विश्व स्वास्थ्य संगठनका कुल १९४ सदस्यमध्ये अधिकांश सदस्य संगठनलाई सुदृढ गर्न र स्वास्थ्यमा लगानी बढाउन इच्छुक छैनन्। यस प्रकारको स्थिति कोभिड–१९ अघि समेत अपेक्षित थिएन, महामारीपछि यसलाई निरन्तरता किमार्थ पनि दिनुहुन्न।
कोभिड–१९ महामारीका बीचमा पनि सदस्य राष्ट्र लगानी बढाउनुपर्ने विषयमा तथा कति त यसको आवश्यकताप्रति निक्र्योलमा पुगेका छैनन्। यथार्थमा उनीहरूले संगठनलाई दिँदै आएको नियमित योगदान बढाउनुपर्छ,जसका कारण संगठनले विश्वका सर्वसाधारणको जीवनरक्षा गर्न सकोस्।
कतिपय सदस्यले संगठनसँग पर्याप्त रकम भएको दाबी गर्छन्, तर सत्य त्यसको ठीक विपरीत छ। संगठनको वर्तमान बजेट संरचनाले यसको उद्देश्य पूरा गर्ने चाहनामा तुषारापात गरेको छ।
जनस्वास्थ्यका लागि गठन गरिएको यो अन्तर्राष्ट्रिय निकायका लागि आवश्यक पर्ने कुल बजेटको २० प्रतिशत सदस्य राष्ट्रले तिर्ने नियमित शुल्कमार्फत उठ्छ। अत्यधिक मात्रामा यो संगठन सदस्य राष्ट्र र दाताको स्वेच्छिक योगदानमा निर्भर रहन्छ। यही कारण संगठनले आफ्ना मुख्य गतिविधि सञ्चालन गर्न सकेको छैन।
कतिपय बेला राजनीतिक दबाब र खास देशको चाहनाका आधारमा आफ्ना गतिविधि सञ्चालन गर्न संगठन बाध्य देखिन्छ। महामारीलाई सम्बोधन गर्ने महत्वपूर्ण दायित्व र ‘सबैका लागि स्वास्थ्य’ भन्ने मूल उद्देश्य पूरा गर्न यो अन्तर्राष्ट्रिय निकायको भूमिका महत्वपूर्ण छ।
विश्वव्यापी महामारी तथा स्वास्थ्य चुनौती सामना गर्न आवश्यक पूर्वतयारी तथा यसलाई सम्बोधन गर्न सबैभन्दा महत्वपूर्ण समन्यकारी निकाय विश्व स्वास्थ्य संगठन नै हो।
संगठनले सदस्य राष्ट्रलाई जनस्वास्थ्यसम्बन्धी अत्यावश्यक सार्वजनिक सेवा दिँदै आएको छ। त्यही कारण संगठनले आफ्नो सुधार तथा सस्थागत सुदृढीकरणका लागि गरेको प्रस्तावमा सदस्य राष्ट्रको समर्थन आवश्यक छ।
नियमित रूपमा गरिने योगदानलाई १६ प्रतिशतबाट बढाएर५० प्रतिशतमा पुर्याउने संगठनका एक महत्वपूर्ण प्रस्ताव हो र सदस्य राष्ट्रले यसलाई समर्थन गर्नुपर्छ।
त्यसैले संगठनलाई उपलब्ध गराइने गुणात्मक तथा संख्यात्मक सहयोगको विषय वृद्धि तत्काल गर्नु पनि विषय हो। संगठनको सान्दर्भिकतालाई लिएर सदस्य राष्ट्रले ओठे कुरा गरेर समय खेर फाल्नु हुँदैन। बरु,संगठनले कसरी प्रभावकारी तबरले काम गर्न सक्छ र वित्तीय हिसाबले यो पुग–अपुग के छ भन्ने विषयमा सदस्य राष्ट्रले ध्यान दिनुपर्छ। सबैका लागि स्वास्थ्यको उद्देश्य पूरा गर्नका लागि यथेष्ट वित्तीय व्यवस्था हुनुपर्छ। त्यसो भएन भने,गरिएको लगानीको पनि अपेक्षित नतिजा आउँदैन।
संगठनको सदृढीकरणले स्वास्थ्यमा गरिएको लगानीको सबैभन्दा राम्रो नतिजा हासिल हुन सक्छ। जी–२० समूह अन्तर्गतको महामारीको तयारी तथा सम्बोधन गर्ने एक प्यानल लगायत अन्य निकायले विश्वव्यापी स्वास्थ्य सुरक्षाका लागि नयाँ निकाय स्थापना गर्न अर्बौं रूपैयाँ लगानी गर्ने प्रस्तावअघि सारेका छन्,तर प्रस्तावित नयाँ निकायले ग्लोबल साउथको समर्थन पाउला भन्ने निश्चित छैन।
