साहसिक खेलले मनलाई एकाग्र बनाउँछ । तनावबाट मुक्ति मिल्छ । आत्मविश्वास बढ्छ । मनमा आनन्द छाउँछ । तन र मन दुवैमा स्फूर्ति बढ्छ । त्यसैले त छाँगावरोहण, पदयात्रा, राफ्टिङ, साइक्लिङ, प्याराग्लाइडिङ, बञ्जी जम्पजस्ता गतिविधिमा झुम्मिँदैछन् नेपाली । स्वस्थ शरीर र आँटिलो मन भएकाहरु एडभेन्चरमा रमाउँछन् ।
क्यानोनिङ
प्याकेज मूल्य ३५ सय रुपैयाँ
जनबोलीमा क्यानोनिङ शब्द चल्तीमा छ तर यसको नेपाली नाउँ छाँगावरोहण हो । अर्थात्, छाँगाको शीरबाट डोरी समातेर पानीमा रुझ्दै तल झर्ने खेल । झरनाको शीरमा गाडिएको अंकुशमा डोरी अड्काइन्छ । त्यही डोरी समातेर बिस्तारै तल झरिन्छ । कुशल गाइडको निर्देशनमा पानीमा रुझ्दै, ढुँगामा चिप्लिँदै र दहमा डाइभ हान्दै क्यानोनिङ गरिन्छ ।
क्यानोनिङ गर्न विशेष किसिमको पोसाक चाहिन्छ । टाउकामा हेलमेट हुन्छ । हार्नेस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लिनु पर्छ । फिगरएटले डोरीलाई सघाउँछ, क्याराभेनर डोरी र शरीरमा बाँधिन्छ । जुमर डोरीमै हुन्छ । खेलाडीको हातमा ब्रेक हुन्छ । गति ढिलो गर्न वा झरनामै रोकिन ब्रेक समाते पुग्छ । खेल सुरु गर्नुअघि गाइडले सिकाउँछन् ।
छाँगावरोहणका अधिकांश ग्राहक नेपाली हुन्छन् । विशेषतः १८ देखि ३० वर्षका युवाले यस खेलमा भाग लिने गरेका छन् । छाँगावरोहण नयाँ पर्यटन प्रोडक्ट हो । फ्रान्सेली नागरिक मोरिस दुसेनको सहयोगमा सन् २००२ मा लमजुङको भुलभुलेदेखि मनाङको तालसम्म यसको अध्ययन गरिएको थियो । अनि सन् २००५ देखि व्यावसायिक रुपमा गर्न थालियो । सन् २००७ मा नेपाल क्यानोनिङ एसोसिएसन गठन भयो ।
नेपालमा तीन दर्जन हाराहारीमा क्यानोनिङका गाइड छन् । व्यावसायिक रुपमा सञ्चालित झरनाहरुमा सिन्धुपाल्चोकका जम्बु, काब्रे, हाँडी, गलुङ र फयाङ फुङ, काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी क्षेत्र, भुलभुले, कास्कीको ल्वाङ र घलेल, धनकुटाको नमस्ते झरना र स्याङ्जाको सुन्तलाबारी झरना आदि पर्छन् । ती ठाउँमा कम्पनीहरुले प्याकेजमा क्यानोनिङ गराउँछन् । सामान्यतः एक दिने प्याकेजको ३५ सय रुपैयाँ पर्छ । प्याकेजमा गाडी सुविधा, ब्रेकफास्ट, लन्च र खेल सुविधा हुन्छ ।
विज्ञको सुझाव
राजेन्द्र लामा
अध्यक्ष, नेपाल क्यानोनिङ संघ
दस जनाको समूहमा आउँदा कम्पनीलाई क्यानोनिङ गराउन सजिलो हुन्छ । साथमा टावल, स्पोर्ट सु, हाफ प्यान्ट, स्यान्डो, क्याप आदि बोक्ने । घडी, गहनालगायत महँगा सामान नबोक्ने ।
६ वर्षदेखि ७५ सम्मका उमेर समूहकालाई क्यानोनिङ गराइन्छ । शरीरमा चोटपटक लागेको, मुटु रोगी, ढाड दुख्ने समस्या भएका र पानीसँग डराउनेले क्यानोनिङ गर्नु हुँदैन ।
गाइडको निर्देशन पालना गर्ने । धैर्यतापूर्वक छाँगोबाट तल झर्ने । समूहबीच सहकार्य गर्ने । होहल्ला, तडकभडक नर्गने, फूल, बिरुवा नउखेल्ने ।
मदिरा सेवन गरेर क्यानोनिङ गर्नु हुँदैन । गरिसकेपछि सुरक्षित ठाउँमा बसेर रमाइलो गर्ने । तस्बिर खिचाउने ।
