युनिभर्सिटी अफ् क्यालिफोर्निया लस एन्जलस, प्याथोलोजी तथा ल्याबरोटरी मेडिसिनका प्राध्यापक स्याड्गजिंग यांगले हालै कोरोनाकेन्द्रित एउटा अन्तर्वार्तामा आफ्नो अनुभव र अध्ययनले कुनै पनि भाइरस यतिसम्म संक्रमणकारी हुन सक्छ भन्ने कहिल्यै नसोचेको बताए।
डा. यांगको उक्त भनाइमा कोरोनाको ओमिक्रोन भेरियन्ट्सको संक्रमण गतिले भाइरोलोजिस्टलाई समेत चकित पारेको छ। दुई हप्तामै कोभिड आकडामा ओमिक्रोन संक्रमण १ प्रतिशतबाट ५० प्रतिशत पुग्यो भने १ महिनामै संसारको कुल संक्रमणको झण्डै शतप्रतिशत हिस्सा ओगट्न पुग्यो यो भेरियन्ट। प्रक्षेपित मोडलअनुसार केही दिनभित्रै संसारका कम्तीमा ५० प्रतिशत जनसंख्याले ओमिक्रोन भेरियन्टको सामना गरिसक्ने देखिएको छ।
कोभिड–१९का विभिन्न भेरियन्टको संक्रमण गतिका आधारमा वैज्ञानिक सहजताका लागि ‘आर नम्बर’ निर्धारण गर्दा विश्वका ७० देखि ९० प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको ‘इम्युनिटी’ विकास गरेको अवस्थामा संसार ‘हर्ड इम्युनिटी’ को चरणमा पुग्ने देखिन्छ।
हर्ड इम्युनिटीको ‘म्याजिक नम्बर’ को हाराहारी जनसंख्याले रोगविरुद्धको प्रतिरोधात्मक क्षमता विकास गरेपछि कुनै पनि रोग अन्तर्राष्ट्रिय महामारी नरहने बरु स्थानीय स्वास्थ्य समस्याका रूपमा खुम्चने भन्छन् विज्ञहरू। संक्रमणको सामना गरिसकेका अनि खोप लिने जनसंख्याको गणना गर्दा विश्वका कम्तीमा ८० प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमता विकास गरेका देखिन्छ। प्रक्षेपित मोडल ठीक भएको खण्डमा कोभिड अब लामो समयसम्म ‘प्यान्डेमिक’ का रूपमा रहँदैन।
ओमिक्रोनको उच्चतम संक्रमण गति अप्रत्याशित भए पनि भाइरसमाथि मानव विजयको उत्सव ठान्छ विज्ञको एक समूह। विगतका अल्फा र डेल्टा भेरियन्ट्ले भित्रीरूपमा फोक्सोका कोसलाई संक्रमण गर्ने गरेकामा सुक्ष्माणुका नवीन पुस्ताले सामान्य रुघाखोकीका भाइरसअझै श्वास/प्रश्वासका उपल्ला भागमा मात्र संक्रमण गर्ने गरेकाले ओमिक्रोनको लक्षण कम विषाक्त देखिएको हो। महत्वपूर्ण अंग फोक्सोमा संक्रमणको संभावना कम भएपछि मृत्यु दर घट्नु स्वाभाविक हो।
सेलुलर (कोसिका) तहमा गरिएको अन्वेषणले प्रथम पुस्ताका भाइरस र ओमिक्रोनको संक्रमण चरित्रमा पनि आकास जमिनको फरक देखिएको छ। कोभिड–१९ को प्रथम पुस्ताले आफ्नो उग्र रूप देखाउने क्रममा ‘सेल फ्युजन’ को बाटो रोजेको देखियो। कोभिड भाइरसले संक्रमित कोस र अरू भाइरसहरूद्वारा ‘इन्फेक्टेड सेल’ एकापसमा विलय भई भीमकाय स्वरूपको भाइरस उत्पादन कारखाना बन्ने विधिलाई सेल फ्युजन भनिन्छ।
