डा. देवीप्रसाद सुवेदी
नेपाली भाषा र व्याकरणको इतिहासको वर्तमान मोडमा आएर एउटा अभूतपूर्व घटना भएको छ। मुलुकको शासनयन्त्र नेपाली वर्णविन्यासको प्रचलित नियमका विरुद्ध खुलेर लागेको छ र सरकारको एउटा अंग शिक्षा मन्त्रालय आफ्ना मातहतका विभाग र पाठ्यक्रम पाठ्यपुस्तक विकास केन्द्रजस्ता शाखाहरूमार्फत् नेपाली विषयक पाठ्यपुस्तकहरूको वर्णविन्यास तोक्ने आदेश वा परिपत्र पढाइरहेको छ र त्यसैलाई पछ्याएर अब विद्यालयका छात्रछात्राले नयाँ वर्णविन्यासअनुसार लेख्नु–पढ्नु पर्नेछ। अब विद्यालयका कलिला मस्तिष्कमा विद्यालय, सिद्धान्त, वृद्ध, बुद्ध आदि लेखन अशुद्ध हुन् र शुद्ध, सिद्धान्त, वृद्ध, बुद्धजस्ता लेखन शुद्ध हुन् भन्ने छाप पार्ने प्रयत्न भइरहेको छ। त्यस्तै, अक्षर गन्तीका पुराना नियमलाई तोडेर आधारबिनाको बेथितिको पदयोग र पदवियोग सम्बन्धी नियम बनाएर नेपाली भाषाका प्रयोगकर्ता लेखक, शिक्षक, विद्यार्थी र पाठकलाई भ्रमको भुमरीमा पार्ने प्रयास गरिएको छ।
उपयुक्त सन्दर्भमा एउटा गम्भीर प्रश्न उपस्थित हुन्छ– नेपाली भाषा–व्याकरणको निर्माण र नियामक को हुन्? यसको इतिहास पढ्दा थाहा हुन्छ नेपालका प्रबुद्ध भाषाविद् र कुशल व्याकरणकारहरूले निर्माण गरेका नियम र पद्धतिमा आधारित रहेर नेपाली भाषाले आफ्नो गति लिएको छ र तिनै नियमलाई समयअनुकूल परिष्कृत र परिमार्जन गर्दै आजको नेपालीले मानक स्वरूप लिएको हो। विदेशी नेपाली भाषाविद्हरू कर्कप्याटि्रक, एटन, टर्नबुल र नेपाली भाषा–व्याकरणकारहरू जयपृथ्वी बहादुर सिंह, पुष्कर शमशेर, हेमराज, राममणि आ.दी, सोमनाथ, गोपाल पाण्डे, बालचन्द्र शर्मालगायत विद्वान्कै प्रयत्नबाट नेपालीले आफ्नो मानक साहित्यिक सत्ता प्राप्त गर्न सकेको हो। यसै क्रममा नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित बृहत् नेपाली शब्दकोश(२०४०)को योगदान पनि उल्लेखनीय छँदैछ।
यसरी नेपाली भाषा, व्याकरण र तिनले सुझाएका नियममा आधारित रहेर नेपाली वर्णविन्यास कम विवादित बनी प्रचलित रहँदै आएको हो। तर, अहिलेसम्म राज्यसंयन्त्रको एउटा अंग शिक्षा मन्त्रालयले भाषा–व्याकरणको प्रयोगमा आधिकारिक हस्तक्षेप गरेको इतिहास छैन। भाषा व्याकरण विषयको आधिकारिक जिम्मेवार संस्था शिक्षा मन्त्रालय होइन पनि। तर, शिक्षा मन्त्रालयले आफूअन्तर्गतका शैक्षिक निकायहरूलाई यो पछिल्लो वर्णविन्यास सम्बन्धी लेखनअनुसार गर्न परिपत्र गरेको कुरा जानकारीमा आएको छ। शिक्षा