४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्य

स्वाभिमानको शोकगीत

यतिखेर म अलमलमा छु । समूहीकृत भावोपभावमा रोलकोल गर्दै इमानको हारमय कोरस गाउँ कि, उच्चाटलाग्दा स्वरलहरी मिसाएर स्वाभिमानको एकल शोकगीत ? भावनागांगेय सुकोमल गीतहरूले त जहिल्यै मानिसका मन शिखरका सन्तापमय उँधौली–उँभौलीहरूलाई सुसम्बोधन गर्नु पर्ने हो । मिहीन संगीतले झन् दुःखैदुःखका पत्रे चट्टान र सुखैसुखका मधुरम अजस्र सिम्फोनीहरूलाई बेमिसाल तरंगमा झक्झक्याउनुपर्ने हो, तर कसोकसो सकिरहेका छैनन् । छरिएका घटनाको सरहदभित्रै इतिहासले घुँडा जोतेर ठड्याएका धरोहरहरूलाई हामीले नवोन्मेषी हर्षानुभूतिको धपेडीमा जानीनजानी धूलीसात बनायौँ । प्राची संस्कृति अपचलन गरेका बेहद् खुसियालीमा अझ उत्तुंग नाँच नाच्दै इमानको मैजारो ग¥यौँ । विचारको छेकारो मारेर कहीले आमाको मनितोको ख्यालसम्म नगरी एकताको दोसल्लालाई चिथ्राचिथ्रा बनाएर आफल्यौँ । बहुधा बन्धुका अश्रु तप्क्याउने नयनाभिराममा गजबार हालेनौँ । नसक्ने भारी बोक्यौँ । घोकेर नतुरिने पाठ पढ्यौँ ।

हर्षका ब्याडहरू कोपभाजनका सिकार भएकैले होला नवीन वर्तमान प्राप्तिको आशौचमा नैरन्तर बरखी बारिरहेको छ । विगत हामीसँग गुरुभेटी माग्छ कि भन्ने डरले अनुभवको सारस्वरलाई किनारीकृत गर्दै बिर्सने उद्योग गर्दैछौँ । परिणामतः समयमा यतिखेर चौतर्फी चिलासा लागेको छ । इमानका दुर्गहरूमा मुच्का लागेका छन् । इज्जतका नगहरू आरोहण गर्न नसकी चौतर्फी रूपमा मानिस झुण्डझुण्डमा सलहका हुलझैँ मातृभक्षी माकुराका अनुजझैँ गड्यौँला रूपाकृतिमा सल्बलाएका छन् । अहिले मानिस पूर्ण मानिस बाँच्न सक्ने हैसियत गुमाउँदो छ । ससाना नानीहरू मीठो निदरीमा सुस्ताएकै बेला करेसामा जताततै कैफियतका हाप्सिलाहरू कराएका छन् । दु्न्दुभी बजाएर पर्यावरण नै कोहराम भएको छ । कोलाहलले हलाहल बिष वमन गरेको देखेर मुमुक्षु शान्तिको त्राण पाउन नसकिरहेको अवस्था विद्यमान छ । आनन्दको विरामबाहेक धेरै थोक अविराम चलेका छन् । अविचल गतिमा चलायमान छन् ।
...

