९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

फ्याटी लिभर के हो?

फ्याटी लिभर (कलेजोमा बोसो बढ्ने) समस्या तीव्र गतिमा फैलिरहेको छ। लिभरको सचेतनाका लागि हरेक वर्ष १९ अप्रिललाई ‘वर्ल्ड लिभर डे’ रूपमा मनाइन्छ। कलेजोमा बोसो जम्मा हुने रोगका सम्बन्धमा धेरै मानिस जानकार हुँदैनन्। यस कारण उनीहरू सजिलै यस रोगको सिकार हुन्छन्।

कलेजो हाम्रो शरीरको दोस्रो ठूलो अंग हो, यसले हामीले खाएको खानेकुरा र पेय पदार्थलाई ऊर्जामा परिणत गर्छ। रगतबाट हानिकारक पदार्थलाई समेत अलग गर्ने लगायत धेरै महत्त्वपूर्ण कार्य यसले गर्छ। कुनै कारणवश, यसमा अधिक मात्रामा बोसो जम्मा भयो भने यसले शरीरलाई हानि गर्न सक्छ।

हाम्रो कलेजोको कुल तौलमा ५ देखि १० प्रतिशत बोसो हुनु सामान्य मानिन्छ। कुनै कारणले बोसोको मात्रा बढी भयो भने कलेजोभित्र र बाहिर बोसो जम्मा हुन थाल्छ। यस किसिमले अनावश्यक बोसो जम्मा हुने अवस्थालाई मेडिकल भाषामा ‘फ्याटी लिभर’ भनिन्छ।

यो मुख्यतः दुई प्रकारको हुन्छ– १) अल्कोहलयुक्त फ्याटी लिभर (नियमित रक्सीको सेवन गर्नेमा यो समस्या देखिन सक्छ)। २) नन–अल्कोहलिक फ्याटी लिभर ( रक्सीबाहेक अन्य धेरै कारण (जस्तै : मधुमेह, उच्च रक्तचाप इत्यादि) ले पनि कलेजोमा बोसो जम्मा हुन सक्छ।

कारण

आजको जीवनशैलीमा फ्याटी लिभर हुनुको कारणमध्ये मोटोपना निकै ठूलो कारण हो। शारीरिक तौल बढी भएका मानिसमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ। यस्ता व्यक्तिले वजन घटाउने प्रयास गर्नुपर्छ।

यो रोग ती व्यक्तिमा बढी हुन्छ, जसको मधुमेह अर्थात् मधुमेहको स्तर उच्च रहन्छ। मुख्यतः त्यस्तो अवस्थामा कलेजोमा बोसो जम्मा हुन्छ, जब कुनै व्यक्तिको रगतमा बोसोको मात्रा बढी हुन्छ। यसकारण कुनै पनि व्यक्तिले यस्ता खाने कुरा खानु हुँदैन, जसमा बोसोको मात्रा बढी छ।

यो सम्भावना उच्च रक्तचाप भएका व्यक्तिमा पनि बढी हुन्छ। सामान्यतः फ्याटी लिभरको समस्या धेरैजसो मदिरा सेवनको कारणले हुन्छ। तर, मदिरा नपिउने मानिसमा पनि फ्याटी लिभर हुन सक्छ। त्यस्तै, शरीरमा भिटामिन बीको मात्रामा धेरै कमी भए पनि यो समस्या आउन सक्छ। लामो समयसम्म बढी बोसोयुक्त आहारको सेवन गर्नु हुँदैन। शरीरको तौल छिटो कम गर्न खोज्दा पनि यो समस्या देखिन सक्छ।

लक्षण

‘फ्याटी लिभर’को प्रारम्भिक चरणमा बिरामीमा कुनै लक्षण देखिँदैन। बिरामीले अन्य कुनै स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाह अनुसार सोनोग्राफी वा सिटी स्क्यान गर्दा फ्याटी लिभर भएको पाइएको छ। अन्यथा यो सहजै पत्ता लाग्दैन।

पेटको माथिल्लो वा मध्य भागमा हल्का दुखाइ वा भारीपनको अनुभूति भएमा पनि कलेजोमा बोसो बढेको हुन सक्छ। त्यस्तै, व्यक्तिको छाला र आँखाको रंग पहेँलो हुन्छ। यस्तो अवस्थामा व्यक्तिले आफ्नो स्वास्थ्यको जाँच बेलैमा गराउनुपर्छ।

फ्याटी लिभरका कारण पेट दुख्नुका साथै त्यहाँ सुन्निने पनि हुन्छ। त्यस्तै, व्यक्तिको हत्केलाको रङ रातो हुन सक्छ। भोक नलाग्ने, शरीरको ऊर्जा घट्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खाना राम्रोसँग नपच्ने, थकान-शारीरिक कमजोरी महसुस हुने, पेट सुन्निने पनि फ्याटी लिभरका लक्षण हुन सक्छन्।

