रीमतीइतर सम्बन्ध राख्नचाहने पुरुषहरू अवसर पाउनासाथ उपयोग गरिहाल्छन् । र, त्यस सम्बन्धलाई ढाकछोप गर्न मरेर लाग्छन् । तर, अन्ततः परीक्षामा फेल हुन्छन् । यस्तै महिलारूपी फूलको सुगन्ध, चुराका सितारा र केशराशीमा बहने स्याम्पुको सुगन्धमा फसेर छटपटाइरहेको पुरुषको तिल्मिलाउँदो दृश्य साँच्चै रोचक बनेर आएको छ कथा ‘पर्फ्युम–यात्रामा’।
मूल्यहीन वस्तुमा पुरुषले जब मूल्य देख्न थाल्छ त्यसबेला यो ठान्नु ऊ मनोवैज्ञानिक गवराहटबाट घायल छ । अरू सामान्य कुरा भयो स्त्रीको टाउकोबाट झरेको कपाललाई समेत पर्समा किन सजाउन चाहन्छ लोग्नेमान्छे ?जागिर छोडेर गएकी शिक्षिकाको राजीनामापत्रका अक्षर–अक्षरमा कामुक बनेर किन घोरिन्छ लोग्नेमान्छे ? अर्काको ससाना वैयक्तिक क्रियाकलापको किन सुराकी गर्छ ऊ ? किन चियोचर्चाे गर्छ पुरुष ? यस्तै कुराको भाव ‘उपहार आतंक’ शीर्षकको कथामा सम्प्रेषित भएको छ।
किताबका पानामा पढिएका कुरा व्यावहारमा प्रतिविम्बित भएको दिन महिलाहरू तर्सिनु पर्दैन सायद विपरितध्रुवी पुरुषसँग । साँझ एक्लो भएको बेला घरमा आउने सहकर्मीसँग, एकान्त बाटोमा जम्काभेट हुने सहपाठीसँग, रात्रीबसमा सँगै यात्रा गर्ने गाउँलेसँग, मन पराएर कुरा गर्ने प्रिन्सिपलसँग, राति पार्कमा स्वतन्त्र भएर पहरा दिने सुरक्षाकर्मीसँग।
यस्तैयस्तै धेरै व्यक्तिहरूसँग । एउटै कारणमात्र काफी छैन हाम्रो समाजमा पुरुषसँग महिला सचेत भइरहनुपर्ने । डराइरहनुपर्ने । महिलाको व्यक्तिगत सोच, भोगवादी पुरुष मनोविज्ञान अनि श्रीमान्ले श्रीमतीलाई हेर्ने अस्वस्थ हेराइ–सोचाइ आदिआदिमा । यस्तै विविध कारणले मनमा अनेक उद्वेलन सहेर पनि जागिर गर्नुपर्ने महिलाको यथार्थ चित्र बनेर आएको छ कथा ‘ऊ, म अनि त्यो साँझ’।
गौतमका कथाहरू एकपक्षीय छैनन् । पुरुष मनोविकारमा मात्र केन्द्रित छैनन् । उनका कथा बरु महिलाले अनेक फूलबुट्टा रचेर पतिइतर सम्बन्ध स्थापित पनि गर्नचाहेका कथाहरू पनि यस सँगालोमा पढ्न पाइन्छ । ‘डायरी पढेपछि’ कथामा विवाहित नारीले परपुरुषसँग सम्बन्ध गाढा मात्र बनाउन चाहेकी छैन । स्कुलको प्रिन्सिपलसँग आफ्नो अतृप्त प्यास मेटाउन समर्पित भएकी छ कथाकी पात्र संगीता । पतिबाट माया र स्नेह नपाएपछि दुई सन्तानकी आमा भएर पनि अन्यत्र लोग्नेमान्छेसँग गोप्य कोठाहरूमा भेट्न पुगेकी छ । र, अनायासै प्रिन्सिपलकै काखमा लरबरिन पुगेकी छ । कामेच्छा लैंगिकभन्दा पनि जैविक हुन्छ भन्ने भावना यस कथाले बुलन्द रूपमा स्थापित गरेको छ।
अधिकांश आधुनिक नारीहरू घररूपी चौघेरामा खुसी छैनन् । बेखुसी भएर पनि परिबन्धित भएर उनीहरू घरमा बस्न चाहेका छैनन् । हाकाहाकी नसके पनि लुकीचोरी उनीहरूले आफ्नो पतिको आँखामा छारो हालेर परपुरुषसँग लहसिन चाहेका छन्। राती अनलाइनमा कुरा गर्न चाहेका छन् ।