ऐरावणका हैहुकुम चलेकाले रामहरू निदहराम भएर कि त इज्जत आमद जोगाउन सुदूर कन्दारामा बास बसेका छन् कि घरका लागि घरबाहिर भन्दै हिँडेका छन् । घर घरजस्तो छैन । देश देशजस्तो पनि रहेन । दुःखको कुरा घरदेश र परदेश कतै पनि रामका लागि सुरक्षित अवतरण हुन सक्ने परिवेश छैन । इतिहासको राम अध्योध्याबाट नेपालीय अरण्यका वनपाखा हुँदै सीता हरणलाई फर्काउन लंका गए । अहिलेका राम (बहादुर, प्रसाद र राज सबैसबै) हरू नैऋत्यिक मुलुकमा आफ्नै देशको वनपाखामा सुनिने लोक गीतका स्थायीहरू इयरफोनमा सुन्दै मजारेमा खुनका आँसु बहाएर खबुज खाँदै छन् । देश उसका लागि अभिभावक त हुन सकेन सकेन, भाषा र संस्कृति पनि उसैका लागि सगोत्री भावमा प्रस्तुत हुन सकेनन् । उसले सञ्जोगमा जन्मिने अवसर पायो अनि भाग्यले हुर्कने । रोगहरूका नदनदीमा हेलिँदै कहिले बाँकटे हान्दै, कहिले चुर्लुम्म डुब्दै ऊ साबालक भयो । जब ऊ साबालक भयो अनि राजनीतिका काँसेघारीमा अनेक हाँच औ साइजका ठेकेदार र कट्किन्दारहरूले स्वयंसेवकको बिल्ला भिराएर सगौरव विविध स्वार्थान्धताका लेबल टाँस्ने अनेकानेक यत्न गरे । आमा हँसाउने प्रयत्नहरू केवल बलेँसीका पानीफोका साबित भए ।
...
 उसका ओठमा जुँगाका रेखी पनि राम्ररी बस्न पाएनन् । कतिले उसलाई भरिया बनाउन खोजे । कतिले हुक्के, बैठके र ढोके बनाए । उसलाई देशको चिन्ता थियो । परिवारिक सदस्यलाई दुई छाक मीठोमसिनो खुवाउने सपनाका लागि ऊ चिन्ता र चिन्तन एकैसाथ गथ्र्यो । ठाँटबाँट र देखासिकीका वर्णमालाहरू तथा लप्पनछप्पनका व्याकरणहरू उसले न विद्यालयमा सिक्न पायो न पुस्तकालयमा पढ्न नै । सरासरी र खराखरी पढ्दै उमेरका सिँढी चढ्दै जब ऊ बालिग भयो तब उसले देशबाट आफ्नो, परिवारको र भविष्यको राशिफलमा फलिफापका सट्टा श्राप लागेको भेउ पायो । यसैबीच सरक्कै मौन विद्रोहको ध्वजा हृदयाकाशमा फहराउँदै अन्ततः ऊ आफ्नो अतीव प्यारो देशबाट बाहिरियो ।

मरेको थिएन ऊ त्यसैले उसलाई समवेदना दिने मानिस पनि भएनन् । अधमरो थियो किन्तु बाँचेको अभिनयमा रहनुका सन्तापले इच्छाका तारेख पर्चाहरूलाई पट्याउँदै ऊ हिँड्यो अनाम कामको श्रमिक भएर । फकिनु, ढाँटिनु र गुमनाम पारिनु उसका सगोत्री भोगाइहरू थिए । अतः अनाम वेषभुषा र भाषा भएको कुनै दूरदेशमा मुक दोपाया पशुझैँ डोहो¥याइयो ।  

यसरी नै ऊ र ऊजस्ताहरू देशका उच्चाट लाग्दा सुदूर भूगोलबाट, वैविध्य सञ्जातबाट र पृथक्पृथक् रहनीबाट जेट चढेर भुरूरूरू छिचिमिरा उडेझैँ उडे । बत्तीए–दक्षिणैदक्षिण । रोक्ने र सान्त्वनाका मल्हम लगाउने कोही भएनन् उसलाई । सिन्डिकेटको साम्राज्यमा उसले जब आफ्नो घर करेँसामा आफ्नो रंगीन भविष्य देखेन अनि चुप लागेर गाउँको गैरीखेत साहूलाई जमानी राखिराखेर उडेको हो । सानैमा जब काँक्राफर्सी रोप्ने बेलामा क¥याङ्कुरूङ्हरू लस्करै भएर उत्तराभिमुख भई नीलाकाशमा स्वच्छन्द र बेलगाम उडेको देख्थ्यो तब उसका मनका पोखरीमा पनि बेरोकटोक अनेकानेक छिचिमिरा उड्थे । ऊ कल्पन्थ्यो– चराजस्तो हुन पाए ! कहाँबाट आएका होलान् यतिविधि खेचरहरू ? कहाँ होलान् यिनेरूका गन्तव्यहरू ? मानिसका झैँ यिनीहरूका पनि घर, परिवार, समाज र देश हुन्छन् होला हगि ? यी र यस्ता प्रश्नहरू उसले बालवयमा कहीँकसैलाई सोध्न पाएन ।  

