७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

बाल सिकाइमा अभिभावक

एकातर्फ शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेका परीक्षणहरूले विद्यार्थीले सिक्नुपर्ने भनी अपेक्षा गरिएका पचास प्रतिशत सिप पनि सिक्न सकेका छैनन् भन्ने देखाउँदै आएका छन् भने अर्कोतर्फ कोभिड–१९ महामारीले दुई शैक्षिक सत्रमा विद्यालयमा नियमित पठनपाठन हुनै पाएको छैन। विद्यार्थीले निकै कममात्रमा विद्यालयका शिक्षण सिकाइका कार्यमा संलग्नु हुने मौका पाएका छन्। 

लामो समयसम्म बालबालिका विद्यालय जान नपाइ घरमा बस्दा अभिभावक आफ्ना बालबालिकाको भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ताले छटपटिएका छन्। विद्यालयमा नियमित पठनपाठन हुँदासमेत कमजोर रहेका विद्यार्थीको सिकाइ उपलब्धि अबका परीक्षणले कति घटेको देखाउने हुन् निश्चित छैन। यस्तो अवस्थामा विद्यालयको मात्र भर नपरी बालबालिकाको सिकाइलाई निरन्तरता दिन, सिकाइको दायरा र क्षेत्र बढाउन अभिभावक र समुदाय पनि लाग्नुपर्ने आवश्यकता भएको छ। समाज र घर/परिवारले सकारात्मक भूमिका निर्भाह गर्न सक्ने हो बालबालिकाको भविष्य बर्बाद हुन्छ कि भनेर अत्तालिइ हाल्नुपर्दैन।  

औपचारिक शिक्षाको सुरुवातसँगै विद्यालय र विश्वविद्यालयको स्थापनापछि सिकाइ कक्षा कोठामा मात्र सीमित गर्ने कार्य पनि थालनी भयो। शैक्षिक संस्थाहरूले सिकाइलाई आफूमा सीमित राख्ने र सिकाइको परिभाषालाई साँघुरो पार्ने कार्य गरे। अझै स्पष्ट शब्दमा भन्ने हो भने पढाइ र सिकाइलाई शिक्षकले भट्याउने र विद्यार्थीले सुन्ने कार्यका रूपमा सीमित गरियो। सिकाइ भन्ने कुरा यत्रतत्र, जुनसुकै स्थान, वातावरण र समयमा हुन सक्ने कुरा हो। बालबालिकाले विद्यालयबाट मात्र होइन, अनौपचारिक रूपमा घर/परिवार, साथी दौतरी समूह, छरछिमेक र समाजबाट धेरै कुरा सिकिरहेको हुन्छ र सिक्न सक्छन्।

हुन त विद्यालयभन्दा बाहिर हुने सिकाइका कार्य योजनाबद्ध नहुन सक्छन्।बालबालिकाले घर/परिवार, साथीदौतरी समूह र समाजबाट जीवनोपयोगी तथा सकारात्मक कुराको साटो नकारात्मक पक्ष पनि सिक्ने सम्भावना हुन्छ। युरोपियनहरूले चौधौँ र पन्ध्रौँं शताब्दीमा नै ल्याएको बौद्धिक जागरण अभियान तथा परम्परागत बानीव्यवहार र सोचलाई पुनः मानव उपयोगिताको कसीमा परख गर्ने अभियान हाम्रो समाजमा आउनै सकेन। समाज परिवर्तन गर्छौँ भन्नेहरू र देशका अगुवाहरूले पनि सामाजिक बौद्धिक जागरणको नेतृत्व गरेनन् र सामाजिक अभियन्ताबाट गरिएका सीमित प्रयासहरू अभियानका रूपमा व्यापक हुन सकेनन्।

बालबालिको सिकाइको जग घर/परिवारमा बस्ने हो। तीन–चार वर्षको उमेरदेखि नै बालबालिकामा सिकाइप्रति चाहना, उत्सुकता, सिक्न उत्प्रेरणा जगाउन सकियो भने पछिल्ला उमेरमा सिकाइप्रति लगाव सहज हुन्छ। पुस्तक पढ्ने बानी तथा पठन संस्कृतिको विकास गराउन पनि विद्यालयको भन्दा घर/परिवारको भूमिका महत्त्वपूर्ण हुन्छ।नयाँ पुस्तामा सिकाइमा निरन्तर लाग्ने, नयाँ नयाँ ज्ञान, सिप, सिर्जनामा उत्सुक हुने, सोधखोज गर्ने, आफ्नै प्रयासबाट सिक्ने र वैज्ञानिक सोच निर्माण गर्ने वातावरण निर्माण गर्नु अभिभावक र समुदायको मत्रा होइन, राष्ट्रकै लागि चुनौतीको कार्य हो।

