४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

उपचार ढिलाइले बन्दै छ भयङ्कर

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागबाहिर असोज २२ गते बिहान ११ बज्दा नबज्दै ठूलो भिडभाड जम्मा भयो । क्यान्सर भएर केमोथेरापी उपचार लिइरहेका बिरामी चिकित्सकलाई भेट्न जम्मा भएका थिए । झट्ट हेर्दा एक दिनको भिड हो कि जस्तो लाग्छ तर यहाँ मात्रै होइन हरेक क्यान्सर अस्पतालमा यस्तो भिड अचेल दिनदिनै बढ्न थालेको छ ।
सोही भिडमा भेटिए कैलाली बौनिया लोहागढका सुरेश भुल । उनी ६१ वर्षीया आमा मन्ने भुलको उपचारका लागि दुई वर्षदेखि सो अस्पतालमा धाइरहेका छन् । उनीसँगै गफिँदै थिए चितवन भण्डाराका एकजना अधवैशे । उनले आफ्नी २२ वर्षीया छोरीलाई उपचारका लागि ल्याएका थिए । ६१ वर्षीया वृद्धा हुन् वा २२ वर्षीया युवती दुवैलाई स्तन क्यान्सर भएको उनीहरुको कुराकानीबाट थाहा हुन्थ्यो ।
‘दुई लाख खर्च भइसक्यो, उपचार जारी नै छ । खै निको हुने हो कि हैन,’ सुरेशको मनमा छटपटी थियो । भरतपुरकी वन्दना खाँडले असोज ३० गते पश्चिम चितवनको दिव्यनगरमा एउटा शिविर राख्दैछिन् । शिविरमा महिलामा हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको परीक्षण हुने छ । यी दुई क्यान्सरबाट महिला अत्यन्त पीडित छन् ।
‘महिलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हुने समस्या निकै छ,’ खाँडले भनिन्, ‘यो रोग सुरुमै पत्ता लगाउन सकिन्छ । चाँडै पत्ता लागेमा निको पनि हुन्छ । त्यही भएर ठाउँठाउँमा शिविर सञ्चालन गर्दै आएका छौं ।’ बन्दना खाँड स्वयंलाई क्यान्सरले ग्रस्त पारेको थियो तर समयमै उपचार पाएका कारण उनले यसबाट मुक्ति पाइन् । अहिले क्यान्सरविरोधी अभियानमा सक्रिय छिन् ।
क्यान्सर लागेपछि निको हुने हो वा हैन भन्ने आशंका र खर्च धेरै लाग्छ भन्ने त्रास भरतपुरमा आमालाई उपचार गराउन आएका सुरेश भुलको मात्रै होइन प्रायः सबैलाई हुन्छ । तर क्यान्सर रोगको पनि कम खर्चमा उपचार हुन्छ, उपचारबाट पूर्ण निको हुन्छ र निको भएर पहिलाकै जस्तै सक्रिय जीवन बाँच्न सकिन्छ भन्ने उदाहरण पनि निकै छन् । बन्दना खाँणजस्ता क्यान्सर जितेका व्यक्तिहरु खोज्दै जाँदा एक हैन अनेक फेला पर्छन् । क्यान्सर सुन्दा भयावह लागे पनि सुरुमै उपचार गरे पूरै निको हुने रोग हो ।
बढेको बढ्यै रोगी :
क्यान्सर रोगको मात्रै उपचार गर्न भनी २०५७ सालदेखि सञ्चालनमा आएको भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्रै होइन, काठमाडौं र देशका अन्य भागमा रहेका अस्पतालमा पनि यो रोगको उपचार हुन्छ । सबै अस्पतालमा वर्षैपिच्छे बिरामीको संख्या बढ्दै गएको छ ।