आफ्नो शरीरको सुरक्षा गर्ने । परिवारलाई खबर गरेर मात्र यो साहसिक खेलमा सहभागी हुने ।
साइक्लिङ
माउन्टेन बाइकको भाडा दिनको ५ सय रुपैयाँ
नेपालको सहरी भेगमा धुँवा, धुलो र कोलाहल छ । सहरबाट केही किलोमिटर बाहिर काँठ क्षेत्र (गाउँतिर)मा साइक्लिङ गर्ने हो भने स्वच्छ हावा, हरियाली र गाउँले जीवनशैली भेटिन्छ । त्यति मात्र होइन, साइक्लिङले शरीरको राम्रो अभ्याससमेत हुन्छ । त्यसैले पछिल्लो समय काठमाडौँ, धरान र पोखरालगायत सहरमा माउन्टेन बाइकिङ मौलाउँदैछ ।
त्यसो त विदेशी पनि साइकल चढेर घुम्नकै लागि नेपाल आउँछन् तर त्यो संख्या थोरै छ । उनीहरु अन्नपूर्ण क्षेत्रका पदमार्गमा साइकलमा डुल्छन् । अचेल मुस्ताङ र मनाङतिर पनि साइकलमा घुम्ने नेपाली बढ्दैछन् । साइकलमै रारा ताल पुग्नेहरु पनि छन् । विश्व साइकल यात्री पुष्कर शाहको समूहले तन्नेरीहरुलाई साइक्लिङमा प्रोत्साहित गर्दैछ ।
सरकारले साइक्लिङ अनुकूलका नीति बनाउन जरुरी छ । काठमाडौं उपत्यकाको हकमा सेरोफेरोका ककनी, पानी मुहान, मूलखर्क, चिसोपानी, नगरकोट, धुलिखेल, बल्थली, लाँकुरीभन्ज्याङ, गोदावरी राम्रा गन्तव्य हुन् । त्यसबाहेक उपत्यकाबाहिर मार्खू, दामन, चितवन, पाल्पा, पोखरा, जोमसोम, मुक्तिनाथ, अन्नपूर्ण क्षेत्र र मुस्ताङको साइकल यात्रा साहसिक हुन्छ ।
सहरसँग जोडिएका मुड्खु भञ्ज्याङ, तीनपिप्ले, टोखा र शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज, खोकना साइक्लिङका लागि आकर्षक गन्तव्य हुन् । सहरमा साइक्लिङ प्रवद्र्धन गरी प्रदूषण कम गर्न सडकमा साइकल लेन बनाउनु पर्ने व्यवसायीको माग छ ।
ठमेल, झम्सिखेल र लाजिम्पाटतिरका पसलमा माउन्टेन बाइक भाडामा पाइन्छ । तिनले दिनको ५ सयदेखि १५ सय रुपैयाँसम्ममा भाडा लिन्छन् । सहरमा आधुनिक माउन्टेन बाइक किन्न पाइन्छ । सामान्यतः दस हजारदेखि ७० हजार मूल्यका माउन्टेन बाइक चल्तीमा छन् । केही सौखिनहरुले विदेशबाट लाखौं मूल्यका साइकल झिकाएर चढ्दै आएका छन् ।
विज्ञको सुझाव
रञ्जन राजभण्डारी
सचिव, नेपाल साइक्लिङ संघ
साइक्लिङ गर्ने बाटोको पूर्वजानकारी हुनुपर्छ । साथमा नक्सा भए राम्रो । साइकलको अवस्था ठीक छ कि छैन पहिल्यै परीक्षण गर्ने ।
साइकल चढ्नुअघि चाहिने सामान, हेडसेटदेखि तल बटम ब्राकेट सिट र पछाडिको चक्कासम्म चेक गर्ने । साथमा मर्मत सामान र जगेडा ट्युब बोक्ने । मर्मत सामग्रीमा एलेन कि सेट, चेन टुल, हावा हाल्ने पम्प, पञ्चर बनाउने सामान ग्लु र प्याच बोक्ने ।
मदिरा सेवन गरेर साइकल चढ्नु हुँदैन, सन्तुलन गुमेर दुर्घटना हुन सक्छ ।
काब्रोहाइड्रेट र प्रोटिनयुक्त खाना खाने । प्रशस्त पानी र चकलेट बोक्ने वा बाटोमा किन्दै खाने । आकस्मिक अवस्थामा सम्पर्क गर्ने व्यक्तिको नाउँ र नम्बर बोक्ने ।
साइक्लिङ सकेपछि स्नान गरेर शरीरलाई आरामको व्यवस्था गर्ने ।