विद्यालयमा यस्ता अग्र्यानिक प्रश्नहरू सोध्ने उसलाई सुविधा भलिभाँती थिएनन् । कारण मास्टरहरू मास्टरजस्ता थिएनन् । ती बबुराहरू छापावाल उत्तरहरूमात्रै थिए । जो पाठ्यपुस्तकका चौहद्दीभित्र सीमित चौपाया भेष र आकृतिमा स्यालुट मार्थे । आफूले नपढेका प्रश्नका उत्तरहरू थिएनन् । सहजै भन्थे– ‘अनुशासित होऊ, पुस्तक पढ र होमवर्क गर । कक्षा उत्तीर्ण भएर खुरूक्क स्थानान्तरण प्रमाणपत्र लिएर अर्को संस्थामा जाऊ ।’ बाहिरका सूचना र ज्ञान सिकाउने पुस्तकका ठ्यासफूले उसलाई कहिल्यै आफूभित्रको विशाल संसार चिहाएर हेर भनेन । मास्टरजीहरू कोर्सबाहिर हुत्तिने विद्यार्थीलाई एलियन वस्तीबाट आएको प्राणी ठान्थे । औपचारिक प्रमाणपत्रका दलदलमा ऊ कहिले भासिँदै, कहिले निसासिँदै कक्षाहरू चाहारेर चढिरह्यो जसरी अट्टालिकाका माथिल्लो चोटाकोठामा जान मानिस सिँढी र लिफ्ट चढ्छन् । पार्थक्य खोजेको थियो उसले । विडम्बना, मास्टरजीले उसलाई आफूजस्तै बनाइदिए । गूढ, गम्भीर र मौलिक बन्न दिएनन् ।

भाव, अभाव र प्रभावले नै मानिस मौलिक हुने रहेछ । दुनियाँको कुनै विश्वविद्यालयमा सिकाइएको अपार ज्ञानभन्दा खाली खल्ती र खलाँतीजस्तो पेटले नै दुनियाँ बुझ्न सिकाउँदो रहेछ । अभावले नै भावका नदीहरू तर्न सिकाउने रहेछन् ।    

उसले रानारूनी सत्यलाई छाम्न खोजेकै हो । पहाडी प्रकृतिका माझमा गुराँसीय साम्राज्यमा हराएर पेस्टिसाइड नहालिएका वनफूल र अजिनोमोतो नघोलिएका वनफललाई भोकको तिजोरीमा राखेर भलिभाँती चपाइरह्यो, खाइरह्यो । नदीहरू किन यसरी आज्ञाकारी भएर बगिरहन्छन् ? दृगले नभ्याउञ्जेल दृढ रहेका पर्वतीय शृंखलाका वृद्ध अझ वरिष्ठ नगहरू किन यसरी सभ्यताका पहरेदारी गरिरहन्छन् ? चरा, फूल, निर्झर, कन्दरा, खोल्सीका भाव र भाषाहरू कसरी सिक्ने ? कसरी प्रत्युत्तर गर्ने भन्ने भंगीमाका आखेट प्रश्नहरू उसले न आफ्ना हाँचका दयाँली मिल्ने साथीलाई सोध्नै पायो न त स्कुल कम्पाउन्डका कक्षा कोठाभित्र बसेर अध्यापकलाई नै सोध्न सक्यो । सोध्नु पाप हुन्थ्यो ।

ऊ चाहन्थ्यो घ्राणशक्तिको विकास गरौँ, तर मास्टरजीहरू घोकन्ते मिजासले दुनोटका पहाडाहरू रट लगाउन भन्थे । ऊ चाहन्थ्यो मजलिसका कथा र ‘दामल’का गाथालाई मनका आँखाले देख्ने गरी बुझ्न पाउँ । ऊ खोज्थ्यो फूलका किल्लोरीमा पुतलीका हुलहरू किन र कसरी लोभिएका हुन् ? तर, कसैले पनि उसका यस्ता प्रश्नलाई सोध्ने मौकै दिएनन् ।

स्कुल छोड्यो । स्कुलसँगै उसका तपशीलका साथीहरू, तदनुरूपका दालरोटी पकाउने र भृतक अध्यापनमा रमाउने मास्टरजीहरू पनि पथिकझैँ छुटे । प्रश्नका नागबेली लहराहरू स्कुलका चौघेरामै छोडिराखेर उसले जीवनको व्यवहार विश्वविद्यालयमा पाइला राख्यो । आमा थिइन् उसकी आदिम र पश्चअध्यापिका जहाँ अकण्टक प्राश्निक बनेर उसले तिनैको लाम्टा चुसेको थियो । लोरीका गैरीखेतमा चहार्दाचहार्दै उसका बालापन बितेका हुन् । चिँमुसी चीँले उसलाई युवावस्थाको छनक दिएको हो । त्यसरी नै बिते दिनहरू जसरी अदालतमा मुल्तवी भएका मुद्दाहरू कारिणीको उजुरीपछि पुनःपुनः बिउँतिने गर्छन् । दिनहरू रेसमा कुदेका अरबी घोडाझैँ भएर बुकुर्सी मार्दै रहे ।

