५ वैशाख २०८१ बुधबार
विचार

माइस पर्यटनमा अबको बाटो

नेपालको पर्यटन विकासको क्रममा नेपाल भ्रमण वर्ष १९९८ को महत्वपूर्ण योगदान पाइन्छ। भ्रमण वर्षले विश्व मानचित्रमा नेपाललाई सशक्तरूपमा प्रस्तुत गर्न विभिन्न क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा स्थानीय तहमा कार्यक्रम आयोजना गरेको थियो।

यस भ्रमण वर्षले नेपालमा मेला महोत्सव र पर्यटकीय सम्पदाहरूको पहिचान गराउन सफल भएको र तत्कालीन समयमा देशका ७५ वटै जिल्लाका स्थापित एवम् नवप्रस्तुत सम्पूर्ण सम्पदाको प्रवद्र्धन गर्न विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। नेपालको पर्यटन क्षेत्रमा यो पर्यटन अभियान एक कोशेढुङ्गा सावित भएको मान्न सकिन्छ।

भ्रमण वर्ष १९९८ को सफल आयोजना र स्थानीयरूपमा भएका यस्ता क्रियाकलापले स्थानीय वस्तुको व्यापार र गन्तव्यहरूको प्रचारप्रसारमा टेवा पुर्‍याएको पाइयो। एउटा कुनै गन्तव्यले महोत्सव गरेपछि अरूले त्यसको अनुशरण गर्दा देशभर नै पर्यटन, कृषि र उद्योगका मेला महोत्सव हुन थालेका पाइन्छ।

यसैबीच नेपाल सरकारले सन् २००२–२००३ मा डेस्टिनेसन नेपाल क्याम्पेन आयोजना गर्‍यो। सन् २००४–२००५ लाई क्षेत्रीय पर्यटन प्रवद्र्धन अभियान र सन् २००७ पोखरा भ्रमण वर्षका रूपमा आयोजना पनि भयोे। सन् २०११ मा दश लाख पर्यटक नेपाल भित्र्याउने प्रमुख लक्ष्यसहित पुनः नेपाल पर्यटन वर्ष २०११ आयोजना भएको थियो।

त्यसैगरी सन् २०२० का लागि नयाँ अभियान भिजिट नेपाल २०२० को एक वर्षीय पूर्वतयारी सन् २०१९ मा गरी औपचारिक उद्घाटन १ जनवरी २०२० मा सम्पन्न गरिएको थियो। विश्वव्यापी महामारी कोभिड–१९ का कारण थप कार्यक्रम भने सञ्चालन गर्न सकिएन।

सन् १९९८ देखि सुरु गरिएका यस्ता पर्यटकीय अभियानलाई थप राष्ट्रव्यापी स्तरमा समेट्न र राष्ट्रिय सम्पदाको पहिचानसहितको प्रस्तुतीकरण गर्न सन् २००४ र २००६ मा नेपाल पर्यटन बोर्ड, नाटालगायत विभिन्न निजी क्षेत्रका संगठनले दुईवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय स्तरको हिमालयन ट्राभल मार्ट (एचटिएम) र नेसनल टुरिज्म फेयर (एनटिएफ) आयोजना गरिएको थियो।

यसरी सम्पन्न मार्टहरूको आयोजनाले दक्षिण एसियामा नेपालको अन्तर्राष्ट्रिय स्तरको मेला गर्न सक्ने क्षमता छ भन्ने कुरामा बल पुर्‍याएको थियो। यी मार्टमा देशका ७५ जिल्लाको प्याकेजसहितको उपस्थिति र निजी क्षेत्रको प्रत्यक्ष सहभागिताले देशलाई माइस पर्यटन गराउन सक्ने क्षमता भएको गन्तव्यका रूपमा उभ्याएको थियो। बिआइसिसी मेलाको आकर्षण मित्र राष्ट्र भारतको दिल्लीस्थित प्रगति मैदानमा हुने गरेको मेला महोत्सवको झल्को भन्दा कुनै कम थिएन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले निकै चर्चामा ल्याएको विषय पनि थियो।