र, अनुकूल वातावरण मिल्नासाथ पति, परिवार एवं छोराछोरीको आँखा छलेर पनि गोप्य सम्बन्ध स्थापित गर्न पनि पछि परेका छैनन् भन्ने कुरा कथामा सहजरूपमा उठाइएको छ । स्त्री जातिको सुकोमलताभित्र एउटा भयंकर जालसाजी पनि लुकेको हुनसक्छ भन्ने कुरा ‘नाइट बल्बको उज्यालो–१ र २’ जस्ता कथाबाट जानकारी दिइएको छ । आधुनिकताले महिला स्वतन्त्रतालाई अनुकूल वातावरण सिर्जेको छ । र, आदी कालदेखि खुलापनमा रमाउने पुरुष सिन्डिकेटलाई उनीहरूले तोड्न चाहेका छन् भन्ने यी कथाबाट सहजै ज्ञात हुन्छ।
हुन त कथामा नोटिस गर्नुपर्ने कुरा धेरै छन् । झट्ट हेर्दा पुरुष मनोविज्ञानको गहिराइमा पुर्याउने खालका सूक्ष्म बिम्बहरूको प्रयोग कथामा देखिन्छन्, जसले पाठकलाई थप आकर्षित गर्छ पनि । समाजरूपी बगैँचामा विचरण गर्दै गरेका विविध स्वभावका पुरुषहरूको चिनारी दिन पनि यी कथाहरू सफल छन् । त्यसमा चाखलाग्दो कुरा के देखिन्छ भने हाम्रो समाजमा पुरुषहरूमा भमराजस्तो घुमन्ते प्रवृत्ति व्यापक देखिन्छ । तर, पनि उनीहरू आफ्नो कमजोरी लुकाउने असफल प्रयास गरिरहन्छन् । आफ्नो वास्तविक रूपलाई ढाकछोप गरिरहन्छन्।
उहापोह कथासंग्रहमा नारी–पुरुष संवेदना र साइबर संस्कार सम्बद्ध यावत उतारचढावलाई विन्यस्त गरिएको छ । फुटकररूपमा फाट्टफुट्ट कथा सिर्जे पनि कथाकारकै रूपमा आफूलाई दर्ज गर्न गौतमलाई लामो समय पर्खनु परेको अनुभव हुन्छ । उनका समग्र कथामा नारीचरित्रलाई सामाजले उठाएको चोरी औँला र पारिवारिक बन्धनभित्र आशंकाको चौघेरामा राखिएको छ भने आधुनिक स्त्रीहरू आफ्नै मनोदशा र अवसर पाउनासाथ पुरुषलाई भुलभुलैया पारेर मनमौजी स्वभावमा रमाउन चाहेको कुरा प्रस्तुत गरिएको छ ।
समग्रमा कथाकारको लक्ष्य भनेको स्त्रीहरूको अप्रस्फुटित पीडा तथा वेदनालाई सार्थक रूप दिने प्रयास रहेको देखिन्छ चाहे त्यो पुरुषद्वारा सिर्जित दम्भ र निर्दयीता होस् वा समाजले बनाएको लक्ष्मणरेखाको धर्सो नै किन नहोस् । एक पक्षीय समाजमा नारी विवशता र उनीहरूको त्यागले के–कसरी निकास खोजिरहेको हुन्छ भन्ने कुरालाई पनि यस कथामा कहीँ न कहीँ सम्बोधन गर्न खोजिएको छ ।
राजनीतिकरूपमा नारीविरोधी रूढिवादी समाज या पुरुषप्रधान समाजले नारीहरू भौतिकरूपमा मात्र होइन, मानसिक रूपमा पनि प्रताडित छन् भन्ने कुरा कथामा व्यक्त गर्न खोजिएको अर्को पक्ष हो । शालिनता र नरमपन महिलाका गुण हुन् । सौम्यता उनीहरूको गहना हो ।
तर, समाजले उनीहरूको विनम्रतालाई नै उनीहरूको खास कमजोरी हो र यसै द्वारबाट उनीहरूलाई कमजोर बनाउनुपर्छ भन्ने गलत नजिर स्थापित भएको तीतो यथार्थ कथामा प्रस्तुत गर्न खोजिएको छ । यस कुरालाई साइबर संस्कारले थप मलजल गरेको कुरा कथाकारले व्यक्त गरेका छन् । र, नारीलाई विविध बहानामा दोयम कित्तामा दर्ज गर्ने प्रयास गरिएको यथार्थ बिम्ब सूक्ष्मरूपमा प्रस्तुत गरिएको छ।
