धान दिवस तथा महोत्सव भनेको हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्नेमात्र होइन। धान रोपेदेखि भित्र्याउने दिनसम्मको कर्मका रूपमा लिनुपर्छ यो दिवसलाई।
धान नेपालको प्रमुख बाली हो। देशको ७७ वटा जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकको ७५ वटा जिल्लामा धान खेती गरिन्छ। धान समुद्र सतह भन्दा ६० मिटर झापा जिल्लाको कचनाकेवलदेखि माथि ३ हजार ५० मिटर जुम्ला जिल्लाको हुमचौरसम्म खेती गर्ने गरेको छ। नेपालमा कुल क्षेत्रफलमध्ये (४७ प्रतिशत) १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। जसमध्ये तराईमा ७० प्रतिशतमध्ये पहाडमा २५ प्रतिशत र उच्च पहाड ५ प्रतिशत क्षेत्रमा धानको खेती हुन्छ।
धान देशको प्रमुख र ठूलो क्षेत्रफलमा रोपण हुने बाली भए तापनि गुणस्तरीय बीउ बिजन नपाउनु, बाली लगाउने समयमा मल नपाउनु, स्वदेशको कृषि पेसाले परिवारको पेट नभरिने र निर्वाह नहुने देखेर कोदालो समाउनुपर्ने हातहरू पासपोर्ट मोहमा पर्न बाध्य हुनु, खेतीयोग्य जमिनमा सिँचाइ व्यवस्था नहुनु, मरिमरी लगाएको बाली वन्यजन्तुले क्षति पुर्याउनु, बाली थन्क्याउने बेलामा हावा, हुरी, बाढी, पहिरो डुवान, रोग कीरा फट्यांग्रालगायत प्रकोपका कारण धानको उत्पादन घट्दै गई आ.व २०७७/०७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएकोमा आ.व २०७८/०७९ मा ५१ लाख ३० हजार मेट्रिक टन मात्र धान उत्पादन भएको देखिन्छ। यस तथ्यांकअनुसार आ.व. २०७७/०७८ र २०७८/०७९ एक वर्षमा ४ लाख ९१ हजार ८५ मेट्रिक टन धान उत्पादनमा गिरावट आएको छ।
धान दिवस र नारा: देशको अवस्था परनिर्भरतातर्फ बगिरहेको छ भने झण्डै २ दशकअगाडि २०६१ देखि सरकारी निर्णयपश्चात हामी नियमितरूपमा विभिन्न नाराका साथ असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउँदै आएका छौँ। कुनै पनि दिवस तथा महोत्सव मनाउने भनेको रमाइलोका लागि मात्र होइन। त्यसले समाजमा सकारात्मक सन्देश दिनुपर्छ।
धान दिवस तथा महोत्सव भनेको हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्नेमात्र होइन। धान रोपेदेखि भित्र्याउने दिनसम्मको कर्मका रूपमा लिनुपर्छ यो दिवसलाई। यस कर्मको सुरुवाती दिन असार १५ गते हो। आजकल धान दिवस मनाउने क्रममा पनि विकृति भित्रन लागेको छ। असार १५ मा मनाउने दिवस जस्तो विशेष दिनलाई रमाइलोका रूपमा लिएर हप्तौँ अगाडिदेखि मनाउन थालिएको छ।
यसले धान दिवस तथा महोत्सवको खिलाप उडाएको भान हुन थालेको छ। हामीले विगतदेखि हालसम्म १८ वर्षको धान दिवस तथा रोपाई महोत्सवलाई बिँट मारी सकेका छौ। समय सान्दर्भिक नारा घन्काउँदै दिवस मनाइरहँदा हामीले लिएको नारा सार्थक भयो त हामीले सोच्यौ कि सोचेनौ। विगतका नारालाई फर्केर हेर्ने हो भने नारा एकातिर धान तथा कृषि उत्पादनको अवस्था अर्कोतिर मौलाएको पाइन्छ।