जोखिम

फ्याटी लिभरको समयमै उपचार गरिएन भने पेटमा एक प्रकारको तरल पदार्थ जम्मा हुन्छ, जसलाई ‘एससाइट्स’ अर्थात् पानी जम्नु भनिन्छ। त्यस्तै, कलेजोमा बोसो जम्मा हुँदा कलेजोको कार्यक्षमता पूर्ण रूपमा प्रभावित हुन्छ र यसका कारण कलेजोले काम गर्दैन। यसको उपचार गरिएन भने यसबाट पीडित व्यक्तिलाई ‘लिभरसिरोसिस’को समस्या हुन सक्छ।

ल्याब परीक्षण

रगत जाँच : लिपिड प्रोफाइल टेस्टमा रगतमा लिपिडको मात्रा जाँच गरिन्छ। कोलेस्ट्रोलको मात्रा बढी पाइएमा थप परीक्षण गर्न चिकित्सकले सुझाव दिन्छन्।

अल्ट्रासोनोग्राफी: कलेजोको इन्जाइमको स्तर बढी देखियो भने, सिटी स्क्यान वा सोनोग्राफीद्वारा पुष्टि गर्न सकिन्छ।

त्यस्तै, शारीरिक परीक्षण गरेर, डाक्टरले कलेजो सुन्निएको वा बढेको पत्ता लगाउन सक्छन्। कलेजोको बायोप्सी, कलेजोको क्षति, सुजन, फाइब्रोसिसको मात्राको आधारमा ग्रेड (१, २, ३) निर्धारण गरिन्छ।

के खाने र के नखाने ?

फ्याटी कलेजोको समस्याबाट ग्रसित व्यक्तिका लागि माछाको तेलको प्रयोग निकै फाइदाजनक साबित हुन सक्छ। यसको सेवनले अल्कोहलिक फ्याटी लिभर रोगमा राम्रो प्रभाव पार्न सक्छ।

ब्रोकाउलीमा पाइने केही दुर्लभ तत्त्व, जसले कलेजोमा ट्राइग्लिसराइड (फ्याट) को मात्रा घटाउन काम गर्छ। फ्याटी लिभरबाट पीडित बिरामीले यसको सेवन गर्नु उपयोगी हुन्छ।

मोटोपनालाई फ्याटी लिभरको मुख्य कारण मानिन्छ, फ्याटी लिभर डाइट मेनुमा ओटमिल थप्दा यो रोगबाट छुटकारा पाउन निकै सहयोगी साबित हुन्छ।

ताजा हरियो सागसब्जीको तरकारी खानु कलेजोको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। सिजन अनुसारको ताजा फलफूल पनि खान सकिन्छ।  

फ्याटी लिभर भएकाका लागि रक्सीको सेवन बढी हानिकारक साबित हुन सक्छ। पछि थपिएको गुलियो (चिनी) जस्ता खानेकुराले शरीरमा ग्लुकोजको मात्रा बढाएर फ्याटी लिभरको जोखिम बढाउन सक्छ। कम ग्लाइसेमिक खाना खानुस्, किनकि उच्च ग्लाइसेमिक खानाले मधुमेह निम्त्याउन सक्छ, जसले फ्याटी कलेजोको जोखिम बढाउन सक्छ।

भुटेको खानेकुरा नखानुस्, यस्ता खानेकुरामा बोसो प्रचुर मात्रामा पाइन्छ, जुन फ्याटी लिभर भएकाका लागि बिल्कुलै राम्रो होइन। पास्ता लगायत फास्टफुडको सेवन कलेजोको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। सकेसम्म बोसोरहित वा कम बोसो भएको खानेकुरा खानुस्।

होमियोप्याथिक उपचार

फ्याटी लिभर रोगमा मुख्यतः निम्न होमियोप्याथिक औषधिको प्रयोग गरिन्छ। चेलिडिनियम, कल्केरिया कार्ब, कारडुयस, लाइकोपोडियम, फोसफोरस, नक्स भोमिका, चियोनान्थिस आदि। होमियोप्याथीमा रोगीको मानसिक, शारीरिक एवं भावनात्मक लक्षणलाई मध्येनजर राखेर ‘टोटालिटिअफ सिम्पटमस’का आधारमा उपचार गरिने प्रावधान छ। उपरोक्त औषधिको प्रयोग गर्नुअघि बिरामीले नजिकको चिकित्सकसँग परामर्श लिनुपर्छ।  

प्रकाशित: २६ मंसिर २०७८ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App