सेल फ्युजनपछि भाइरस बन्ने गति अत्यधिक बढ्ने भएकाले फोक्सोको सीमित भागमा भएको संक्रमणले छोटो समयमा नै पूरा ‘लङ्गस’ लाई नै काम नलाग्ने बनाउँछ। तर विगतका भेरियन्टस भन्दा फरक ओमिक्रोनले भने सेल फ्युजनको बाटो रोजेको देखिएन। ‘सेलुलर एनालिसिस’ ले विगतका पुस्ताका तुलनामा ओमिक्रोन किन कम विषाक्त भयो त भन्ने प्रश्नको उत्तर दिएको छ।
श्वास/प्रश्वाससम्बन्धी सुक्ष्माणुका ज्ञाता प्राध्यापक यांग कोभिड–१९ नियन्त्रणको अवस्थामा पुगेको ठान्छन्। एक्कासि वनमा डढेलो लागेझैभाइरसले आफ्नो उग्र रूप देखाएर अत्यधिक मानिसलाई संक्रमण गरेपछि विगतमा धेरै किसिमका ‘रेस्पिरेटरी प्याथोजिन’ हरू नियन्त्रणमा आएको दृष्टान्तले कोरोना नियोजन गर्न सकिने अवस्थामा पुगेको ठान्छन् उनी। यद्यपि, कोरोनामुक्त संसार अहिले कल्पना भन्दा बाहिरको विषय मान्छन् उनी।
चाल्स डार्बिनको ‘सर्भाइभल अफ् द फिटेस्ट’ ले पछिल्लो पुस्तामा आफ्नो अत्यधिक सन्तती उत्पादन गर्न सक्ने जीवजन्तुमात्र सफल हुन्छ भन्छ। समय परिस्थिति अनुकूल आफूलाई ढाल्न सक्नेले अग्रस्थान ओगट्छ। भाइरसले स्वतन्त्र विधिमार्फत आफ्नो संख्या बढाउन सक्दैन। परजीवी भएकाले भाइरसले आफ्नो पुस्ता सञ्चालनका लागि अन्य जीवको सहारा आवश्यक हुन्छ। जस्तो कोभिड–१९ को संख्या बढ्न मानिस माध्यम हुन। कुनै भाइरस अत्यधिक विषाक्त भई संक्रमित जीवजन्तु मर्न गएको खण्डमा सुक्ष्माणुको जीवनचक्र त्यहीँ समाप्त हुन्छ।
त्यस्तो अवस्थामा भाइरस आफै मासिन्छ। तसर्थ, आश्रय दिने मानिस र कोरोना भाइरस दुवैको अस्तित्व कायम हुने अवस्था सिर्जना गर्ने परिस्थिति भाइरसका लागि सबैभन्दा उचित परिबन्द हुन्छ। ओमिक्रोनले मानिसलाई खासै बिरामी नपार्ने अनि भाइरसले आफ्नो सन्तती बढाउने अवसर पनि पाउने भएकाले कोरोनाको वर्तमान भेरियन्ट चाल्र्स डार्बिनको सिद्धान्तका आधारमा सन्तुलित पुस्ता देखिएको छ। त्यसैले ओमिक्रोन भेरियन्ट संभवतः कोभिडको सबैभन्दा स्थिर स्वरूप ठान्छन् वैज्ञानिकहरू।
ओमिक्रोनपछि कोभिड संसारव्यापी ‘प्यान्डेमिक’ नरहने बरु स्थानविशेष ‘इन्डेमिक’ भाइरसका रूपमा मात्र रहने भन्ने पक्षको रायसँग सहमत नहुने समूह पनि सानो छैन। ओमिक्रोनको संक्रमण गति अत्यधिक भए पनि विषाक्त स्वरूप भने सामान्य रहेकाले आणुवांशिक परिवर्तनमार्फत यो भेरियन्टबाट भविष्यमा उत्पन्न हुने सन्ततीहरू एक्कासि दानवी चरित्रका हुनु नपर्ने हो।
धेरै पुस्तापछि मात्र अणुवांशिक पदार्थमा सामान्य परिवर्तन आउने भएकाले सन्ततीको चरित्र पुर्खा पुस्ता भन्दा अत्यधिक फरक हुँदैन भन्ने व ैज्ञानिक मान्यताहो। तर कोभिड–१९ को भेरियन्टसको अणुवांशिक उत्खननले त्यसो भनेन। प्रारम्भिक अवस्थाको मातृ भाइरसमा सामान्य अणुवांशिक परिवर्तन आयो, नयाँ भेरियन्टका रूपमा अल्फा तथा डेल्टा देखियो।
