७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

लौरो बोक्ने युवा

अर्जुनपुत्र अभिमन्यु महाभारत युद्धमा सामेल हुँदा १६ वर्षका थिए। चक्रब्यूहमा प्रवेश गर्ने मात्र शिक्षा पाएका ती युवालाई बहिर्गमनको ज्ञान थिएन। त्यसैले उनी चक्रब्यूहमै मरे। भगवान कृष्ण र बलरामका भान्जा उनी सुभद्राको कोखबाट जन्मिए। वीरोचित गुणले युक्त थिए। संकट सामना गर्न जोश, सौर्य, उमंग र साहस मात्र पर्याप्त हुँदैन, विवेक, होस र युक्ति पनि चाहिन्छ। नेपाली राजनीतिमा प्रवेश गरिरहेका नयाँ पुस्तालाई हामी जस्ता साठी वर्ष नाघेका बा र काकाहरूले सम्झाउनै पर्ने कुरा यही हो।

विराट राजाकी छोरी उत्तरासँग विवाह भएको केही महिनामै बिते, अभिमन्यु। उनका ‘गर्भे टुहुरा’ छोरा परीक्षितमा पनि पिताका धेरै गुण थिए। महाभारत युुद्ध सकिएपछि पाण्डव मानसरोवरतिर एकान्तवासमा गए। हस्तिनापुरको राजगद्दीमा बसे परीक्षित। भनिन्छ, उनकै पालामा कलियुग सुरु भएको हो।

युरोपतिर ३५ वर्षसम्मका युवक/युवतीलाई मात्रै मिडियाले ‘युवा’ भन्ने गरेको पाइन्छ। नेपालका सत्तरी वर्ष नाघेकालाई पनि ‘युवा नेता’ भनेर हँसाउँछन्। कतिपय प्रसिद्ध पत्रकारले त गिरिजाप्रसाद कोइराला र शैलजा आचार्यलाई ‘सहोदर’ मामा भान्जी भनेर लेखेका छन्। संस्कृतमा पेटलाई उदर भनिन्छ र एउटै पेटबाट जन्मेका मात्र ‘सहोदर’ हुन्छन्। मामा भान्जी सहोदर हुने कुरै भएन।

‘नछिप्पिएको’ मानिसलाई युवा भनिन्छ। साँझपछि तत्कालको अन्धकारलाई ‘युवा रात’ (यङनाइट) भनेर लेखेका छन्, कतिपय साहित्यकारले। युवावस्था जीवनमा एकपल्ट मात्रै आउँछ, त्यसैले यो अवस्था सरिताको प्रवाहजस्तो हुन्छ भन्छन् कविहरू।

चीनकी नान्सी यी फाङले दश वर्षकै उमेरमा हार्वर्ड विश्वविद्यालयमा विद्यार्थी बन्ने सौभाग्य पाइन्। सात वर्षमै उनले उपन्यास लेखेर प्रसिद्धि पाइन्। उनको पुस्तक ‘न्युयोर्क बेस्ट सेलर’ अन्तर्गत दर्ता भयो। फेब्रुअरी २२, २०२२ मा ‘टाइम्स अफ इन्डिया’ पत्रिकामा एउटा समाचार छापियो–‘ब्रिटेनकी पाँच वर्षकी नानी विश्व प्रसिद्ध लेखक भइन्।’ बेला जे डार्क नामकी बालिकाले लेखेको उपन्यास लाखौँले रुचाए। ‘हराएको बिरालो’ (द लस्ट क्याट) बालबालिकादेखि हजुरबा–हजुरआमाले उत्तिकै रमाइलो मानेर पढे।

मलेसियामा सइद सिद्दीकी २५ वर्षमै खेलकुद मन्त्री भए। अस्ट्रियन पिपल्स पार्टीका प्रमुख सबस्टिअन तीस वर्षमै विदेशमन्त्री भए भने इटलीका लुमी डिमायो ३३ वर्षमै विदेशमन्त्री भए। एसिया, अफ्रिका, युरोप सबैतिर जनताले युवालाई रोज्न र खोज्न थालेका छन्। टिफिनी डेगोसलाई २४ वर्षमै सांसद बनाए फ्रान्सका जनताले। युरोपमा आर्थिक संकटपछि युवाले उद्घोष गरे–“अब हामी चलाउँछौँ देश।” नेपालमा अहिले युवाहरूको जागरण हेर्दा राजनीतिमा त्यसरी नै सहभागिता बढ्दै जाने लक्षण देखिएको छ।