यसैगरी सदस्य राष्ट्रले सबैको समर्थन रहने–नरहने कुनै खास सुनिश्चित नभएको निकायमा लगानी गर्न त्यति रुचि नदेखाउन सक्छन्। विश्वमा हाल विद्यमान रहेको संरचना र निकायलाई थप वित्तीय सहयोग उपलब्ध गराउँदा व्यावहारिक हुने तर्क सदस्य राष्ट्रहरूको हुन सक्छ।
त्यसैले यो विषय अत्यन्त सहज छ। दक्षिणी विश्व (ग्लोबल साउथ)को सहयोग तथा सहकार्यका लागि विश्व स्वास्थ्य संगठनको सृदृढीकरण एक आवश्यक सर्त हो। संगठनका १९४ सदस्यले विश्वसनीय वित्तीय लगानीको प्रतिबद्धता गर्दा जनस्वास्थ्यको क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय चुनौतीको सामना गर्न थप सजिलो हुन्छ।
त्यसैले अहिलेको समय भनेको कार्यान्वयनको समय हो। यथार्थ के हो भने संगठनका सदस्य राष्ट्रमध्ये अधिकांशले यो संगठनलाई सृदृढ गर्न तथा संगठनलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराउन खास इच्छा देखाएका छैनन्।
संगठनप्रतिको यो रबैया कोभिड–१९ अघि स्वीकार्य विषय थिएन भने महामारीपछि झन् यो स्वीकार्य हुन सक्दैन। आधा शताब्दीअघि विश्व समुदायले देखाएको सदासयताका कारण स्थापना भएको यो संस्थाप्रति वर्तमान विश्वले हेलचक्र््याइँ तथा अनिच्छा व्यक्त गर्न हुँदैन।
अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीले कुनै सफलताको सुनिश्चित नहुँदानहुँदा पनि चन्द्रमा टेक्ने अभियान (मुनसट)का लागि २८३ अर्ब अमेरिकी डलरको लगानी गर्ने निर्णय गरेका थिए। उक्त अभियान अन्ततः सफल पनि भयो।
अभियानका सफलताका लागि बहुक्षेत्रीय नवीनताले सहयोग गरेको थियो। त्यही अभियानले विश्वलाई क्यामरा फोन, होम इन्सुलेसन तथा आधुनिक सफ्टवेयर उद्योग उपलब्ध गराएको थियो।
अर्काे शब्दमा भन्नुपर्दा केनेडीको त्यही चन्द्र अभियानलाई सफल पार्ने उद्देश्य परिपूर्तिका क्रममा आर्थिक क्षेत्र चलायमान (इकोनोमिक ड्यानामिजम्) सिर्जना भएको थियो। तुलनात्मक रूपमा हेर्ने हो भने विश्व स्वास्थ्य संगठनले अगाडि सारेको वर्तमान प्रस्तावअन्तर्गत संगठनलाई थप सृदृढ पार्नका लागि १९४ सदस्य राष्ट्रले वर्षको मात्र १.२ अर्ब अमेरिकी डलर लगानी गर्न आवश्यक देखिन्छ। हामीलाई योभन्दा अझ बढी रकम आवश्यक पर्ने लाग्छ।
केनेडीको दशकौँ अघिको चन्द्र अभियानजस्तै वर्तमान विश्वलाई अहिले आवश्यक रहेको विषय भनेको ‘सबैका लागि स्वास्थ्य’ हो। सबैभन्दा पहिलो काम भनेको कोभिड–१९ खोपको विश्वव्यापी पहँुच बढाउनु हो। तर विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रलाई संगठनका लागि आवश्यक वित्तीय सहयोग जुटाउन चन्द्र अभियानलाई जस्तो सजिलो छैन।
विश्व स्वास्थ्य संगठनले लाखौँ मानिसको जीवनरक्षा गरेको छ। जनस्वास्थ्यका लागि सुलभ,व्यावहारिक तथा प्रस्ट समाधान खोज्न संगठनको योगदान महत्वपूर्ण रहेको पृष्ठभूमिमा नीति निर्माताले थोरै मात्र इमानदारिता र प्रतिबद्धता देखाउन सकेमा पनि धेरै ठूलो उपलब्धि हासिल गर्न सकिन्छ।
(प्रोजेक्ट सिन्डिकेटबाट)
(लेखक माजुकाटो युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक हुन् भने किकबुस जेनेभामा रहेका ग्लोबल हेल्थ सेन्टरको एडभाजरी बोर्डकी संस्थापक तथा अध्यक्ष हुन्।)
प्रकाशित: २ पुस २०७८ ०२:२४ शुक्रबार