४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

दूधेदाँतमा किरा लाग्न नदिन

डा. श्वेता धिताल
बाल दन्तरोग विशेषज्ञ

बच्चाको दाँत पाँच÷छ महिनादेखि उम्रिन सुरु हुन्छ । साढे दुईदेखि तीन वर्षसम्ममा उनीहरूका २० वटा दाँत उम्रिसक्छन् । यी सबै दूधेदाँत हुन् । जुन पछि साटिन्छन् । ‘साटिने दाँत न हो, किन सफा गर्नु ? अर्को आइहाल्छ नि’ भन्ने धेरैको धारणा हुन्छ ।
बच्चाहरूले आमाको दूध खाइरहेका हुन्छन् । दूधदानीबाट पनि दूध खाइरहेका हुन्छन् । बच्चाको दाँत दूधमा डुबिरहेको हुन्छ । यस्तो अवस्थामा बालबालिकाको माथिपट्टिको दाँतमा किरा लाग्छ ।
बजारमा बच्चाका लागि नरम खालका ब्रस पाइन्छन् । मन्जन पनि सोही अनुसारका पाइन्छन् । साना बच्चाले थुक्न जान्दैनन् । ब्रस गर्दा मन्जन निल्छन् । फ्लोराइड भएको मन्जन निल्दा उनीहरूलाई असर गर्छ । यसको लागि तीन वर्षमुनिका बच्चाहरूलाई फ्लोराइड नभएका मन्जन दिनुपर्छ ।
बच्चाहरूको दाँत उम्रेदेखि नै सफा गरिदिनुपर्छ । धेरै साना नानीहरूको हकमा कपासलाई नुनपानीमा डुबाएर सफा गरिदिन सकिन्छ । जुन बेलादेखि बच्चाले जुत्ताको लेस आफैँ बाध्न सक्छ, त्यसपछि मात्रै राम्रोसँग ब्रस गर्न सक्छ भन्ने भनाइ पनि छ । त्यसैले राम्रोसँग दाँत सफा गर्न नसक्ने बच्चालाई भने आमाबुबाले सघाउनुपर्छ ।
किरा लाग्ने/नलाग्ने कुरामा दाँतको बनावटको भूमिका हुन्छ । कसैले जति चकलेट खाँदा पनि किरा लाग्दैन । कसैकोमा लागिहाल्छ । क्याल्सियमको कमी भएको दाँतमा बढी मात्रामा किरा लाग्छ । दाँतमा किरा लागेपछि पिप जम्छ । दुख्छ । गाला सुन्निन्छ । कसैको त २० वटा दाँतमा १५/१६ वटामा नै किरा लागेको हुन्छ । कसैको दाँतको भित्रसम्म किरा लाग्छ । जसको लागि जरादेखि नै उपचार गर्नुपर्छ । उपचार प्रक्रिया पनि लामो हुन्छ । सुरुको दाँतमा किरा लाग्यो भने पछि आउने दाँतमा पनि असर पर्छ । बच्चाको दाँतको किरा अरू मान्छेमा सर्दैन । तर, उनीहरूको एक दाँतबाट अर्को दाँतमा भने सर्न सक्छ ।
कहिलेकाहीँ साटिने र नसाटिने दाँतका बीचमा किरा सर्छ । दाँत यताउति सर्ने हुन्छ । बांगोटिंगो हुन्छ । त्यसैले अभिभावकले दूधेदाँत त हो नि भनेर हेलचेक्य्राइँ गर्नु हुँदैन । ठूलो मान्छेले जस्तो सिकायो सानाले पनि त्यस्तै गर्छन् । त्यसैले सानै बेलादेखि ब्रस गर्ने बानी बसाल्नुपर्छ ।

प्रकाशित: २० वैशाख २०७४ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App