नेपालमा केही दशकदेखि सरकारी, गैरसरकारी, निजी क्षेत्र र अझ यहाँ कार्यरत अन्तर्राष्ट्रिय संघ/संस्थासमेतले सार्वजनिक कार्यक्रम आयोजना गर्ने र पहुँचका आधारमा अति विशिष्ठ, विशिष्ठ व्यक्तिहरूलाई प्रमुख अतिथि, विशेष अतिथि, अतिथिका रूपमा बोलाउने चलन छ। यस्ता अतिथि र आयोजकलाई आमस्रोता भन्दा भिन्न, अग्लो, विशेष सुविधायुक्त मञ्चमा विशेष माला, खादा, पानी, चियासमेतको छुट्टै व्यवस्था गर्ने अभ्यास व्यापक देखिन्छ।
यही माध्यमबाट आयोजकहरू शक्तिकेन्द्रहरूसँग नजिक हुने, सम्बन्ध बढाउने र आफ्ना चाहना पूरा गर्नेतथा कार्यक्रममा विशिष्ठ व्यक्तिहरू बोलाउँदा सञ्चारकर्मीको आकर्षण बढीहुने हुँदा रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट आफ्नो र आफ्नो कार्यक्रमको निःशुल्क प्रचारप्रसार हुने, दातालाई आफ्नो पहुँच देखाइ थप आर्थिक सहयोग लिन सकिने र एकहदसम्म आमनागरिकमा कार्यक्रमबारे जानकारी दिने उद्देश्य रहेको देखिन्छ।
तर यस्ता अत्यधिक कार्यक्रम विकृत र दिक्कलाग्दा देखिएका छन्। यस्ता कार्यक्रमका आयोजक प्रायः समाजमा चिनिएका, टाठाबाठा, पहुँच भएका र व्यापक सञ्जाल स्थापना गरिसकेका व्यक्तिहुने भएकाले उनीहरूले कार्यक्रममा सहभागिताका लागि बोलाउनेबहुसंख्यक स्रोता पनि समाजमा चिनिएका, टाठाबाठा नै हुन्छन्। आयोजकले पछिल्लो समयमा चाहिँ आलोचनाबाट जोगिन केही प्रत्यक्ष सरोकारवाला स्थानीय जनतालाई पनि स्रोताका रूपमा आमन्त्रण गर्ने प्रचलन सुरु भएको देखिन्छ।
राजनीतिक पार्टीहरूसँग सम्बन्धित बहुसंख्यक कार्यक्रम र अरू संघ/संस्थाकै कार्यक्रममा पनि अत्यधिक संख्यामा र विषयसँग असम्बन्धित वक्ता राख्ने र प्रायःएकल समूह (पुरुष/पुरुष वा महिला/महिला आदि) का वक्ता राख्ने, तोकिएको समयमैकार्यक्रम सुरु नहुने, घण्टौँ अतिथि र मुख्य अतिथि नआउने (कसैले त स्रोतालाई एउटा समय र प्रमुख अतिथिलाई अर्कै समय दिने) र उनीहरूलाई पर्खनुपर्ने कारण उपस्थित मानिसको महत्वपूर्ण समयको बर्बाद हुने गरेको छ। साथै समयको ख्याल गर्ने स्रोतामाथि अन्याय हुने र लामो समय प्रमुख अतिथि पर्खिनुपर्दा दिक्क लागि कार्यक्रम नै छाडेर हिँड्नुपर्ने वा पर्खिँदा अर्को महत्वपूर्ण कार्यक्रम छुट्ने अवस्थाहुन्छ। अनिआयोजकसँगको सम्बन्धमा फाटो आउनेसम्मका घटना पनि देखिएका छन्।
घन्टाँै पर्खेर कार्यक्रम सुरु भएपछि पनि विषयको खास ज्ञान नभएका, लामो सूचीका वक्ताको पट्यारलाग्दा र असान्दर्भिक भाषण सुनेर दिक्क हुनुपर्ने, दिइएको समयसीमाको पटक्कै पालना नगर्ने (५ मिनेट दिइएकामा ४५ मिनेट असान्दार्भिक कुरा गर्ने) अवस्थाले स्रोता दिक्क मानी हल छाडेर बाहिर निस्कने, कार्यक्रम छाडेर हिँड्ने र अन्तिम वक्ता बोल्ने (प्रायः प्रमुख अतिथि) बेला मञ्चमा आसीन भन्दा कममात्र स्रोता हुने अवस्था पनि देखिएको छ।
महत्वपूर्ण राष्ट्रिय कार्यक्रममा प्रमुख अतिथिलाई ध्यानाकर्षण गराउनआयोजित कार्यक्रममा पनि प्रमुख वक्ता आफू बोलेर अरूबाट सुन्नुपर्ने कुरा नसुनी हिँड्ने, प्रमुख वक्ता बीचैमा हिँडेपछि मञ्चमा आसीन अरू पनि प्रमुख अतिथिकै पछि पछि हिँड्ने, बेलुकाको खानासहित आयोजित कार्यक्रममा खाना खाने समयमा अत्यन्त न्यून मानिसमात्र बाँकी रही खाना खेर जाने, मञ्चमा आसीन व्यक्तिका पट्यारलाग्दा चाकरीयुक्त, व्यक्तिपिच्छे गरिने सम्बोधनर स्रोताको चाहना, मनोविज्ञान, विषयको गाम्भीर्यतालाई पूरै बेवास्ता गरी आफूले जानेको जतिसबै सुनाउनैपर्ने अवस्था पनि भोगिएकै छ। यस्ता कार्यक्रममा आउँदा बिनातयारी, के विषय रे भन्दै आयोजकलाई सोध्दै भाषण गर्न थाल्ने, घोचपेच, छेडछाड र आलोचना तथा गालीलाई आफ्नो भाषणको अंग नै बनाउने जस्ता नेपालका सार्वजनिक कार्यक्रमका साझा चरित्र नै भएका छन्।
