१३ आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

राजपाक्षे परिवारको पतन

झण्डै २ दशकसम्म राजपाक्षेका ४ दाजुभाइ र छोराहरूले श्रीलंकालाई पारिवारिक व्यवसायका रूपमा चलाए। विद्यमान अव्यवस्थाको कारण त्यही बन्यो। ठूलाठूला परियोजना र अत्यधिक खर्चका कारण थेग्न नसकिने क्रृणको मारमा श्रीलंका पुग्यो। यही कारण स्वतन्त्र भएयताको सबैभन्दा ठूलो आर्थिक संकटमा श्रीलंका फस्यो। अहिले राजपाक्षे वंशको पतन भएको छ।  

राजपाक्षे शासनको स्थापनामा महिन्दा राजपाक्षेको महत्वपूर्ण भूमिका छ। सन् २००५ मा राष्ट्रपति बनेपछि उनले एक दशकसम्म फलामे लठ्ठी चलाएझैँ शासन चलाए। यो अवधिमा नागरिक स्वतन्त्रतामा आक्रमण, राष्ट्रपतिको शक्तिको विस्तार तथा एकपछिअर्को गरी चीनसँग खराब सम्झौताहरू भए। यो सम्पूर्ण प्रक्रियामा उनको परिवारको साथ रह्यो। विशेषगरी उनका कान्छा भाइ गोटवायाले रक्षामन्त्रीको जिम्मा लिए। तर सन् २०१५ सम्म आइपुग्दा महिन्दाले झिनो मतले राष्ट्रपति चुनाव हारे र केही समयका लागि राजपाक्षे परिवार सत्ताबाट बाहिरियो। यही अवधिमा संसद्ले राष्ट्रपतिको अवधिलाई सीमित पार्‍यो र त्यही कारणलेअर्कोपटक राष्ट्रपति हुने महिन्दाको चाहनामा तुषारापात भयो। त्यसो हँुदाहँुदै पनि आफ्नो शासनलाई पुनस्र्थापना गर्ने योजना राजपाक्षे परिवारले बनायो। गोटवायाले अमेरिकी नागरिकता त्याग्ने र राष्ट्रपतिमा उम्मेदवारी दिने भए। विजयका लागि उनलाई सजिलो थियो। सन् २००९ मा उनी रक्षा सचिव थिए, जतिबेला महिन्दाले तामिल टाइगरविरुद्ध अन्तिम सैनिक कारबाहीको निर्देशन दिएका थिए। यही कारबाहीका कारण २६ वर्ष लामो गृहयुद्ध समाप्त भएको थियो। यो विजयले बहुसंख्यक सिंहाली रहेको श्रीलंकामा राजपाक्षे दाजुभाइ हिरोका रूपमा उदाएका थिए।

तमिल टाइगरविरुद्धको अन्तिम युद्धमा ४० हजार भन्दा बढी सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको थियो। यसलाई युद्ध अपराध मान्नुपर्ने माग अन्तर्राष्ट्रिय क्षेत्रमा उठेको थियो। संयुक्त राष्ट्र संघले यो अन्तर्राष्ट्रिय कानुनको भयंकर उल्लंघन बताएको थियो। युद्धका बेला सैनिक कमान्डर रहेका सरथ फोन्सेकाका अनुसार गोतवायाले शरणमा परेका विद्रोही नेताका नृशंस हत्या गर्ने निर्देशन दिएका थिए। पहिला क्यालिफोर्नियामा बसोबास गरेका उनलाई युद्ध अपराधको अभियोगसमेत लगाइएको थियो। तर बहुसंख्यक सिंहाली समुदायको रक्षाका लागि आफूहरू लागेको दाबी राजपाक्षे दाजुभाइको थियो।  

जातिगत लाभका कारण सन् २०१९ मा गोटवायाले राष्ट्रपति चुनाव जिते र तत्काल महिन्दालाई प्रधानमन्त्री पदमा नियुक्त गरे। महिन्दाले आफ्ना २ छोरा रअर्को २ दाजुभाइ, १ भतिजालाई मन्त्री र अन्य उच्च सरकारी पदमा नियुक्त गरे। त्यही वर्ष मुस्लिम कट्टरपन्थीहरूले इस्टर सन्डेको अवसर पारेर गरेको बम आक्रमणमा २७७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। यो आक्रमणले सन् २००९ यतादेखि बुद्ध धर्मावलम्बी अधिक रहेका सिंहाली र अल्पसंख्यक मुस्लिम समुदायबीच रहेको आपसी तनाव बढाएको थियो। इस्टर सन्डेको आक्रमणका नाममा सिंहाली राष्ट्रवादको नाममा अन्यलाई कारबाही गर्ने अवसर राजपाक्षेले पाए। श्रीलंकामा मुस्लिमहरूको जनसंख्या कुल जनसंख्याको १० प्रतिशत छ। जातिगत र धार्मिक तनावबीच गोटवायले राष्ट्रपतिको अधिकार विस्तार गरे। उनले सन् २०२० मा संवैधानिक संशोधन गरेर व्यवस्थापिकालाई भंग गर्ने अधिकार स्थापित गरे। उनका दाजुको पदचाप पछ्याउँदै उनले अर्थतन्त्रलाई अद्योगतिमा लग्ने काम गरे। यीमध्ये चीनसँग भएका सम्झौता केही उदाहरण हुन।  

