८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

भुइँकुहिरोभित्र दल्चोकी

रामदेवी महर्जन

सेतो भुइँकुहिरोले ढपक्कै ढाकिएका डाँडाहरु । बिस्तारै कुहिरो फाट्दै जाँदा देखियो निलो सफा आकास अनि तलतल काठमाडौ उपत्यकाको पुरा दृष्य । स–साना सलाइका बट्टा जस्ता घर गुचुमुच्च परेका । अनि पूर्व  दक्षिणदेखि पश्चिमसम्म फैलिएको हरियाली महाभारत सृङखला । प्रकृतिको सृजना कति सुन्दर छ जति हेरे पनि आँखा अघाउँदैनन्।

हेर्दाहेर्दै एकैछिनमा तलबाट उडेर आएका कुहिराले लपक्कै ढाकिदियो सबै डाँडाहरु र उपत्यकालाई । पलभरका लागि हामी पनि कुहिरोभित्र हरायौं । अहा ! कति रमाइलो । अझ चिसो हावाको स्पर्शले शरिर र मनमा नयाँ जोश र जाँगर भरिदियो । यसरी नै हरेक दिन भुइँकुहिरोभित्र लुकामारी खेलिरहन्छिन् दल्चोकि डाँडा ।

काठमाडौंको उकुसमुकुस गर्मी, कोलाहल र प्रदूषण छाडेर जबजब म दक्षिणी ललितपुरको दल्चोकी पुग्छु, एकाएक मन चंगा भएर आउँछ । राजधानी खाल्डोमा बस्नेहरु गर्मी छल्न नगरकोटसम्म पुग्छन् । पूर्वमा बस्नेहरु भेडेटार उक्लन्छन् । काठमाडौंबासीका लागि नजिको शीतल हिल स्टेशन दल्चोकी पनि हो । लगनखेलबाट मात्र २१ किमि दुरीको दल्चोकी हरेक दिन कुहिरोको घुम्टोभित्र मुस्कुराउँछिन् । त्यो घुम्टो छिनमा उघ्रिन्छ, छिनमा बन्द हुन्छ अनि पलभरमै कुहिरो फाट्छ ।  

लगनखेलबाट २१ किमि दुरीको दल्चोकी (२३००मिटर) शीतल छ । त्यहाँ होमस्टे सुविधा छ । होटल÷ रिसोर्टहरु खुलेमा दल्चोकी नगरकोट र भेडेटार झैं चम्किन सक्छ ।


बिहानै डाँडाबाट हेर्दा ‘व्हाइट लेक’ देखिन्छ, कुहिरोको तलाउ । काठमाडौं उपत्यकाको भेडेटार भने हुन्छ दल्चोकीलाई । भुइँकुहिरो मात्र होइन, आकाश निलो भएका बेला यहाँबाट १८० डिग्रिमा हिमसृङखला देखिन्छ । पश्चिमदेखि उत्तरपूर्वसम्म लहरै उभिएका हिमाल । काठमाडौं उपत्यकाको बस्तीसहित पहाड र हिमालको तस्बिर आँखा र क्यामेरामा सजाउन मन लाग्छ । छिनछिनमा लुकामारी खेल्न आउने बादलको सुन्दरताले पूर्वको भेडेटारलाई विर्साईदिन्छ ।

काठमाडौं उपत्यकालाई पहरा दिएर बसेका डाँडा मध्ये दक्षिणी डाँडा दल्चोकी । प्राकृतिक सुन्दरतामात्र होइन एतिहासिक र धार्मिक हिसाबले पनि उत्तिकै महत्व बोकेको छ दल्चोकीले । त्यहाँका दल्चोकी माई र मनकामना मन्दिर पवित्र तिर्थस्थल हुन् ।