भरतपुरको क्यान्सर अस्पताल प्रशासनबाट प्राप्त विवरण अनुसार सन् २०१६ मा सो अस्पतालको ओपीडीमा एक लाख २१ हजार १३५ जना बिरामी आएका थिए । जसमध्ये चार हजार ५४८ जनालाई क्यान्सर नै भएको पत्ता लागेर भर्ना गराई उपचार गराउनु परेको थियो । जबकि अस्पताल सुरु हुँदा सन् १९९९ मा ओपीडीमा जम्मा सात हजार ९६४ जना बिरामी आएका थिए । जसमध्ये २३२ जनालाई क्यान्सर नै भएको थियो । अरु अस्पतालहरुको अवस्था पनि यही नै हो ।
यहाँको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागले राष्ट्रिय क्यान्सर रजिस्ट्री कार्यक्रम पनि सञ्चालन गर्छ । सन् २००३ देखि भरतपुरको क्यान्सर अस्पतालसहित भक्तपुर क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामीहरुको यी सातवटा अस्पतालमा सन् २००३ मा कुल तीन हजार २५१ जना क्यान्सर रोगीको उपचार भएको थियो तर त्यसको १० वर्षपछि सन् २०१२ मा  क्यान्सर भएर उपचारका लागि यी सातवटा अस्पतालमा आएका बिरामीको संख्या दोब्बर भएर सात हजार २१२ पुग्यो । १० वर्षमा यी सात अस्पतालमा कुल ५६ हजार १३ जना बिरामीको उपचार भयो । जो नेपाली मात्रै थिए ।
‘अस्पतालहरु खुलेपछि उपचार हुन्छ भन्ने जानकारी समाजमा पुग्यो,’ क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुशन्धान विभागमा कार्यरत क्यान्सर रोकथाम विज्ञ किशोर प्रधानाङ्गले भने, ‘पहिला उपचार गराउन वास्ता नगर्नेहरु पनि बिस्तारै आउन थाले । यस कारण पनि संख्या बढेको हुन सक्छ । जे होस्, क्यान्सरका रोगीको संख्या दिन प्रतिदिन बढ्दो छ ।’
उपचारका लागि आउने चौथाई मात्रै :
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुमानमा नेपालमा प्रति एक लाख जनसंख्यामा १२० जनालाई क्यान्सर हुने सम्भावना रहेको प्रधानाङ्ग बताउँछन् । ‘डब्लुएचओको यो अनुमानलाई आधार मान्ने हो भने बर्सेनि ३६ हजार नेपालीलाई क्यान्सरले सताउने गर्छ,’ उनले भने । तर उपचारका लागि अस्पताल आउनेको संख्या यसको २५ प्रतिशत पनि छैन ।
‘रोगले च्यापेर साह्रै दुःख दिन थालेपछि मात्रै अस्पताल आउँछन्,’ प्रधानाङ्ग भन्छन्, ‘त्यसैले उपचारका लागि आउनेको संख्या कम देखिन्छ । भरतपुरको क्यान्सर अस्पतालको सो विभागले क्यान्सरको उपचार हुने देशभरका सात अस्पतालको बिरामीको संख्यासमेत राख्ने गर्छ । यी अस्पतालमा सन् २०१२ मा आठ हजार ८२८ जना क्यान्सर रोगीले उपचार गराएका छन् ।
‘क्यान्सर लागेको सुरुकै अवस्थामा थाहा पाएर उपचार भएमा निको हुन्छ । तर अन्तिम अवस्थामा पुगेकाहरुलाई बचाउन गाह्रै हुन्छ । दुर्भाग्य हाम्रा अस्पतालमा रोग अन्तिम अवस्थामा पुगेकाहरु नै बढी आउँछन्,’ प्रधानाङ्गले भने । जनचेतनाको कमीले यस्तो भएको प्रधानाङ्ग स्वीकार गर्छन् । क्यान्सरको जनचेतना फैलाउन नेपाल अर्बुदरोग निवारण नामक संस्था सक्रिय छ ।
 ‘हाम्रो संस्था २०४२ सालमा स्थापना भएको हो । संस्थाका अध्यक्ष रहेका बेलामा कर्ण शाक्यले ल्याएको सोचले नै नेपालमा क्यान्सर अस्पताल खुलेको हो तर रोकथामका लागि धेरै काम गर्न भने सकिएको छैन,’ नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय सदस्य बद्री अधिकारीले स्वीकार गरे ।
