coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

जुनीचाँदेमा भोगेको जुनी

पहिलोचोटि म पहाड पुगेँ। काठमाडौंवरिपरि पनि पहाड छन्। ती पहाड म चढेकी छैन। जाजरकोट जिल्लाको जुनीचाँदे र सुर्खेतको बराहताल गाउँपालिका पुग्दा मैले एउटा भिन्न नेपाल देखेँ। पहाडी जीवनका विकटता बुझ्न पाएँ। थोरै दिनमा एउटा भिन्न जुनी भोगेँ।  

स्वास्थ्यसम्बन्धी अनुसन्धानको सिलसिलामा यो भ्रमण भएको हो। काठमाडौंबाट नेपालगन्जको उडानपछि हामी गाडीमा सुर्खेत पुग्यौं। भोलिपल्ट जुनीचाँदे जानुपर्ने थियो। नेपाल बन्दका कारण पर्सिपल्ट मात्र त्यहाँ पुग्यौं।  

जुनीचाँदे जाने ठाउँमा गाडी धेरै नचल्ने रहेछन्। एउटा बोलेरो गाडीको पछाडि चार जना र अगाडि दुई जनाका लागि ठाउँ हुन्छ। त्यसमा पनि काखमा अरू यात्रु बसाएर लानुपर्छ भनेको सुन्यौं।  

अर्कालाई काखमा बसाएर गाडी चढ्नुपर्ने कुरा हाम्रा निम्ति एकदम अनौठो थियो। उनीहरूका लागि यो सामान्य थियो।  

बाटो एकदम लामो र पुग्न झन्डै दिनभरि लाग्ने भएकाले हामी बरु पैसा थपेर दिन तयार भयौं। गाडी सञ्चालकलाई काखमा मान्छे नराखिदिन र त्यसबापत लाग्ने भाडा लिन हामीले आग्रह गर्‍यौं। बढी पैसा पाउने भएपछि उनीहरू पनि तयार भए।  

गाडीको अगाडि सिटमा बसेकी एकजना बहिनीको घर पनि जुनीचाँदे रहेछ। उनी जिल्ला सदरमुकाम खलङ्गामा बसेर पढ्दिरहिछन्। पछाडि कसैलाई पनि नराख्ने भन्यौं, तर अगाडि दुईजनाको ठाउँमा ४ जना बसेर जानुपर्ने अवस्था थियो। गाडीका साहु र चालक गुरुजी थिए। साहुले आफ्नो काखमा एक जनालाई राखेर लगे।  

मान्छे थपिँदै गरेपछि गाडीका साहु बाहिर झुन्डिएर यात्रा गरिरहेको देखेर आश्चर्य लाग्यो। उनी कहिले पछाडि चढेको छन्, कहिले ढोकामा झुन्डिएका छन्। यसरी यात्रा गर्दा दुर्घटना हुन पनि सक्छ। त्यसरी बिस्तारै जाँदाजाँदै बीचैमा कालोपत्रे सडक सकियो। त्यसपछि सुरु भयो जुनीचाँदे जाने बाटो।  

ठाउँठाउँमा गाडी खोला तर्न थाल्यो। पुल नभएका यस्ता बाटा हुन्छन् भन्ने कल्पना पनि थिएन। तीज आउन लागेको थियो। मैले बहिनीलाई सोधेँ, ‘तीजमा घर नजाने?’ उनले भनिन्, ‘अहिले नजाने, पछि दशैंमा जान्छु।’

तिनै बहिनीले भनिन्, गाउँमा अहिले बत्ती पनि पुगेको छैन। बत्ती नभएको ठाउँमा मानिस कसरी बसिरहेका होलान् भन्ने लाग्यो। सोलार पुगेको हुनाले जीवन त्यसैको भरमा चलिरहेको रहेछ।  

जुनिचाँदेमा होटेलमा बस्ने भयौं। त्यहाँ पुगेर हेर्दा कतैबाट पनि त्यो होटेलजस्तो देखिएन। गाउँको त्यो घर बच्चाबेलामा बनाएको रङ्गीचङ्गी पेन्सिलले बनाएको चित्रमा जस्तो थियो। पहाडको मुनि उभिएको त्यो दुईतले घरमा माथिबाट घाम लाग्दा चित्राकृति देखिन्थ्यो।  