दल्चोकी नामाकरणबारे रोचक किँवदन्ती छ । किबदन्ती अनुसार राष्ट्र निर्माता पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई कब्जा गर्न चारैतिरका नाका प्रयोग गरेका थिए । दक्षिणी नाकाका रुपमा दल्चोकीबाट काठमाडौं आक्रमण गरेका थिए । त्यो बेला दल्चोकी क्षेत्रमा जंगल थियो । जंगली जनाबरको डर थियो । जनाबर आक्रमणको डरले फौज तितर वितर थिए । त्यसैले यहाँ फौजलाइ एकै ठाउँमा राखियो । र, भगवतीको पूजा गरि सैनिक फौजको चौकी स्थापना गरियो । सेना तथा दलहरुले देवीको पूजा गरिएको ठाउँ भएकाले दल चौकी भनियो । समयक्रममा अपभ्रंस हुँदै दल्चोकी भन्न थालियो ।

दल्चोकीलाई स्थानीयले इष्ट देवता मानेर पूज्छन् । हाल दल्चोकीको मन्दिर गोठ भञ्ज्याङ उच्च मावि परिसरमा सारिएको छ । पृथ्वीनारायणले स्थापना गरेको दल्चोकीको मन्दिर तीनपाने भञ्ज्याङ माथि डाँडामा छ । दल्चोकीबाट करिब ४ किमि टाढा करिब २३०० मिटर उचाइमा दक्षिणमा पर्छ । त्यहीँ छिन् भगवती ।  

त्यसैगरी शाहले स्थापना गरेको मनकामना मन्दिर पनि दल्चोकीको मनकामना चौरमा छ । हाल मनकामना भएको ठाउँमा पहिला पानी पोखरी थियो । ०५२ सालमा विधिवत तरिकाले गोरखाबाट ल्याएर मनकामना स्थापना गरिएको स्थानीय रामप्रसाद तिमिल्सिना बताउनु हुन्छ । २२६० मिटर उचाइमा रहेको मन्दिरको चारैतिरबाट काठमाडौं झलमल्ल देखिन्छ । मन्दिरबाट करिब १५ मिनेट उकालो चढेपछि पुगिन्छ २३०० मिटरको दल्चोकी भ्यू टावर जहाँबाट हिमालको लश्कर र उपत्यकाको दृष्य दृखिन्छ भने दक्षिणमा महाभारत श्रृखलाका साथै तराइका फाँटहरु ।   

दल्चोकी थुम्को पर्यटन केन्द्र बन्दै छ । काठमाडौंबाट नजिकको गन्तव्य वर्षैभरि शीतल हुन्छ । त्यहाँ होमस्टे सुविधा छ । होटल÷ रिसोर्टहरु खुलेमा दल्चोकी नगरकोट र भेडेटार झैं चम्किन सक्छ । काठमाडौंसँग कुम जोडेर बसेको छ दल्चोकी । मोटर बाटो दल्चोकीसम्मै पुग्छ  । तर, सडक कच्चि छ । बाटोलाई राम्रो बनाउने हो भने काठमाडौंबासीका गर्मी छल्ने, पारिवारिक भ्रमण गर्ने र सभा सम्मेलन गर्ने थलोका रुपमा दल्चोकीको बिकास हुन सक्छ ।

आफ्नो गाउँलाई पर्यटन गन्तव्य बनाउन स्थानीयहरु जुर्मुराउनु पर्छ । सरकार र पर्यटन बोर्ड लगायत सरोकारवालाले यस्ता सुन्दर गन्तव्य प्रबर्धन गर्न बिशेष कार्यक्रम ल्याउनु पर्छ । दल्चोकीमा सामुदायिक होमस्टे दर्ता भएको छ । तर, रामप्रसाद तिमिल्सिनाले मात्र चलाउनु भएको छ । ०७१ वैशाख १२ को भुकम्पले घरलाई क्षति पु¥याएपछि उहाँले मर्मत गरि होमस्टेलाई निरन्तरता दिनु भएको छ ।

‘तीस जनासम्म एकै रात राख्न सक्छौं’, उहाँ भन्नु हुन्छ, ‘बेला बेलामा आन्तरिक पर्यटक आइरहनु हुन्छ । सेवा गर्न पाउँदा खुशी लाग्छ ।’ तामाङ जातिको बाहुल्यता रहेको दल्चोकीमा तामाङ संस्कृति पस्केर हाइकिङ प्याकेज बनाए काठमाडौंबासीलाई सुर्योदय र सर्यास्तको दृष्याबलोकन गराउन सकिन्छ । स्वच्छ र शान्त वातावरणमा थकाई मेटाएर शरिर र मनलाई रिचार्ज गर्न सकिन्छ । दल्चोकीबाट शंखु, गोटिखेल, इकुडोलको माझखण्ड, पदयात्रा गर्न सकिन्छ । दल्चोकीबाट शंखु १३ किमी करिब ३ घन्टामा पुगिन्छ भने इकुडोल २३ किमी दुरीमा पर्छ ।