खुसीका साम्राज्यमा पाइला टेक्न पाउँदानपाउँदै उसलाई एकलग गरी खानुपर्ने जिम्मेवारीका पहाडले ह्वात्तै जब थिच्न थाले अनि जीवनका इकारलाई दुःखका किम्बदन्तीमा सारस्वरसहित पढ्न लागेको हो । जीवन नामको विद्यालयमा कुनै पनि गुरु नहुने, आफै आफ्नो कक्षाको मनिटर हुनुपर्ने, जिज्ञासा पाठ्यक्रम र भोगाइ नै परीक्षा हुने कुराको गूढ अन्तर्य जब उसले भेउपत्तो पायो अनि आफ्नो जीवन रातोमाटे रोगनमा सुवाषित भएको ठान्यो ।

जिज्ञासालाई बेलुनमा फुकेर उसले जब साथीहरूका माझमा उभिएर पृथ्वीलाई भकुण्डो ठानी फुत्त अन्तरीक्षमा फेँक्ने काल्पनिक जलपको रूनुझुनुमा कहिले चंगा चेट भएको पायो, कहिले नदीका तीरैतिर माछा पक्रने बाललालसामा चेपागाँडालाई माछाका भुरा भनेर कुद्यो । भन्ने कोही भएनन् उसलाई– ‘ए ! नकुद् । त्यसरी माछा पक्रन सजिलो छैन । भ्यागुताले तेरो गोरखधन्दा चल्दैन ।’ समयले फुकेको ह्विसिल नै उसका लागि मार्ग भयो ।

खानदान त थिएन नै ऊ । नादान भएर उसले नपाउनु दुःख पायो । रिस र सिफारीस उसका जीवनमा कहिल्यै सगोत्री भएर आएनन् ! कर्मकाण्डका अपसव्यीय चाल र छालले उसलाई जहिल्यै हुत्याए नदीका बगरमा पुग्ने गरी परपर । हारेन उसले, हार्नु एक प्रकारले मर्नु हो भन्ने उसको जीवनको गीताज्ञान थियो । उसले कोर्सबाहिरका पोथीमा पढेको थियो– ‘संसार जितेको मानिस घरमा हार्छ । जस्तो दुःख परोस् त्यो समयले नै टार्छ ।’
...   
रहरका तिजोरीहरू त्यस्ताका लागि मात्र साक्ष्य हुन्छन् जसका लागि जीवनभर आमाका होटल र बाबुका लजहरू निशुल्क उपलब्ध हुन्छन् । अनि त्यसै कहाँ भनिएको हो र ‘बाबुले दिएको भैँसीभन्दा आफूले बाटेको दाम्लाको माया बढी हुन्छ ।’ मधेसतिर अझै बूढापाकाहरू भन्दैछन्– ‘आफ्नो कमाइले मानिसले हात्ती किन्दैन । बाबुका पैसाले किन्छ ।’ हात्ती किन्नभन्दा पाल्न गाह्रो भएकैले त्यसो भनिएको हुनुपर्छ ।

छेउ नलाग्ने वादहरू छन् । नौनीरूपी मजबुनका रूपमा कहिल्यै ननिस्कने विवादहरू पनि छन् । संकथनहरूजस्ता लामालामा तीर्यक संवादहरू यत्रतत्र छन् । निर्देशक रिमोटबाट पटबाहिरका पात्र र उपपात्रहरूलाई आदेश दिन्छ । हुंकार निकालेर फर्मान जारी गरिरहेछ । सूत्रधारहरू नै अज्ञात भएको बेला छ । बेला सधैँ बेलामात्र हुन्नँ त्यो अबेला पनि हुन जान्छ । अहिले ज्ञात चिज भनेकै महँगीमात्र छ । त्योचाहिँ सर्वसुलभ छ । यस्तो लाग्छ उत्तरआधुनिक समयमा मानिसले फोसामा पाएको भनेकै महँगी हो । त्यो अत्यन्त सस्तो र सर्वसुलभ छ । छेउ–टुप्पो फेला पार्न नसकेको वस्तु नै महँगी हो । मानिसहरू सस्तो महँगीले महँगो महँगी बेसाउन नसकेर क्लान्त छन् ।