हाम्रो प्राथमिकता जात, धर्म, सुविधा, सत्ता होइन, राष्ट्र हुन्छ र हुनुपर्छ। हामी राष्ट्र सर्वोपरि हुन्छ (नेसन फस्ट) भन्छौँ। राष्ट्रभन्दा माथि केही पनि, कोही पनि हुँदैन। इटलीको ‘फाइब स्टार’ आन्दोलन र स्पेनमा पोडेमस पार्टीका कार्यक्रमहरू ‘नेसन फस्ट’ सिद्धान्तमा आधारित छन्। ‘नेसन फस्ट’ वैचारिक आन्दोलन हो। यसले भित्रभित्रै राष्ट्रघातीको तेजोवध गर्छ र राष्ट्रवादी शक्तिलाई प्रेरणा दिन्छ। नेपालमा पनि गुप्तरूपमा ‘नेसन फस्ट’ अभियान जारी रहेको देखिन्छ। तर यसका पात्रहरूका बारेमा धेरैलाई जानकारी छैन। परिणाम समयले दिइरहेको छ। पञ्चमांगीहरूको अभिलेख राखेर उनीहरूको राजनीतिक ठगी निर्मूल गर्ने काममा अभियन्ताहरूले अहर्निश काम गरिरहेका छन्।

राष्ट्र सर्वोच्च हुन्छ भन्नेहरूले २२ वर्षका एब्बा हमन्सिनलाई स्विडेनमा सांसद बनाए। सन् १९४६ मा जर्मनीका युवाले राष्ट्र सर्वोपरि हुन्छ भन्दै रसियाको हस्तक्षेपविरुद्ध ‘फ्रि जर्मन युथ’ नामको संगठन बनाए। चीनको बक्सर युद्ध युवाहरूले विदेशी धपाउन गरेको जोखिमपूर्ण आन्दोलन थियो, जसलाई युरोपेलीहरूले निर्मूल गरे। घुन लागेको, सडेको र बिग्रेको बीउ रोपेर जतिसुकै मलजल दिए पनि बाली सप्रिंदैन। हिजोका दिनसम्म नेपालमा त्यही भयो। युवाका धेरै प्रयत्न असफल भए। अहिलेको स्थिति हेर्दा युवा जागरण अत्यधिक बढेको पाइन्छ। लौरोको दुरूपयोग गरेनन् भने लौरो बोक्ने युवाले अवश्य पनि समाजमा परिवर्तनको अनुभूति गराउन सक्छन्।

दलहरूका अधिकांश अगुवा असफल सावित भएका देखिन्छ। खबरदारी गर्दै हातहातमा लौरो बोकेका युवा सडकमा आइरहेका छन्। आउँदो संसदीय चुनाव र त्यसपछि पनि उनीहरूको गति रोकिने अवस्था देखिँदैन। पुरानाहरू सबै गलत छैनन् तर धेरैजसो निकम्मा सावित भइसकेका छन्। यस्तो स्थितिमा कैयन् स्वतन्त्र उम्मेदवारले स्थानीय जनताबाट पुरस्कार पाइरहेका छन्। यो हेर्दा, संसदीय चुनावमा जमिनदार दलहरू क्रमशः परास्त हुने र अधिकांश स्वतन्त्र युवाले महत्वपूर्ण भूमिका खेल्ने सम्भावना देखिन्छ। यो रक्तपातविहीन ‘शाकाहारी क्रान्ति’ (भेज रेभ्युल्युसन) दलतन्त्रलाई चुनौती पनि हो।

राल्फ एमर्सन भन्छन्–“अरूका पछिपछि लागेर हिँड्नेहरूभन्दा आफैँले संघर्ष गरेर गोरेटो बनाउनेहरूलाई विश्वास गर्नुपर्छ।” हुन पनि हो, जुन दलको गाडी आए पनि चढ्ने र अलि राम्रो सिट पाएपछि पुनः अर्को गाडी बदल्नेहरू हामीले नेपालमै धेरै देख्यौँ। पशुले घाँस चपाएझैँ स्वदेशी/विदेशी सबैका करोडौँ रुपियाँ चपाउनेहरू देख्यौँ। राजधर्म/राष्ट्रधर्म त्यागेर धर्मका कुरा गर्ने अधर्मका अवतारहरू देख्यौँ। कोशी वा कर्णालीमा बगाइदिएर याङ्जी नदीतिर खोज्न जानुपर्ने त्यस्ता कुपात्रले हरेक राजनीतिक ‘परिवर्तन’ पछि आफ्नै स्वार्थ मात्र हेरे। पटकपटक जामा फेरे। आज उनीहरू त्यसको सजाय भोगिरहेका छन्।