मन्त्रालयलाई नेपालीका केही भाषाविद् र व्याकरणकारले नै यस मामिलामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने अनुरोध गरेका हुन्? जे भए पनि आफ्नो अधिकारक्षेत्र वा कार्यक्षेत्रलाई सरकारी प्रशासनिक निकायको आदेशमा सुम्पेर तिनले आफ्नो विज्ञता वा प्राज्ञत्वलाई गरिमाहीन बनाए वा शिक्षा मन्त्रालयले भाषा–व्याकरणमा अनधिकृत हस्तक्षेप गरेर भाषाविद् र व्याकरणका ज्ञाताहरूलाई आज्ञाकारी बनायो। यी दुवै स्थिति उपयुक्त होइनन्।
अब अमुकतमुक कुनै व्याकरणकार र भाषाविद्ले यसमा मनोमानी र आफूखुसी प्रयोग गर्ने स्थिति छैन न त कुनै सरकारी निकायको निर्देशन नै उचित छ। यसैले नयाँ प्रचलनमा ल्याउन खोजिएको नेपाली लेखन पद्धतिको कार्यान्वयनका लागि हाम्रा भाषाविद् र व्याकरणवेत्ताहरूले यथासम्भव नेपाली भाषामा अधिकतम प्रयोगकर्ताहरूलाई समावेश गरेर राष्ट्रियस्तरमै नीति–नियम लागु गर्नेतिर सोच्नुपर्ने देखिन्छ।
एक जना नेपाली भाषाका उपबुजु्रकले नयाँ वर्णविन्यास सम्बन्धी अन्योलका विषयमा यस लेखकसँग भने– यो नयाँ वर्णविन्यास नेपाली भाषालाई विज्ञानसम्मत गर्न खोजिएको हो र अहिले कम्युटर विज्ञानको अनुकूल गराउने प्रयास हो। रोमन लिपिमा जोडिएका वर्णको अस्तित्व छैन र नेपाली लेखनलाई पनि त्यसैअनुकूल बनाउन खोजिएको हो!
आफ्नो लिपि मासेर अर्काे लिपिमा नेपाली भाषालाई लैजाने यो कस्तो तर्क हो? चिनियाँ, जापानी, उर्दु, फारसी, अरबी आदि भाषाको लिपिगत व्यवहार कम्प्युटर विज्ञानअन्तर्गत गरिँदैन? संसारका कुनै पनि भाषाका लिपिहरूले विज्ञानअनुकूलताका नाममा रोमन लिपि पछ्याउन र स्वीकार गर्नुपर्छ?
प्रत्येक देशका भाषाहरूसँग त्यस देशका भाषाभाषीको सभ्यता नङ–मासुझैँ जोडिएको हुन्छ। नेपाली भाषा हाम्रो देशको सांस्कृतिक प्रतीक हो। यसलाई देवनागरी लिपिले चिह्नित गरेको छ। नेपालमा आफ्नो लिपि नभएका अन्य कतिपय भाषाहरूको समेत हो यो लिपि। सरलीकरणका नाममा यसलाई विकृत बनाएर रोमन लिपिअनुकूल बनाउनु हाम्रो संस्कृतिको अपमान हो। यसले देवनागरी लिपिबाट नेपाली लेखनलाई रोमन लिपिमा विस्थापित गर्ने गलत परम्परालाई पनि निम्त्याउन खोजेको देखिन्छ। यस्तै विचार प्रसिद्ध भाषाविद् सुनीतिकुमार चटर्जीले हिन्दी लेखनलाई रोमन लिपिमा लैजाने सन्दर्भमा गरेका थिए, तर त्यो सफल हुन सकेन।
