९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

दोष कसलाई?

धेरै सोचविचार र सुझावपछि मूर्त रूप पाएको गाउँ पस्ने निर्णय लिएको हिजोझैँ लाग्छ। अत्यन्तै खुसी थिएँ त्यस दिन, सानो छँदाका साथीभाइहरूलाई आफूले जानेको विषयका समस्या सिकाउने रहर अब पेसामा जो बदलिँदै थियो।

जीवनको उत्तरार्द्धमामा प्रवेश गर्दा एउटा अर्थपूर्ण जीवन बाँचेको थाहा नभएको शायदै कोही हुन्छन्। आजसम्म आफूले चाहेका कुनै पनि कुरा सजिलै हासिल गर्न नसकेको यथार्थ, शिक्षण पेसामा आबद्ध हुनुअघि पनि उत्तिकै कठिन हुन पुग्यो। बडो मेहनत र हन्डर भोगेर प्राप्त भएको थियो यो पेसा। शिक्षक हुनुअघि बसेको ४२ दिने बन्द शिविर तालिमबाट आफूमा केही परिवर्तन आएको भान नभएको होइन। त्यसबखत लाग्थ्यो, देश र समाज भनेको हामी जस्तै युवा जनशक्तिको हातमा छ, अझै लाग्छ। वर्तमान कालमा आइपुग्दा सोचाइ र बुझाइमा पहिलेभन्दा अलि बढी समझ भएको अनुभूति हुन्छ, त्यसैको उपज हो यो लेख।

सानैदेखि लजालु स्वभावको म, उही बेलादेखि आफूलाई समाज रूपान्तरणको मार्गमा केही भूमिका निर्वाह गरेको सपना देखने गर्थेँ तर विडम्बना, आफूले बोल्नै नजान्ने ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्दै बुबाले सधैँ प्रेरणा दिनका निमित्त अस्वाभाविक ढंगले कहिले स्कुलमा सबैको अगाडि प्रेजेन्टेसन दिन लगाउने त कहिले चाल नपाउँदै यस्तो अवस्थामा ल्याइपुर्‍याउने जहाँ मैले केही बोल्नैपर्ने हुन्थ्यो।

होचो कद र फिस्टे जीउडालको मलाई प्रायःजसो नातेदारहरूले एसएलसी दिनेबेलासम्म पनि भर्खर ५,६ मा पढ्ने फुच्चेको संज्ञा दिने गर्थे। यी सबै कुराले मलाई उसबेला बडो इन्सेक्योर फिल गराउँथ्यो। त्यहीमाथि आफ्नो पारिवारिक स्थिति खासै सबल नभएको हुँदा पनि स्कुल जीवनमा सोचे जति गर्न नसकेको आभाष हुन्छ। धेरै सोच्ने बानी र आफ्नो भावनाहरू मनभित्रै कैद राख्ने म, परिकल्पना गर्थेँ, कसरी हुन सक्ला मैले भविष्यमा म जस्तो अन्य धेरै ‘म’ हरूलाई मै जस्तो ममा सीमित नहुन प्रेरणा दिने। ‘तँ आँट म पुर्‍याउँछु’ भनेझैं सायद परिश्रमको नतिजा राम्रो भइदिएकाले त्यो लजालु फुच्चे आजको दिनमा आउँदा हिजोको भन्दा अलि बढी तार्किक र सामाजिक हुन पुगेको छ।

कुरो २०७८ साल साउनको। मलगायत मेरा टिच फर नेपालको प्रज्ञार्थी सहपाठी आइपुग्यौँ प्रतापकोट, दाङमा। आफ्नो दुई वर्षको कार्यकाल निर्वाह गर्न। ग्रामीण शिक्षा पद्धतिमा आफ्नो सिकाइ मार्फत गुणस्तर ल्याउने अभिलाषा बोकेर। दुई वर्षको कार्यकाल कोभिडमय हुन पुगेकाले विद्यालय र विद्यार्थीमा गुणस्तर ल्याउनका लागि गर्नुपर्ने कार्यको लिस्ट लामै हुने ठहरियो।

