आमा बाबु नहुनेहरूले दिवंगत पितृको तृप्ति र कल्याणका लागि श्रद्धासँग गरिने जलदान, अन्नदान, ब्राह्मण भोजन, दुःखी गरिबहरूलाई सहयोग जस्ता पितृहरूको नामबाट गरिने कुनै पनि काम श्राद्ध हो। दिवंगत पितृहरूको स्मरण सबै देश र समाजमा हुने गर्दछ। विशेष गरेर मरेर गएकाहरू जन्मेको वा मरेको दिनमा स्मरण गर्ने प्रचलन हुन्छ। पितृ स्मरण गर्ने दिनमा उनीहरूको नाममा दान दिने, बन्धुबान्धवसहित भएर सहभोजन गर्ने, उनीहरूलाई मन पर्ने वस्तुहरूको परिकार वनाउने, उनीहरूको नाममा गुठी, पुरस्कार राख्ने वा सम्मान प्रदान गर्ने जस्ता काम त्यसै दिन गरिन्छन्। व्रतबन्ध गर्न ‘व्याप्तिजम गर्ने’, पितृ स्मरण गर्न ‘फादर्स डे, मनाउने काम क्रिस्चियन समाजमा पनि हुन्छ भने यसै किसिमका फरक फरक विधिबाट आ–आफ्ना पितृलाई संमान गर्ने परम्परा मुस्लिम धर्मावलम्वीका बीचमा पनि हुन्छ।
सिद्धान्त, मान्यता र विश्वासको त्रिवेणी भएपछि नै श्राद्ध गरिन्छ। सिद्धान्तले प्रमाणको र मान्यताले परम्पराको नजिर प्रस्तुत गर्दछ। ती दुवैलाई साथै लैजाने काम विश्वासले गर्दछ। मरेपछि शरीर पञ्चतत्वमा विलीन हुने कुरामा कसैको विमति रहँदैन। कसैकसैले मरेपछि खरानी वा माटो हुन्छ भनेर पुनर्जन्मको विश्वास नगरे पनि संसारमा सबैभन्दा पुरानो भनेर सिद्ध भएको वेद र त्यसका आधारमा बनेका स्मृति, पुराणलगायतका धर्मग्रन्थले मरेको जीव पितृका रूपमा रहन्छ भनेको तथ्यलाई सहजै अस्वीकार गर्न मिल्दैन। यदि मरेपछि खरानी मात्र हुनेतर्फ सोच्ने हो भने बाबुको बुद्धि र बानीअनुसार नै छोराछोरीको बुद्धि र बानी हुन्छ भन्ने विश्वास नहुनुपथ्र्यो। यसबाट पनि प्राणी मर्दैमा सबै सकिन्छ र खरानी हुन्छ भन्ने मत एकाङ्गी सावित हुने देखिन्छ। त्यसैले हरेक समाजमा कुनै न कुनै किसिमले पितामाताको संझना गरी पितृश्राद्ध गर्ने प्रचलन बसेको हुन सक्छ।
हिन्दु समाजमा श्राद्ध विधि र महत्व
आश्विन कृष्ण प्रतिपदादेखि अमावास्यासम्मका पन्ध्र दिनलाई पितृपक्ष वा सोह्र श्राद्ध भन्ने गरिन्छ। हिन्दु समाजमा विशेषतः दिवंगत भएका बाबु आमालाई संझेर सिदा दान, तर्पण, पिण्ड दान, ब्राह्मण भोजन गरेर श्राद्ध गर्ने र त्यसपछि प्रसादका रूपमा भोजन गर्ने सनातन परम्परा छ। यसरी गरिने श्राद्ध नित्य, एकोदिष्ट, पार्वण, वृद्धि, काम्य आदि हुन्छन्। नित्य श्राद्धमा पितृको नाममा नित्य तर्पण र स्मरण गरिन्छ। वर्षमा एकपटक सम्बन्धित व्यक्तिको स्मरण गरेर एकोदिष्ट श्राद्ध गरिन्छ। त्यस्तै पिता–मातातर्फका ३/३ पुस्ता, काका–काकी, दाजु–भाउजू, भाइ–बुहारी, पत्नी, छोरा, दिदी–बहिनी, फुपू, मामा–माइजू, सासू–ससुरा, गायन्त्री मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुहरू, आफ्नो अनन्य शुभचिन्तकहरूलाई समेत सम्झिएर नाम गोत्रसहित तर्पण, पिण्ड दान गरेर पितृपक्षका पन्ध्र दिनभित्रमा (विशेषतः पिताको तिथिमा) गरिने श्राद्धलाई पार्वण भनिन्छ। यस्तै, कुनै कुनै अभिष्ट काम (जागिर मिलोस्, छोराको बिहे हास् आदि उद्देश्य राखेर) पूरा होस् भन्ने कामनाले गरिने श्राद्ध काम्य हो भने विवाह व्रतबन्धमा गरिने श्राद्ध वृद्धि श्राद्ध हो।