हामीले कृषि भूमिको संरक्षणको नाराका साथ धान दिवश मनायौ हाल धान फल्ने खेत खण्डीकरण भइ कङक्रिड संरचना तथा घरहरू फलेका छन्। हामीले धान उत्पादनमा वृद्धि गर्ने नारा लियौं धान अतमल निर्यातक देश यस आ.व.को ९ महिनासम्ममा मात्र ४० अर्ब भन्दा बढीको चामल किनेर खायौं। यसले हामीलाई 'नारामा अल्झिएको धान दिवश' भन्न बाध्य बनाएको छ। कृषि नाराले चल्दैन भन्ने शिक्षा दिएको छ तर हामीले बुझ्न सकेका छौनौ। दिवसलाई मात्र दिवसको रूपमा रमाइलोको लागि मनाउने गरेका छौं। समिक्षा गर्ने गर्दैनौ। अब समिक्षाको खाँचो छ।
हालसम्मका नाराहरू हेर्ने हो भने नारा एकातिर कृषि र किसानको अवस्था अर्कोतिर उल्टो दिशातर्फ बगेको देखिन्छ। नारामा समृद्धि खोजिएको छ उत्पादनमा उँधोगती बडेको छ। धानको उत्पादन ओरालो लागेको छ। किसानहरू कर्मबाट निराश बनि रहेकाछन्। राज्यले आफ्नो धर्म निर्वाह गर्न सकेको छैन। आफ्ना किसानको क्षमता र देशको स्थितीलाई अनुकुल नीति नियम निर्माण र कार्यान्वयन गर्न सकेको छैन।
विगतका वर्ष झै यस वर्ष बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र राष्ट्रिय वाली विज्ञान अनुसन्धान केन्द्रको आयोजनामा 'धानवालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग' भन्ने मूल नाराका साथ १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७९ मनाउने तयारी भइ रहेको छ। रासायनिक मल आयात गर्न नसकेको रनामा मात्र नपरी साँच्चीकै किसानको मन मस्तिष्कमा नै पुगेर किसानले लिन खोजेको वाटो नै अवलम्वन गर्नको लागि ल्याएको नारा हो भने स्वागत योग्य छ।
कहिले काँही लाज पचाउन पनि नारा बनाउने हाम्रो चलन छ। हामीले यस नारा बनाइरहँदा सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेट बक्तव्यलाई आधार त पक्कै मान्यौ होला यदि नमानेको भए पनि मान्नु पर्छ। आ.व २०७९/०८० को बजेट बक्तव्यमा ग्रिनहाइड्रोजन र ग्रिन एमोनिया प्रविधि प्रयोग गरी रसायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्ड नेपाल मार्फत कार्य अगाडी बढाउने, रसायनिक मल खरिदका लागि १५ अर्व, नगदेवाली खेती गर्न किसानलाई उत्प्रेरीत गर्ने, खाध्य पदार्थमा हुन सक्ने थप दुई वर्गका विषादीहरूको अवशेष परिक्षण सुरु गर्ने, प्राङ्गारिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने, प्राङ्गारिक कृषि उत्पादनलाई प्रोत्साहन, प्रमाणीकरण र ब्राण्ड प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा बजारीकरण गर्ने, कृषि पशु पंक्षीपालन तथा मत्स्य क्षेत्रमा रहेको जोखीम न्यूनिकरणका लागि विमा लगायतका अनुकुलन व्यवस्थापनका कार्यक्रमहरू संचालन गर्ने जस्ता अभिव्यक्तिहरू समावेश गरेको पाइन्छ।
