युनिभर्सिटी अफ् क्यालिफोर्निया बर्कलेको इकोनोमिक हिस्ट्रीका प्राध्यापक कार्लो सपोलाले सन् १९८८ मा द बेसिक लज् अफ् ह्युमन स्टुपिडिटी (मानवीय मुर्खताको आधारभूत नियम) भन्ने पुस्तक लेखे। इन्टरन्यासनल बेस्ट सेलरको दर्जा पाएको उक्त पुस्तक दर्जनौँ भाषामा अनुवाद भयो। किताबका लाखौँ प्रति बिक्री भए।
वातावरण परिवर्तन, आणविक हतियार तथा प्राकृतिक विध्वंशलाई मानव अस्तित्वका लागि सर्वाधिक खतराका संवाहक ठान्ने बौद्धिक जमातलाई डा. सपोलाले पृथक सन्देश दिए। सभ्यताको समाप्तिका लागि अन्य कुनै तत्व निर्णायक हुँदैन बरु मुर्ख मानिस मात्र जवाफदेही हुन्छ भन्ने निचोड रहेको उक्त पुस्तकमा प्राध्यापकले मानवीय मुर्खताका सम्बन्धमा ५ आधारभूत सिद्धान्त प्रतिपादन गरे। मूर्खतासम्बन्धी मूलभूत मान्यतालाई नेपाली तथा अन्तर्राष्ट्रिय परिवेशमा चर्चा गर्नु यो आलेखको उद्देश्य भयो।
सर्वसाधारणलाई बुझ्न सरल होस् भनेर प्राध्यापकले नाफा–घाटासम्बन्धी कर्मलाई ध्यानमा राख्दै ग्राफ बनाए। एक्स एक्सिसमा व्यक्तिगत नाफा–घाटा अनि वाइ एक्सिसमा अरू मानिसको लाभ–हानिलाई प्रस्तुत गरी रेखाचित्रमा उतारे उनले। उक्त द्विआयामिक रेखाचिक्रका ४ भागमा विभक्त खण्डहरूले समाजका चार कित्ताका मानिसलाई प्रतिनिधित्व गर्यो।
आफ्नो फाइदा र अरूको उन्नति सँगसँगै जाओस् भन्ने सोचका साथ चल्ने समूहलाई बुद्धिमान (इन्टेलिजेन्ट) को संज्ञा दिए उनले। त्यस्तै अरूको घाटामा आफ्नो उन्नति ठान्ने जमातलाई डाका (ब्यान्डिट्स) भनियो। आफ्नो घाटा सहेर अरूको उत्थानमा बस्ने समूहलाई असहाय (हेल्पलेस) भने उनले। आफ्नो घाटा हुँदा अरूको पनि विनाशको कामना गर्ने समूहलाई मुर्ख (स्टुपिड) को नाम दिइयो।
गुण्डा, डाका, तस्कर अनि भ्रष्ट कर्मचारी तथा स्वार्थी जनप्रतिनिधिलाई नियन्त्रण गर्न सके समाजको उत्थान तथा देशको प्रगति हुन्छ भन्ने सोच पुरानो होइन। तर प्राध्यापक सपोलाको विचारमा समाजलाई हाकाहाकी लुट्ने डाका भन्दा मुर्ख समूह धेरै गुणा खराब हुन्छ।
व्यक्तिगत अनुभव र बौद्धिक ज्ञानको संश्लेषण गरी अर्थशास्त्री कार्लोले प्रतिपादन गरेका मुर्खतासम्बन्धी ५ सिद्धान्तको विश्लेषण सान्दर्भिक देखियो। मुर्खतासंबन्धी प्रथम सिद्धान्तले समाजमा हामीले आकलन गरेभन्दा अत्यधिक मुर्खहरू रहेको भन्छ।
तिम्रा नजिक रहेका धेरै मानिस स्वाँठ छन् भन्ने कुरा नबिर्स है भन्छ पहिलो नियमले। मुर्खतासँग व्यक्तिको बौद्धिक क्षमता, त्याग र योग्यताको कुनै संबन्ध छैन भन्छ मुर्खताको दोस्रो नियमले। पढेलेखेको, अन्तर्राष्ट्रिय ख्याति पाएका, त्यागी, अनि उच्च ओहदा हासिल गरेको व्यक्ति मुर्ख हुँदैन भन्ने कुरा ठीक होइन भन्छ दोस्रो सिद्धान्तले।
मुर्खतासंबन्धी तेस्रो सिद्धान्तलाई डा. सपोलाले स्वर्ण नियमको संज्ञा दिए। मानिसको सर्वव्यापी बानीका संबन्धमा स्थापित इन्र्टप्युनयर थ्यौरी (उद्यमी नियम) लाई उल्लिखित तेस्रो सिद्धान्तले काट्ने भएकाले पनि यो मान्यताले धेरै अन्वेषणकर्ताको ध्यान तान्यो। उद्यमीको सिद्धान्तले मानिस सदैव आफ्नो फाइदाका खातिर काम गर्छ भन्छ भने स्वर्ण नियमले आफूलगायत जगको विनाशको बाटो कुद्नु मुर्खको चरित्र हो भन्ने ठोकुवा गर्छ। नाफा–घाटाको जोड–घटाउले मुर्खले रोज्ने कदमका संबन्धमा आकलन गर्न नसकिने भएकाले उनीहरू समाजका लागि घातक हुनु अस्वाभाविक भएन।