र्याफ्टिङ
एक दिने प्याकेज मूल्य २५ सय रुपैयाँ
ठूलो डुङ्गामा चढेर नदीहरुमा यात्रा गर्नुलाई र्याफ्टिङ भनिन्छ । विशेषतः गर्मी याममा र्याफ्टिङ गरिन्छ । यसले सामूहिक भावनाको विकास गराउँछ । यो खेल शीतल, रोमाञ्चक र साहसिक हुन्छ । विशेषतः त्रिशूली र भोटेकोसीमा गरिन्छ । भोटेकोसीमा भन्दा त्रिशूलीमा र्याफ्टिङका लागि भिड लाग्ने गर्छ । वर्षमा करिब ६० हजार जतिले नेपालमा र्याफ्टिङ गर्छन् । तिनमा ६० प्रतिशत नेपाली हुने नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा)को अनुमानित तथ्याङ्क छ ।
कम्पनीहरुले भोटेकोसीमा डे ट्रिपको २५ सय, एक रात बस्ने गरी जाँदा चार हजार रुपैयाँ लिन्छन् भने त्रिशूलीमा डे ट्रिपको दुई हजार र रात बस्ने गरी जाँदा ३५ सय रुपैयाँ तिर्नुपर्छ । प्याकेजमा आउने/जाने बस, लन्च, डिनर र बास सुविधा हुन्छ ।
नेपालमा सन् १९६० को दसकमा त्रिशूलीमा र्याफ्टिङ एक्सप्लोर गरिएको थियो । आज त्रिशूली, तमोर, अरुण, सुनकोसी, भोटेकोसी, तामाकोसी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी, महाकालीलगायत नदीमा र्याफ्टिङ गराइन्छ ।
बर्खाका असार र साउन दुई महिना र्याफ्टिङ गरिँदैन । फागुनदेखि जेठ र भदौदेखि कात्तिकसम्मलाई र्याफ्टिङको पिक सिजन मानिन्छ । र्याफ्टिङ गर्दा टाउकामा हेल्मेट र जिउमा लाइफ ज्याकेट लगाउनुपर्छ । गाइडको इशारामा बहाना चलाइन्छ । एक दिने प्याकेजमा तीनदेखि चार घण्टा गराइन्छ । डुङ्गा वरपर कायाक हुन्छन् । समस्या प¥यो भने तिनले उद्धार गर्छन् ।
कम्पनीहरुले ७ वर्ष माथिकालाई र्याफ्टिङ गराउँछन् । नेपालमा ६ दर्जनको हाराहारीमा र्याफ्टिङ कम्पनी छन् । काठमाडौँको ठमेल, लाजिम्पाट, पोखरा, त्रिशूली र भोटेकोसीमा कम्पनीहरु छन् । चार सय जति गाइड छन् । दुई सय पचासभन्दा बढी नेपाली गाइड वर्षका केही महिना जापान, भारत, नर्वे, आइसल्यान्ड, अमेरिका, इटाली, दुबई लगायत देशमा र्याफ्टिङमा सघाउन जान्छन् ।
विज्ञको सुझाव
इन्द्र राई
सञ्चालक, र्याफ्टिङ स्टार
तुना कस्न मिल्ने हाफ पाइन्ट र जुत्ता–चप्पल, टिसर्ट, क्याप, सन ग्लास, सन क्रिम, पावर चस्मा अड्याउने डोरी बोक्ने, फेर्ने लुगा र खुद्रा पैसा साथमा राख्ने । बहुमूल्य गहना, ग्याजेट, घडी आदि नबोक्ने । वाटरफ्रुफ क्यामेरा बोक्ने ।
गाइडको ब्रिफिङ ध्यानपूर्वक सुन्ने, उसकै निर्देशनअनुसार डुङ्गा खियाउने । सुरक्षा निर्देशिका पालना गर्ने । जिम्मेवारीपूर्वक डुङ्गामा बस्ने ।
राति बास बस्नेगरी जाँदा क्याम्पिङको सीमाबाहिर नजाने । जानुपर्दा अनुमति लिएर मात्र जाने । खोलाको छेउछाउ नजाने । पौडी खेल्दा सुरक्षित उपाय अपनाउने ।
९० प्रतिशत दुर्घटना ¥याफ्टिङ गर्नुभन्दा अगाडि र पछाडि हुने गरेका छन् । त्यसैले बगरमा हिँड्दा पनि ख्याल गर्ने । हरेक कुरामा होश पु¥याउने ।
प्याराग्लाइडिङ
पोखरामा ३० मिनेट प्याराग्लाइडिङ गरेको ५५ सय रुपैयाँ
