अनावश्यक कुरा स्मरण गर्नु मानिसको सफलताका लागि हानिकारक देखियो। आवश्यक सन्देश स्टोर गर्ने अनि महत्वहीन कुरा अबिलम्ब डिलिट गर्नु नै मस्तिष्कको उच्चतम उपयोग भएको ठान्छन् डा. लेभिन।
एक छिनअघि राखेको घरको साँचो नभेटिनु, स्कुल पढ्दाको घनिष्ट साथीको नाम बिर्सनु अनि मूल ढोका बन्द गरे/नगरेको भुलेर मध्यरातमा उठेर एकिनु गर्नुपर्ने समस्याले धेरैलाई सताउँछ। भुल्ने रोगका कारण दिक्क भएका व्यक्ति निकै छन्। युवावस्थामै भुल्ने समस्या देखिएपछि आउँदा दिनमा ठूलै दिमागी रोग लाग्ने हो कि भन्ने ठान्नु अन्यथा होइन।
एक दशकअघिसम्म पनि सामान्य घटना सम्झन नसक्ने बानीले पछिल्ला दिनमा मानसिक समस्या ल्याउँछ भन्ने चिकित्सकीय आकलन थियो। तर पछिल्ला दिनमा गरिएका ततसम्बन्धी अन्वेषणले फरक उत्तर दियो। सामान्य तालिका बिर्सने बानी र दिमागी स्वास्थ्य सम्बन्धमा भएका आवधिक अनुसन्धानको प्रस्तुति यो लेखको उद्देश्य हो।
मस्तिष्कका कोस (सेल)लाई न्युरोन भनिन्छ। अरबौँ न्युरोन मिलेर मानवीय दिमाग बनेको छ। न्युरोनको चरित्र अन्य सामान्य कोस भन्दा धेरै हिसाबले फरक हुन्छ। रुखको हाँगाबिँगा जस्ता जटिल बाह्य आकृति भएको न्युरोनको विद्युतीय चरित्र (इलेक्ट्रिकल प्रोपर्टी) समेत हुन्छ। न्युरोनको बाहिरी जटिल संरचनालाई डेन्ड्राइट भनिन्छ। स्मरणीय घटना महसुस हुनेबित्तिकै विद्युतीय चरित्रका न्युरोनहरू चलायमान हुन्छन् अनि विभिन्न कोसका डेन्ड्राइटहरूबीच जटिल जालो थापित हुन्छ।
यसरी न्युरोन न्युरोनबीचको सम्बन्धको नेटवर्कका कारण कुनै पनि परिदृश्यले हाम्रो दिमागमा छाप पार्छ, स्मरण मस्तिष्कमा बस्छ। स्मृति दिमागमा कसरी संरक्षित हुन्छ भन्ने क्लिष्ट विषयको उत्खनन गरेबापत संयुक्त राज्य अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक एरिक केन्डललगायतका वैज्ञानिकले सन् २००० मा नोबल पुरस्कार पाए। अरबौँ कोसले बनेको मस्तिष्क अनि स्नायु प्रणालीको अध्ययन मेडिकल साइन्सको सबैभन्दा जटिल विषय हो।
जिउँदो मानिसमा मस्तिष्कको अध्ययन गर्न असंभव र अनैतिक हुने भएकाले स्मरण विज्ञानको उत्खननका लागि एनिमल मोडल आवश्यक पर्छ। जीवनका ठूला घटनाहरूलाई लामो समयसम्म संरक्षण गर्न सक्ने दिमागले किन एक मिनेटअघि आफैंले राखेको दराजको साँचो बिर्सन्छ त भन्ने प्रश्नको उत्तर खोज्न संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ् साउदर्न क्यालिफोर्नियाका प्राध्यापक स्कट फ्रेजरलगायतका वैज्ञानिकले मोडल एनिमल जेब्राफिस को प्रयोग गरे।
प्राणी समूहको भट्रिब्रेट तहमा पर्ने जेब्राफिसको दिमागी अवस्था मानवसँग धेरै हिसाबले मिल्ने भएकाले अन्वेषण सान्दर्भिक ठानिनु अन्यथा होइन। उल्लिखित अध्ययनमा दिमागमा सूक्ष्म माइक्रोस्कोप जडान गरिएको जेब्राफिसलाई एकैपटक प्रकाश र तापको सामना गराइयो। उज्यालो र न्यानोको सामना गरेका जीवको मस्तिष्कको सूक्ष्म माइक्रोस्कोपिक अध्ययन गर्दा न्युरोनहरूले नवीन जालो बनाएको पाइयो। प्रकास र तापबाट बच्न भाग्नुपर्छ भन्ने स्मरण जेब्राफिसको दिमागमा बस्यो भन्ने देखायो उक्त न्युरोनको नेटवर्कले।