त्यस्तै, मुर्खको ध्वंशात्मक चरित्रलाई सामान्य मानिसले सदैव कम आँक्ने भएकाले मुर्खहरूले सभ्यतालाई जर्जर पार्छन् भन्छ चौथो नियमले। मुर्खलाई समयमै नियन्त्रण गर्न नसक्दा उनीहरूले समाज तथा राष्ट्रलाई थिलथिलो पार्ने भएकाले अबुजको राजका लागि सज्जनलाई दोषी ठान्छन् लेखक। मुर्खतासंबन्धी पाँचौँ आधारभूत कानुनले संसारमा सबैभन्दा खतरनाक मुर्ख मानिस हो भन्छ। गुण्डा, डाँका, तस्कर अनि भ्रष्ट कर्मचारी तथा स्वार्थी जनप्रतिनिधि भन्दा मुर्ख मानिस धेरै गुणा खराब देख्छ यो सिद्धान्तले।
मुर्खता सिद्धान्तका संबन्धमा नेपाली राजनीतिको चर्चा पर्याप्त देखिन्छ। कुनै पनि राजनीतिक दलको अन्तिम उद्देश्य संसद्मा बहुमत प्राप्त दलका रूपमा स्थापित हुने अनि जनहितका लागि नियम कानुन पारित गर्दै नागरिकमा सुख शान्ति र आर्थिक समृद्धिको प्रत्याभूति दिनु हो। सदनमा बहुमत नहुँदा जनमुखी ऐन कानुन पारित गर्न कठिन हुने भएकाले एक दललाई बहुमतको अवसर दिनु भन्ने संसदीय प्रजातन्त्रको मर्म हो।
बेस्टमिन्स्टर सिस्टमको मर्यादाअनुरूप जनताले गत निर्वाचनमा पुष्पकमल दाहाल र केपी शर्मा ओली नेतृत्वको दलको गठबन्धनलाई विश्वास गरे, उनीहरूले संसद्मा बहुमत हासिल गरे। आफूले चिताएअनुरूपको कानुन बनाउन सक्ने अबस्था मात्र सिर्जना भएन बरु संविधान नै संशोधन गर्न सक्ने हैसियतसहितको प्रधानमन्त्री बने केपी ओली। प्रधानमन्त्री तथा मन्त्रीका काम कारबाही हेर्दा डा. कार्लो सपोलाको भाषामा भन्नुपर्दा सरकारले आफ्नो फाइदा र अन्यको हित गर्ने गरी इन्टेलिजेन्ट चरित्र देखाउन सकेन। ओली र उनका मतियारहरू सरकारी संपत्ति तथा संसाधनहरू ब्यान्डिट्सको शैलीमा आफ्नो बनाउनतिर लागे। आफन्त र भक्तहरूलाई पाँडे पजनी गर्न थाल्यो सरकार।
जनहित भन्दा आफ्नो फाइदामा चल्यो ओली सरकार। दोस्रो अध्यक्षको हैसियतमा रहेका प्रचण्ड अनि एमालेको वरिष्ठ हैसियत बोकेका माधव नेपाल ओली सरकारप्रति आक्रामक बने। प्रचण्ड आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने दलिल पेस गर्न थाले भने आफ्नो मर्यादा सरकारले कायम गर्न सकेन भन्ने कटाक्ष गर्न थाले माधव नेपाल।
मानवीय मुर्खताको आधारभूत नियमको भाखामा भन्नुपर्दा प्रचण्ड र माधव नेपालको लक्ष्य बुद्धिमान मानिसको रूपले काम गर्ने छँदै थिएन बरु उनीहरूको गुनासो आफूहरू डाका बन्न पाइएन भन्नेमात्र थियो। पछिल्ला दिनमा उनीहरूको प्रस्तुतिले उक्त कथनलाई थप पुष्टि गर्यो। अन्यथा, शेरबहादुरसँग गठबन्धन गर्ने बित्तिकै आफ्ना भाइलाई सांसद अनि ज्वाइँलाई कूटनीतिक नियुक्ति दिलाउन ज्यान फाल्ने थिएनन् उनीहरू।