परिवारमा बालबालिकाले सिक्ने वातावरण निर्माणका लागि वयस्कहरू पनि सिक्नका लागि उत्सुक हुने, नयाँ नयाँ ज्ञान, सिपमा जिज्ञासा राख्ने हुनुपर्छ। घर/परिवारमा वयस्क र प्रौढहरूले फुर्सदको समयमा पुस्तक पढ्ने, पढेका पुस्तक तथा ज्ञानबारे परिवारको बीचमा छलफल, चर्चा परिचर्चा गर्नेे हो भने बालबालिकालाई पढ्, पढ् भनिरहन पर्दैन। देखेर नै सिक्छन्। पढाइ र सिकाइप्रति जिज्ञासा जगाउँछन्। परिवारमा हुने सिर्जनात्मक कार्यले बालबालिकामा पनि सिर्जनात्मक कार्यमा लाग्ने उत्प्रेरणा मिल्छ। सानै उमेरदेखि आफ्नै प्रयासबाट सिक्ने, सिर्जनात्मक कार्यमा लाग्ने बानी निर्माण भयो भने वयस्कतासँगै सिर्जनामा उत्कृष्टता हासिल गर्न सक्छन्।

बालबालिकाबाट अपेक्षा गरिएका व्यवहार र कार्य अभिभावकले भन्ने मात्र होइन, आफैँ नियमित गरेर देखाउनुपर्छ। बालबालिकालाई पढ् पढ् भनेर पटक पटक भन्ने, हप्काउने, भनेको नमान्दा चिन्तिन हुने गर्नु भन्दा पनि बालबालिकासँगै बसेर पुस्तक पढ्ने, पढेका विषयमा छलफल गर्नु उपयुक्त हुन्छ। अभिभावकले सधैँ बालबालिकाले के गर्दैछन् ? के/कस्ता कार्यमा रुचि राख्छन् ? अवलोकन गर्नुपर्छ। आफूलाई मन नपर्ने र नकारात्मक असर गर्नेखालका कार्यमा व्यस्त हुने गरेमा पनि बालबालिकालाई यो गर, ऊ नगर भनेर निर्देशन गर्ने, उनीहरूले गर्दै गरेका कार्यमा ठाडो हस्तक्षप गर्र्नेे कार्य हितकर हुँदैन। छलफल सरसल्लाह गर्ने, आफ्ना अनुभव बाँड्ने, बालबालिकालाई लागेका विचार भन्न तथा व्यक्त गर्न उत्प्रेरित गर्ने र खुसीसाथ नकारात्मक व्यवहार रोक्ने वातावरण मिलाउनुपर्छ।

बालबालिकाका नकारात्मक प्रभाव पर्ने कार्य, व्यवहार र विचारलाई पनि रचनात्मक तरिकाले आलोचना गर्ने गर्नुपर्छ। सिकाइलाई रमाइलो कार्यका रूपमा लिने तथा रमाएर सिक्ने गरेमा सिकाइ दिगो हुन्छ। आफ्ना भावना र विचार सधैँ राम्रै हुन्छन् भन्ने छैन। फरक फरक विचारको मन्थनबाट सही विचार निर्माण गर्न सकिन्छ।अरूको विचार मन परेन भने पनि यो कारणले मन परेन भनेर व्यक्त गर्न लगाउने र छलफल चलाउने हो भने बालबालिकामा समालोचनात्मक चिन्तन विकास गर्न सहयोग पुग्छ।परिवारका वयस्क व्यक्तिले बालबालिकाले गरेका राम्रा कार्यलाई समर्थन गर्ने, सम्मान गर्ने तथा पुरस्कृत गर्ने कार्य छुटाउनु हुँदैन।

बालबालिकाको स्वभाव नै नयाँ नयाँ स्थान घुम्ने, नौला नौला चिजविजको अवलोकन गर्न चाहना राख्ने हुन्छ। अभिभावकले सम्भव हुने नयाँ नयाँ स्थानमा शिक्षामूलक तथा अवलोकन भ्रमण गर्न बालबालिकालाई आफूसँगै लैजाने, देखेका, महसुस गरेका विचार व्यक्त गर्न, केही कुरा टिपोट गर्न लगाउने गर्नु उपयुक्त हुन्छ। बालबालिका देखेर, अवलोकन गरेर, छोएर, चलाएर, खोज गरेर सिक्ने उत्सुकतालाई उत्प्रेरित गर्न सकेमा भविष्यमा खोजमूलक तथा अनुसन्धानका कार्यमा लाग्ने संभावना हुन्छ।  