होटलको दोस्रो तलाबाट हेर्दा देखेँ– घरहरू पहाडका टुप्पातिर कतैकतै मात्र छन्। भोलिपल्टदेखि तिनै घरमा सर्वेक्षणका निम्ति मानिस भेट्न जानुपर्ने थियो।  

हामी हिँड्दै गयौं। जति हिँड्दै गयो उति अप्ठ्यारो बाटो फेला पर्दै गयो। काठमाडौंमा बाटो र गाडी देख्दा नेपाल विकास भएजस्तो लाग्थ्यो। तर, यहाँको बाटो हिँड्दा लडिन्छजस्तो लागिरह्यो।  

हिँड्दा हिँड्दै सँगै गएका एकजना साथीले सोधे, ‘तिमीले पानी घट्ट देखेको छ?’ मेरा निम्ति त्यो एकदम नयाँ थियो। त्यो पानीबाट चल्ने मिल रहेछ। पानीको बलले चल्ने घट्टमा पिठो पिस्न गाउँका मानिस आइरहेका थिए।  

हामीले एकजना मानिस भेट्यौं। उनीसँग हामीले कुरा गर्नुपर्ने थियो। उनले आफ्नो घर त्यहींमाथि रहेको बताए। त्यहींमाथि भनेको घर कहिल्यै आउँदैन्। हिँडेको हिँड्यै गर्‍यौं। छेउछाउका पात र लहरा समात्दै उक्लिनुपर्ने त्यो बाटो थियो। कुनैबेला म लड्छु कि जस्तो लागिरहेको थियो। तर, त्यस्तो बाटोमा महिलाहरू आफ्ना बच्चा लिएर पनि हिँडिरहेका थिए। नहिँडेर के गरुन्, त्यहाँ न राम्रो बाटो छ, न गाडी नै।  

हामी बसेको होटलबाट स्वास्थ्य चौकी पुग्न करिब दुई घण्टा लाग्ने रहेछ। प्रसूति केन्द्र पुग्न पनि त्यस्तै टाढा रहेछ। बच्चा पाउन त्यहाँसम्म पुग्न पनि विकट रहेछ। केहीअघि समाचारमा बाटैमा प्रसूति भएको पढेकी थिएँ। त्यहाँ पुगेपछि बल्ल मलाई महसुस भयो, बच्चा पाउने ठाउँसम्म पुग्न पनि गाह्रो रहेछ। प्रसूति व्यथाले गाह्रो परेका बेला यही बाटोबाट स्ट्रेचरमा राखेर लगिने रहेछ।  

अधिकांश महिला घरमै सुत्केरी हुन्छन्। ‘आखिर किन?’ मैले प्रश्न सोधें। उनीहरूका अनुसार बच्चा पाउने ठाउँ टाढा छ। त्यहाँ पुग्न खोला पनि तर्नुपर्छ। खोला तर्दा भूत लाग्न सक्ने विश्वासले घरैमा बच्चा जन्माउने गरेको उनीहरूले बताए। आमाको ज्यानै जाने अवस्था भयो भने भूत लागे पनि लागोस् भन्दै बल्ल प्रसूति केन्द्रमा लगिने रहेछ।  

यहाँ कलिलै उमेरमा विवाह गर्ने चलन रहेछ। मभन्दा कम उमेरका महिलाले दुई–तीनवटा बच्चा पाइसकेको देखेर अचम्म लाग्यो।  

हिँड्न नसकिने बाटो। जति हिँडे पनि नपुगिने। एकदम दुर्गम ठाउँमा इन्टरनेटको सुविधा पनि छैन। मोबाइलको नेटवर्क आउँदैन। यस्तो ठाउँमा पनि मानिसले जीविका गरेकै छन्। यो ठाउँ काठमाडौंभन्दा दशकौं पछाडि परेको अनुभव भयो मलाई।  