नेपाली भाषा–व्याकरणका बुझक्कड ठानिएका कतिपय व्यक्ति नेपाली लेखनलाई कथ्यरूपमा लैजाने निर्णयलाई सभा–सेमिनारहरूमा पारित गर्दै हिँडेका कुरा समाचारमा आएका छन्। सरकारी–अर्धसरकारी निकायहरूले राज्यकोषको प्रयोग गरी चलाएका त्यस्ता सभा–सेमिनारले एकांगी निर्णय गर्नुभन्दा व्यापकरूपमा भाषा–व्याकरणका प्रयोगकर्ताहरूलाई समावेश गरी छलफलद्वारा निर्णय लिनु उचित हुन्थ्यो। कथ्यलाई लेख्य नेपालीको मानक मान्ने कुरा सरासर भाषाको अग्रगतिलाई पछाडि धकेल्नु हो। त्यसो गर्दा लक्ष्मीप्रसादलाई 'लछिमीपरसाद' र ज्ञानेन्द्रलाई 'ग्यानेन्द्र', र विद्यालयलाई विध्यालय लेखे भयो र रामबहादुरलाई राम् बहादुर्, एक दिन लाई एक् दिन् लेखेर नेपाली लेखनलाई प्राचीनतातिर फर्काए भयो! यस्ता खुट्टा काटेर लेखिने शब्दहरू कथ्यरूपमै आउँछन्। अहिले पनि तिनबाट छुटेर हामीले लेख्यरूपलाई नेपाली मानक मानेका हौँ र नेपाली भाषाको शिष्टरूप स्वीकार गरेका हौँ।
पछि प्रचारमा ल्याइएको यो वर्णविन्यास सम्बन्धी भद्रगोल नियम न नियमजस्तो छ, न तर्कसम्मत न त वैज्ञानिक नै छ। संस्कृत व्याकरणको परपम्परालाई नेपालीमा निषेध गर्न खोजिएको हो भने त्यो पनि व्यवहारसम्मत मान्न सकिन्न। संस्कृत व्याकरणको समस्त रूपायन पद्धतिलाई छोड्दैमा संस्कृत व्याकरणको परम्पराबाट नेपाली भाषाले छुट्कारा लिएको मान्न सकिँदैन। संयुक्त वा समस्त शब्दहरूलाई बेढंगी र बेनियमपूर्वक छुट्याउँदै वा जोड्दैमा नेपाली भाषाले संस्कृत व्याकरण परम्पराबाट छुट्कारा पाएको ठान्नु नितान्त भ्रम हो।
यस लेखकका आँखा एक नेपाली भाषाविद्को एउटा लेखमा परे। त्यस लेखमा संयुक्त क्रियावाची पदहरूलाई छुट्याएर दिइएको रहेछ। जसअनुसार हुनु भयोलाई हुनू भयो, 'हिँडिहाल्यो' लाई हिँडीहाल्यो, 'बसिखानु'लाई बसी खानु, 'भनिदिए' लाई भनी दिए जस्ता पदवियोगी शब्दहरूको प्रयोग गरेका पाइयो। वाक्यमा प्रयुक्त हुँदा यस्ता संयुक्त र वियुक्त क्रियाले दिने अर्थ फरक हुने हेक्का यहाँ राखिएन जस्तै :
बसी (बसेर)खानु छैन
भनी (भनेर) दिए हुन्छ।
हिँडी (हिडेर) गए भयो।
संयुक्त क्रिया हुँदाः
घरमा गाली गरेर बसिखानु छैन
आज राम स्कुल जाँदैन भनिदिए हुन्छ
टाढा जानुछ भने हिँडिहाले भयो। आदि
यसरी पदवियोगका नाममा संयुक्त क्रिया र वियुक्त क्रियामा पाइने भिन्नताले अर्थबोध फरक हुने र भाषिक सौन्दर्यबोधमा भिन्नता आउने कुरा विचार नगरी वाक्यमा प्रयोग गर्ने काम भएको छ। नेपाली भाषा–व्याकरणमा वर्णविन्यासको नयाँ पद्धति निर्माण गर्न खोज्नेहरूले पदयोग र पदवियोगका प्रसंगमा नेपाली रूपायन कोटीका समास र द्वित्व प्रक्रियालाई बहिष्कार गर्न