के अरू देशमा पनि सार्वजनिक कार्यक्रम यस्तै प्रकृति र चरित्रका हुन्छन् त ?लगभग दश वर्षको मेरो युरोप बसाइमा मैले यस्तो कहिल्यै देखिन। वक्ताका लागि अगाडि छुट्टैबस्ने व्यवस्था, वक्ता र प्रमुख अतिथि समयमै नआइघण्टौ कुर्नुपर्ने अवस्था त्यहाँ हुँदैन। ठूला र व्यवस्थित कार्यक्रमहरूमा पनि सबै प्रमुख वक्ता, वक्ताहरू अगाडिको रोमा सानो कागजमा ‘रिजर्भ’ लेखिएको सिटमा बस्ने, बोल्न बोलाएपछि पोडियममा गइ दिएको समयभित्र विषयमा मात्र केन्द्रित भै धारणा राख्ने गर्छन्। त्यसैगरी कार्यक्रमहरू छोटा हुने, माला, खादा जस्ता औपचारिक गतिविधि नहुने, व्यक्तिपिच्छे सम्बोधन नगरी कार्यक्रमको सभापति र अध्यक्षलाई सम्बोधन गर्ने वा यो पनि नगरी आफ्ना कुरा राख्ने गरिन्छ। साथै कार्यक्रममाआएपछि पूरा समय बस्ने र कार्यक्रमपछिको अनौपचारिक ड्रिङ्क कार्यक्रममा अरू सहभागीसँगप्रमुख अतिथिले अनौपचारिक तरिकाले कुरा गर्ने गर्छन्।
यस्तै नेपाली चरित्रका सार्वजनिक कार्यक्रमको अनुभवबाट दिक्क भएर होला, यही २०७८ साउन १६ गते शनिबार वन्दना राणाजीले यसैसम्बन्धी एउटा अलि भिन्न प्रकृतिको बहस कार्यक्रमको संयोजन गर्नुभएको थियो। हामीले अत्यधिक मात्रामा नेपालमा देखिएको, भोगिएको सार्वजनिक कार्यक्रम र वक्ताको चरित्रबारे यो कार्यक्रम लक्षित थियो।
सार्वजनिक कार्यक्रममा देखिने बेथिति जताततै भएपनि बढीचाहिँराजनीतिक पार्टीहरूमा हुने भएकाले होला,यो कार्यक्रमका वक्ता पनि राजनीतिक पार्टीका स्थापित युवा नेता÷नेतृ नै थिए। पूर्वमन्त्री, युवा नेता तथा प्रतिनिधि सभाका सदस्यहरू शक्ति बस्नेत,मिन विश्वकर्मा, राजेन्द्र लिङ्देन, भगवती न्यौपाने र रानी शर्माले यो सवालमा आफ्ना भोगाइ, अनुभूति र सुधार्नुपर्ने क्षेत्रबारे प्रष्ट र भविष्यमुखी धारणा राख्नुभएको थियो। सबै वक्ताको अभिव्यक्तिको सार संक्षेपमानिम्नानुसार संश्लेषण गरिएको छ–
१) यस्ता कार्यक्रममा आमूल रूपान्तरण आवश्यक छ र यसका लागि आचारसंहिता नै बनाएर लागु गर्ने।
२) यस्ता कार्यक्रममा अध्यक्ष र उद्घोषक एउटै व्यक्ति हुने।
३) मञ्चमा लैङ्किकमैत्री तरिकाले ५ जनासम्म मात्र राख्ने (नेपाली कांग्रेस पार्टीले त योप्रावधानबारे संस्थागत निर्णय नै गरेको रहेछ)।
४) वक्ताहरू माथिल्लो आसनर स्रोता तल नराखीएकै ठाउँमा समान तरिकाले बस्ने व्यवस्था मिलाउने।
५) प्रत्येक वक्तालाई तोकिएको समय सकिएपछि आफनो भनाइ रोक्न अनुरोध गर्ने अभ्यासको सुरुआत गर्ने।
६) कार्यक्रम निर्धारित समयमा नै सुरु र अन्त्य गर्ने अभ्यास सुरु गर्ने।
७) प्रमुख अतिथि भन्दा पद/शक्ति जोडिने भएकाले प्रमुख वक्ता भन्ने।
८)प्रमुख वक्ता बोलाउनुपर्ने अवस्थामा प्रमुख वक्ता समयमा नआएपनि कार्यक्रम सुरु गर्ने।
९) तोकिएको विषय भन्दा बाहिर गै बोल्न थाले विषयकेन्द्रित हुन सजग गराउने।
१०) वक्ता छनोट गर्दा विषय विज्ञताका आधारमा थोरै संख्यामा मात्र गर्ने।
११) माला,खादा अविरको प्रयोग बन्द गर्ने।
यी बुँदाको एकैचोटि कार्यान्वयन त त्यति सहज नहोला तर जे÷जति सकिन्छ त्यो लागु गर्दै जानेहो भने केही परिवर्तन अवश्यहुन्छ। समयलाई स्रोत मान्दा १०० जना मानिसको १ घण्टा खेर जानु भनेको राज्यको १०० घण्टा ऊर्जाशील समय खेर जानु पनि हो। यतातिर सम्बन्धित सबैले ध्यान दिनेहो भने अहिलेसम्म अभ्यास गर्दै आएको सार्वजनिक कार्यक्रममा अवश्य सुधार ल्याउन सकिन्छ।
प्रकाशित: २७ श्रावण २०७८ ०४:२२ बुधबार