रोबोर्टको बस्तीमा रमाएको ज्याद्रो समयले निनानसेकमा जदौ गराउँदैछ मानिसलाई । कुनै एलियन बस्तीबाट केही चामत्कारिक अवयव झरिहाल्छन् कि भन्ने झिनो आशसमेत मानिसका खप्परमा चलायमान छन् । पुराकथा र परिकथाका स्थान अहिले कार्टुनले लिएका छन् जहाँ पुँश्चलीहरू तासका जामा पहिरेर ससाना केटाकेटीलाई लोरीका बद्लामा अवान्तिक कथाहरू एनिमेटेड शैलीमा सुनाइरहेछन् । समाजका कथित अभियन्ताहरू धनका उल्टा चस्मा लगाएर मानिस परीक्षणमा मस्त र व्यस्त छन् । सरकारी अस्पतालमा औषधिमूलो कम र भगवान्का फोटाहरू बढी टाँसिनु सामान्य भैसक्यो । अहिले विचारका ट्राफिक जाम भएका छन्–जताततै । हातगोडाहरू जिन्दावाद र मुर्दावादका क्याराभानमा संलग्न भएपछि मुटुहरू सेल्फीमा सिलिकन सुन्दरीका तस्बिरहरू लिन पल्किएपछि गरिबी एकाएक युनिक भएको छ ।

 दुन्दुभी बजिरहेछ बजारवादको सहनै नसक्ने गरी । पूर्वकालमा ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने पुर्खाहरू अहिले संस्कृति अपचलनको मुद्दामा भान्तेहरूसँग प्रतिवादी भएर तारेख थापिरहेछन् । प्रेमका झगडियाहरू जताततै रल्लिरहेका छन् । नाटक त हो प्रेम पनि । कोही कलेज बंक गरेर पिके हेर्न गोपीकृष्णमा जाँदै गर्दा चाबेलमा जाममा परेका हुन सक्छन् ।

गुल्जारका फिल्महरू हिट हुन छाडे अब । करोडपतिका लाइनमा बसेका छन् भारतवर्षका एकसे एक आईटी इन्जिनियरहरू पनि । तोल्सतोय र गोर्कीका उपन्यासले फ्रेन्चकट दारी भएका माक्र्सका अनुजहरूलाई सन्तुष्टि दिलाउन छाडिसक्यो । जुम्लेली प्रमिथसका गाभामा कालीपोके कीरा लागेको छ । भाषा बिगारेको भामरी देखेर स्वर्गलोकमा प्रिय कविमर्निषी देवकोटा, रिमाल, पारिजात र भूपीहरू नेपाल हेरी डाँको छोडेर रोइलो गरिरहेका हूनन् । समलाई सही नसक्नु भएको हुँदो हो । कथित डाक्टर सा’पहरूले आफ्नै मलामी घटाउने गरी भाषासँग ‘ब्ल्याकमेलिङ’ गरेको दुनियाँले पत्तो पाइसक्यो । उफ् ! आमालाई पनि बेच्नेहरूविरुद्ध अझै लेख्न सक्ने भए मनुहरूले जेहाद छेड्ने कथा– ‘आमालाई बेच्नु हुन्न लाटा !’

पहिले आमा नानीले नखाँदा रून्थिन् । अहिले सन्तानले पेटभरि खान र आङभरि लाउन नदिँदा रून्छिन् । ‘बर्ड इथिक्स’मा बाँचेको छ आधुनिक भनाउँदो मान्छे । अघि पनि गुँड रित्तै बचेरा हुर्काएपछि पनि गुँड रित्तै । अघिको मीठो झञ्झट र पछिको तीतो झञ्झट । सबै मीठोका जरै नछाड्ने, तर तीतोका पातै नछुने । कतिलाई भाषाकै मेखाला पहिरेर सन्जे भन्दै जीवनको नौका पारि तार्नु छ । कतिलाई भने बैखरीका लयमा वैतर्नी तर्न सकिन्नँ कि भन्ने डर पनि लागेको होला ! अँध्यारामा गोली हानेर अब सुसंस्कृति निर्माण हुँदैन ।