लाग्थ्यो, दुई वर्षको गाउँको बसाइ गाह्रो हुँदैन। यस ठाउँको हावापानी नै त्यस्तै। बाल्यकालदेखि नै बाहिर धेरै बसेको हुँदा, यो बसाइ पनि सहज हुने निश्चित थियो। एउटा प्रकृतिप्रेमीलाई पहाड र आकाशमाथिको क्षितिज नै आफ्नो घर लाग्नु स्वाभाविक पनि त थियो। त्यो सबैले भरिपूर्ण छ, प्रतापकोट।

अन्ततः समय बित्दै जाने क्रममा केवल मनमोहक प्रकृतिले मात्रै पेट नभर्दो रहेछ, आशा र अपेक्षाहरू बढ्दै जाने रहेछन्। स्मरण गर्छु, कक्षाकोठामा शिक्षकको भूमिकामा बिताएको मेरो पहिलो दिन। कक्षामा छिर्दा एउटा बेग्लै किसिमको सन्तुष्टि मिल्थ्यो, लाग्थ्यो यो चार भित्ताभित्रको प्रत्येक कक्षा कोठा एउटा युद्धभूमि हो र यही भूमिबाट भोलिको दिनमा समाजमा रहेको यावत् असमानता, अविकास र अन्धकारहरू पर्दाफास गर्न एक न एक व्यक्ति पकै जन्मन्छ।

एउटा बच्चाको भविष्य एक दिनको समुदाय भेटघाट र भलाकुसारीमा अनुमान लगाउने तालिम पनि त्यही ४२ दिने बन्द शिविरमा सिकेकै कुरा हो। कुनै विद्यार्थीको भविष्य उसको घरको परिस्थितिले मात्रै नभई त्यहाँको सामाजिक सांस्कृतिक पक्ष, विद्यालय व्यवस्थापन र गाउँको प्रचलनले पनि निर्धारित गर्दछ। सरकारी विद्यालयमा पढाउन लागेको केही महिना दिन नबित्दै विद्यालय, व्यवस्थापन र समाजको बनोट प्याज सरह केलाउँदै गएँ र तौलिएँ कति चिजलाई आफ्नै गतिमा बग्न दिने र कति कुरालाई आफूले बदल्ने। अक्सर हामी सोच्ने गर्छौँ, ‘म एउटैले गरेर के नै पो हुन्छ र?’ यस्ता सोच समाज परिवर्तनको प्रतिगामी हुने गर्दछन्।

एउटै शिक्षकले गर्दा, धेरै विद्यार्थीको पठनपाठनमा फरक पर्ने, बिदा एकै जनाले पाए पुग्ने, खाना एउटैले खाए अघाउने तर परिवर्तन एउटैबाट सम्भव किन नहुने? परिवर्तन आफैंबाट सुरु हुन्छ र त्यसबाट विमुक्त हुने नियन्त्रण पनि आफैँमा। सरकारी विद्यालयहरूमा सुधार ल्याउनमा ठूलै पहाड उचाले झैं तागत लगाउन पनि पर्दैन, समयमै कक्षा कोठा पसेर पढाइदिए, विद्यार्थी-शिक्षकबीच राम्रो सम्बन्ध विकास हुन्छ। पढाउने पाठहरूलाई धेरै नभए पनि केही समय निकालेर लेसन प्लान निर्माण गरे शिक्षक स्वयंलाई पनि आफ्नो टिचिङप्रति आत्मविश्वास बढ्न जान्छ र विद्यार्थीले सोही पाठ बुझेको नबुझेको अनुगमन गरेर आवश्यकताअनुसार उसलाई टिप्स दिए पुग्छ।