यौनजन्य कुरालाई अनौपचारिकरूपमा कथाकारले यसरी प्रस्तुत गरिदिएका छन् जुन भन्ने तरिका योभन्दा शालिन बनाउन मुस्किल छ । साहित्यिक कलाले छोपेर अश्लील कुरालाई पनि पूरै श्लील तरिकाले भन्न सकिन्छ भन्ने नमुना कथाकारले बेजोडरूपमा प्रस्तुत गरेका छन् । हाम्रो समाजले यौनजन्य बिम्बहरूलाई असभ्य भनेर छेकबार मात्र लगाउने गरेको छैन त्यसलाई थप मलजल समेत गर्ने गरेको छ । हाम्रा कैयन् साहित्यकारले त्यसै रुढीलाई अनुसरण गरेका पनि छन् । तर, गौतमको यस कथासंग्रहमा असहज यौन बिम्बहरूलाई पनि सहज तरिकाले प्रस्तुत गरिएको छ।
विषयका दृष्टिले यस कथासंग्रहमा मानवीय जीवनका अपेक्षा–प्राप्ति, प्रेम र दैनिकी चलाउन गरिएका नियमित संघर्षलाई प्रस्तुत गरिएको छ । यस कथामा पुरुष मनोविज्ञानका सूक्ष्म छिद्रमात्र पहिल्याएका छैनन् बरु वर्तमान समयमा नारीहरूको बदलिँदो स्वभाव र व्यावहारलाई पनि कथामा प्रस्तुत गरिएको छ । हालसम्म हाम्रो समाजमा पुरुषले स्थापित गर्न चाहेको अतिरिक्त सम्बन्ध जस्तै महिलाले पनि विवाहइतर सम्बन्धको यथार्थको सूक्ष्म पर्दाफास गर्न चाहेका छन्।
कथा पठनीय हुने शैलीशिल्पले पनि हो । गौतमको कथा भूमिकामा दावा गरेजस्तो उत्तरआधुनिक बन्न सकेका छैनन् । कथाको शिल्प पक्ष उत्तरआधुनिक होइन परम्परागत छ र न्यारेसन पनि उत्तरआधुनिक नबनेर अधिकांश कथामा कथा भन्ने शैली पुरानै छ । चरित्रप्रधान हुनु आधुनिक कथाको मूलभूत विशेषता हो तर, यस सँगालोका अधिक कथाहरू घटनाप्रधान बनेका छन् ।
कथाको अर्को कमजोर पक्ष भनेको फितलो संवादविधान हो । पात्रहरू चिठी, डायरी शैलीमा आफ्ना कथा भन्छन्– दोहोरो कुराकानी कमै गर्छन् । ‘हाइब्रिड’, म दर्शक वेबक्याम, संवेदनाको सफ्ट कपीलगायत केही कथामा उठान गर्न खोजिएका नारीपुरुषका सम्बन्धका नयाँ आयाम, प्रविधि र साइबर संस्कृतिको प्रयोगले उत्तरआधुनिकताको सानो छनक दिन खोजे पनि ती परिपाक हुनसकेका छैनन् ।
यी एकाध कथाहरूमा बाहेक अरू कथामा उत्तरआधुनिकताको संकेत पाउन मुस्किल पर्छ । स–साना वर्णविन्यासगत त्रुटिको सम्पादन एवं न्यारेटिभ टेक्निकमा नवीन प्रविधि प्रयोग गर्दै कथा लेखनलाई निरन्तर दिने हो भने कथाकारबाट थप पठनीय छोटा आख्यानको ढोका खुला हुनसक्छ।
पूर्वपृष्ठसहित दुई सय पृष्ठमा संरचित साग्रिला पुस्तक प्रालिले प्रकाशनमा ल्याएको यस सँगालोमा सफल आख्यानकार अमर न्यौपानेको ‘लेखकसँग प्रश्न पात्रसँग संवाद’ शीर्षकको नवीन शैलीको भूमिका रहेको छ भने अन्तिममा ‘कथाभित्र पस्दै गर्दा...’ शीर्षकमा कथाकार स्वयंको भूमिकाले कथासंग्रह पठनीय बनेको छ । समग्रमा हाम्रो सामाजिक मूल्यमान्यताभित्र पुरुष र महिला–मनका यावत अन्तर्विरोधको उहापोह नै यस कथासंग्रहको मूल मर्म हो।
प्रकाशित: २ असार २०७५ ०२:३८ शनिबार