देशमा ठूला स्तरका मेला, मार्ट गर्ने स्थान नै भएन र सन् २००७ पछिका दिनमा हिमालयन ट्राभल मार्ट जस्ता अन्तर्राष्ट्रिय स्तरको मेला काठमाडौँमा भए तर स्थानचाहिँ भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल र सोल्टी होटलको हल र गार्डेनमा गर्नुपर्ने बाध्यता भए।

एउटा राम्रो दिशा लिइसकेको माइस पर्यटनको ल्यान्डमार्क सम्पदा बिआइसिसीको भिन्न तरिकामा उपयोग भएपछि महत्वपूर्ण सम्भावनालाई विश्राम नै दिएको जस्तो भएको छ। हुन त ५ हजार क्षमताको सभाहल लुम्बिनीमा पनि बनेको छ। हालै भक्तपुरमा पनि ५ हजार क्षमताको सभागृहको शिलान्यास भएको पाइन्छ तर काठमाडौँलाई अन्तर्राष्ट्रिय स्तरको सभा/सम्मेलन केन्द्र, पर्यटकीय बजारलाई हाम्रा सम्पदाबारे साझा थलोबाट विश्वमाझ पस्कने स्वर्ण अवसरबाट हामी चुकिरहेका छौँ।

माइस पर्यटनको इतिहास हेर्ने हो भने २०औँ शताब्दीमा अमेरिकामा विकास भई युरोपमा सरेको पाइन्छ। युएसएको पहिलो कन्भेन्सन ब्युरो सन् १८९६ मा स्थापना भएको र मोडर्न ट्रेड फेयरको पहिलो मेला सन् १८९५ मा जर्मनीको लेइपिजिङमा भएको थियो।

त्यसको आयोजना मस्टचमेस्सेले गरेको पाइन्छ। अमेरिका र युरोपका विभिन्न कन्भेन्सन सेन्टरमा हुने ट्राभल मार्ट एक्जिबिसनको विकासक्रम हेर्दा लन्डनमा डब्लुटिएम, बर्लिनमा आइटिबी, मिलनमा बिआइटी, मड्रिडमा फिटुर, अट्रेकमा भकान्टिब्योर जस्ता वार्षिक रूपमा मनाइने स्थापित कार्यक्रमहरूका केही उदाहरण छन्। साथै अमेरिकाको अर्को एउटा उत्कृष्ट माइसको गन्तव्य लास भेगासलाई भन्न सकिन्छ किनकि त्यस सहरको अर्थतन्त्र माइस पर्यटन र जुवाको व्यापारमा आधारित छ।

त्यस्तै दक्षिण पूर्वी एसियामा सिंगापुर एक उत्कृष्ट माइस पर्यटनको गन्तव्य हो। त्यहाँको अर्थतन्त्रमा माइसबाट हुने एक डलरको कमाइले लगभग १२ डलरसम्मको योगदान जिडिपीमा गरेको छ। विश्वभर आजको दिनमा सहरहरूको पहिचान त्यहाँ हुने मेगा इभेन्टले हुने गरेको छ। जस्तै– क्यान्नेस सहर, फ्रान्स अन्तर्राष्ट्रिय फिल्म समारोहहरूका लागि बोर्डेक्स सहर वाइन मेलाका लागि, फ्र्यान्कफर्ट सहर किताब र अटोमोबाइल्स मेलाका लागि, बर्लिन सहर आइटिबी पर्यटन विश्व मेलाका लागि।