दल्चोकीलाई चिनाउन हाम्रो प्रकृतिप्रेमि समूहले भरमग्दुर प्रयास गरेको छ । हामीले बेला बेलामा त्यहाँ सयौं जनालाई हाइकिङ गराउँदै आएका छौं । त्यतिमात्र होइन, हाम्रो समूहले सम्पुर्ण सदस्यहरुको सहयोग जुटाई दल्चोकीमै निरोग आनन्दधाम निर्माण गरिरहेको छ । शारिरीक स्वास्थ्य समस्या र मानिसिक समस्याबाट मुक्त भएर निरोग आनन्दित हुन निरोगआनन्दधाममा व्यवहारिक अभ्यास गराउने योजना छ । निर्माणाधिन भवनमा १२० जना बसेर जीवन जीउने साँचो कला सिक्न पाउने छन् ।

विश्वमा देखिएका अधिकांश स्वास्थ्य समस्या आहार, विहार र विचार नमिलेर आउँछ । यही तीन चिज मिलाएमा अधिकांश स्वास्थ्य समस्या आउँदैन । यसका लागि प्रकृतिमै रहेको सरल नियम ‘उचित आहार, विहार र विचार’ को अभ्यासले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिई सदा निरोगी र आनन्दित रहन सकिन्छ भन्ने ज्ञान पनि हामी बाँड्छौं । स्वस्थ्य समाज बनाउन नागरिक स्वस्थ हुनु जरुरी छ ।

दल्चोकीमा समूहको पहिलो आवासीय भवन बनेको हो । यस्ता आनन्दधाम ठाउँ ठाउँमा बन्नु पर्छ ।
छिट्टै आनन्दधाम सुरु हुनेछ । त्यसपछि झन दल्चोकी चम्कने छ । चहलपहल बढ्ने छ । त्यसैले अब गाउँलेहरुले पनि दल्चोकीलाई केन्द्रमा राखेर हाइकिङ प्याकेज बनाउनु पर्छ । धार्मिक, आध्यात्मिक र स्वास्थ्य पर्यटन केन्द्रका रुपमा दल्चोकीको विकासमा सबैले हातेमालो गर्नु पर्छ ।

स्वास्थ्य पर्यटन विकास गर्न हाम्रो समूहले हरेक महिनाको चौथो शनिबार डाँडापाखामा हाइकिङ गराउँदै आएको छ । साउन २२ गते समूहको ११२ औं हाइकिङ  दल्चोकीमा भएको थियो । हामी ३२५ जना थियौं । हामी सातदोबाटोबाट टिकाभैरब माथिसम्म गाडीमा गयौं । त्यहाँबाट पदयात्रा शुरु भयो । साउनको महिना, चारैतिर हरियाली, निलो आकाश अनि हरिया डााडाहरु । यही हाइकिङ गन्तब्यको कोटडाँडामा पर्ने विश्राम बाटिका रोमान्चक छ । चपागाउँ सहकारी संस्थाबाट संचालित बाटिकाबाट हिमाल र काठमाडौं उपत्यका देखिन्छ । काठमाडौबाट मात्र १७ किमि टाढा छ ।  

पोहोर फागुन ७ देखि सञ्चालनमा आएको बाटिकामा बास बस्ने सुविधा छ । त्यहाँ १० जना सम्म बास बस्न सक्छन् । समूहले बाख्रा फार्म पनि चलाएको छ । बर्ष दिन भयो, फार्म बनाएको । ‘सयवटा बाख्रा थिए, भर्खर बेच्यौं’, त्यहाँका विनोद संजेलले भन्नुभयो, ‘अहिले ६ वटा छन् । बाख्राको संख्या बढाउने छौं ।’ युवा जति विदेशिनेक्रम बढेका बेला स्वदेशमै रोजगारी गर्न सकिन्छ भन्ने सञ्देश दिएको छ कोटडाँडाको फार्मले ।

