१७ असार २०८१ सोमबार
image/svg+xml
विचार

अरस्तु, राजयोग र बुद्ध

राजनीतिक दलको महाधिवेशनको मौसम लगभग मैझारुको अवस्थामा छ। राप्रपा, एमाले र नेपाली कांग्रेसको महाधिवेशनले नेतृत्व चयन गरेको छ। राप्रपाका राजेन्द्र लिङ्देन, एमालेका केपी शर्मा ओली र नेपाली कांग्रेसका शेरबहादुर देउवाको हातमा नेतृत्वको बागडोर परेको छ।

निर्वाचनमा प्रतिस्पर्धी सबैको हातमा विजय पर्दैन। जित एक जनाको हुन्छ, पराजित धेरै। पराजयलाई सहजरूपले लिएको पाइएन। कतिपय अवस्थामा जय र पराजयको कारण आफैँ हो भनेर आत्मसमीक्षा गर्नुपर्नेमा अरूलाई दोष दिने परिपाटी आमसर्वसाधारणले रुचिकर मान्दैनन्।

फेरि राजनीतिमा सफल वा असफलको आधार के हो? राजनीतिक यात्रामा रहेका सबै गन्तव्यमा किन पुग्दैनन्? राजनीतिक क्षेत्रमा आफ्नो जीवनको सबै वय लगानी गर्नेहरू किन अज्ञात र गुमनाम हुन्छन्? कुनै्बेला नेपालका नेल्सन मन्डेला भनिने मोहनचन्द्र अधिकारी जस्ता मिथक पात्र किन बन्छन्? यसको राज के हो? स्वाभाविकरूपमा उठ्ने यस्तो प्रश्नको उत्तर खोज्दा ज्योतिषशास्त्र जसलाई वेदको आँखा पनि भन्ने गरिन्छ उसले भन्ने गरेको राजयोगको कुरा र पाश्चात्य राजनीतिक चिन्तक अरस्तु (इ.पु. ३८४–३२२) को ‘नागरिक’ सम्बन्धी अवधारणा अर्थपूर्ण लाग्यो। यद्यपि यो वीजगणितको समस्या हल गर्नका लागि निर्धारित अकाट्य सूत्र भने नहुन सक्छ।

ज्योतिषको मान्यता र विश्वासअनुसार राज्यसत्ताको नेतृत्व वा त्यसका अंगहरूमा पुग्नका लागि ‘ज्योतिषको भाषामा सम्बन्धित जातकको कुण्डलीमा राजयोग परेको’ हुनुपर्छ। हरेकको कुण्डलीको १२ भाव क्रमशः तनु, धन, पराक्रम, सुख, शिक्षा, रिपु, जाय, आयु, भाग्य, कर्म, आय एवं व्यय भाग हुन्छ। त्यसमा अवस्थिति सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, राहु र केतु ग्रहको स्थिति, उचःनिच, स्वगृही वा शत्रुगृही, अंश आदिका आधारमा ज्योतिषशास्त्रले जीवनदेखि अन्त्यसम्मको साङ्गोपाङ्गो अध्ययन गर्छ।

त्यतिमात्र होइन, महर्षि चरकले परलोक र पुनर्जन्मको अप्तागमले नै सिद्ध गरेका छन् भनिन्छ। उनका अनुसार बाबुआमाबाट फरक सन्तान उत्पन्न हुनु, उच्च र सानो कुलमा जन्म हुनु र एउटै बाबुआमाबाट उत्पन्न भएका सन्तानको वर्ण, स्वर, आकृति, मन, बुद्धि र भाग्यमा फरक हुनु, उच्च र सानो कुलमा जन्म हुनु, आयुर्भावमा विषमता हुनु आदिलाई पुनर्जन्मको कारण मानेका छन्।

