८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

ललितपुरमा ब्युँताइँदै मल्लकालीन राजकुलो

बिहीबार गोदावरी नगरपालिका– ९ छम्पीस्थित राजकुलोको मुहान नजिकै अवलोकन गर्दै ललितपुर महानगरका कर्मचारी।तस्बिर सौजन्य ; रविन्द्र महर्जन

करिब तीन दशक अघिसम्म उपत्यकाका काँठ क्षेत्रमा पानी नै बग्ने तीनवटा प्रमुख राजकुलो थिए । तिनका मुहान थिए, काठमाडौंको बूढानीलकण्ठ, भक्तपुरको वागेश्वरीबाट र ललितपुरको टीकाभैरव।उपत्यकाका यी प्रमुख राजकुलोमध्ये अहिले कुनैमा पनि पानी बग्दैन । राजकुलो भएको अधिकांश क्षेत्रमा त्यसलाई मासेर कि सडक बनाइएको छ कि त अग्ला घर ठड्याइएको छ।

धेरै स्थानमा पुराना राजकुलोको अस्तित्व सकिए पनि केही स्थानमा भने अझै त्यसको अवशेष बाँकी नै छ । त्यही अवशेषलाई पछ्याउँदै राजकुलो ब्युँताउन लागेको छ, ललितपुर महानगरपालिका।महानगरले चालू आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गरेको थियो । नीति तथा कार्यक्रममा समेटिएको राजकुलो ब्युँताउने योजनाअनुरूप अहिले महानगरले राजकुलो मर्मत सुरु गर्न लागेको छ।

महानगरले मल्लकालीन वा त्यसअघि बनेका राजकुलो मर्मत सुरु गर्न लागेको हो । त्यसका लागि चालू आर्थिक वर्षमा १२ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । महानगरपालिका आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर– २१ का वडाध्यक्ष रविन्द्र महर्जनका अनुसार यसै सातादेखि राजकुलो मर्मत सुरु हुनेछ।

पुरानो रुटअनुसार बनाइने राजकुलो विस्तार एक वर्षभित्र सक्ने महानगरको योजना छ । मर्मत सुरु गर्नुपूर्व महानगरको टोलीले बिहीबार गोदावरी नगरपालिका– ९ छम्पीस्थित राजकुलोको मुहानदेखि चापागाउँ–खोकनासम्म अवलोकन गरेको थियो।करिब ६ किलोमिटरको राजकुलोमा नख्खु खोलाको पानी प्रयोग गरिनेछ । अहिले पनि पुरानो राजकुलोका केही भागमा पानी आउँछ भने बीचबीचमा बिग्रिएको छ । राजकुलो संरक्षणका लागि खोकनाको दाफा खःलः समूहलाई जिम्मा दिइएको छ।

धेरै स्थानमा पुराना राजकुलोको अस्तित्व नै सकिए पनि केही स्थानमा भने अझै त्यसको अवशेष बाँकी नै छ । त्यही अवशेषलाई पछ्याउँदै राजकुलोलाई ब्युँताउने कोसिसमा लागेको छ, ललितपुर महानगरपालिका।

यो समूहले संस्कृति संरक्षणमा काम गर्दै आएको छ । एक वर्षसम्म यो समूहले राजकुलो संरक्षणको जिम्मा लिनेछ । कतै समस्या आए पानी फर्काउने र भत्कियो भने पनि यही समूहले मर्मतसम्भारको काम गर्नेछ ।‘यहाँ राजकुलोको इतिहास लामो छ,’ उनले भने, ‘विगतमा यही राजकुलोबाट स्थानीयले खेतबारीमा सिँचाइ गर्थे, बस्ती र सडक फराकिला हुँदै जाँदा राजकुलो मासिए, अहिले पनि केही भागमा त राजकुलोको पानी प्रयोग हुन्छ ।’ उनका अनुसार गोदावरी नगरपालिका– ९ छम्पीदेखि सुरु भएको राजकुलो भैँसेपाटी, खोकना हुँदै बुङमतीसम्म पुग्नेछ।