कुनै पनि चुनौतीलाई पूर्वतयारी र इमान्दारिताको साथ सामना गरे सार्थक हुन नसक्ने कुरै छैन। जागिर र सहुलियत हामी सरकारी खोज्छौँ तर विद्यालय र सुविधाचाहिँ निजी। हामी सरकारी जागिर प्राप्त गर्न जति मेहनत र लगनशीलताका साथ लागिपर्छौँ त्यति नै जाँगर हामीले सरकारकै ढुकुटीबाट स्वचालित उही सरकारी विद्यालयको उत्तथानको निमित्त पनि समर्पण गर्न सक्नुपर्दछ।

शिक्षक सहपाठीहरूसँग ब्रेक टाइममा गफ चल्दा अक्सर लाग्ने कुरा हो, सम्पूर्ण शिक्षकहरू एउटै महत्व आकांक्षा लिएर विद्यार्थी र विद्यालयको भलो चिताउन कस्सिएका हौँ तर त्यस लक्ष्यमा पुग्नलाई सबैजनाले आफ्नो पेसाको भारलाई मज्जाले बोध गरेको हुन पनि अति आवश्यक हुन्छ।

एकातिर एउटा फुर्सदिलो अविवाहित युवक र अर्कोतिर सपरिवारको जिम्मा हाँकेको व्यक्तिबीचको सुरुवाती दौडको रेखा नमिलेझैँ शायद शिक्षा सुधारको निमित्त दौडेको दौड पनि आफैँमा विवादासपद भएर होला, होस्टेमा हैँसे मिलाउन हम्मे परेको। म सोच्ने गर्थेँ, सरकारी एवम् सामुदायिक स्कुलका शिक्षकहरूमा जोस र जाँगर तुलनात्मक रूपमा कम हुन्छ तर गलत रहेछु म। जोस जाँगरको कुरा गर्दै हिँड्ने म, दुई वर्ष पुग्दा/नपुग्दै विद्यालय र विद्यार्थीको पीडा र असमानताको गहिरो खाडल देखेर आफूलाई निकै भावुक र आन्दोलित भएको पाउँछु।

सोच्नुहोस् तिनै सरकारी स्कुल पढाएका अनेकन शिक्षकले देखेका यस्तै कैयन् असमानताका झलक। लाग्छ, हामीले श्रेय दिन छुटाउनै नहुने एक पेसा हो, सरकारी तथा सामुदायिक स्कुलको शिक्षक जो आफूभित्रका रोदन र भोगेका अन्यायका गाथाहरू मनभित्रै कैद गरेर हरेक दिन स्कुल पढाउन आएकै हुन्छन्।

वास्तवमा कोही मान्छेको नियत खराब नहुँदोरहेछ, कुनै दुईटा चिजको दाँजोमा एउटा ठीक र अर्को बेठीक नै हुनुपर्ने बाध्यात्मक परिस्थितिमा रुमलिएकाले हाम्रो मूल मान्यताले गर्दा मात्रै कोही गलत कहलिन्छ यहाँ। हो, यस्तै बाध्यता र परिस्थितिको चपेटामा परेका छन् धेरै शिक्षक साथीहरू। उता विद्यार्थीको परिवारमा केही समय बिताएँ। त्यही दुःखको सागर देख्छु। हाफ टाइममा घरमा कोही नभएको कारण बताएर घरमा बेसहारा जिन्दगी बिताएका विद्यार्थीको गाथा उत्तिकै मार्मिक पाउँछु। त्यस्तै वैदेशिक रोजगारीमा खटेका बुबा आमाको गाथा सुन्दा फेरि निस्ताउँछु। समाजका यति धेरै नगण्य पात्र सधैँ ओझेलमा परिरहँदा हामी सबैले एकपटक आफँैलाई अनिवार्य सोध्नैपर्ने प्रश्न हो– दोष कसलाई?

प्रकाशित: १२ भाद्र २०७९ ००:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App