यस क्रममा छिमेकी राष्ट्र भारतको अन्तर्राष्ट्रिय स्तरको मेला, सम्मेलन र प्रदर्शनी मञ्चको निर्माण र त्यसको प्रगति पनि उदाहरणीय छ। सन् १९७२ मा अन्तर्राष्ट्रिय व्यापार मेला एसिया ७२ को आयोेजना र स्वतन्त्रताको २५औँ वर्षगाँठ मनाउने क्रममा नयाँ दिल्लीको प्रगति मैदानमा सभा हल निर्माण गरिएको थियो। पछि सन् १९८२ र २०१२ मा अन्तर्राष्ट्रिय सभा/सम्मेलन गर्ने क्षमता विकास र त्यसको आधुनिकीकरणपछि थप अन्तर्राष्ट्रिय पर्यटन, व्यापार मेला तथा विभिन्न राज्यका हस्तकला एवम सांस्कृतिक मेलाहरू ७० भन्दा बढी हुने गरेको पाइन्छ।

अर्को राम्रो उदाहरण थाइल्यान्डको छ जसले माइस पर्यटनका रूपमा उदाहरणीय कार्य गरिरहेको पाइन्छ। एसियाको उत्कृष्ट बिजनेस गन्तव्य बन्ने उद्देश्यसहित सन् २००४ मा थाइल्यान्ड कन्भेन्सन एन्ड एक्जिबिसन ब्युरो स्थापना गर्‍यो। ब्युरोले थाइल्यान्डको बैँककलाई व्यापारिक केन्द्र बनाउन, त्यहाँ बाह्रै महिना सभा/सम्मेलन, मेला तथा विभिन्न जीवन्त इभेन्टहरू सञ्चालन गर्दै आइरहेको पाइन्छ। विभिन्न कार्यक्रम सञ्चालनमा समन्वय गर्न, प्रत्येक विधाको महाशाखा बनाई व्यापारमा साझा थलोका रूपमा विस्तार गरी बंैकक एक सफल अनुकरणीय उदाहरण बन्न सकेको छ।

माइसमा अन्तर्राष्ट्रिय स्तरको मेला, सभा/सम्मेलनसँगै अर्को महत्वपूर्ण कुरा हो इन्सेन्टिभ टुर। आजको कर्पाेरेट बजारमा कर्मचारीलाई प्रोत्साहन गर्ने विभिन्न प्रकारका प्रोत्साहन टुर दिने प्रचलन छ। जसमा ट्राभल लेभल इन्सेन्टिभ प्रमुख छ। छिमेकी राष्ट्र भारतमा पनि कर्पोरेट कम्पनीहरूले वार्षिकरूपले आफ्ना डिलर, एजेन्ट, ग्राहक तथा कर्मचारीलाई विभिन्न प्रोत्साहन टुर, सभा, जमघट गर्ने गरेका पाइन्छ।

यस्ता प्रोत्साहन गर्ने कार्यक्रममा थाइल्यान्ड, सिंगापुर, मलेसिया तथा दुबईले वर्चस्व जमाएका छन्। यस्ता प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालका टुर ओपरेटरहरूले पनि नेपालको उच्च पहाडी गन्तव्य, ट्रेकिङ क्षेत्र र धार्मिक स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरू कार्यक्रम तान्न सक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ तर यसका लागि केही थप पूर्वाधार र जनशक्तिको आवश्यकता देखिन्छ।

हामीसँग जे/जस्ता पूर्वाधार छन् त्यहीबाट सुरु गर्नुपर्छ। वर्तमान परिस्थिति कोभिड–१९ ले प्रभावित गरेको छ। हाम्रो अर्थतन्त्र र त्यसमा अति प्रभावित पर्यटन क्षेत्रको पुनर्ताजगी र भावी दिनमा दिन सकिने दिशानिर्देशनमा माइस पर्यटनको सम्भावनाका लागि केही भौतिक पूर्वाधार तयार पार्नुपर्ने देखिन्छ। त्यसका लागि तीनवटा सम्भावना देखेको छु।