सिकाइलाई पुस्तक पढ्नेमा मात्र सीमित गरिनु हुँदैन। घर/परिवारमा दैनिक गरिने कार्य, जस्तो– खाना पकाउने, भाँडा माज्ने, कपडा धुने, घर सफा गर्ने, बगैँचा र करेसाबारीको काम गर्ने, परिवारका सदस्यले गर्ने व्यावसायिक कार्यबारे जानकारी राख्ने, सामान्य सहयोग गर्ने जस्ता कुरा पनि महत्त्वपूर्ण सिकाइ हुन्। यस्ता व्यावहारिक सिप आर्जनले एकातर्फ जीवन सञ्चालनमा सहजता हुन्छ भने अर्कोतर्फ यी कार्यसँग जोडिएको विज्ञान बुझ्ने , कारण र असर पत्ता लगाउने, खोज गर्ने बानी निर्माण हुन्छ। परिवारका वयस्क सदस्यले बालबालिकालाई अर्ती उपदेशमात्र दिने, हरेक कार्यमा नियन्त्रण गर्न खोज्ने कार्य भन्दा हरेक घटना, अवसरबाट सिक्न सहजीकरण गर्नु उपयुक्त हुन्छ।

समुदायका अगुवाहरूको सोच र चरित्रसमेतमा परिमार्जन गरी बालबालिका अनुकूल बनाउनु आवश्यक छ। समाजको नेतृत्व गर्ने तथा समाजका अगुवाहरूले बालबालिकाको सिकाइलाई सहयोग गर्ने तथा सिकाइ अनुकूल वातावरण बनाउने कुरामा ध्यान दिनुपर्छ। वयस्क व्यक्तिहरूले सार्वजनिक स्थान, चिया पसल, होटलमा लामो समय गफ चुटेर बस्ने, एकले अर्कोका नकारात्मक टिप्पणी गर्ने, अफवाह फैलाउने जस्ता व्यवहार अन्त्य गर्नुपर्छ। वयस्कहरू आफैँ पनि अध्ययन, चिन्तन, मनन र उत्पादनमूलक कार्यमा लाग्ने, समाजिक क्रियाकलापमा बालबालिकालाई समेत सहभागी गराइ सिक्ने मौकाहरू सिर्जना गर्न आवश्यक हुन्छ।

ज्ञानप्रति जिज्ञासा जगाउनेतर्फ ध्यान दिने हो भने बालबालिकामा असल बानी निर्माण गर्न, सामाजिक सिप विकास गर्न, आत्मविश्वास बढाउन, समाजबाट शिक्षा लिन तथा सामाजिक हितका कार्यमा लाग्न उत्प्रेरणा जगाउन सहयोग पुग्छ।हाम्रो समाजमा आफन्त र साथीहरूलाई बजारिया वस्तुहरू, उपयोगहीन, विलासिताका सामग्री उपहारका रूपमा दिने गर्छौँ। त्यसको सट्टा उमेरअनुसार उपयुक्त पुस्तक, सिर्जनात्मक कार्यमा सहयोग गर्ने सामग्री उपहार दिने परम्परा बसाउन सकेमा बालबालिकाको अध्ययन र सिर्जनात्मक कार्यमा उत्सुकता जाग्छ, समाजमा पठन संस्कृति विकास हुन्छ।

कोभिडको महामारीले पारेको प्रभाव, कोभिड फैलन रोक्न बालबालिकाले अपनाउन सक्ने सतर्कता र गर्न सक्ने कार्यबारे छलफल गर्ने, घर/परिवार, समाजबाट सिक्ने वातावरण निर्माण गर्ने हो भने बालबालिका विद्यालयमा जान पाएनन् भनेर धेरै चिन्ता गरिरहन पर्दैन। परिवार सँगसँगै बस्न अभिभावकले बालबालिकालाई सिकाउने एक अवसर पनि हो। मौकाको सदुपयोग गर्न सके विद्यालयमा नियमित जान नपाउँदा पनि बालबालिकाको सिकाइले निरन्तरता पाउन सक्छ। 

sharma.ramakanta@gmail.com

प्रकाशित: १७ भाद्र २०७८ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App