नयाँ पुस्ताले आसन जमाएपछि अघिल्लो पुस्ता हरायो। डेल्टाले संसारभर प्रभाव देखाएपछि वैज्ञानिकहरूले केही समयको अन्तरालपछि भाइरसमा सामान्य आणुवांशिक परिमार्जन आउने ठाने। सूक्ष्म परिवर्तनपछि भाइरसको चरित्र अलिकति फेरिने, डेल्टाको बदला डेल्टा प्लस आउने अपेक्षा थियो। तर डेल्टापछि एक्कासि आणुवांशिक तथा चारीत्रिक दुवै हिसावले धेरै भिन्न स्वरूपको ओमिक्रोन आयो। क्रमिक विकासको हिसाबले हेर्दा डेल्टापछि ओमिक्रोनको उत्पत्ति स्वाभाविक देखिन्न। यो परिवर्तन मुसाको अणुवांशिक जिनमा परिवर्तन आई बिरालो होइन हात्ती बनेको जस्तो भयो।
डेल्टापछि ओमिक्रोनको आगमनलाई भाइरसको क्रमिक परिवर्तन मान्न तयार छैनन् ग्लोबल हेल्थ रिसर्च फाउन्डेसनका अध्यक्ष जेरेमी फरार। एउटा भाइरसबाट अर्को फरक जातको सुक्ष्माणु उत्पन्न भयो भन्ने ठान्छन् डा फरार। युनिभर्सिटी अफ् म्यासेच्युसेट्सका भाइरोलोजीका प्राध्यापक जेरेमी ल्युबानको धारणा डा. फरारभन्दा खासै फरक छैन। कोभिडको जेनोम सिक्बेन्स गर्दा ५० भन्दा अधिक स्थानमा म्युटेसन देख्दा पचासौँ विभिन्न चरित्रका शत्रुहरू एक स्थानमा भेला भई एक्कासि आक्रमण गर्न थालेको जस्तो अनुभूति भएको भन्छन् प्राध्यापक ल्युबान।
भाइरसको एक दुई स्थानमा परिवर्तन आउँदा धान्न सक्ने कल्पना गरेकोमा एक्कासि त्यति धेरै म्युटेसन देख्दा अत्तालिए धेरै वैज्ञानिक। तर, असामान्य आणुवांशिक परिवर्तन भए पनि कोरोना भाइरस थप घातक भने नभएकाले मृतकको संख्या भने बढेन। तर ओमिक्रोनको संक्रमण शक्ति भने अघिल्लो पुस्ता भन्दा धेरै देखियो।
असामान्यरूपले छोटो समयमा नै ‘जेनोम’ मा आएको व्यापक परिवर्तनले भाइरसलाई न्यून घातक बनाए पनि त्यस्तै गतिको अणुवांशिक परिमार्जनले ओमिक्रोनलाई विपरित धारमा पुर्याइ संक्रमण तथा विषाक्त दुवै हिसाबले अत्यधिक खराब सुक्ष्माणुको उत्पत्ति भए कसरी सामना गर्ने भन्ने विषयमा चिन्ता हुनु अस्वाभाविक भएन। ओमिक्रोनमा देखिएका दर्जनौँ म्युटेसन असामान्य भएकाले त्यस्तै किसिमको उत्परिवर्तनको त्रासमा बस्नु उचित होइन तथापि सजग भने हुनुपर्ने ठान्छन् भाइरोलोजिस्टहरू।
अणुवांशिक परिवर्तनको गति निकै धीमा हुन्छ। कोभिडका अल्फा र डेल्टा भेरियन्टसको अणुवांशिक अध्ययनले भाइरसका प्रोटिनमा सामान्य परिवर्तनमात्र आएको देखायो। तर ओमिक्रोनको अणुवांशिक पदार्थमा छोटो समयमै असामान्य गतिको फेरबदल देखिएको छ। ओमिक्रोनको उत्पत्तिलाई बायोलोजिकल सिस्टमको ‘आउट लाएर’ मान्ने हो भने कोभिड जिनोममा भविष्यमा आउने उत्परिवर्तनलाई वैज्ञानिक विकासले सहजै व्यवस्थापन गर्न सक्छ। वर्तमान उत्खननले कोभिड निर्मूलका दिन आसन्न छ भन्न सक्ने अवस्था नभए पनि कोरोनाका कारण दैनिकी असामान्य बन्ने अवस्था भने फेरि आउँदैन भन्न सकिन्छ।
प्रकाशित: २५ माघ २०७८ ०३:३८ मंगलबार