बजेट भने रासायनिक मल खरिदका लागि मात्र व्यवस्था गरेको छ। जैविक विविधताको क्षेत्रमा बजेट बोल्दैन। प्राङ्गारिक मल, गोठ सुधार, मलमुत्र व्यवस्थापन, पर्यावरणीय कृषि जैविक मल तथा विषादी निर्माण र प्रयोग, थलो मल्ने, डाँडा डाँडामा पानीका आल निर्माण, खेरगएको पानीको संकलन र सदुपयोग, सवै प्राणीको बाँच्न पाउने अधिकारको सुनिश्चीतता सहितको खेती प्रणाली (संस्कृतिक खेती प्रणाली ) नै जैविक विविधताको उपयोग होइन र नीति तथा कार्यक्रम र बजेटले छोयो त ? नारा हल्लाको लािग होइन बास्तविक यर्थाथ र कार्यान्वयन गर्न मनन गर्न योग्य हुनु पर्छ। सार्थक हुनु पर्छ।
धानको महत्व: सन् १९६६ मा विश्वभर नै भोकमरी फैलियो। उक्त भोकमरीबाट बच्नको लागि संयुक्त राष्ट्रसंघले धानलाई वर्ष वाली मानेको थियो। भोकमरीबाट मुक्तिको नारा सहित उक्त वर्ष मुख्य वालीको रूपमा धानलाई जोड दिइएको थियो। धानलाई भोकमरीबाट बच्नको लागि सबै भन्दा उपयुक्त खाध्यान्नको रूपमा संयुक्त राष्ट्रसंघले देख्यो।
विश्वमा शान्ति र सुरक्षा कायम गर्न स्थापना भएको संयक्त राष्ट्रिसंघले धानमा जोड दिनुको प्रमुख ध्यय खाध्यान्न विना मानव जीवनको सम्भावना नहुनु हो। यससंगै धान संसारको लागि मुख्य खानाको रूपमा स्थापीत भयो। जसका कारण एशियामा ९० प्रतिशत धान उत्पादन र खपत हुँदै आएको छ। नेपालमा बाटोको विकाससँगै बोरा चामलको पहुँच पनि पुगेको पाइन्छ। यसले देशको कुना काप्चासम्म खाना खाने वानीमा परिवर्तन ल्याइ दिएको छ।
जसका कारण हाम्रा परम्परागत रैथाने खानेकुराहरू लोप हुँदै गएका छन्। पोषणको हिसाबले अत्यन्तै उपयोगी र फाइदा जनक कोदो, चिनो, कागुनाे, जौ जस्ता स्वास्थ्यका लागि समेत वरदान सावित भएता पनि भाते संस्कृतिको विकासले गर्दा छाँयामा परे। पार्ने काम भयो जसले जैविक विविधतालाई खलवल्याएको छ भने चामल खाध्यान्नमा मात्र नभई मादक पदार्थ जस्तै रक्सी, जाँड बनाउन र पशु आहार बनाउन समेत प्रयोग हुने हँदा अत्याधिक प्रयोग बढेर गएको छ।
आत्मनिर्भर कृषिको आयाम: जुन समयमा प्रविधि, प्राविधिक, कृषिको वलिया संरचना, वजेट, ऐन कानुन लगायत थिएन त्यस्तो अवस्थामा पूर्खाहरूले आफ्नै ज्ञान सिप क्षमताबाट सिंचाईको व्यवस्था समेत मिलाई स्थानिय स्रोत साधनमा आधारीत रही गरेको खेतीपातीको पद्धति जीवित रहँदा वि.स २०३१ (सन १९७१) मा धान, चामल निर्यात गर्नका लािग मेची, कोशी, सगरमाथा, नारायणी, जनकपुर, लुम्विनि र सुदुरपश्चिममा ८वटा धान चामल निर्यात कम्पनी स्थापना गरी धान चामल निर्यात गर्ने गरिएको थियो।
उक्त समयमा ५५ हजार मेट्रीक टन चामल नेपालबाट भारत बंगलादेश लगायतका ठाँउहरूमा निर्यात हुने गर्दथ्यो। उक्त क्रम ७ वर्षसम्म निरन्तर रूपमा चलिनै रहयो। आठौं वर्षमा पुग्दा नाटकीय रूपमा नेपालमा नै चामल आयात हुन थाल्यो र दशौ वर्षसम्म पुग्दा ति आठ वटै कम्पनी बन्द हुने स्थितिमा पुगे।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष एबं किसान अभियन्ता
प्रकाशित: १५ असार २०७९ ०२:४० बुधबार