मेरो जीवनमा धेरैको साथ र सहयोग प्राप्त भएको छ। सन् १९५७ मा स्वेज कनाल संकटका कारण म ११ वर्ष हुँदा मेरो परिवारले इजिप्ट छाडेको हो। हामीलाई बेलायतले स्वागत गरेको थियो जहाँ मैले विद्यालय शिक्षा हासिल गरें र अक्सफोर्ड विश्वविद्यालयमा सरकारी खर्चमा पढ्न पाएँ।
हेनरी फेलोसिप प्राप्त गरेका कारण हार्वर्ड बिजिनेस स्कुलमा मैले पढन पाएँ, त्यही कारणले एक सफल उद्यमी र लगानीकर्ता हुन पुगेँ। यही पृष्ठभूमिले आवश्यक परेको मानिसलाई सहयोग गर्न मलाई सधैं प्रेरणा मिल्छ।
सन् १९७० को सुरुताका भेन्चर क्यापिटलको संस्थापक भएका नाताले मैले फन्ड उद्यमी तथा प्राविधिक क्रान्तिलाई सहयोग गर्न पाएँ। म जहिले पनि उच्च बेरोजगारी घटाउन र जीवन सुधार गर्ने काममा अभिप्रेरित छु।
फेरि एकपटक अर्काे क्रान्तिलाई सहयोग गर्न मैले नेतृत्वदायी भूमिका पाएको छु जसको मूल ध्येय पृथ्वी र समाजको हितमा काम गर्नु रहेको छ। मैले सिकेको कुरा के हो भने सफल क्रान्तिका दुई महत्वपूर्ण पक्ष हुन्छन्। पहिलो आवश्यकता हो र दोस्रो सही समय।
पुँजीवादी सिद्धान्तका प्रवर्द्धक आदम स्मिथले समाज सुधार गर्न व्यक्तिगत स्वार्थको महत्वपूर्ण भूमिका रहने पक्षलाई महत्व दिएका छन्। नाफामा मात्र ध्यान दिने भएकाले यो प्रणाली विनाशकारी(सेल्फ डिस्ट्रक्टिभ) समेत बनेको छ।
यसले प्रभावकारी आर्थिक वृद्धि त गर्न सकेको छ तर सँगसँगै सामाजिक तथा जलवायुजन्य विपद् सिर्जना गरेको छ जुन चुनौतीसँग लड्न विश्वका सरकार र समाजलाई कठिन भएको छ।
यही कारण पुँजीवादको प्रभावलाई सम्बोधन गर्न आवश्यक देखिएको छ। हाम्रा आर्थिक प्रणाली नाफा भन्दा माथि उठ्न आवश्यक छ जसका कारण पृथ्वी र मानिसको हित हुन सकोस्। यो रूपान्तरणका लागि तीनवटा शक्तिले महत्वपूर्ण भूमिका खेलेका छन्।
मूल्यमा आधारित व्यवसायको अपरिहार्यता
यो प्रसंगमा सबैभन्दा पहिलो शक्तिशाली पक्ष भनेको उपभोक्ताको आफ्नै मूल्य र प्रतिभा हो जसका कारण उनीहरू घातक कम्पनी र ब्रान्डबाट टाढिन सक्छन्। सबै भन्दा चतुर सोच भएका मानिसले विश्वले अहिले झेलिरहेको संकट समाधान गर्ने व्यवसाय र व्यापारलाई प्रोत्साहन गर्न चाहन्छन्। लगानीकर्ताले उदाउँदै गरेको यसप्रकारको आमसोचबारे बुझिसकेका छन् र कसरी नाफामूलक लगानी गर्न सकिन्छ भन्नेमा ध्यान दिन थालिसकेका छन्।
हाल विश्वमा ४० ट्रिलियन अमेरिकी डलर बराबरको लगानी वातावरणीय, सामाजिक तथा सुशासन(इएसजी) को क्षेत्रमा भएको छ र यो लगानीको मुख्य ध्येय नाफा भन्दा माथि उठ्न अभिप्रेरित गर्नु हो। यो रकम विश्वमा व्यावसायिक एसेट्स मेनेजरले परिचालन गर्ने कुल रकमको आधा जति हो। यो चानचुने रकम होइन। व्यापारिक नेतृत्वले यो मूल्यमा आधारित परिवर्तनलाई आत्मसात गर्न सकेनन् भने घाटा उनीहरूकै हुनेछ।
सन् २०२१ को मे महिनामा तेल कम्पनी एक्सोनमोविलले विश्वव्यापी तापमान वृद्धिको यथार्थलाई अस्वीकार गर्दा कम्पनीको सेयरहोल्डरले सञ्चालक समितिसमेत परिवर्तन गरेर जलवायु विज्ञलाई समावेश गर्न बाध्य पारेका थिए। त्यही महिना अर्को तेल कम्पनी सेललाई यो दशकको अन्तसम्ममा उत्सर्जन ४५ प्रतिशतले घटाउन नेदरल्यान्डको अदालतले आदेश दिएको थियो।
गत वर्ष प्रोक्टर एन्ड ग्याम्बल कम्पनीका दुईतिहाई सेयरधनीले पाम आयलको प्रयोगमार्फत वन फँडानी गरेको भनेर कम्पनीको आलोचना गरेका थिए। सेयरधनीहरूको सक्रियताले गलत बाटोवाट सही वाटोमा कम्पनीलाई फर्कन दबाब सिर्जना भएको छ।
प्रविधि झन् शक्तिशाली