हामी त्यहाँबाट तीनपाने भञ्ज्याङ, खुर्सानीबारी हुँदै दल्चोकीको निरोग आनन्दधाम पुग्दा घडिले दिउसोको १ बजाइसकेको थियो । स्पटमा हामीले चिनि विनाको गुलियो खिर, दुई थरी हरियो तरकारी र सलादस्वरुप स्याऊ खायौं । खाना पछि अन्तरक्रिया हुँदाहुँदै पानी प¥यो । एक छिन नाचगान गरेर जिउ ततायौं । अनि बिर्खे धारासम्म हिँड्यौं ।  

दल्चोकीमा पदयात्रा पछि होमस्टेमा न्यानो माया र सत्कार ग्रहण गर्न सकिन्छ । हाइकिङ, बाइकिङ र साइक्लिङका लागि यो रुट उपयुक्त छ । लगनखेलबाट निजी सवारी साधनमा डेढ घन्टामै पुगिन्छ थुम्कोमा । चैत–बैशाखमा वनै राताम्मे हुन्छ लालीगुराँसले । असोज–कात्तिकमा हिमालसँग आँखा जुधाउँदै हिँड्न पाइनछ । साथै मौसम अनुसार आरुबखडा, काफल, ऐसेलु, नासपाती जस्ता फलफूल पाइन्छ । वर्षैभर शीतल हुन्छ दल्चोकी । काठमाडौको गर्मी छलेर बादलमा लुकामारी खेल्न नगरकोट भन्दा नजिकको गन्तव्य दल्चोकीमा तपाई कहिले जानु हुन्छ त ?

कसरी पुग्ने ः ललितपुरको लगनखेलबाट नेवार बस्ती सुनाकोठी, चापागाउँ हुँदै टिकाभैरबसम्म गाडीमा । टीकाभैरबबाट कोटडाँडा, तीनपाने भन्ज्याङ, खुर्सानीबारी हुँदै दल्चोकी र त्यहाँबाट सैनिक क्याम्प हुँदै मल्ल होटल भएर टिकाभैरबसम्म पदयात्रा । पदयात्रा दुरी ः १४ किमी । समय ः ५ घण्टा । निजी गाडीमा डेड घण्टामै दल्चोकी पुग्न सकिन्छ ।

जन बोली
रामप्रसाद तिमिल्सिनाले दल्चोकीमा होमस्टे चलाएको करिब ६ वर्ष भयो । आफ्नो जन्मथलोलाई पर्यटन गन्तव्य बनाउन उनले कम्मर कसेका छन् । ‘भुकम्पपछि टेन्टमा पर्यटकलाई बसाएका थियौं’, रामप्रसाद भन्छन्, ‘अहिले त मर्मत गरेर घरमै होमस्टे चलाएका छौं । होमस्टे भवन बढाउने योजनामा छौं ।’  
...
पूर्णिमा श्रेष्ठ ७ बर्षिया छोरी पूर्णिका र श्रीमान कृष्णसंगै हाइकिङ आएकि थिइन्  । बाटो छेउका रुखमा लटरम्म फलेका नासपाती देख्दा उनीहरु रमाए । ‘दल्चोकीको सुन्दरताले म निकै मुग्ध भएँ’, पूर्णिमाले भनिन्, ‘परिवारसंगै होमस्टेमा बस्ने गरी फेरी दल्चोकीलाई नजिकबाट हेर्न आउनेछु ।’

राजु पुडासैनी नेपाली सेनाका मेजर मेजर हुन् । पदयात्रा गर्दा शरिर बलियो हुन्छ । स्वच्छ वातावरणमा हिँड्दा दिमाग र शरिर पनि स्वच्छ हुन्छ । गाउँले जीवन बुझ्न सकिन्छ । ‘सके हप्तै पिच्छे नसके महिनाको एकपटक मात्र भए पनि हाइकिङ गर्नु पर्छ’, राजु भन्छन्, ‘नयां जेनरेशनका लागि त झन् आबश्यक छ हाइकिङ ।’  

 

 

प्रकाशित: २५ भाद्र २०७३ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App