पितृ शब्दले दुई समूहलाई बुझाउँछ– दिव्य पितृ र स्वपितृ। दिव्य पितृहरूमा कव्यवाडनल, अर्यमा, यम, वैवश्वतहरू पर्दछन्। यस्तै स्वपितृहरूमा आफ्नो वंश र माथि पितृपक्षमा गरिने भनिएका पितृहरू पर्दछन् र पितृपक्षमा गरिने मुख्य कृत्य नै पितृश्राद्ध हो।
व्यक्ति मरणशील प्राणी भए पनि मरेपछि जीवात्माको अस्तित्व रहन्छ वा रहँदैन वा पुनर्जन्म हुन्छ हुँदैन, हुन्छ भने मर्नेबित्तिकै अर्को जन्ममा आइहाल्छ वा व्यवधान काल रहन्छ भन्नेबारे समाज, धर्म, परम्परा, दर्शन र मान्यताअनुसार नै फरक फरक मत पाइन्छ। ती विषय सबै समाजमा समान देखिन्नन्। तर पनि मरेपछि कमसेकम वर्षमा एकदिन उनीहरूको स्मरण गर्ने विषय भने सबै समाजले अवलम्बन गरेकै हुन्छ। यसैअनुसार मानिस आफ्नो इच्छा, गच्छे, परम्परा, आदिले अवलम्बन गरेको धर्म र शास्त्रअनुसार श्राद्ध गर्ने गर्दछन्।
सनातन हिन्दु समाजमा विशिष्टतवरले श्राद्धको अर्थ र व्याख्या गरिएको छ। श्रद्धापूर्वक गरिने, श्रद्धापूर्वक दिइने, श्रद्धापूर्वक अनुष्ठान गरिने विषय श्राद्ध हो। यस्तै मरेपछि पहिलो श्राद्ध नहुञ्जेल मृतात्माले प्रेतको रूपमा रहनुपर्ने र त्यसपछि कर्मफलअनुसार पितृ बन्ने कुरा हाम्रा धर्मशास्त्रहरूले बताएका छन्। पितृ भएपछि छोराले दिएको अन्नपानीले तृप्त हुने भएकाले पितृ बनेका आफ्ना बाबु आमा र सम्बन्धितहरूका निमित्त श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ। हिन्दुशास्त्र स्मृति, पुराण, धर्मशास्त्रहरूले पितृको अस्तित्व स्वीकार नगर्ने र श्राद्ध नगर्नेहरूको रगत पितृले पिउने स्पष्ट बताएको छ–
न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः
श्राद्धं न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते।
आधुनिक वैज्ञानिक सोचअनुसार पनि शरीर पृथ्वी, जल, तेज, वायु, आकाशको संयोजनबाट हुन्छ। यसरी बनेको शरीरलाई नै पाञ्चभौतिक भनिन्छ। पाञ्चभौतिक शरीरलाई पुष्ट हुनका लागि अन्न, जलको आवश्यकता पर्दछ। हाम्रो जीवनका लागि आवश्यक पर्ने ती चीज पितृका लागि पनि उत्तिकै आवश्यक हुन्छ भन्ने बुझ्नुपर्छ।
पुराणहरूमा श्राद्ध
श्राद्ध अपरिहार्य गृहस्थ धर्मभित्र पर्ने विषय हो। श्राद्ध गर्दा शुद्ध र संयमी बन्ने, ब्रह्मचर्यमा बस्ने जस्ता नियम पालन गर्नुपर्छ। श्राद्धको महिमा, महत्व र अपरिहार्यताबारे प्रायः सबै पुराणले उल्लेख गरेका छन् (नारद पुराण पूर्वभाग अध्याय २८, अग्नि पुराण अध्याय ११७, कूर्म पुराण उपरि भाग अध्याय ७६, पद्मपुराण सृष्टि खण्ड अध्याय ९,११, आदि। लिङ्ग पुराणले श्राद्धका दिनमा पाशुपत योगबारे चर्चा गर्नुपर्ने उल्लेख गरेको छ। यसैगरी सवै पुराणले तीर्थमा गएर स्नान गरेपछि तर्पण र पिण्डदान गर्नुपर्ने उल्लेख गरेका छन्।