महिन्दाको शासनकालमा संयुक्त राष्ट्र संघमा जारी युद्ध अपराधको अभियोगको मुद्दामा चीनले राजपाक्षेको पक्षमा आफ्नो अभिमत दिएको थियो। यही कालखण्डमा महत्वपूर्ण भौतिक संरचना निर्माणको जिम्मा चीनले पायो भने श्रीलंकालाई ठूलो धनराशि बराबरको ऋण दिने राष्ट्र चीन बन्यो। राजपाक्षे परिवारको आफ्नो जिल्ला हामवानटोटामा पारिवारिक सालिकहरू निर्माण गरिए र यसले ऋणको मात्रालाई झन उकास्ने काम भयो। यसैगरी त्यही क्षेत्रमा बनेको विमानस्थल, क्रिकेट स्टेडियम र बन्दरगाहको कुनै खास प्रयोजन हुन सकेन। यही कारणले सन् २०१७ मा ९९ वर्षका लागि यो बन्दरगाह चीनले लिजमा लियो। यसैगरी चीनको १३ अर्ब अमेरिकी डलरको लागतमा कोलम्बो नजिकै निर्माण गरिएको ‘पोर्ट सिटी’ परियोजना सबैभन्दा महँगो परियोजना बन्यो। रणनीतिक फाइदाका लागि सम्बन्धित देशका शक्तिशालीसँग सम्झौता गरेर अगाडि बढ्ने चिनिया रणनीति सफल भयो।  

चीनले सन् २०१४ देखि यो दिशामा काम गर्न थालेका थियो। पारबहनका लागि विश्वका महत्वपूर्ण सामुन्द्रिक मार्ग नजिक आफ्नो प्रभुत्व जमाउन चीन उत्सुक थियो। चीनसँग श्रीलंकाले सार्वजनिक नगरिएका विभिन्नखाले ऋणसमेत लिएको थियो तर राजापाक्षे परिवारले आर्थिक संकट स्वीकार गरेर त्यसलाई सम्बोधन गर्ने दिशामा खास रुचि देखाएन। झन, २०१९ मा ठूलो मात्रामा कर छूट गरियो र यसले राजस्व एकतिहाइले घट्यो। यही अवधिमा सुरु भएको कोरोना महामारीका कारण पर्यटन र गार्मेन्ट उद्योग नराम्ररी प्रभावित बन्यो। यसले विदेशी मुद्राको आर्जन रोकियो। युक्रेन युद्धका कारण इन्धन र खाद्यवस्तुको मूल्यमा आएको वृद्धिले श्रीलंकाको वैदेशिक मुद्रा सञ्चिति रित्तियो। यही संकटको सेरोफेरामा श्रीलंकालीहरू हजारौँको संख्यामा प्रदर्शनमा उत्रे।  

नचाहँदा/नचाहँदै पनि मे ९ मा प्रधानमन्त्री पदबाट महिन्दाले राजीनामा दिए। यसले प्रदर्शन साम्य हुने अपेक्षा गरिएको थियो तर विरोध प्रदर्शनीको वेग घटेन। प्रदर्शनकारीले राष्ट्रपति निवासमा कब्जा जमाएपछि राष्ट्रपतिले राजीनामा दिन बाध्य भए। राष्ट्रपतिको सयनकक्षमा पुगेको र बगैँचामा खाना पकाएको फोटाहरूलाई श्रीलंकालीहरूले जनताको शक्तिको प्रतीक मानेका छन्। यो घटना एसिया तथा ल्याटिन अमेरिकका राजनीतिक शक्तिलाई पनि चेतावनी हो। जतिबेला एक परिवारले सरकार तथा पार्टीमा हालीमुहाली गर्छ, त्यतिबेला उत्तरदायित्व संकटमा पर्न जान्छ। यसले अन्ततः त्यो परिवारको पतन हुन सक्छ। यो ऋणको चर्कोभारमा रहेका अन्य राष्ट्रलाई पनि ठूलो पाठ हो। ऋण दिगो पार्न नसक्दा संकट निम्तन सक्छ।

श्रीलंकाका सन्दर्भमा आगामी नेतृत्वले अर्थतन्त्र पुनर्उत्थान, अत्यावश्यक वस्तुको सुनिश्चतता, कानुनी राज्यको स्थापना तथा वर्तमान संकटका लागि जिम्मेवार रहेकालाई कारबाही गर्ने जस्ता काम अगाडि बढाउनुपर्छ। तर राजनीति नै रक्तरञ्जित हुने गरेको श्रीलंकाका विगतको इतिहासका कारण राजपाक्षेको विरासतबाट मुक्त हुने दिशामा चुनौती धेरै छन्।  

(चेलानी नयाँ दिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्चका प्राध्यापक र बर्लिनस्थित रोवर्ट वोस एकेडेमीका फेलो हुन्। प्रोजेक्ट सिन्डिकेट)

प्रकाशित: ३० असार २०७९ ००:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App