१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

जोखिममा साक्षर नेपाल अभियान

अहिले देशभर साक्षर गाउँ विकास समिति र नगरपालिका घोषणा गर्ने लहर चलेको छ। तर वास्तविकताभन्दा पनि तथ्यांकीयरूपमा साक्षरता प्रतिशत बढ्ने कागजी घोडामा मात्र लक्ष्यमा पुग्ने त होइन भन्ने जोखिम मौजुदै छ। साक्षर सूचीमा मृत्यु भइसकेका, साक्षरता कक्षामा जाँदै नगएका व्यक्तिलगायतका झुटो विवरण राखेर सेवा/सुविधा लिएका समाचार सार्वजनिक भएका छन्। यस्ता विकृति निरुत्साहित गर्न बेलैमा चनाखो नहुँदा तथ्यांकलाई वास्तविकताको कसीमा दाँज्दा भविष्यमा पछुताउनुपर्ने दिन आउन सक्छ।


साक्षरता मानव उन्नतिको प्रस्थान विन्दु हो। साक्षरताले व्यक्तिको योग्यता दक्षतालाई विकास एवं विस्तार तथा परिमार्जन र परिस्कृत गरी सक्षमता प्रदान गर्छ। साक्षरताको स्तर र विकासको गति समानुपातिक हुन्छ। दक्ष क्षमतावान मानवीय साधनस्रोतले देश विकासमा मेरुदण्डीय भूमिका खेल्छ। वर्षौंदेखि समाजमा जरा गाडेर बसेको निरक्षरतालाई लरतरो प्रयासबाट सजिलै निर्मूल पार्न सकिँदैन भन्ने पुष्टि विगतका प्रयासबाट आशातित सफलता पाउन नसक्नुले गर्छ। साक्षरता कार्यक्रम वि.सं. २००४ सालदेखि सुरु भए तापनि प्रथम पञ्चवर्षीय योजना (२०१३–२०१८) देखि योजनाबद्ध सञ्चालन भयो। अहिले पनि सन् २०१५ भित्र सबै निरक्षरलाई साक्षर बनाएर देशलाई साक्षर नेपाल युनेस्कोको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत जनता साक्षर भएमा साक्षर स्थान घोषणा गर्न पाइने प्रावधान छ। यसै आधारमा देशभर ७ जिल्ला, ६३० गाउँ विकास समिति र १० नगरपालिका साक्षर घोषणा भएको आधिकारिक निकाय अनौपचारिक शिक्षा केन्द्र, सानोठिमीले सार्वजनिक गरेको छ। बाँकी रहेका १७ लाख, ४५ हजार ३३४ जना निरक्षरलाई २०७१ असार मसान्तसम्म साक्षर बनाउने उद्देश्यका साथ अनौपचारिक शिक्षा केन्द्रले विभिन्न सघन कार्यक्रम सञ्चालन गर्दै आएको छ। तथापि लामो समयदेखि नपढी बसेका पाको उमेरका निरक्षरलाई साक्षरता कक्षामा ल्याउन लरतरो प्रयासले कामयावी हुन सकिन्न। निरक्षरलाई करले नभई रहरले पढ्ने वातावरण बनाउने प्रयासले मात्र अभियानले सार्थकता पाउन सक्छ।

साक्षरता कार्यक्रमलाई परम्परागत कस्मेटिक कुरा र क्युरियो सिद्धान्तलाई मात्र रट्नुको सट्टा समयानुकूल विधि र व्यवहारको कार्यान्वयनबाट मात्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यमा सुगमतापूर्वक पुग्न सकिएला। साक्षरता अभियान सफल पार्न धेरै चुनौती सामना गर्न नपर्ला भन्न सकिन्न। निरक्षरहरूको साक्षरता कक्षामा अनियमितता, र बीचैमा कक्षा छाड्ने जस्ता नकारात्मक प्रवृत्ति कसरी सुधारेर उनीहरूको उत्साहजनक र जाँगरिलो सहभागिता जुटाउन सकिएला? चिन्ता र चिन्तनको विषय बन्नुपर्छ। साक्षरताले मानव विकासको सीमित सम्भावनाबाट असीमित सम्भावनको दैलो खोल्छ। साक्षरताको विषयवस्तुलाई उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ज्ञान सिपमा समयसापेक्षरूपमा परिमार्जन र परिष्कृत गर्दै पेसागत दक्षतामा अभिवृद्धि गरी निर्वाहमुखीबाट व्यावसायिकमुखी बनाउँदै लाने रणनीतिको अवलम्बन आजको आवश्यकता हो। साक्षरतालाई निरक्षरले अपनाइआएको पेसामैत्री वातावरण सिर्जना गर्नु आवश्यक छ। जसले निरक्षरहरुको नाना, खाना र छाना सुनिश्चित गर्न टेवा पुगोस्। सहभागीको दैनिकीमा भोगेका समस्या र चुनौती सम्बोधन गर्ने विषयवस्तुले साक्षरता कार्यक्रमप्रति उनीहरूको चाहना र विश्वास जगाउन सक्छ।

साक्षर नेपाल अभियानलाई सार्थक लक्ष्यमा पुर्याचउन अहिले पनि निरक्षर कहाँ छन्? एकिन गर्नु पहिलो प्राथमिकतामा पर्नुपर्छ। तिनीहरुलाई पढ्न कक्षाकेन्द्रमा कसरी ल्याउने? उत्प्रेरणा गर्ने उपायहरुको पहिचान गरी कार्यान्वयन गर्नुपरेको छ। कक्षा केन्द्रमा आइसकेका निरक्षरहरुलाई कार्यक्रम अवधिभर कसरी टिकाइराख्ने? रोचक व्यवस्थापनका लागि ध्यान दिन विलम्ब भइसकेको छ। पढ्ने/पढाउने विषयवस्तु, विधि र व्यवस्थापन सहभागीहरुको रुचि, क्षमता र आवश्यकताअनुसार छ कि छैन? अध्ययन/अनुसन्धानबाट निष्कर्षमा पुग्नु बुद्धिमत्तापूर्ण काम हुन्छ।

प्रकाशित: १० फाल्गुन २०७१ २१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App