खोजेजस्तो बुझिन्छ। यसबाट नेपाली भाषाको सौन्दर्य बलात्कृत बनेको छ। भाषामा नयाँ प्रयोगका नाममा त्यसलाई नै बिथोल्न कुन कुराले प्रेरित गर्यो? नेपाली भाषाको माउभाषा संस्कृतबाट नेपाली भाषाले लिएका शब्दहरूको रूपायन पद्धतिलाई बलात् परिवर्तन गर्नुपर्ने आवश्यकता किन आइपर्यो? यस्ता प्रश्नहरूको उचित समाधानबिना नेपाली भाषाको पदयोग र पदवियोगमा भकाभक आफूखुसी परिवर्तन गर्नाले नेपाली भाषा र व्याकरणका प्रयोगकर्ताहरूमा भ्रम र अन्योलको स्थिति उत्पन्न हुन पुगेको छ। नयाँ वर्णविन्यास चलाउन खोज्नेहरूले विश्वविद्यालयलाई छुट्याएर विश्व विद्यालय गरेका छन् भने उही प्रकृतिको 'महाविद्यालय शब्दलाई' जोडेर लेखेका छन्। यसरी शब्दहरूलाई तोड्नु र जोड्नुको कुनै भाषावैज्ञानिक आधार छैन। भाषाको वैज्ञानिक आधारकै कुरा गर्ने हो भने एक झोक्कामा उच्चारित हुने शब्दहरू सँगसँगै लेखिनुपर्ने हो।
संस्कृत भाषामा मात्र नभएर नेपालीमा पनि समास र द्वित्व प्रक्रियाद्वारा बनेका शब्दहरूलाई छुट्याएर लेख्दा तिनले अर्थगत पूर्णता दिँदैनन्। 'राजकाज चलाउनु'जस्ता वाक्यांशमा राज र काज छुट्टाछुट्टै लेख्नुले अर्थगत पूर्णता पाउन सकिँदैन। बिस्तारैबिस्तारै जाऊँ भन्दा जुन अभिप्राय आउँछ त्यो 'बिस्तारै बिस्तारै' ले दिँदैन। छुटिएर आउने 'बिस्तारै' शब्द प्रयोजनहीन र अर्थहीन बन्न पुग्छ। 'बिहानबिहानै' 'गर्ल्यामगुर्लुम' 'उठ्दाउठ्दै'जस्ता द्वित्व प्रक्रियाद्वारा बनेका शब्दहरूको मिठासलाई पदवियोग गर्नेहरूले बन्चरो नै चलाएर सिध्याउन खोजेको देखिन्छ।
नेपाली भाषा र व्याकरणमा यसभन्दा अघिका विद्वान् प्रयोगकर्ताहरूले जे–जस्ता नियम बनाए, त्यही पदचिह्नलाई पछ्याउने परम्परा बस्दै आएको हो। तर, भाषिक प्रयोगको विविधता र व्यापकताले अब त्यसबाट विस्तारित बन्नुपर्ने अवस्था देखापर्दैछ। अब अमुकतमुक कुनै व्याकरणकार र भाषाविद्ले यसमा मनोमानी र आफूखुसी प्रयोग गर्ने स्थिति छैन न त कुनै सरकारी निकायको निर्देशन नै उचित छ। यसैले नयाँ प्रचलनमा ल्याउन खोजिएको नेपाली लेखन पद्धतिको कार्यान्वयनका लागि हाम्रा भाषाविद् र व्याकरणवेत्ताहरूले यथासम्भव नेपाली भाषामा अधिकतम प्रयोगकर्ताहरूलाई समावेश गरेर राष्ट्रियस्तरमै नीति–नियम लागु गर्नेतिर सोच्नुपर्ने देखिन्छ। अन्यथा, नेपाली भाषाले सधैँभरि अन्योल र अव्यवस्था खप्नुपर्ने देखिन्छ। जुन नेपाली भाषाप्रेमीहरूका निम्ति शुभसूचक कुरा होइन।
प्रकाशित: ४ भाद्र २०७३ ०३:२१ शनिबार