महिलालाई पिरोल्दै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर ः
नेपालका मुख्य तीन क्यान्सर रोगमा फोक्सो, पाठेघरको मुख र स्तन क्यान्सर पर्दछन् । फोक्सोको क्यान्सर महिला पुरुष दुवैलाई हुन्छ । स्तन क्यान्सर फाट्टफुट्ट पुरुषलाई पनि नहुने होइन तर बढी मात्रामा महिलालाई नै हुन्छ । सातवटा अस्पतालको १० वर्षको तथ्याङ्क हेर्दा क्यान्सरबाट पीडित हुनेमा पुरुषभन्दा महिलाकै संख्या धेरै छ ।
क्यान्सर भएका १० वर्षका कुल ५६ हजार १३० नेपालीमध्ये महिला २९ हजार ९०२ र पुरुष २६ हजार १०८ छन् । १० वर्षमा फोक्सोको क्यान्सर हुनेहरु साढे १४ प्रतिशत देखा परे । त्यस्तै पाठेघरको मुखको क्यान्सर हुने ११ दशमलब दुई प्रतिशत र स्तन क्यान्सर हुनेहरु आठ दशमलब चार प्रतिशत छन् । पाठेघर र स्तन क्यान्सर हुनेहरुको संख्या धेरै भएका कारण पुरुषभन्दा महिलाको संख्या बढी भएको हो ।
विकसित देशमा पाठेघरको मुखको क्यान्सर हुने बिरामी ज्यादै नगण्य हुने गरेको भरतपुर क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुशन्धान विभागका प्रमुख भोला सिवाकोटीले जानकारी दिए । नेपालमा महिलाहरुलाई यही क्यान्सरले धेरै पिरोलेको छ ।
विकसित देशहरुमा पाठेघरको मुखको क्यान्सरका बिरामी कम हुनुका दुईवटा कारणहरु छन् । त्यहाँका महिलाहरु भ्याक्सिन (खोप) लगाउने गर्छन् । अर्कोतर्फ पाठेघरको मुखको क्यान्सर भए नभएको थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गर्छन् । नेपालमा यी दुवै कुरा कम हुने गरेको छ । जसका कारण रोगबाट प्रभावित भएर उपचार नै सम्भव नहुने अवस्थामा मात्रै अस्पताल आइपुग्ने गर्छन् ।
 सिवाकोटीका अनुसार पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारकको रुपमा ह्युमन पोपिलोमा भाइरस (एचपीभी) मानिएको छ । विकिसित देशहरुमा किशोरीहरु यो खोप लगाएर ढुक्क हुन्छन् । तर नेपालमा खोपको सुरुवात भर्खर हुँदैछ । ‘भाइरसका कारण पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ९० प्रतिशत छ । खोप लगाउने हो भने भाइरसका कारण हुने क्यान्सर रोकिन्छ,’ सिवाकोटीले बताए ।
यौन सम्पर्क सुरु भएपछि एचपीभीको संक्रमण सुरु हुन्छ । त्यसैले महिनावारी हुनुभन्दा पहिल्यै नौदेखि १२ वर्ष उमेरका किशोरीलाई खोप लगाए प्रभावकारी हुने सिवाकोटीले बताए । विश्वमा सन् २००६ देखि यो खोप लगाउन सुरु भएको हो । नेपालमा २०७२ सालको बजेट भाषणमा खोप सुरु गर्ने भनिएको हो तर गत वर्र्षदेखि चितवन र कास्कीमा खोप कार्यक्रम सुरु भएको छ ।