‘पहिले–पहिले यसै पानीले लुगा धुने गरिन्थ्यो,’ महर्जनले भने, ‘अहिले पानीको बहाव थोरै छ र खोला पनि धमिलो भएकाले पानी सङ्लो आउन मुस्किल छ ।’ बिहीबारदेखि मिल्ने ठाउँमा पाइप र नमिल्ने ठाउँमा पर्खाल लगाउने काम भइरहेको उनले बताए।यो राजकुलो ललितपुरको सबैभन्दा पुरानो मानिन्छ । अहिले यसले छोएको केही भागसम्म धमिलै भए पनि पानी आउँछ । बीचबीचमा कुलो पुरिएको र पानी सुकेकाले राजकुलो लोप हुने अवस्थामा थियो । यसबाट ठेँचो, छम्पी, बुङमती, खोकना, भैँसेपाटीलगायत क्षेत्रका खेतबारीमा सिँचाइ हुनेछ।

छम्पीबाटै ललितपुरको पाटन सुन्धारामा जोड्ने अर्को राजकुलो पनि जोडिएको थियो । तर, अहिले त्यसको कुनै नामोनिसान छैन । महानगर प्रमुख चिरिबाबु महर्जनले सकेसम्म पुराना राजकुलो मर्मत गरिने बताए । ‘यहाँको राजकुलोले ललितपुरको सभ्यता राखेका छन्,’ उनले भने, ‘त्यसैले हामीले योजना बनाएरै राजकुलो मर्मतको काम थालेका हौँ ।’पुराना राजकुलोको ठाउँमा सडक र बस्ती बसेकाले ती राजकुलो फर्काउन कठिनाइ परेको उनले बताए । ‘राजकुलो मात्रै बनाएर पनि भएन, त्यसमा पानी पनि बग्नुपर्‍यो,’ उनले भने, ‘पुराना मुहान नै सुकेका छन्।’

महानगरले कृषि क्षेत्र विकासअन्तर्गत राजकुलो व्यवस्थापनको काम अघि बढाएको महर्जनले बताए । ‘यो वर्ष चापागाउँदेखि खोकनासम्म राजकुलोमा पानी आउँछ,’ उनले भने, ‘यसबाहेक सम्पदा संरक्षणअन्तर्गत सांस्कृतिक अभिलेख संकलनको काम पनि भइरहेको छ ।’ यो राजकुलो खोकना र बाग्मतीको सिमानामा पुगेर टुंगिन्छ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार ललितपुर टीकाभैरवको राजकुलो १६ किलोमिटर लामो थियो । पाटनका जति पनि पोखरी छन्, ती सबै राजकुलोबाट आएको पानीले नै भरिएका हुन्थे । सडक विस्तारका क्रममा पोखरी र पुराना राजकुलो ध्वस्त भए।करिब २०-२५ वर्ष अघिसम्म ललितपुरको चापागाउँ हुँदै पाटनका ढुंगेधारा र पोखरीमा मिसिने अर्को राजकुलो पनि थियो । त्यहीँ राजकुलोको पानी स्थानीयले पिउन प्रयोग गर्थे । खेतबारीमा त्यही पानी प्रयोग गरिन्थ्यो । सहरीकरण बढ्दै जाँदा ऐतिहासिक ढुंगेधारा र पोखरी पनि मासिने क्रम बढ्यो।

राजकुलो मासिएपछि पाटन क्षेत्रका धेरै पोखरी र ढुंगेधारा सुके । पानी नभएपछि अहिले पाटन क्षेत्रका ढुंगेधारा लोप हुने अवस्थामा छन् । ‘यहाँका राजकुलोको इतिहास लामो छ,’ संस्कृतिविद् जोशीले भने, ‘मल्ल राजाको पालामा कहिल्यै पनि राजकुलो सुकेनन्, राजकुलो सुकेपछि राजाको इज्जत नै रहन्न भन्ने ठानिन्थ्यो, अहिले पुराना राजकुलो सबै पुरिए।’


 

प्रकाशित: १४ वैशाख २०७५ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App