पार्वण श्राद्ध
पितृपक्षलाई उद्देश्य गरेर गरिने पार्वण श्राद्ध गर्दा र अरू श्राद्ध गर्दा फरक विधि र प्रक्रिया पूरा गर्नुपर्ने बताइएको छ। पार्वण श्राद्धमा माता र पितातर्फका ३/३ वटा पितृ (पिता, पितामह, प्रपितामह र मातामह, प्रमातामह, वृद्धप्रमातामह) लाई लक्ष्य गरेर तर्पण र पिण्डदान गरिन्छ। श्राद्धका दिनमा पितृतृप्तिका लागि मुख्य ४ कर्म स्पष्ट गरिएका छन्– क. तर्पण, ख. आमान्न (अन्न) दान, ग. पिण्डदान, घ. ब्राह्मण, इष्ट, दुःखी गरिबलाई खुवाएर मात्र भोजन गर्ने। यसैगरी पितृलाई आवाहन गर्न सर्वव्यापक भएकाले अग्निलाई अनुरोध गरेर हे अग्नि ! पृथ्वीमा भएका, अन्तरिक्षमा भएका र स्वर्गमा भएका हाम्रा पितृहरूलाई जुटाइदिनुहोस् भनेर पितृहरू जहाँ भए पनि अग्निले आवाहन गर्न सक्नुहुन्छ भन्ने सोच राखिएको छ। त्यस्तो सोच राखिनु वैज्ञानिक चिन्तन पनि हो।
आर्ष (ऋषि) परम्परा र दृष्टिकोणअनुसार देवकार्य र पितृकार्य फरक विधिले गर्नुपर्छ। देवताहरू भावनाबाट खुसी हुन्छन् तर पितृहरू भावनाको साथसाथै कर्मशुद्धि, वस्तुशुद्धि र वाक्यशुद्धि भएपछि मात्र उपस्थित हुन्छन्। यसैले श्राद्ध श्रद्धासँग मात्र गर्नुपर्ने शास्त्र–विधान छ। श्राद्ध गर्दा ८ चिजको महत्व हुने बताइएको छ– मध्याह्न काल, खड्गपात्र (खगौतो), नेपाली ऊनबाट बनेको राडी, चाँदी, कुश, तिल, गाई र छोरीको छोरो। त्योबाहेक नेपाली समाजमा तोरीको साग, टक्करको फूल र पात पनि आवश्यक हुने गर्छ। तर श्राद्धमा केतकीपुष्प, विल्वपत्र, करवीर, धतुरो नचढाउनू भन्ने निर्देशन छ। यसैगरी तुलसीपत्रलाई पितृपूजामा प्रयोग नगरेर पिण्डमा मात्र चढाउने प्रचलन छ। पितृहरू वचन, देवताहरू भाव, ऋषिहरू पूजा र साधुहरू मोक्षको कामना गर्छन् भन्ने पनि भनाइ छ –
पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः
ऋषयो ऽर्चनमिच्छन्ति मोक्षमिच्छन्ति साधवः
यसरी विधिका साथ शुद्ध भएर श्राद्ध गर्नुपर्ने शास्त्र–विधान छ। श्राद्धको उपादेयतालाई आधुनिक सोचबाट विचार गर्दा पनि पितृपितामहकै अंश पाएर जन्मे हुर्केको हुँदा उनीहरूको सम्मान गर्नु लोकाचारको दृष्टिले पनि आवश्यक मान्न सकिन्छ। त्यसमाथि गृहस्थले नगरी नहुने कामभित्र श्राद्ध पनि पर्दछ। छोराले श्राद्ध गरोस्, श्राद्ध पनि गयामा गएर गरोस् जस्ता चाहना पितृहरूले राखेका हुन्छन् भन्ने कुरा वराह महापुराण, स्कन्द पुराण, मत्स्य पुराण आदिले स्पष्ट गरेका छन्। सर्सर्ती हेर्दा गृहस्थ धर्म र लोकाचार पालन गरी कृतघ्न हुनबाट वच्न पनि बाबुआमाको सम्मानमा श्राद्ध गर्नु व्यावहारिक र शास्त्रीय दुवै दृष्टिबाट उपयुक्त र सामयिक हुने देखिन्छ। यसैले आधुनिक विज्ञान, वैज्ञानिक सोच, शास्त्रीय वचन र पराम्परा रक्षाका निमित्त पनि सबै समाजमा श्राद्ध अनिवार्य जस्तो बन्दै गएको मान्न सकिन्छ।
(अध्यक्ष, जयतु संस्कृतम् नेपाल)
प्रकाशित: २ आश्विन २०७९ ००:४० आइतबार