स्तन क्यान्सरको अवस्था पनि उही हो । स्तन क्यान्सर उपचारमा संलग्न चिकित्सक डा. विश्वराम पौडेलका अनुसार यो रोगले ४० वर्षभन्दा माथि ५०÷५५ उमेरसम्मका व्यक्तिलाई बढी सताएको छ । ‘कम उमेरकालाई पनि नभएको हैन । त्यस्तै निकै वृद्धवृद्धाहरुलाई पनि भएको छ । तर अत्यधिक बिरामी ४० वर्षदेखि ५०/५५ वर्षका रहेका छन्,’ डा. पौडेलले भने ।
सन् २०१६ मा ४६८ जना स्तन क्यान्सरका बिरामी उपचार गराउन आएका थिए । जसमा १४ वर्षसम्मका कोही पनि छैनन् । त्यस्तै ८९ वर्षभन्दा माथिकालाई पनि स्तन क्यानसर भएको छैन । स्तन क्यान्सरको जोखिम ३० कटेपछि बढी हुन्छ । त्यसैले यसले पाको उमेरका धेरैलाई सताउने गरेको चिकित्सक डा. विश्वराम पौडेलले बताए ।
आमा, दिदी, बिहिनी, छोरी वा नजिकको नातेदारहरुमा स्तन क्यान्सर देखिएको छ भने त्यस्ता व्यक्तिलाई स्तनक्यान्सर हुने सम्भावना बढी हुन्छ । ३० वर्षपछि बच्चा जन्माउने महिलाहरु, बच्चा नजन्माएका महिलाहरु, स्तनपान नगराउने महिलाहरु, स्तनमा पहिलादेखि नै गाँठा, गुँठी वा पुराना समस्याहरु भएका तथा एउटा स्तनमा क्यान्सर भएका महिलाहरुलाई पनि अर्को स्तनमा क्यानस्र हुने खतरा प्रवल रहने चिकित्सक डा. विश्वराम पौडेलले बताए ।
‘सुरुकै अवस्थामा उपचारका लागि आए स्तन क्यान्सर मात्रै होइन सबै क्यान्सर पूर्ण निको हुने गर्छ । तर हामीकोमा दोस्रो वा तेस्रो अवस्थामा पुगेपछि मात्रै उपचार गराउन आउनेहरु धेरै छन्,’ डा. पौडेलले भने । आफ्नो स्तनको आफैँले परीक्षण गरेर पनि क्यान्सरको सम्भावनालाई बेलैमा पत्ता लगाउन सकिन्छ ।
डा. पौडेलका अनुसार महिनावारी भएको सात दिनपछि महिलाले स्तन हेरेर र छामेर स्तनमा भएको गिर्खा र परिवर्तनका बारेमा थाहा पाइ राखे रोग पत्ता लगाउन सहज हुन्छ । गिर्खा भेटेमा वा स्तनको रंग र अवस्था अस्वभाविक रुपमा परिवर्तन भएमा स्वास्थ्य संस्थामा जानु पर्ने हुन्छ ।
‘हामी ४० वर्षभन्दा कम उमेरकाहरुलाई अल्ट्रा साउण्ड र त्यसमाथिकालाई मेमोग्राफी परीक्षण गर्दछौं । थप परीक्षण पनि आवश्यक भएमा सवै गर्छौ । यी सवै परीक्षण नेपालमै सम्भव छ,’ डा. पौडेलले भने ।
 स्तन क्यान्सर भएमा शल्यक्रिया, केमो थेरामी वा रेडियो थेरापीसम्म गर्नु पर्छ । सवै प्रकारका उपचार विधि नेपालमै रहेको डा.पौडेलले बताए । उपचारमा एकजना बिरामीलाई डेढ लाख रुपैयाँसम्म लाग्न सक्ने उनले बताए । ‘सर्जरी गर्दा पाँच छ हजार लाग्छ । अलि बढी पैसा लाग्ने भनेको केमो थेरापी र रेडियो थेरापीमा हो । तै पनि सबै गरेर बढीमा डेढ लाख रुपैयाँ खर्च हुन्छ । यसबाहेक बिरामीका आफन्त आउने बस्ने खर्च केही बेग्लै लाग्ला,’ डा.पौडेलले भने ।
उपचार सम्भव छ :
क्यान्सर हुनु जीवनको अन्त्य होइन । यसको उपचार सम्भव छ तर उपचार सुरुमै हुनु पर्छ । भरतपुर क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभाग प्रमुख डा. जया श्रेष्ठ भन्छिन्, ‘सुरुवाती र दोस्रो चरणमा पुगेको क्यान्सर पूर्ण निको हुन्छ । त्यसभन्दा बढी समयको क्यान्सरलाई समाप्त गर्न सकिन्न तर बिरामीको जीवन लम्ब्याउन सम्भव छ ।’