अघिल्लो संसदीय निर्वाचनमा बहुमत प्राप्त दलको नेताको हैसियतले प्रधानमन्त्री बनेका केपी ओलीले आफ्नो व्यक्तिगत फाइदाका लागि राष्ट्रको दोहन गर्न कसैले रोकेको थिएन। ब्यान्डिट्स शैलीमा काम गर्न कसैले पनि दखल गरेको थिएन ओलीलाई। पछिल्ला दिनमा प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना र पुष्पकमलको महत्वाकांक्षालाई अघि सारेर आफ्नो दुनो सोझ्याउने माधव नेपाल प्रवृत्तिको व्यवस्थापन ओलीका लागि चुनौती बन्न पुग्यो।
पार्टीको आन्तरिक किचलो व्यवस्थापन गरेर अघि बढ्नुको बदला प्रधानमन्त्रीको कुर्सी छोड्नुपरे आसन भाँच्ने अभिव्यक्ति मात्र दिएनन्, बरु व्यवहारमै पार्टीलाई तहसनहस पारे। समाजको घाटामा आफ्नो फाइदा देख्ने चरित्र बोकेका ओलीले आफ्नो मान्यता फेरे। स्वयम् र समाज दुवैको हानिको खतरनाक बाटो रोज्न पुगे। हुँदाखाँदाको बहुमतको सरकार मात्र ढलेन बरु एमालेप्रतिको जनविश्वासमा पनि कुठाराघात हुन पुग्यो। ओलीको कदमले एमालेको शान अनि देशको उन्नति एकादेशको कथा बन्यो। हिजोका त्यागी अनि झापा आन्दोलनका अगुवा नेता मुर्खमा दरिए।
उनको कारबाहीले स्वयम र राष्ट्रलाई दलदलमा फसाए। मुर्खतासँग व्यक्तिको त्याग र बलिदानसँग कुनै संबन्ध छैन भन्ने मुर्खताको दोस्रो नियमलाई केपी ओलीको कर्मले सही ठहर्यायो। बहुमतको सरकार ढालेर स्वयम् र देशलाई विक्षिप्त बनाउने कर्म ओलीभन्दा अघि गिरिजाप्रसाद र शेरबहादुरले अघि नै गरिसकेको परिदृश्यले समाजमा मुर्खको संख्या सोचेभन्दा अधिक छ भन्ने मुर्खताको प्रथम नियमलाई सही ठहर्यायो।
संसद्मा बहुमत प्राप्त दललाई सडकमा पुर्याउने ओलीको मुर्ख कदमलाई साथ दिँदै बहुमतीय सरकारको याचिका गर्ने उनका सहयोगीलाई भविष्यमा कदाचित जनताले बहुमत दिइहाले पनि ओलीको मुर्खताले फेरि पनि त्यही विध्वंशात्मक घटना दोहोरिन्छ भन्ने भेद नभएको हो कि प्राध्यापक सपोलाको भाषामा भन्दा उनीहरू नेताको निहित फाइदामा आफ्नो हानि सहने बानी परेका असहाय समूह हुन भनी पहिल्याउन कठिन भयो।
दाजुभाइको झगडामा आफ्नो घर जलाउने गाउँले, राष्ट्रिय राजनीतिमा बहुमतको सरकारलाई धुलोपिठो पार्ने केपी ओलीमात्र होइन, अन्तर्राष्ट्रिय युद्धको बिगुल फुक्ने रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन भविष्यवाणी गर्नै नसक्ने प्रवृत्तिका मानिस भएकाले उनीहरूले चाल्ने कदमलाई कुनै पनि विश्लेषकले आकलन गर्न सक्दैन भन्छ अर्थशास्त्री कार्लो सपोलाको नीतिले। ओलीको कदमले देशलाई विक्षिप्त बनायो भने पुटिनको मुर्खताले विश्वलाई आणविक युद्धमा नहोम्ला भन्ने कहाँ छ र?
गाउँको मुर्खले टोल तहसनहस पार्छ भने राष्ट्रिय नेतृत्वमा पुगेको अबुझले देशलाई क्षतविक्षत बनाउँछ अनि अन्तर्राष्ट्रिय क्षितिजमा पुगेको मुर्खले संसारलाई नर्क बनाउँछ। मुर्खका हर्कत रोक्न सज्जन समूहले अझ बढी मेहनत गर्न जरुरी छ भन्छन् प्राध्यापक सपोला। स्वयम् अनि समाज दुवैको घाटामा बाजी खेल्ने मुर्खलाई यथास्थानमा रोक्न सचेत नागरिक समयमै चनाखो हुनुपर्ने भन्ने मर्खतासंबन्धी चौथो नियमलाई समयमै ध्यान दिउँ। मुर्खतालाई समयमै नरोक्दा ओली र पुटिन प्रवृतिले गाँज हाल्छ भन्ने कुरामा सबै सजग बनौँ।
प्रकाशित: ६ वैशाख २०७९ ०२:२५ मंगलबार