त्यस्ता अवसरवादी र समाज विरोधी पात्रहरूलाई लौरो बोक्ने युवाले विशाल वृद्धाश्रम बनाएर सम्मानपूर्वक राखिदिए पनि हुन्छ। ढाँटेर, मान्छे काटेर, सिद्धान्त साटेर, विदेशीलाई चाटेर, परचक्रीलाई गुरु थापेर सदैव राष्ट्र लुट्नेलाई कुनै पनि शक्तिले विस्थापित गर्न सकेन भने जनता नै शरणार्थी बन्नुपर्ने अवस्था आउन सक्छ।

भारतको पश्चिम बंगालमा सन् १९७७ देखि २०११ सम्म कम्युनिस्ट सरकार थियो। जुलुसमा कार्यकर्ताहरू थोरै भएपछि भाडाका मजदूरहरू ल्याएर नारा लगाइन्थ्यो। साँझपख चार बजेदेखि ६ बजेटसम्म धेरै जुलुस हुन्थ्यो, गर्मीका कारणले। भनिन्छ, ज्यालामा ल्याइएका जुलुसेहरू समय भएपछि नारा लगाउन बन्द गर्थे। कलकत्ताका एकजना पत्रकारले हँसाए, दुई तीन घण्टाका लागि ल्याइएका ती पेशेवार जुलुसेले तोकिएको समयपछि आफैँ भट्याउँथे–‘टाइम होलो बोल्बोना (समय भयो, बोल्दिनँ।)” नेपालमा पनि प्रतिबद्धहरू हराएका छन् र ठूला दलले भाडाका मान्छे भेला गरेर शक्ति प्रदर्शन गरेका उदाहरण प्रशस्त छन्। लौरो बोक्नेहरूले त्यो परम्परा तोडिरहेका छन्। हजारौँले स्वतःस्फुर्त ढंगले मतदान गरेर उनीहरूलाई प्रोत्साहन दिए। चुनाव जित्न करोडौं रुपियाँ चाहिन्छ भन्ने ‘न्यारेटिभ’ उनीहरूलाई लागु भएन।

राष्ट्रमा बलियो शक्ति भएन भने अस्थिरता मात्र बढ्दैन, राष्ट्र गुम्ने खतरा पनि रहन्छ। उदाहरणका लागि सुगौली सन्धिभन्दा पहिलेको अवस्थालाई लिन सकिन्छ। राजा गीर्वाणयुद्धविक्रम शाह बालक थिए। राजदरवारका प्रमुख सल्लाहकार र हर्ताकर्ता मानिएका पाँडे, थापा र बस्न्यातहरूमा मेलमिलाप थिएन। भारतमा शासन गरिरहेका ब्रिटिसहरू नेपालसँग पटकपटक निहुँ खोजिरहेका थिए। प्रधानमन्त्री भीमसेन थापाले अंग्रेजलाई धुलो चटाउँछौँ भनेर युद्ध गर्नैपर्ने तर्क गरे पनि धेरैले मानेका थिएनन्। परिस्थिति अनुकूल छैन भन्दै राजालाई समेत सम्झाइएको थियो। तर बालक राजाले धेरै कुरा बुझ्न सकेनन्। अन्त्यमा अंग्रेजसँगको युद्धमा नेपालले ठूलो भूभाग गुमाउनुपर्‍यो।

हाल भारतको उत्तराखण्डमा पर्ने कुमाउँमा नेपालको प्रशासक रहेका चौतरिया बम शाह र बडाकाजी अमरसिंह थापाले अंग्रेजसँगको युद्ध प्रत्युत्पादक हुने चेतावनी दिए पनि भीमसेन थापाले हठ गर्दा गम्भीर क्षति भएको इतिहासकारहरूको मत छ। अहिलेको अवस्था फरक भए पनि ठूला दलहरू अस्थिरताका कारकतत्व बनेका छन् भने कूटनीति मक्किँदै गएको देखिन्छ।