अर्को दिन हामी बसेको ठाउँभन्दा पारीको गाउँमा गयौं। हिँड्दा हिँड्दा गलिसकेर जति सोध्दा पनि त्यहाँका मानिसले धेरै टाढा छैन मात्र भन्छन्। उनीहरूको पाँच मिनेट हाम्रा निम्ति आधा घन्टाभन्दा कम थिएन। गाउँ नजिकै पुगेर सर्वेक्षणका निम्ति मानिस खोज्यौं।  

त्यहाँ केही मानिस भेटिए। एउटी दिदीले सोध्नुभयो, ‘बाबु कहाँबाट आउनुभयो भन्नुभयो?’ मैले काठमाडौंबाट आएको भनेँ। पारि गाउँपालिका नजिकै बसेको जानकारी पनि दिएँ। उहाँले फेरि सोध्नुभयो, ‘घाँटीमा के भयो?’  

मलाई यता आएपछि गर्मीले घाँटीमा एलर्जी गराएको थियो। मेरोबारेमा यसअघि कसैले चासो देखाएका थिएनन्। उहाँले फेरि मायालाग्दो गरी सोध्नुभयो, ‘धेरै थाक्नुभयो नि।’ म थचक्क घाँसमै बसेँ।  

उहाँले सोध्नुभयो, ‘काक्रो खानुहुन्छ?’ मैले खान्छु भनेँ। उहाँले काक्रो काटेर खुवाउनुभयो। हामीसँग गाउँका दुईजना बुबा पनि बस्नुभएको थियो। दिदीले उहाँहरूलाई काक्रो दिनुभएन। बल्ल थाहा भयो, ती दिदीले दिएको खानेकुरा जातका कारण उहाँहरूले खानुहुँदो रहेनछ। यस्तो व्यवहार अझै गाउँमा रहेछ। यहाँ त मान्छे मान्छेबीचको भेदभाव मात्र होइन, सुत्केरीलाई समेत छुन हुँदैन भनेर १० दिन अलग्गै राखिने रहेछ। माया र हेरचाह चाहिने बेलामा सुत्केरीलाई छुन नहुने चलन मलाई अनौठो लाग्यो। ती दिदीले आफू पनि कुनै बेला बजार नजिकै सुविधामा रहे पनि अहिले यस्तोमा बस्नुपरेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘बिस्तारै बानी पर्दै छ।’

‘तपाईं पनि बजारबाट यस्तो ठाउँमा आउनुभयो, देखेर माया लाग्यो,’ दिदीले भन्नुभयो, ‘तीज आउँदै छ, यतै बस्नू। रमाइलो हुन्छ।’

‘कोही कोही मान्छे देख्दा आफ्नो जस्तो लाग्ने,’ दिदीले यसो भन्दै मेरो फोन नम्बर पनि लिनुभयो। उहाँ निकै रमाइली र सरल हुनुहुन्थ्यो। उहाँको मिठो माया र सम्झना लिएर हामी बाटो लाग्यौं। जुनीचाँदेबाट सुर्खेत फर्किने बिहानदेखि पानी परिराखेको थियो। पहिरो जानसक्ने खराब बाटोका कारण तत्काल निस्किन डर थियो। बल्ल हिँडे पनि गाडी बीचमा पुगेर नजाने पिर पनि थियो।  

बराहताल जाने बेलामा फेरि ठाउँ कस्तो होला भन्ने चिन्ता लागिरह्यो। जुनीचाँदेकै जस्तो भूगोल होला भन्ने लागेको थियो। बाटोमा भेटिएका मानिसलाई त्यहाँको भौगोलिक अवस्था सोध्थ्यौं। जुनीचाँदेजस्तो कठिन छैन भन्ने उत्तर आउँथ्यो। केही दिनपछि हामी बराहताल गयौं। त्यहाँ सिमेन्टले बनेका होमस्टे र होटल पाइए।  

यहाँ पनि पुगेर फेरि काममा लाग्यौं। बस्ने होटल भए पनि कामका लागि जाँदा खाने ठाउँको ठेगान थिएन। आफूसँग लगेको चाउचाउ र बिस्कुट खान्थ्यौं। दैनिक हिँड्दा र काम नसकिँदा दिक्क लाग्थ्यो। कहिले २–३ घण्टा जंगलको बाटो पनि हिँड्थ्यौं। ‘तिमी त काठमाडौंमा मात्र बस्या छैनौ नि,’ एक दिन सहकर्मी दाइले उत्साहित तुल्याउँदै भन्नुभयो, ‘काठमाडौंमा मात्र बस्ने त कुवाका भ्यागुता हुन्।’