प्रथम, तत्कालीन समयमा नारायणहिटी दरवार संग्रहालयको मुख्य बिल्डिङको पूर्वपट्टिको जमिन, जसमा गणतान्त्रिक पार्क पनि बनेको छ र सँगै रहेको मैदान, नेपाली सेनाको ब्यारेक आदि रहेको सम्पूर्ण क्षेत्रलाई समेटेर आइरन र प्रि–फ्याबका केही साना/ठूला संरचनामा सभाहल र प्रदर्शनका लागि चाहिने हल आदि बनाई नारायणहिटी दरवारको ऐतिहासिक पृष्ठभूमि, संग्रहालयको थप आकर्षण र काठमाडौँको मुटुमा रहेको यसको अवस्थितिले एक नौलो पहिचानसहितको अन्तर्राष्ट्रिय सभा सम्मेलन, मेला तथा प्रदर्शनीको केन्द बनाई यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मार्टहरू आयोजना गरी पर्यटन क्षेत्रको विकासबाट लाभ लिन सकिन्छ।

दोस्रो प्रस्तावमा भृकुटीमण्डप, काठमाडौँन्स्थित प्रदर्शनीमार्गमा रहेको प्रदर्शनीस्थल हललाई टुकुचे खोलादेखि नेपाल पर्यटन बोर्डको सेवा केन्द्र भवनसम्मको संरचनालाई एकीकृतरूपमा लिइ ठूलो सभा/सम्मेलन केन्द्र बनाउन सकिन्छ। यस क्रममा राष्ट्रिय सभा गृह, प्रहरीको तालिम केन्द्र, रत्नराज्य क्याम्पस, वाल्मीकि विद्यापीठ आदि संस्था पनि स्थानान्तरण गरी ठूलो संरचनाको अन्तर्राष्ट्रिय सभा/सम्मेलन केन्द्र बनाउनुपर्ने देखिन्छ। यस परियोजनाले सिंहदरवारको अगाडिको खुला मार्ग भद्रकाली मन्दिरदेखि सिंहदरवारको पश्चिम गेटसम्मको क्षेत्रमा थप पर्यटकीय आकर्षण बनाउन शनिवारको सडक मेला वा रात्रिबजार आदिको आकर्षण दिन सकिने र पर्यटकीय गतिविधि गर्न सकिने हुन्छ।

तेस्रोमा, कीर्तिपुरको मञ्जुश्री पार्कवरपरको स्थानमा ठूलो प्रदर्शनी मैदान र सभा केन्द्र बनाई अन्तर्राष्ट्रिय स्तरको सभा/सम्मेलन, मेला तथा प्रदर्शनीे केन्द्रले पर्यटन क्षेत्रको दिगो विकासमा मद्दत गर्नेछ। काठमाडौँ सहरभन्दा बाहिर चोभार, कीर्तिपुरमा बन्ने यी प्रदर्शनी हलहरूको पूर्वाधारले कीर्तिपुरको पर्यटकीय आकर्षण बढाउँदै सिटी अन हलका रूपमा विकसित हुने कीर्तिपुरको पहिचानमा थप आयाम मिल्नेछ।

उपरोक्त तीनवटा प्रस्तावमध्ये कुनै पनि एक स्थानको विस्तृत योजना, जग्गा अधिकरण आदि कार्य यसै वर्ष गरी अर्को वर्षदेखि कार्यान्वयनतर्फ गयो भने कोभिड–१९ ले शिथिल पारेको पर्यटकीय आवागमनले छाएको नैराश्यता हटाइ र नयाँ आशाको किरण झुल्काउनेछ। न्यु नर्मल अवस्थामा नेपालले व्यापक प्रचारप्रसार गर्नु नै पर्छ र आफ्ना पर्यटकीय सम्पदा तथा पर्यटकीय सेवा सुविधाको प्याकेज विश्वमाझ पस्कन हिमालयन ट्राभल मार्ट र नेसनल टुरिज्म फेयर जस्ता ठूला आयोजना भव्यरूपले आयोजना गर्न थप मद्दत मिल्नेछ। 

(वरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड)

प्रकाशित: १४ माघ २०७८ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App