हालै नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री अजरा जेयाले काठमाडौँंमा तिब्बती शरणार्थी शिविर भ्रमण गरेपछि चीन क्रुद्ध भएको छ। उपविदेशमन्त्री जेयाले गरेको भ्रमणलाई लिएर चीनका विज्ञहरूले कडा प्रतिक्रिया व्यक्त गर्नु अस्वाभाविक होइन। तर सरकारले आफू एक चीन नीतिमा अडिग रहेको भन्दै ढाँटिरहेको देखिन्छ। नवीन पुस्ताले यस्ता दुई जिब्रे कुरा पत्याउँदैनन्। उनीहरू सत्यका पक्षमा उभिने साहस गर्छन्। तर ठूला पार्टीका कतिपय युवा नेताले बितेका वर्षहरूमा युवाको सपना बेच्दै जे/जति कर्तुत गरे त्यसबाट पनि लौरो बोक्ने युवाले शिक्षा लिन आवश्यक छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बुझेका र बुझ्न खोजेका युवाले खबरदारी गर्न थालेका छन्। यो लहड र आवेगमात्र अवश्य होइन। नेपालको इतिहास साक्षी छ, पूर्वमा कामारु–कामाक्षा (हाल, आसाम भारत) देखि पश्चिममा सतलज नदी (पंजाव) सम्म विस्तीर्ण थियो, नेपाल। राष्ट्रिय सुरक्षाका बारेमा स्पष्ट नीति नभएका कारण नेपालले अंग्रेजसँगको युद्धमा झण्डै चालीस प्रतिशत भूभाग गुमायो।

नेतृत्व तहमा बस्नेहरूले समयको पदचाप सुन्न सकेनन् भने राष्ट्रको पतन हुन्छ भनेका छन्, इतिहासकारहरूले। विदेशी शक्तिले नेपालमा धन खर्च गरेर आफूअनुकूल सरकार बनाउन पटकपटक प्रयत्न गरिरहेको पाइन्छ। २०४६ सालपछि हालसम्म झण्डै ३० पटक सरकार परिवर्तन भए पनि राष्ट्र र जनताको अवस्थामा ठूलो परिवर्तन नभएको देखेपछि युवा आफैँ अघि सरेका छन्। उनीहरूले विश्वका विभिन्न युवाबाट शिक्षा लिएर सही बाटो हिँड्ने प्रयास गरे भने नेपाली राजनीतिबाट क्रमशः फोहरमैला हट्ने देखिन्छ।

२०७९ भित्रै हुने चुनावमा नेपालमा विदेशी शक्तिको खेल अभूतपूर्व बढ्ने संकेतहरू देखिएका छन्। संसद्मा ‘नेपाली’ देखिने विदेशी आत्माहरूले वर्चस्व स्थापना गर्न प्रयत्न गर्नेछन्। लौरो बोकेका युवा, राष्ट्रवादी शक्ति र जनताले सतर्कतापूर्वक निगरानी गरेनन् भने ‘प्रजातन्त्र’ दुरूपयोग गरेर राष्ट्रलाई झन निर्बल बनाउने प्रयत्न हुनेछ।

कौटिल्यको अर्थशास्त्र, स्कन्द पुराण (एक्काइसौँ अध्याय), झण्डै २२०० वर्ष पुरानो अशोक स्तम्भ (सम्राट अशोकद्वारा लुम्बिनीमा निर्मित) आदिमा ‘नेपाल’ राष्ट्रको चर्चा छ। समुद्र गुप्तको प्रयाग (हाल इलाहावाद, भारत) मा रहेको शिलालेखमा नेपाललाई छिमेकी भनिएको छ। पाटलीपुत्र (पटना) र प्रयाग (इलाहावाद) सम्म नेपालको सिमाना थियो भन्ने कैयन् प्रमाण छन्। आज मेची–महाकालीबीचमा खुम्चेको राष्ट्रको सत्तरी हजार हेक्टर जमिन (एक हेक्टर भनेको १९.६६ रोपनी हुन्छ।) दक्षिणको मित्रले निलेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले उल्लेख गर्नुभएको छ। राष्ट्र भौतिक, नैतिक, धार्मिक, आध्यात्मिक, राष्ट्रिय सुरक्षा लगायतका मापदण्डहरूमा शिथिल बन्दैछ भनेर विज्ञहरू चिन्तित देखिएका छन्।

यी सबै यथार्थलाई ध्यानमा राखेर युवाशक्तिले राष्ट्रको पुनर्निर्माण र सृदृढीकरणमा आफूलाई समर्पित गरेको खण्डमा नेपाल दक्षिण एसियाको सबैभन्दा सुन्दर, आत्मनिर्भर र स्वावलम्वी राष्ट्र बन्न सक्छ।  

प्रकाशित: १३ जेष्ठ २०७९ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App