एउटा बानी हासिल गरेको जेब्राफिसलाई नया आदत सिकाउँदा त्यसले जीवको दिमागी बनोटमा के असर पर्छ भन्ने थप अध्ययन गरे अन्वेषणकर्ताहरूले। उक्त रिसर्चका क्रममा वैज्ञानिकले अनौठो नतिजा पाए। जब जेब्राफिसलाई अन्वेषणकर्ताले नयाँ ज्ञान सिकाए तब विगतमा स्थापित न्युरोनको सञ्जाल भताभुंग भएर नयाँ जालो बनेको पाए। बायोलोजिकल भाषामा उक्त नतिजाको विश्लेषण गर्दा जीवले नयाँ बानी सिक्दा पुरानो आदत बिर्सियो भन्ने हो। नभन्दै थप अध्ययन गर्दा नयाँ बानी सिकेपछि जेब्राफिसले पुरानो स्मरण शक्ति गुमाएको पाइयो।
यसै वर्षको पूर्वाद्र्धमा प्रकाशित जेब्राफिससम्बन्धी अध्ययनले नयाँ काम गर्दा पुरानो स्मरण हराउनुलाई स्वाभाविक देख्यो। मस्तिष्कका कोसको नेटवर्क बन्ने र भत्कने क्रमले स्मरण शक्तिलाई कसरी फेरबदल गर्छ भन्ने कुरालाई भटिब्रेट एनिमलमा पहिलोपटक माइक्रोस्कोपिक हिसाबले पुष्टि गर्यो डा. स्कट फ्रेसरको समूहले। आखिरमा नयाँ बानी सिक्दा पुराना अनुभवलाई दिमागले किन स्मरणबाट हटाउँछ त?
कम्प्युटरमा नियमित काम गर्दा जसरी दैनिक कामका लागि हामी थमड्राइभमा आकडा भण्डारण गर्छौँ अनि नचाहिँदो डाटा डिलेट गरी आवश्यक तथ्यांकलाई दीर्घकालीन स्टोरेजका लागि हार्डड्राइभमा सेभ गर्छौँ मानव मस्तिष्कले पनि ठ्याक्क त्यही ढाँचामा काम गर्छ।
कम्प्युटरमा नियमित काम गर्दा जसरी दैनिक कामका लागि हामी थमड्राइभमा आकडा भण्डारण गर्छौँ अनि नचाहिँदो डाटा डिलेट गरी आवश्यक तथ्यांकलाई दीर्घकालीन स्टोरेजका लागि हार्डड्राइभमा सेभ गर्छौँ मानव मस्तिष्कले पनि ठ्याक्क त्यही ढाँचामा काम गर्छ। दिनभरि सिकेका ज्ञानहरू हाम्रो दिमागको हिप्पोक्याम्पस भन्ने भागमा संकलित हुन्छ। तर हिप्पोक्याम्पसको भण्डारण क्षमता निकै कम हुन्छ, धेरै दिनको अनुभवलाई संहाल्न सक्दैन त्यसले।
त्यसैले दिनभर जम्मा भएका अनावश्यक तथ्यांकलाई नष्ट गर्ने अनि महत्वपूर्ण डाटालाई दीर्घकालीन प्रयोगका लागि दिमागको अर्को भाग, कर्टेक्समा सार्ने पद्धति स्थापित भएको छ। नियमितरूपमा सम्पर्क हुने व्यक्तिसँगको संवाद तथा कार्यतालिका दिमागको हिप्पोक्याम्पसमा भण्डारण हुने भएकाले त्यस्ता सूचना छोटो समयपछि नै स्मरणबाट हराउँछ। तर कुनै महत्वपूर्ण घटना तथा दुर्घटना दिमागको कर्टेक्समा जम्मा हुने भएकाले त्यस्ता परिदृश्य लामो समयसम्म पनि स्मरणमा ताजा रहन्छ।
दशकौँअघि बुबाको मृत्यु हुँदाका क्षणहरू ‘भिडियोग्राफिक मेमोरी’ का रूपमा अझै ताजा रहनु अनि हिजो के तरकारी खाइयो भन्ने कुरा याद नआउनुको मुख्य कारण स्मरणको भण्डारण कहाँ भयो र कति छिट्टै उक्त स्मरण दिमागले डिलिट ग¥यो भन्ने कुराले निर्देशन गर्ने हो। आखिर दिमागले किन स्मरणहरूलाई नास गर्छ त? के मस्तिष्कको स्टोरेज आइफोनको क्षमता जस्तै भरिइहाल्नेखालको हुन्छ त?