एक प्रकारको पखेटाजडित ग्लाइडरमा बसेर अग्लो ठाउँबाट ओरालोतिर दगुर्दै जाँदा हावाको बहावसँगै उड्ने खेल प्याराग्लाइडिङ हो । यसमा इन्जिन हुँदैन, हावाको वेगअनुसार पाइलटले उडाउँछन् । मौसमले साथ दिए लगातार ७ घण्टासम्म उड्न सकिन्छ । ग्लाइडरमा पाइलटसँगै अर्काे एक जना यात्रु उड्न मिल्छ । यस्तो उडानलाई टेन्डम फ्लाइट भनिन्छ ।
विशेषतः पोखरा र धरानमा व्यावसायिक उडान गरिन्छ । प्याराग्लाइडिङका लागि पोखरा स्वर्गै हो । आकाशमा उडेका बेला कुमारी माछापुच्छे«सहित अन्नपूर्ण, धौलागिरिदेखि लमजुङ हिमालसम्म हेर्न र खिँच्न पाइन्छ । पोखराका बजार, गाउँ, तालतलैया, मन्दिर र गुम्बा त देखिने नै भयो ।
कम्पनीहरुले सराङकोट र तोरीपानीबाट उडान भर्छन् । उनीहरु फेवाताल किनारमा ल्यान्ड गराउँछन् । अचेल नेपाली युवाको ठूलो संख्या पनि प्याराग्लाइडिङमा रमाउन थालेको छ ।
नेपालमा दुई दसकअघि बेलायती पाइलट एडम हिल र नेपाली पर्यटनकर्मी बिरु बमजनको प्रयासमा प्याराग्लाइडिङ भित्रिएको हो । अहिले पोखरामा मात्रै पाँच दर्जन हाराहारीमा प्याराग्लाइडिङ कम्पनी छन् । नेपालको पहिलो कम्पनी सनराइज हो भने पहिलो पाइलट राजेश बमजन ।
सगरमाथाबाट ग्लाइडर उडाएर संसारमै चर्चित बनेका सानोबाबु सुनुवारदेखि करिब ४ सय जना नेपाली पाइलट तयार भैसके । तीमध्ये दुई सय जनाले टेन्डम फ्लाइट गर्न सक्छन् । बाँकी एक्लै उड्छन् ।
करिब आधा घण्टा प्याराग्लाइडिङ प्याकेजको मूल्य ५५ सय रुपैयाँ पर्छ । यसमा पोखराको लेकसाइडदेखि सराङकोटसम्म जीप सुविधा, उडान र ल्यान्ड भैसकेपछि फेवाताल किनारदेखि कम्पनीको कार्यालयसम्म यातायात सुविधा हुन्छ । गर्धनमा भिर्ने क्यामेरा बोकेमा ग्लाइडरमा बसेर वरपरका दृश्य खिच्न सकिन्छ । कम्पनीहरुले ग्लाइडर र पाइलटसहित खिचेको भिडियो र फोटोको थप १५ सय रुपैयाँ लिन्छन् ।
विज्ञको सुझाव
सानोबाबु सुनुवार
प्रमुख, बाबु एडभेन्चर स्कुल
उडाउने कम्पनीको बीमा छ कि छैन, पाइलट अनुभवी हो होइन बुझ्नुपर्छ । कम्पनीसँग मौसम, टेक अफ र ल्यान्ड गर्ने ठाउँको जानकारी लिनुपर्छ ।
कात्तिकदेखि माघसम्म उड्दा ज्याकेट र विन्ड स्टपर लगाउनुपर्छ । रनिङ सुज भए राम्रो, नत्र स्पोर्ट सु लगाउने । साथमा ज्वेलरी, वालेट, मोबाइल फोन नबोक्ने । ती सामग्री बोक्दा कहिलेकाहीँ झर्न सक्छ र नोक्सान हुन्छ ।
छारे रोग भएको, उचाइमा डराउने मान्छेले प्याराग्लाइडिङ नगर्ने । सामान्यतः पिङमा मच्चिएको मान्छे उड्न सक्छ । धूमपान र मद्यपान गरेर उड्नु हुँदैन । बस यात्रामा वाकवाकी लाग्नेहरुले प्याराग्लाइडिङ गर्न जाँदा खाजा÷खाना नखाई जानु पर्छ ।
बच्चादेखि वृद्धसम्म उड्न सक्छन् । १५ किलो तौलदेखि १२५ किलो तौल भएकासम्मलाई उडाइन्छ तर २५ किलोभन्दा मुनि र ९० किलोभन्दा माथिकालाई उडाउन विशेष अनुभवी पाइलट चाहिन्छ । १६ वर्ष मुनिकालाई उडाउन परिवारको अनुमति चाहिन्छ ।
प्रकाशित: २३ श्रावण २०७४ ०४:३४ सोमबार