व्यक्तिगतरूपमा पूर्वजन्म र परजन्मको कुरा गर्दा पूर्वीय भौतिकवादी दर्शनका प्रवर्तक बृहस्पतिको (देउताका गुरु) चार्वाक दर्शनले प्रत्यक्ष प्रमाण मात्र प्रमाण मानेको कुरामाथि विश्वास छ। पूर्व र परजन्म प्रमाणित गर्न सकिँदैन। यति भए पनि राजनीति वा जुनसुकै क्षेत्रमा विरासतका कुरा उठ्ने कुरामा चरकको धारणा खण्डित नै छ भन्न सक्दिनँ। बुद्धका छोरा राहुल, कविरका छोरा कमाल बाबु जस्तै कहाँ हुन्छन् ? यस्तो भए बुद्ध र कविरको महत्व पनि हुने थिएन।

व्यक्तिको कुण्डलीको १२ भावमा अवस्थिति ग्रह र उसको युतीको आधारमा विभिन्न योगको निर्माण तथा त्यसको फलको कुरा ज्योतिषशास्त्रले गर्छ। त्यसमध्ये राजयोग पनि पर्छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ पूर्र्णिमासम्म सुनिने स्वस्थानी व्रतकथामा दुःखपूर्ण जीवन गुजारा गरिरहेकी गोमा ब्राह्मणीका छोरा नवराज लावण्य देशको राजा भएको कुरा छ।

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुनु जस्ता घटनामा कतै राजयोगकै सूत्रमा लागु हुँदैन? भन्ने लाग्छ। रेग्मीलाई राजयोगको फलिफाप भए पनि नेपालको न्यायिक इतिहासको सर्वाधिक दुःखद् घटना थियो त्यो। स्वतन्त्र न्यायपालिकाको मूलभूत सिद्धान्तमाथि राजनीतिक वृत्तबाट भएको निर्मम प्रहार थियो।

जसका परिणम व्यवहार देखा परिरहेकै छन्। कुनै राजनीतिक विरासत र आर्थिक आधार नभएकामात्र एकलव्य साधना र निष्ठाका कारण विजय भएका राप्रपाका राजेन्द्र लिङ्देनको विजय र आफ्ना ठानिएकाहरूकै असहयोग कारण प्रदेश नं.१ को सभापति पदका प्रत्यासी गुरुराज घिमिरेको पराजयमा राजयोग हुनु र नहुनुको कारण त थिएन? यसको जवाफ ज्योतिषका ज्ञाताहरूमा छ। रूपान्तरण र पुस्तान्तरणका लागि युवामा नेतृत्व आउनुपर्छ भन्ने सामाजिक माग बढरहेकामा लिङ्देनको जीतले जति हर्षित बनायो त्यति घिमिरेको पराजयले दुःखित।

राजयोगकै कुरा गर्दा नेकाकै पदाधिकारीको प्रतिस्पर्धामा रहेकामध्ये एक जनाको विषयमा कोठे गफमा भएको प्रसङ्ग उल्लेखनीय छ। पशुपतिमा बस्ने भुस्याहा कुकुरको पालन पोषण र सेवा गर्ने एक जना चुनचुन भन्ने बाबाले उनलाई राजनीति नगर्न सुझाएका थिए भनिन्छ। अहिले भौतिक अवस्था नभएका ती बाबालाई भेटेको/जानेको थिइन। आदर्श चिन्तन र स्वभाव भएका उनी उम्मेदवार त बने तर उनको नियति बाबाले संकेत गरेको जस्तो हुने होइन भन्ने मनमा लाग्यो। जिज्ञासु भएर परिणाम पर्खें।

अन्ततः उनको हातमा पराजय नै पर्‍यो। बाबालाई सम्झेँ। भारतमा यमुना नदीको जलाधारमा मचानमा बस्ने देवराह बाबा र इन्दिरा गान्धीको प्रसङ्ग पनि जानकारहरूले भन्ने गर्छन्। स्वदेशी काली गाईको २०० ग्राम दूध एक दिनको एकपल्ट ग्रहण गर्ने उनले कुनै अरू आहारा लिँदैनथे। बिहान सुवह ४ देखि राति १२ बजेसम्म भक्तलाई दर्शन दिने बाबाले इन्दिरा गान्धीलाई हात उठाएर आशीर्वाद दिएको कारण नै आइ कांग्रेसको चिह्न हात राखेको भन्ने पनि गर्छन्।