क्यालिफोर्नियास्थित साल्क इन्स्टिच्युटका अन्वेषणकर्ता टेरी सेनोस्कीको समूहले गरेको एउटा अन्वेषणले मानवीय दिमागको भण्डारण क्षमता अथाह रहेको भन्छ। इन्टरनेटमा अहिलेसम्म भण्डारण भएका सबै तथ्यांक हाल्दा पनि हाम्रो दिमाग भरिँदैन भन्छ अन्वेषणले। त्यति धेरै भण्डारण क्षमता भएको दिमागलाई प्रकृतिले किन सबै परिदृश्य कैद गर्ने गरी बनाएन त भन्ने प्रश्नको उत्तर सहज छैन।
बाह्य वातावरण तथा परिस्थितिसँग रम्न नसक्ने जीवको अस्तित्व समाप्त हुन्छ भन्छ थ्यौरी अफ् एडप्टेसनले। मानवको अस्तित्व कायम रहनका लागि बिर्सनुलाई अनिवार्य ठान्छन् कोलम्बिया विश्वविद्यालयको न्युरोलोजीका प्राध्यापक स्कट स्मल। सन् २०२१ मा प्रकाशित पुस्तक फोर्गेटिङ द बेनिफिट अफ् नटरिमेम्बरिङमा डा. स्मलले मानिसको बिर्सने बानीको चिरफार मात्र गरेका छैनन् बरु भुल्ने बानीलाई प्रकृतिको अनुपम उपहार ठान्छन् उनी।
बिर्सने बानीको सम्बन्धमा प्राध्यापक स्मलको विचारसँग पूर्ण सहमत छन् क्यानाडाको म्याकगिल युनिभर्सिटीका साइकोलोजीका प्राध्यापक ओलिभर हार्ट। बिर्सने बानी नभएको भए संसारमा कुनै पनि काम संभव थिएन भन्छन् डा. हार्ट। जीवनको विभिन्न खण्डमा एउटा मानिसको धेरै व्यक्तिसँग झगडा तथा मनमुटाव हुन्छ।
दिमागले जीवनभर चिसिएको सम्बन्धलाई सदैव ताजाराख्नेहो सामाजिक सदभाव कस्तो हुन्थ्यो होला? युवावस्थामा पति गुमाएकी श्रीमतीको पीडा समयसँगै पखालिँदै नजाने हो भने उसको जीवन कसरी बित्ला? विगतको तिक्तता बिर्सँदै वर्तमानमा सुखसँग बाँच्नका लागि भुल्ने आदत अत्यावश्यक देखियो। ठूलो घर भएको व्यक्तिले ठाउँ छ भन्दैमा सबै कुरालाई कोठामा नथुपारेर अनावश्यक वस्तु फाल्दै गएझै हाम्रो मस्तिष्कले समेत नचाहिने तथा महत्वहीन स्मरण हटाउँदै जान्छ भन्छन् डा. हार्ट।
त्यतिमात्र होइन, पछिल्ला समयमा चाहिहाल्छ कि भन्ने प्रारम्भमा भण्डारण गरेका चिजबिज अब यसको आवश्यकता नरहेको भन्ने ठानेर हामीले केही समयपछि फालेझै आवश्यकताअनुसार दिमागले पनि कुनै स्मरणलाई लामो समयपछि त्याग्छ भन्छन् टोरन्टो हस्पिटलका डा. पौल फर्याड्कलिन। जसरी दिमागमा स्मरण राख्न प्रोटिन, कार्बोहाइडेट्रलगायतका क्लिष्ट बायोलोजिकल सिस्टम अनवरतरूपले क्रियाशील रहन्छ त्यसैगरी जम्मा भएका अनावश्यक सम्झना हटाउने समर्पित संयन्त्रहरू रहेको दाबा गर्छन् कोलम्बिया विश्वविद्यालयका न्युरोलोजिस्ट स्कट स्मल।