क्यान्सर लागेका बिरामीलाई शल्यक्रिया गर्ने, विकिरणमार्फत उपचार अर्थात रेडियो थेरापी र विभिन्न औषधिहरु मार्फत केमो थेरापी उपचार दिने गरिन्छ । ‘शल्यक्रियाले क्यान्सरग्रस्त अंग काटेर फाल्ने काम हुन्छ । रेडियो थेरापी र केमो थेरापीले क्यान्सर ग्रस्थ शरिरका कोषहरु नष्ट गर्छ,’ क्यान्सर चिकित्सक डा. जया श्रेष्ठले भनिन् । जति चाँडो उपचार गर्न आयो, निको हुने सम्भावना उत्तिकै रहन्छ ।
क्यान्सरले शरीरका अंगहरुलाई बिस्तारै गलाउँदै ल्याउँछ । त्यसैले अन्तिम भएर धेरै दुख्न थालेपछि मात्रै बिरामी उपचारका लागि आउँछ । क्यान्सरको कुनै लक्षण हुँदैन भन्ने आम धारणा छ तर हतपत निको नहुने खोकी, कोठीको रंग र आकारमा परिवर्तन, स्तन वा शरीरका अन्य भागमा दुख्ने नदुख्ने गिर्खा, दिसा पिसाबको बानीमा फरक, असाधारण रक्तश्राव वा पिप, अपच तथा खाना निल्न गाह्रो, पुरानो घाउ निको नहुनु, बिनाकारण वजन घट्नु क्यान्सरका लक्षण हुन् ।
‘यस्ता लक्षणका आधारमा आए सुरुमै उपचार सम्भव हुन्छ । त्यसपछि हामीले बिरामीलाई उपचार गरेपछि पाँच वर्षसम्म क्यान्सर दोहरिएन, उसको दिनचर्या सामान्य रहन्छ । पहिलाको जस्तै कामहरु गर्न सक्छ भने बल्ल ऊ क्यान्सरबाट मुक्त भयो भन्छौं,’ डा. जया श्रेष्ठले भनिन् । यसका लागि चिकित्सकले पाँच वर्षसम्म पटक पटक बिरामीको स्वास्थ्य जाँचहरु गरिरहन्छन् । सुरुवाती अवस्थामा आउनेहरुको प्रायः उपचार सफल भएको छ भन्छन् उनी ।
अस्पतालको सीमित स्रोतसाधनका बीचमा पनि विशिष्ट सेवा दिन सकेको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको भनाइ छ । अस्पतालमा हाल २७५ शैय्या छन् । बिस्तारै चार सय शै्यया बनाएर विशिष्ट उपकरणहरु राखी उपचार उच्च स्तरीय बनाउने वाचा उनको छ । अस्पतालमा रोग पत्ता लगाउने विधि र रेडियो थेरापी सेवामा सुधारको आवश्यकता छ ।
पेट स्क्यान मेसिन भए शरीरको कुन कुन अंगमा क्यान्सर भएको छ र कहाँ कहाँ फैलिएको छ भन्ने सटिक जानकारी पाइन्छ । सो उपकरण ल्याउने चर्चा निकै पहिलेदेखि भए पनि आएको छैन । त्यस्तै विश्वमा रेडियो थेरापी एक हप्ता दिए पुग्छ । नेपालमा छ हप्तासम्म दिनुपर्ने अवस्था छ । केमो थेरापीमा पनि परिस्कृत औषधि आएका छन् ।
‘केमो थेरापीमा विश्व व्यापी रुपमा साइटोसिक ड्रग्सहरु चलाइन्छ । हामी पनि त्यही चलाएका छौं । यसले क्यान्सरग्रस्त कोषहरु मार्छ । यसमा क्यान्सर ग्रस्त कोष मात्रै नभएर अरु पनि मर्न सक्छन् । टार्गेटेड थेरापी पनि आएको छ । यसले क्यान्सर ग्रस्त कोषहरु मात्रै मार्छ । यो पनि हामी चलाउँछौं,’ डा.जया श्रेष्ठले भनिन् ।