दिन–रात, हिउँद–बर्खा, उँधौली–उभौली, चान्द्रमास–सूर्यमास, शुक्लपक्ष–कृष्णपक्ष, सुदी–बदी सबैसबै दौडिरहेका छन् । धपेडी देखिन्छ दौडमा । प्रतिस्पर्धा र सन्धान छ दौडमा । हाँप र झाँप कोही गर्भ जँचाउन, कोही सुत्केरी भएर अस्पतालबाट, स्कुल, बजार, अदालत, पुलिस, सिडिओ, नगरपालिका हुँदाहुँदा अब त स्थानीय निकाय, प्रान्त र संघीय राज्य सबैसबै स्थानमा दौडिरहेका छन् । नाफाको हिसाब, मिलापत्र र फैसलाको दर्बियानमा कुद्नेहरूलाई नियाल्दा फगत ‘टे«ड मिल’ मा दौडेका रहेछन् । मनुवाहरू त्यो टे«ड मिलमा पाइताला बजारेर तिमी कहाँको टुंगोमा पुगौला खै !

विगतमा जिजुले अभावको खोल ओढेर स्वाभिमानको शोकगीत गाएथे । त्यसबीच बाबुले विद्रोहको विद्रूपता ओकलेर ऐजनऐजन शैलीमा गाए । वर्तमानमा चुइंगम पड्काउँदै हामी समवेत् स्वाभिमानका शोकगीत कोरस भाकामा आफ्ना स्वरलहरीहरूमा मुग्ध भईनभई अनिच्छित पाराले गाइरहेछौँ । क्रमागत रम्यताभित्र जबजब मनुजका कंकालहरू शश्यशालिनी धर्तीमा चलायमान भैरहने छन्, तबतब यहाँ मानिस नामोच्चारित स्केलेटनहरूले भयावह महानाटक प्रदर्शन गरिरहने छन् । यस्ता कोरसहरू चली नै रहनेछन् । अलिखित पुँजीका तिजोरीबाट झिकेर अनन्तअनन्त साखहरू रोपण गर्दै ब्याजका आशमा मान्छे आफ्नो गति छोट्याइरहेछ । उसलाई गीत गाउनुको सुखानुभूति र दुखानुभूति किञ्चित छैन ।

झुसिल्कीराबाटै पुतली बन्छ– त्यो थाहा छ । तर, यत्नका पर्वत लंघन गर्ने हाँकको सामना पनि गर्नुपर्छ । नवावी ढंगले अझै यो समताका पोखरीमा सदावहार गीतहरू हिट हुन्छन् भन्ने नसोचे हुन्छ । कलाकारहरूले युट्युबमा दाइँ हालेका छन् । चामल कतिका पोल्टामा झर्ने हुन् या पवटा ? अझै बेठेगान छन् । हृदयका सरहदबाट कित्ताकाट गरेर महामना भएका दोयम ढपका नेताहरू काँधै भाँचिने गरी मालामा सजिएका देखिन्छन् ! पचास र सय किलोका माला आफूअनुकूलका पार्थहरूलाई लगाउन लाउनु तिनको ‘हबी’ नै बन्दै गएपछि जनार्दनहरू एकाएक विचल्लीमा परेजस्ता देखिए ।

स्वाभिमानको शोकगीतमा संगीत भर्ने काम नयाँ रूप र बान्कीका बादशाहहरूले गरेका छन् । ‘इतिहास धेरै बादशाहहरूको चिहान हो’ भन्ने आमजनमानसलाई ज्ञात छ, तर वर्तमान पनि बुलाहाहरूको सिङमा तेल घसेर रमिएको छ । दुःखीहरू अझ दुःखी भएका छन् । यो पन्यालो स्वतन्त्रताले कतै दुःखीका घाउमा चह¥याउने भृंगीराज दले भने मलिन मनुवाहरूको मन मुर्झाउन बेर लाग्दैन ।

मल्टिनेसनल कर्पोरेसन र कर्पोरेट हाउसहरूबाट निःशृत शोकगीतको धुन शनैःशनैः चर्को हुँदै जाँदो छ । वातावरणमा एक प्रकारको शेरगुल खिलेको देखिँदैछ । अतः यस्तो परिवेशमा अड्कल मात्र काट्न सकिन्छ– मानिस नामधारी जन्तुको भविष्य छ्याङ्ङ छैन । घाम बादलमा पस्दै–निस्कँदै गर्दैछ । सुखद् मौसम भविष्यवाणि गर्ने महामनाहरू आफै मौसम पीडित भई यतिखेर पत्तातोड बेपत्ता छन् ।                     
                    ।।समाप्त।।  
    

प्रकाशित: २३ पुस २०७३ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App