सामान्य त बसमा आफूसँगै बसेको मानिस कस्तो थियो, उसले लगाएको लुगालगायतका धेरै दृश्यहरू हाम्रो दिमागमा नबस्नुको कारण दिमागमा रहेका मेमोरी इरेज गर्ने संयन्त्रको भूमिका देखियो। तर यात्रामा रातो सर्ट अनि कालो टोपी लगाएको मानिसले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको खण्डमा दिमागले उक्त घटनालाई भण्डारण मात्र गर्दैन भविष्यमा त्यस्तै बेहोराको पहिरन लगाउने यात्रु आएको खण्डमा सजग रहन निर्देश गर्छ।
समष्टिगतरूपमा भन्ने हो भने भविष्यमा आउन सक्ने चुनौती सामना गर्न सक्ने स्मरण दिमागले भण्डारण गर्छ भने अनावश्यक सम्झनालाई मस्तिष्कले अबिलम्ब नास गर्छ भन्ने कुरामा अधिंकाश विशेषज्ञ सहमत देखिए। वैज्ञानिकहरूले कदाचित दिमागले धेरै कुरा संस्मरणमा राखेको खण्डमा के हुन्छ त भन्ने प्रश्नको उत्तर पनि खोजेका छन्। संसारका केही मानिसमा अटोबायोग्राफिकल मेमोरी हुन्छ। त्यस्तो विलक्षण क्षमता भएका व्यक्तिको दिमागले देखिएका सबै वृतान्तलाई भिडियो क्यामराझै कैद गर्छ।
कुनै पनि व्यक्तिसँग छलफल हुँदा महत्वपूर्ण बुँदा टिपोट गर्नुको बदला उसको दिमागले सारा संवादलाई स्मृतिमा राख्छ। सामान्यरूपमा हेर्दा त्यस्तो अटोबायोग्राफिकल मेमोरी भएका मानिसले सफलतालाई चुम्नुपर्ने हो। तर यथार्थमा त्यस्तो देखिएन। स्मरण तागतमा अपूर्व क्षमताका व्यक्ति यथार्थ जीवनमा सरदर भन्दा तल देखिए भन्छन् टोरन्टोस्थित रोटम्यान रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ता ब्रायन लेभिन।
अनावश्यक कुरा स्मरण गर्नु मानिसको सफलताका लागि हानिकारक देखियो। आवश्यक सन्देश स्टोर गर्ने अनि महत्वहीन कुरा अविलम्ब डिलिट गर्नु नै मस्तिष्कको उच्चतम उपयोग भएको ठान्छन् डा. लेभिन। जनावरमा गरिएको परीक्षण अनि ल्याबमा गरिएको अनुसन्धानले मस्तिष्कको काम भनेको सबै घटनालाई दीर्घकालीन भण्डारण गर्नु होइन बरु उपयोगीबाहेकका सबै सन्देशलाई अविलम्ब नास गर्नु हितकर देखियो।
भर्खर राखेको बालेट भेटिएन, साथीको नाम भुलेँ भन्ने जस्ता झिनामसिना कुरा दिमागले भेउ पाएन भनेर चिन्ता गर्न आवश्यक देखिएन। महत्वहीन कुरालाई तुरुन्त डिलिट गर्ने अनि दीर्घकालीन महत्वका स्मृतिको भण्डारण मस्तिष्कको मूल दायित्व हो भन्ने संझना राखौँ।
प्रकाशित: १५ असार २०७९ ०१:४९ बुधबार