हिँड्दा हिँड्दा थाकेको बेला आफूलाई कुवाको भ्यागुता ठीकजस्तो लागिरहेको थियो। काम सकेर फर्किने बेला साथी र म एउटा पसलमा गएर जुस किन्न गयौं। त्यहाँ तीनजना बुबाहरू हुनुहुन्थ्यो। उहाँहरूले आफै कहाँबाट आएको भनेर सोध्नुभयो। हामीले काठमाडौंबाट भन्यौं।  

उहाँले सोध्नुभयो, ‘कस्तो लाग्यो त हाम्रो ठाउँ?’ हामीले भन्यौ, ‘अलिक दुर्गम छ। काठमाडौंजस्तो सजिलो छैन। तर, ठाउँ राम्रो लाग्यो।’

‘हाम्रो सुगम ठाउँ हैन, दुर्गम छ तर हामी आरामले बस्न सकेका छौ यहाँ,’ उहाँहरूले भन्नुभयो, ‘काठमाडौंका मान्छेहरू कसरी बस्छन्? कस्तो तरकारी खान्छन्? एक दिन म कालीमाटी गा’को हेर्दा यस्तो राम्रो साग सब्जी तर खाँदा न केही स्वाद छ, ओइलेको त्यस्तो तरकारी खान्छन्। धुवाँ, धुलोमा बस्छन्। हामी त आरामले यहाँको हावामा सास त फेर्न पाइराख्या छांै।’

थकित भई प्यास लागेर एउटा घरमा पस्यौं। त्यहाँ मान्छे लुगा सिलाउँदै थिए। हामी आएपछि कुर्सी ल्याएर राखिदिए। असाध्यै तिर्खा लागेकाले पानी माग्यौं। कठै, उहाँहरूसँग पनि पानी रहेनछ। हाम्रा लागि भनेर कतैबाट पानी ल्याएर दिनुभयो। फर्किदा फेरि प्यास लागेको थियो तर फेरि त्यहीं गएर पानी माग्न सङ्कोच लाग्यो। त्यही भएर तिर्खैमा हिँड्यौं। हामी जुन ठाउँमा गए पनि आदरसत्कार गरी जे पाकेको छ, त्यही खाऔं भन्नुहुन्थ्यो। ‘भात पकाऔं?’ उहाँहरू सोध्नुहुन्थ्यो, ‘हजुरहरू बिहानैबाट हिन्नुभएको होला। केही खानुभा’को छैन होला।’

जता गए पनि गुन्द्री ओछ्याएर बस्न दिने र कुराकानीका लागि समय दिने गर्नुहुन्थ्यो। एकदिन बिहान बराहतालको एउटा गाउँमा घुम्दा एउटी सानी बहिनीले सोधिन्, ‘दिदी कता जान लाग्नुभएको?’  

चिनेको नजानेको अलि फरक मानिस देखेर उनले सोधेकी होलिन्। भ्रमणको सुरुदेखि नै जता जाँदा पनि सबैले कहाँबाट र के कामले आउनुभयो भनी सोध्ने चलन रहेछ। पछि भने मलाई सामान्य लाग्न थाल्यो।

काठमाडौं फर्किएपछि गाउँको सम्झनाले मलाई छोडेको छैन। त्यहाँ हिँडेका बाटा, त्यहाँ भेटिएका निश्छल मानिस र समयले एउटा भिन्न नेपालको चित्र प्रस्तुत गरिरहेका छन्। गाउँमा थकित भएर हामीलाई काक्रा काटेर दिने मिना नेपाली दिदीसँग त मेरो भावनाको साइनो नै गासिएको छ। उहाँको फोन आउँदा अनायासै उहाँको त्यो हार्दिकताले गर्लम्म अँगालो हाल्छ।

प्रकाशित: १ आश्विन २०७९ ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App