इम्युनिटी थेरापी र त्यसको विकसित रुप लिभिङ ड्रग र जिन रिपेयरजस्ता उपचार विधि भने नेपालमा सुरु हुन सकेको छैन । ‘यो नभए पनि उपचार नै नहुने भन्ने पनि हैन । यो उपचार महङ्गो छ । हाम्रोमा धेरैले उपयोग गर्न सक्दैनन्,’ डा. श्रेष्ठले भन्नि । इम्युनिटी थेरापीले शरीरको प्रतिरक्षा प्रणालीलाई नै मजबुद बनाएर क्यान्सरग्रस्त कोषहरु मार्छ ।
लिभिङ ड्रग रक्त क्यान्सर भएका बिरामीका लागि दिन थालिएको छ । बिरामीको रगत लगेर औषधि निर्माताले उसैका लागि मात्रै औषधि बनाउँछन् । एक व्यक्तिका लागि बनाएको औषधि अर्कालाई प्रयोग गर्न मिल्दैन । यसले रगतमा हुने प्रतिरक्षा प्रणालीलाई मजबुत बनाएर क्यान्सरग्रस्त कोषहरु नष्ट गर्छ । जिन रिपेयर ड्रगले क्यान्सर ग्रस्त जीन नै मर्मत गर्ने डा.जया श्रेष्ठले बताइन् ।
‘क्यान्सर उपचारका लागि विश्वमा आएका नवीनतम विधि यी पनि हुन् । तर यी नहुँदैमा हामीले चलाइरहेको उपचार पद्दति कमजोर छ भन्ने हैन,’ डा. श्रेष्ठको भनाइ छ । भरतपुर क्यान्सर अस्पतालले उपलब्ध गराएको विवरण अनुसार अन्तरंग विभागमा उपचारका लागि भर्ना भएका नयाँ बिरामीमा एक दशमलब चार प्रतिशतको मृत्यु हुने गरेको छ ।
भरतपुर क्यान्सर अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. सिबी पुन उचित आहार प्रयोग गर्ने, स्वस्थ्य तथा सक्रिय जीवन शैली अपनाउने हो भने अहिले भएकामध्ये ४० प्रतिशतलाई क्यान्सर नै नहुने बताउँछन् । त्यस्तै बेलैमा उपचार पाएमा ३३ प्रतिशत बिरामी निको भएर जान्छन् । बाँकीलाई पनि प्रभावकारी उपचार गरेर जीवन लम्ब्याउन सकिने सम्भावना रहेको पुनले बताए ।
नियन्त्रण कार्यक्रममा ध्यानै गएन ः
क्यान्सर उपचारका लागि राज्यले केही तदारुकता देखाएकै छ । अस्पतालहरु सञ्चालनमा आएका छन् । बिरामीका लागि सहुलियतको व्यवस्था पनि छ तर क्यान्सर रोकथामको क्षेत्रमा चित्तबुझ्दो कार्यक्रम भएन भन्छन् यस क्षेत्रमा सक्रिय व्यक्तिहरु । क्यान्सर रोकथाम, नियन्त्रण र अनुशन्धानका क्षेत्रमा पनि सरकारले पर्याप्त चासो दिनु पर्ने उनीहरुको आग्रह छ ।
महिलाहरु स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरले बढी पीडित छन् । स्तन क्यान्सर महिला आफैँले छामेर पत्ता लगाउन सक्छन् । त्यस्तै गर्भासयको श्राव परीक्षण गरेर पाठेघरको मुखको क्यान्सर भए नभएको सुरुवाती अवस्थामा नै पत्ता लाग्छ । अहिले त पाँच छ वर्षपछि पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावनाको पहिल्यै जानकारी दिने भिआइए परीक्षण पनि सुरु भएको छ ।
‘गर्भाशयको श्राव परीक्षण चिकित्सकले गर्ने भयो । भिआइए त झन् स्टाफ नर्स वा अनमीले पनि गर्न सक्छन् । प्रत्येक स्वास्थ्य केन्द्रहरुमा भिआइए परीक्षण गर्ने व्यवस्था मिलाए महिलाहरुले ठूलो पीडाबाट राहत पाउने अवस्था छ,’ क्यान्सर रोकथाम विशेषज्ञ किशोर प्रधानाङ्गले भने । उपचारमा उन्नत विधि ल्याउनुका साथै नियन्त्रण र रोकथाममा पनि पर्याप्त ध्यान दिए क्यान्सर सामान्य रोग हुने उनले बताए ।