कृत्रिम बौद्धिकता,मेसिन लर्निङ,संवर्द्धित वास्तविकता (अगमेन्टेड र्यालिटी) तथा जिनोमको क्षेत्रमा पछिल्ला वर्षमा प्रविधिमा आएको ठूलो परिवर्तनले यसअघि कहिल्यै कल्पना नगरिएकाखाले प्रभाव विश्वले खेप्नुपरेको छ। प्रविधिको विकासले तेस्रो शक्तिशाली शक्तिको उदय भएको छ, त्यो हो–कम्पनीले आफ्ना उत्पादनको क्रममा प्रयोग भएको विधि तथा प्रक्रियाले मानिस तथा वातावरणलाई कति प्रभाव परेको छ भन्ने विषयमा पारदर्शीतवरले मापन गर्न संभव भएको छ।
कम्युटिङ क्षमता र तथ्यांकको उपलब्धताले यस्ता प्रभावको मौद्रिक आकलन गर्न र त्यसैको आधारमा लगानीकर्ता,उपभोक्ता र कम्पनी स्वयंले त्यसलाई बुझ्न र लेखाजोखा गर्न सजिलो भएको छ। यी तीनैथरी शक्तिका कारण विश्व पुँजी बजार, व्यापार तथा समग्र अर्थतन्त्र सुधारोन्मुख छ।
यो परिवर्तनले यसअघि परम्परागतरूपमा मानिँदै आएको जोखिम र पुरस्कार (रिस्क एन्ड रिवार्ड) को धारणालाई रिस्क एन्ड रिवार्ड सँगसँगै त्यसको असरलाई समेत ख्याल गर्न बाध्य बनाएको छ।
अब वित्तीय सफलता तथा प्रभावको आकलन सँगसँगै
चतुर व्यवसायले उपभोक्तामा आएका पछिल्ला रुझानलाई आत्मसात गरिसकेका छन्। उदाहरणस्वरूप टेस्ला कम्पनी हेरौँ। कम्पनीका प्रवर्तक एलन मस्क नाफा त चाहन्छन् तर उनी अत्यधिक उत्सर्जन गर्ने प्रविधिमा निर्भर हुन चाहँदैनन।
यस्तै बालबालिकाका लागि सामान उत्पादन गर्ने अनेस्ट कम्पनीकी प्रवद्र्धक जेसिका अल्वा वातावरणमैत्री तथा स्वस्थ उत्पादनमा विशेष ध्यान दिन चाहन्छिन्। यस्ता कम्पनीले इतिहासको आवश्यकतालाई सही हिसाबले बुझेका छन्। आममानिस पनि यस्ता कम्पनीमा लगानी गर्न र कम्पनीका उत्पादन किन्न तथा कम्पनीमा काम गर्न लालायित देखिन्छन्।
के पुँजीवाद नाफामुखी चाहनावाट बाहिर आउन सक्छ?
यथास्थितिवादी शक्ति जहिले पनि परिवर्तनविरुद्ध हुन्छन्। त्यही कारण नयाँ क्रान्ति अगाडि बढ्न नवीनताको आवश्यकता रहन्छ। पछिल्ला वर्षमा प्रभाव मूल्याकनमा अवलम्बन गरिने पारदर्शिता (इम्प्याक्ट ट्रान्सपरेन्सी) अत्यधिक महत्वपूर्ण विषय बनेको छ।
यो प्रसंगमा हार्वर्ड बिजिनेस स्कुलले थालनी गरेको प्रभावहरूको हिसाबसहितको लेखाजोखा (इम्प्याक्ट वेटेठ अकाउन्ट्स) भविष्यका लागि सुखद सुरुवात मान्नुपर्छ। विश्वका हजारौँ कम्पनीले पारेको समग्र प्रभावलाई डलर मूल्यमा प्रकाशित गरेर यसले कम्पनीले गरेको मुनाफा सँगसँगै तिनले पार्ने प्रभाव सार्वजनिक गरिने भएको छ।
उपलब्ध यी तथ्यांकले कम्पनीको मूल्य निर्धारण गर्न, नियामक निकायलाई नियमन गर्न तथा प्रभाव मूल्यांकनमा स्तर कायम गर्न सजिलो पारेका छन्। कम्पनीले पार्ने समग्र प्रभावको तथ्यांक समीक्षा गरेर नियामक निकायले अबको ३–४ वर्षमा सम्बन्धित कम्पनीलाई आफ्नो इम्प्याक्ट वेटेड अकाउन्ट्स (प्रभावसहितको लेखाजोखा) प्रकाशित गर्न बाध्य पार्नुपर्छ।
समग्रमा पुँजीवाद अहिले दोबाटोमा छ। अगाडि बढ्न सही बाटोको छनोट आवश्यक छ। आदम स्मिथले भनेझैं अदृश्य हात (इन्भिजिवल ह्यान्ड्स) ले सरकारले थेग्न नसक्ने हिसाबको नोक्सान पुर्याएको छ।
बजार अर्थतन्त्रको अदृश्य मुटुले आफ्ना हातलाई निर्देश गर्दा उसले सुरक्षित, न्यायसंगत र दिगो विश्वको हाम्रा चाहना पूरा गर्नमा सहयोग पुर्याउन आवश्यक छ।
(कोहेन सोसल इनोभेटर,फिलान्थ्रोपिस्ट, प्राइभेट इक्युटी इनेभेस्टर तथा भेन्चर क्यापिटलिस्ट हुन। उनी हार्वर्ड बिजनेस स्कुलले सुरु गरेको इम्प्याक्ट वेटेड एकाउन्ट्स इनिसिएटिभका अध्यक्ष पनि हुन।(टाइम म्यागजिनबाट।)
प्रकाशित: १६ मंसिर २०७८ ०२:२८ बिहीबार