सन् १९९० जुन १९ मा देहत्याग गरेका बाबाले इन्दिरा गान्धीलाई तिम्रो राजभोगको आयु समाप्त भएको भन्दै एक हप्तासम्म गंगामा स्नान गर्नू भनेर सुझाएका थिएसमेत भनिन्छ। यसको अर्थ हो राजनीतिज्ञहरू पराशक्तिमा अति विश्वास राख्छन्। खुलेर वा लुकेर सन्त, महात्मा, ज्योतिष आदिकहाँ पुग्छन्। बालयोगी आदित्यकहाँ नपुग्ने कमै होलान् भन्ने लाग्छ।

प्राचीन युनानी दार्शनिक अरस्तुले आफ्नो प्रसिद्ध पुस्तकको तेस्रो खण्ड पोलिटिक्समा भनेका कुरा निर्वाचनमा देखा परेको आत्मसमर्पणवादले अर्थपूर्ण लाग्यो। राज्य सत्तामा पुग्नका लागि नागरिक हुनुपर्छ। नागरिकलाई अहिले जुन अर्थमा बुझ्ने गरिन्छ त्यो अरस्तुको नागरिक होइनन्। राज्यसत्ता वा सार्वजनिक क्षेत्रमा पुग्न जसले योग्यता राख्छन् ती अरस्तुको अर्थमा नागरिक हुन बालक, महिला, दास र विदेशीलाई नागरिक हुन अयोग्य मान्छन्।

आफ्नो चिन्तनको औचित्य पुष्टि गर्दै उनले नागरिक र दासबीचको भिन्नता कारण आदि/इत्यादि थुप्रै तर्क दिएका छन्। उनले भने कोही आज्ञा दिन जन्मन्छन्, कोही आज्ञा पालन गर्न उत्कृष्टले निकृष्टलाई शासन गर्छ। अरस्तुको दर्शन खण्डन गर्नमा भन्दा त्यसको मर्मलाई खोतल्न प्रतिस्पर्धीहरूबाट भएको आत्मसमर्पणले बाध्य बनाएको छ। प्रतिस्पर्धीहरू सबै अरस्तुको भाषाका नागरिक बनून् भन्ने आमनागरिकको आमआग्रह बेवास्तामा परेको छ।

ज्योतिषशास्त्रको राजयोग र अरस्तुको नागरिकसम्बन्धी धारणा भाग्यवादसँग सम्बन्धित छन्। यसको विस्तारपूर्वक व्याख्या एउटा आलेखमा सम्भव छैन। राजनीति वा जुनसुकै पेसा वा व्यवसायको क्षेत्रमा भएको मानिसले ‘आफूबाहेक अर्को सत्य छैन’ भन्ने तथ्यलाई जहिलेसम्म बुझ्दैन अरस्तुको दर्शन कुनै न कुनै रूपमा समाजमा हावी भैराख्छ। ‘म्याच फिक्सिङ’ सम्भव भैरहन्छ।

मानिसको तुलना मुकपशु भेडासँग भैरहन्छ। ज्योतिषको राजयोग र अरस्तुको दाससम्बन्धी अवधारणा निस्तेज हुनका लागि बुद्धले आफ्नो अन्तिम समयमा आफ्नो अनन्य र प्रिय शिष्य आनन्दलाई भनेको ‘अप्प दियो भव’ अर्थात् ‘तिमीहरू सबै आफ्नो प्रकाश आफैंँ बन’ भनेको कुरालाई आत्मसात गर्ने हो भने सामाजिकरूपमा उठिरहेको रूपान्तरण र पुस्तान्तरणको कुरा आफैँ प्रस्फुटित हुन्छ, होइन भने अरस्तुको दर्शनको वर्चश्वता रहिरहन्छ। नागरिक दैनिकमा हालै प्रकाशित कार्टुनको ट्यांकीमाथि उभिएका शेर र भेंडारूपी अन्यको चित्रणले आकर्षणको केन्द्रविन्दुमात्र हैन, जनहृदयमा पनि राज गरिरहन्छ।

प्रकाशित: ९ पुस २०७८ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App