६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

भरतपुरमा ९० मतपत्र च्यातिएको यकिन

चितवन – भरतपुर महानगरपालिकाको वडा नं. १९ मा मतगणना चलिरहँदा आइतबार मध्यरातमा च्यातेर नोक्सान भएको मतपत्रहरुको संख्या यकिन भएको छ। निर्वाचन आयोगको निर्देशनमा भरतपुरका मुख्य निर्वाचन अधिकृतले उम्मेद्वार, दलका नेताहरु र उनीहरुका प्रतिनिधिहरुलाई राखेर बिहीबार मतपत्रको के अवस्था छ भन्ने निक्र्यौल गरेका हुन्।

वडा नं. १९ मा दुई हजार ८९७ मत खसेको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए। जसमध्ये एक हजार ८०९ मतपत्र गनेर नतिजा पनि घोषणा भएको थियो। ती मतपत्रहरु अलग्गै सुरक्षित थिए। गन्ने क्रममा रहेका र गन्न बाँकी गरेर कुल एक हजार ८८ मतमध्ये ९९८ मत मात्रै सही अवस्थामा रहेको न्यौपानलेले जानकारी दिए।

‘सबै हेर्दा ९० मत नोक्सान भएको भेटियो। आयोगले संख्या यकिन गर्नु भनेका कारण यही विवरण मैले पठाउने छु। थप निर्णय आयोगले गर्नेछ’ भरतपुरका मुख्य निर्वाचन अधिकृत न्यौपानेले भने। वडा नं. १९ को १८ सय मत गणना हुँदा मेयर पदमा एमालेका उम्मेद्वार देवी ज्ञवाली र माओवादी काँग्रेस गठबन्धनबाट उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेणु दाहालबीच ७३३ मतको अन्तर थियो । मेयरमा एमालेका ज्ञवालीले अग्रता लिइरहेका थिए।

थप मत गन्दै गर्दा मध्यरातमा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यातेको आरोपमा चितवन प्रहरीले माओवादी केन्द्रका दुईजना गणना प्रतिनिधिलाई गिरफ्तार गरेको थियो। मतपत्र च्यातिएपछि एमालेले च्यातिएका मतपत्र अलग गरेर गणना सुरु गर्न माग गरेको छ । काँग्रेस माओवादीले वडा नं. १९ मा फेरि मतदान गर्न माग गरेका छन् ।

एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले थोरै मत च्यातिएको भेटिएका कारण गणना नै हुनु पर्ने अडान दोहराए। नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले मतदान हुनु पर्नै आफ्नो माग कायमै रहेको तर निर्वाचन आयोगले गर्ने निर्णय काँग्रेसले मान्ने बताए।

प्रकाशित: १८ जेष्ठ २०७४ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App