५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

आजदेखि इम्बोस्ड नम्बर प्लेट

सरकारले सोमबारदेखि सवारीसाधनमा आधुनिक प्रविधिको इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा ल्याउने भएको छ।

सवारीसाधनलाई प्रविधिमैत्री बनाउन र चोरीबाट जोगाउन इम्बोस्ड नम्बर प्लेट सुरु गर्न लागिएको हो। गत वैशाखदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरिएको इम्बोस्ड नम्बर प्लेट पाँच महिना ढिलो गरी कार्यान्वयनमा आउन लागेको हो।

इम्बोस्ड नम्बर प्लेटको उद्घाटन सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले गर्नेछन्। उद्घाटनको केही दिनपछि विभागले सेवा सुरु गर्नेछ।

'अरु मुलुकले धेरैअघि नै इम्बोस्ड नम्बर सञ्चालनमा ल्याइसके, हामीले पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै कार्यान्वयनमा ल्याएका हौँ,' यातायात व्यवस्था विभाग महानिर्देशक रूपनारायण भट्टराईले भने। कम्प्युटरकृत प्रविधिमा आधारित भएकाले यो नम्बर प्लेटबाट सवारीको लोकेसन पत्ता लाग्नेदेखि चोरीबाट जोगाउन समेत उपयोगी हुने उनले बताए। इम्बोस्ड नम्बरमा विशेष प्रकारको विद्युतीय चिप्स राखिएको हुन्छ। चिप्सकै माध्यमले सवारीसाधनको अवस्थाबारे जानकारी लिन सकिने उनले जानकारी दिए।

इम्बोस्ड नम्बर प्लेटको उद्घाटन सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले गर्नेछन्। उद्घाटनको केही दिनपछि विभागले सेवा सुरु गर्नेछ।

'प्राविधिक रूपमा इम्बोस्ड जडान कार्यको सबै तयारी भइसक्यो, अब केही प्रशासकीय तथा कानुनी प्रक्रिया सकेर तीन दिनभित्रै सञ्चालनमा ल्याउनेछौँ,' भट्टराईले भने, 'पहिलो चरणमा इम्बोस्ड नम्बर वाग्मती अञ्चलमा मात्रै कार्यान्वयनमा ल्याइनेछ।'

सरकारले नीति तथा कार्यक्रममा समेत इम्बोस्ड नम्बर प्लेटको योजना ल्याएको थियो। विभागले ०७३ वैशाखमा इम्बोस्ड नम्बर छाप्ने जिम्मा ग्लोबल टेन्डरमार्फत अमेरिका र बंगलादेशको संयुक्त कम्पनी डेकाटुर टाइगर आइटीलाई दिइसकेको छ।

कम्पनीले पाँच वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको छ। 'इम्बोस्ड नम्बर प्लेटको डाटा सेन्टर यातायात विभागमै रहनेछ,' विभाग प्रवक्ता टोकराज पाण्डेले भने, 'सेवाग्राहीको व्यक्तिगत गोपनीयतामा संवेदनशील छौँ।' पाण्डेले इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि निकाल्न नमिल्ने बताए। 'यो बलियो र निकै किफायती हुन्छ, एकपटक जडान गरेपछि फेरि खोल्न मिल्दैन,' उनले भने, 'खोल्नुपरे प्लेट नै काट्नुपर्ने हुन्छ।'

विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले इम्बोस्ड नम्बर अनुगमन गर्नेछ। 'सवारी दुर्घटनामा परे पनि इम्बोस्ड नम्बर प्लेटका माध्यमबाट ठाउँ पत्ता लगाउन सकिनेछ,' उनले भने। विभागले इम्बोस्ड जडान गरेका सवारीसाधनको अनुगमन र निरीक्षणका लागि १० वटा 'आरएफआइडी स्टेसन' बनाउने जनाएको छ। स्टेसनले सवारीसाधनमा प्रयोग हुने 'आरएफआइडी' रेडियो फ्रिक्वेन्सीमार्फत सवारीको अनुगमन र निरीक्षण गर्नेछन्। त्यसले सवारी रहेको स्थानमा, सवारी धनीको विवरण, सवारीको च्यासिस नम्बर, कर भुक्तानीको विवरणलगायतको अनुगमन गर्नेछ।

मुलुक प्रादेशिक, इम्बोस्ड अञ्चलअन्तर्गत

मुलुक प्रादेशिक संरचनामा जाने निश्चित भए पनि विभागले भने अञ्चलकै आधारमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन गर्न लागेको छ।

विभागले पहिलो चरणमा अञ्चलकै नाममा इम्बोस्ड नम्बर प्लेट जारी गर्नेछ। महानिर्देशक भट्टराईले पहिलो चरणमा वाग्मती अञ्चलमा मात्रै लागू गर्न लागिएको बताए। उनले मुलुक प्रादेशिक संरचनामा गएपछि त्यसैअनुरूप इम्बोस्ड नम्बर प्लेट वितरण गरिने बताए।

कति लाग्छ जडान शुल्क?

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान शुल्क निर्धारण गरेको छ। सवारीको प्रकृतिअनुसार जडान शुल्क फरक–फरक छ। दुईपांग्रे सवारीका लागि दुई हजार पाँच सय, तीनपांग्रेका लागि दुई हजार नौ सय, चारपांग्रे साना सवारीका लागि तीन हजार दुई सय र अन्य ठूला सवारीका लागि तीन हजार ६ सय रुपैयाँ तोकिएको भट्टराईले जानकारी दिए।

सेवाग्राहीले अनलाइनबाटै इम्बोस्ड नम्बर प्लेटको फारम भर्न सक्नेछन्। फारम भरेर तोकिएको शुल्क राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरेपछि सेवाग्राहीले नम्बर प्लेट जडान गर्न पाउनेछन्।

के हो इम्बोस्ड नम्बर प्लेट?

उच्च प्रकारको सेक्युरिटी नम्बर र जिपिएस सिस्टम जडान गरिएको नम्बर प्लेट नै इम्बोस्ड नम्बर प्लेट हो। यसका माध्यमले सवारीसाधनको अवस्थाबारे जानकारी लिन सकिन्छ। 'रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस'ले सवारीसाधनबारे जानकारी दिन्छ। यो नम्बर प्लेट एकपटकभन्दा बढी प्रयोग गर्न सकिँदैन।

प्रकाशित: ५ भाद्र २०७४ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App