क्यान्सरलाई जितेकी बन्दना खाँड :
क्यान्सर लाग्नु भनेको जीवनको तत्कालै अन्त्य हुनु हो भनेर बुझ्ने धेरै नै छन् तर यो सोचाइ गलत हो । समयमा उपचार भए क्यान्सर पुर्ण रुपमा निको हुन्छ । क्यान्सरको उपचार दुर्लभ पनि छैन र महङ्गो पनि खासै छैन । भरतपुरकी ४५ वर्षीया बन्दना खाँड यसको उदाहरण हुन् । उनी स्वदेशकै सुलभ उपचारले पूर्ण निको भएर सक्रिय जीवन जिउँदै आएकी छन् ।
खाँडलाई २०७२ सालको भदौमा स्तन क्यान्सर भएको पत्ता लाग्यो । भरतपुरकै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उनको परीक्षण मात्रै भएन उपचार पनि सुरु भयो । असोजमा शल्यक्रिया भयो । कात्तिकबाट केमो थेरी सुरु भयो । फागुनमा उपचार पूरा भयो । केमो थेरापी गर्दा झरेका केशहरु उम्रेका छन् । अहिले त आफूलाई क्यान्सर भएको थियो भन्ने पनि बिर्सन थालिन् ।
‘पहिला पहिला तीन तीन महिनामा परीक्षणका लागि जानु पर्दथ्यो । अहिले छ छ महिनामा जानु परेको छ । परीक्षणमा सबै राम्रो देखिएको छ,’ खाँडले भनिन् । यसबाहेक क्यान्सर भएको भनेर सम्झनु पर्ने कुनै शारीरिक अवस्था छैन ।’
त्यसो त उनी मानसिक रुपमा पनि क्यान्सर मुक्त भइसकेकी छन् । ‘केमो थेरापी गर्दा कहिलेकाहीँ ज्वरो आउँथ्यो । डाइरिया हुन्थ्यो । यस्तो त अरु बेला पनि हुन्छ भनेर सामान्य रुपमा नै लिएँ । कपाल झ¥यो । मुडुलो टाउँको सलले ढाकेर भए पनि कार्यक्रममा गएँ । घरमै बसिनँ,’ खाँडले भनिन् । युएनडिपी, केयर नेपालजस्ता वैदेशिक दातृ निकायमा काम गरेको अनुभव बटुलेकी खाँडले अहिले आफैँ सामाजिक संस्था खोलेकी छन् ।
परिचय नामक संस्था खोलेर उनी क्यान्सरविरोधी अभियानमा लागेकी छन् । ‘पुग नपुग डेढ लाख रुपैयाँमा मेरो उपचार पूर्ण भएको हो,’ खाँडले भनिन् । क्यान्सर सुरुमै पत्ता लागेका कारण कम खर्चमा पूर्ण उपचार सम्भव भएको हो । नेपालमा क्यान्सर लागेपछि सुरुमै उपचार गराउने आउने भने कम छन् । यो अवस्था नरहोस् भन्नका लागि चेतना फैलाउने अभियानमा आफू लाग्ने खाँडले बताइन् ।
तथ्याङ्कमा एक दसकको मुख्य तीन क्यान्सरको अवस्था:
     क्यान्सर   २००३    २००४    २००५    २००६    २००७    २००८    २००९    २०१०    २०११    २०१२  जम्मा   
१    फोक्सो    ४३८    ६०२    ६४२    ६७९    ९९५    ९१८    ९३५    ९४२    ९७३    ९७७    ८१०१    १४.४
२    पाठेघर    ४४१    ४८३    ५०१    ५५५    ६४८    ७३२    ६८८    ६९९    ७५५    ७४७    ६२४९    ११.२
३    स्तन    २८४    ३१७    ३७८    ४३२    ४६३    ५०७    ५२४    ५४०    ६२२    ६६२    ४७२९    ८.४

स्राेत:देशभरका सात अस्पतालको यो एकीकृत तथ्याङ्क भरतपुर क्यान्सर अस्पतालको क्यान्सर नियन्त्रण, रोकथाम तथा अनुशन्धान विभागबाट प्राप्त भएको हो ।

प्रकाशित: १६ कार्तिक २०७४ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App